२०८३ बैशाख १४ गते सोमवार
सिम्रुतु रुकुम
समय उही काम उही हो । बिहानै उठेर सिम्रुतुस्थित नगरपालिकाको कार्यालय जाने कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तकको लागि सूचना खोज्ने र विषयवस्तु समावेश गर्ने । पुस्तक तयार गर्ने भन्ने कुरा चानचुने कुरा होइन । अझ बालकहरूलाई शिक्षा दिने कुरामा । हामीले गरेको गल्तीको भारी बालकले चुकाउनु नपरोस् भने सचेत रहनुपर्छ । टीकारामजी र चन्द्राहरू आफ्नै जिम्मेवारीको व्यस्तताले यता समय दिन पाउनुभएको छैन । मनलाल नरसिँह र म मात्र छौँ । काम गरेकै छौँ । तर बाहिरबाट देख्दा प्रगति भएको देखिँदैन । शिक्षा अधिकृत मानबहादुरजीले हरेकपल्ट सोधिरहनुभएको छ अझै कति दिन लाग्ने हो ? घरबाट आउनेजाने गर्दा समयमै काम थालनी गर्न सकिँदैन । घरमा अरू कामहरू थुप्रिएको हुन्छ लिइएको जिम्मा पूरा गर्न धौ धौ पर्छ । सिम्रुतुमै बास बस्दा पनि कार्यालयलाई लागत बढिरहेको होला । पुस्तक तयार गर्ने कार्यक्रम र बजेट त होला तर पाठ्यपुस्तकका विज्ञहरूलाई त्यसबाट दिनदिनै खाना र नास्ता दिन मिल्ने नमिल्ने कुरामा अन्यौलता पनि होला ।
होटेलको कोठामा हिजैदेखि नेट छैन । नेट नभई काम गर्न गाह्रो हुन्छ भनी बारम्बार भन्दा पनि सुनुवाइ भएको छैन ।
फेसबुक खोलेको बेला साहित्यकार अमर शाह सरको जन्मदिन देखायो । रुकुमेली वाङमय अधिष्ठानले २०८३ बैशाख १ गतेदेखि फेसबुक मित्रहरूको भर्चुअल रूपमा जन्मदिन मनाउने र त्यस दिनमा नेपाली साहित्यकार वा विश्व साहित्यकारको जन्मजयन्ती परेमा र भाषा साहित्य सम्बन्धी कुनै दिवस परेमा छोटो जानकारीसहित कार्यक्रम गर्दै आएका छौँ ।
अतः अमर शाहसँग ककसको जन्मदिन परेको छ भनी फेसबुक इभेन्ट हेर्दा आजै मेरो निकटका साथीहरू अरुण नदी खत्री भीष्म न्यौपाने अक्षर श्रेष्ठ मुकुन्द शर्मा खम्बु ओली आदिको जन्म दिन देखायो । अरूण नदी खत्रीले अस्तिदेखि नै यो कार्यक्रममा म पनि सहभागी हुन्छु भन्नुभएको थियो । मैले सो कुरा अध्यक्ष भूपेन्द्रा मल्ललाई राखेँ । म्यामले आफ्नो जन्मदिन पनि आजै परेको बताउनुभयो ।
अध्यक्षकै जन्मदिन आजै परेको हो भने त उहाँलाई सोधिरहनै परेन भनी आज हिजो अस्ति आज र भोलि जन्मदिन पर्नेहरू सबैलाई आज बेलुकाको कार्यक्रममा उपस्थित भइदिनुहुन निमन्त्रणा पठाएँ ।
बेलुका होटेलमा जमघट पनि बढी हुने र कोठामा नेट नभएकोले शिक्षा कार्यालयका सहयोगी खिमबिक्रमलाई अफिस खोल्न पठायौँ र त्यतै लाग्यौँ । अमर शाह सर समयमै आए पनि अरू जोडिनुभएन । भूपेन्द्रा म्यामले आफू बाहिर भएकोले यो कार्यक्रममा जोडिन नसक्ने मेसेज छोड्दा खल्लो लाग्यो ।
भोलि जन्मदिन पर्नुभएकी चरित्रा शाह बाँके म्याम पनि जोडिनुभयो । मनलाल र म सँगै थियौँ । केशव शर्मा पनि जोडिनुभयो । तपाईँको जन्मदिन मनाउनेछौँ भनी निमन्त्रणा गरिसकेपछि अध्यक्षज्यू नआउनुभएकोले कार्यक्रम स्थगित भयो भन्न पनि मिलेन । केशवलाई नै अध्यक्ष बनाई कार्यक्रम चलाइयो । अमर शाहलाई प्रमुख अतिथि बनाइयो ।
हिजो परेको विश्व बौद्धिक सम्पत्ति अधिकार दिवस र आज जन्मदिन परेका विश्व दार्शनिक को बारेमा परिचय सुनाएँ ।
आज हामी सबै यहाँ एक महत्वपूर्ण दिवस—विश्व बौद्धिक सम्पत्ति दिवस—को सन्दर्भमा केही विचार राख्न उपस्थित भएका छौँ। हरेक वर्ष अप्रिल २६ का दिन मनाइने यस दिवसले मानव सिर्जनशीलता, नवप्रवर्तन र बौद्धिक उपलब्धिहरूको संरक्षणको महत्वलाई स्मरण गराउँछ।
बौद्धिक सम्पत्ति भन्नाले मानिसको दिमागबाट जन्मिएका सिर्जनात्मक कामहरू—जस्तै साहित्य, सङ्गीत, आविष्कार, चित्रकला, प्रविधि, ब्रान्ड नाम आदि—लाई जनाउँछ। यस्ता सिर्जनाहरूलाई कानुनी रूपमा सुरक्षित गर्ने अधिकारलाई बौद्धिक सम्पत्ति अधिकार भनिन्छ। यस अन्तर्गत मुख्य रूपमा कपीराइट, पेटेन्ट, ट्रेडमार्क र औद्योगिक डिजाइन जस्ता पक्षहरू पर्छन्।
यस दिवसको मुख्य उद्देश्य भनेको सर्जक, अनुसन्धानकर्ता र आविष्कारकर्ताहरूको मेहनतको कदर गर्नु र उनीहरूको सिर्जनालाई चोरी वा दुरुपयोगबाट जोगाउनु हो। जब सिर्जनात्मक काम सुरक्षित हुन्छ, तब मानिसहरू नयाँ सोच, नयाँ आविष्कार र नयाँ सिर्जनामा अझ प्रेरित हुन्छन्।
हाम्रो दैनिक जीवनमा पनि बौद्धिक सम्पत्तिको ठूलो भूमिका छ। हामीले पढ्ने पुस्तक, सुन्ने गीत, प्रयोग गर्ने मोबाइल एप, हेर्ने चलचित्र—यी सबै कसैको बौद्धिक सिर्जना हुन्। यदि यिनको संरक्षण भएन भने सर्जकको अधिकार हनन हुन्छ र सिर्जनशीलता घट्न सक्छ।
नेपालजस्तो देशका लागि बौद्धिक सम्पत्तिको संरक्षण झन् महत्वपूर्ण छ। हाम्रो भाषा, साहित्य, लोकसंस्कृति, जडीबुटी ज्ञान र परम्परागत सीपहरू पनि बौद्धिक सम्पत्तिकै रूप हुन्। यदि हामीले यसलाई जोगाउन सकेनौँ भने हाम्रो मौलिक पहिचान हराउने खतरा हुन्छ।
हामीले अरूको सिर्जनाको सम्मान गर्नुपर्छ, चोरी सामग्री प्रयोग गर्नु हुँदैन, सर्जकलाई श्रेय दिनुपर्छ, र आफूले पनि सिर्जनशील बन्ने प्रयास गर्नुपर्छ। विद्यालयस्तरदेखि नै यसबारे सचेतना फैलाउनु जरुरी छ।
Ludwig Wittgenstein को जन्मजयन्ती
Ludwig Wittgenstein को जन्म सन् १८८९ अप्रिल २६ मा अस्ट्रियाको भियना शहरमा भएको थियो। उहाँ प्रारम्भमा इन्जिनियरिङ पढ्नुभएको थियो, तर पछि दार्शनिक अध्ययनतर्फ आकर्षित हुनुभयो। उहाँ २०औँ शताब्दीका सबैभन्दा प्रभावशाली दार्शनिकहरूमध्ये एक मानिनुहुन्छ।
उहाँको प्रमुख योगदान भाषा र दर्शनको क्षेत्रमा रहेको छ। उहाँले भाषा कसरी काम गर्छ र मानिसले संसारलाई कसरी बुझ्छ भन्ने विषयमा गहिरो अनुसन्धान गर्नुभयो। उहाँको पहिलो प्रसिद्ध कृति Tractatus Logico-Philosophicus हो, जसमा उहाँले भाषा र वास्तविकताबीचको सम्बन्ध स्पष्ट गर्न खोज्नुभएको छ। यस पुस्तकमा उहाँले भनेका छन् “हामीले बोल्न नसक्ने कुराबारे मौन रहनुपर्छ।”
पछि उहाँले आफ्नो सोचमा परिवर्तन ल्याउँदै अर्को महत्त्वपूर्ण कृति Philosophical Investigations लेख्नुभयो। यसमा उहाँले भाषा केवल नियम र संरचनामा सीमित नभई दैनिक प्रयोगसँग सम्बन्धित हुन्छ भन्ने विचार राख्नुभयो। उहाँको “language games” भन्ने अवधारणा निकै चर्चित छ।
Wittgenstein को जीवन पनि निकै सरल र अनुशासित थियो। उहाँले धन–सम्पत्ति र विलासितालाई त्यागेर साधारण जीवन बिताउनुभयो। उहाँ केही समय शिक्षकका रूपमा पनि काम गर्नुभयो। उहाँको जीवन दर्शनले देखाउँछ कि ज्ञान मात्र होइन, व्यवहार पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
उहाँको विचारले आधुनिक दर्शन, भाषाविज्ञान, मनोविज्ञान र कम्प्युटर विज्ञानसम्म प्रभाव पारेको छ। आज पनि उहाँका विचारहरू अध्ययन र अनुसन्धानका केन्द्रमा छन्।
अप्रिल २७ मा जन्मिएका केही चर्चित व्यक्तिहरूमध्ये Mary Wollstonecraft (१७५९) – प्रारम्भिक नारीवादी लेखिका Ralph Waldo Emerson (१८०३) – निबन्धकार र दार्शनिक Cecil Day-Lewis (१९०४) – कवि तथा साहित्यकार पनि रहेछन् । सबैलाई स्मरण गरियो ।
यसरी मेरो मन्तव्यपछि चरित्रा शाह, मनलाल ओली र प्रमुख अतिथि अमर शाहले पनि आआफ्नो मन्तव्य राख्नुभयो । कार्यक्रमको अध्यक्षता ग्रहण गरेका केशवजीले पनि विश्व बौद्धिक सम्पत्ति अधिकार दिवसको सम्बन्धमा सारगर्भित मन्तव्य राखेपछि उपस्थिति थोरै भएकोले आधा घण्टामै कार्यक्रम सकियो ।
![]()
Post Comment