×

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

सोलाबाङ रुकुम

बिहानै उठेर खलङ्गा जाने तर्खर गरेँ । नहरमा कुलो घन्किरहेको रहेछ । सुकेको बारीमा लगाइदिन खोजेँ । तुरुन्तै सुकिहाल्यो । एकछिन अलमलिएर डाँडामाथिको गोठ सालीबिसौना बोरागाउँ पैदलै गएँ । हिँड्दा पसिना पनि बग्ने शारीरिक व्यायाम पनि हुने । तर पहिले जागिर छँदा हिँडेको देखेर पैँसाको लोभले हिँड्छ भन्ने आरोप लगाउँथे । अहिले गोजीमा पैँसा भए पो गाडी चढोस् भनी गिज्याउँछन् । साल र सल्लाको घनाजङ्गलमा हिँड्दा हुने फाइदाहरू यिनीहरूलाई पनि थाहा त हुनुपर्ने हो ।

सोलाबाङ ३ कक्षासम्म पढी ४ कक्षा पढ्न सेरीगाउँ जानुपरेको थियो । त्यस बेला हिड्नुको विकल्प थिएन । सोलाबाङबाट १ घण्टामै सेरीगाउँ पुग्थ्यौँ । तर परार साल आउँदा सेरीगाउँ पुग्न २ घण्टा लागेको थियो । हिड्न सकिने भएन भनी सारै पिर लागेको थियो । आज सवा १ घण्टामै सेरीगाउँ पुग्दा बच्पनको उमङ्ग सेलाइसकेको रहेनछ भनी हर्षित भएँ ।

सेरीगाउँमा मनलाल ओली सरको घरमा खाना खाई खलङ्गा उक्लियौँ । कर्णाली फोटो स्टुडियोमा पुगेर प्रमाणपत्रको लागि सोधखोज गरियो । मुकुन्दप्रसाद शर्माले प्रमाणपत्र बनाउने जिम्मा लिनुभएको रहेछ । उहाँले प्रमाणपत्र बनाउँदै हुनुहुन्थ्यो । मनलाल र गिरिप्रसाद सरले नेपाल बैँक लिमिटेडमा र कृषि विकास बैँकमा राखिएको अक्षय कोषबाट ब्याज रकम निकाल्नुभयो । मैले भने योगमाया लोकसाहित्य पुरस्कारको निम्ति राखिएको अक्षयकोष बढ्दै जाँदा पछि पुरस्कार व्यवस्थापन गर्न सजिलो हुने देखी ब्याज रकम झिकिन । आफैसँग भएको रकम रु ५००० नगद पुरस्कारको निम्ति गिरिप्रसाद बुढा सरलाई हस्तान्तरण गरेँ ।

त्यहाँबाट जनविकास पुस्तकालयमा पुगी वार्षिकोत्सवको निम्ति निमन्त्रणा पत्र तयार गरेँ । पुस्तकालयको प्रिन्टरले प्रिन्ट नगरेको हुँदा जिल्ला समन्वय समितिमा पुगी प्रिन्ट गर्‍यौँ । निमन्त्रणापत्रहरूमध्ये केही गिरिप्रसाद सरले जिम्मा लिनुभयो भने नगरपालिकाका निमन्त्रणापत्रहरू बोकी हामी मुसीकोट नगरपालिकाको कार्यालय सेरीगाउँतिर लाग्यौँ । त्यहाँ उपमेयर विमलकुमार पुन मात्र भेटिनुभयो । मेयर सुर्खेत र कार्यकारी अधिकृत जिल्ला प्रशासन जानुभएको रहेछ ।

त्रिवेणी गाउँपालिकाको कक्षा १ देखि ८ सम्मको लागि पाठ्यपुस्तक तयार गर्न मलाई विज्ञको रूपमा राखिएको रहेछ । विज्ञ समूहको बैठक आजै बोलाइएको रहेछ । सेरीगाउँबाट मनलाल सर र म अटो चढेर सिम्रुतुस्थित त्रिवेणी गाउँपालिकाको कार्यालयतिर लाग्यौँ । हाम्रो ३ सिटे अटोमा पछाडि ४ जना र चालकको वरिपरि एक एकजना गरी ६ जना थियौँ । सेरीगाउँ र कुनाबाङको बिचमा ट्राफिक चेकिङ रहेछ । अगाडिका २ जनालाई चालकले झारे र पछाडिका नझरे पनि हुन्छ भने । अगाडिका यात्रीहरू ट्राफिकको अगाडि नै पुगेर झरेका थिए र ३ जनाको सिटमा ४ जना कोचे पनि त कारवाही गर्ला नि भनी मैले सोधेँ । चालकले होइन केही फरक पर्दैन । महिनावारी नबुझाउने मात्र कारवाहीमा पर्ने हुन् । मैले इमान्दारीपूर्वक बुझाएकै छु कारवाही गर्ने कुरै हुँदैन । बालेन सरकारको बेला पनि यस्तो त नहुनुपर्ने हो भनी मैले उनका कुरा पत्याइनँ ।

नभन्दै हामी चढेको अटोलाई चेक गरेजस्तो गरेर ट्राफिकले छाडिदिए । अलिकति पर पुगेर अगाडि झरेकालाई पुनः चढाएर चालक शीतलपोखरीतिर हानिए । शीतलपोखरीमा पनि एकछिन अटो रोकेर यात्री खोज्दै बसे । ६ जना नै अटाइनअटाइ भएको छ । अब यात्री भए पनि कहाँ राख्ने हो र भनी हामीले सोध्यौँ । चालकले ९ जनासम्म बोक्न मिल्छ भन्दा हामी जिल्ल पर्‍यौँ ।

अटोमै सिम्रुतुस्थित शिक्षा शाखामा पुग्यौँ । त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश केसीको प्रमुख आतिथ्यतामा बैठक बसी ७ गतेदेखि आवासीय कार्यशालामा पाठ्यपुस्तक निर्माणको काम थालनी गर्ने निर्णय भयो ।

फर्कँदा टोड्केका सम्धी केशर केसीसँग चिनजान भयो । उहाँकै बाइकमा सोलाबाङ आएँ । आज मातातीर्थ औँसी भएकोले आमाकी नजिककी साथी हिमाल साइँलीआमालाई र ठुलीभाउजुसँग भेट गरेँ । त्यहाँबाट घरमा आउँदा कमला बुहारीले बाहुरे लगाएर गहुँ छाँट्ने काम सकिसकेकी रहिछन् । खाना कमला बुहारीकै घरमा खाएँ । बेलुका हावा चलेकोले छाँटेका भुससहितका गहुँलाई ओसाउन कमला बुहारी र रुद्र फुपाजुकी बुहारी दुबैजना घरमा आई गहुँको ढल्याउने काममा सहयोग गरे ।

Loading

Post Comment

You May Have Missed