२०८३ बैशाख ५ गते शनिवार
सोलाबाङ रुकुम
आज राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको १८ औँ वार्षिकोत्सव । राप्ती साहित्य परिषद् केन्द्रका महासचिव रमेश सुवेदी सर खलङ्गा आइसक्नुभएको जानकारी हिजै पाएको थिएँ । सेरीगाउँमा राप्ती साहित्य परिषद्को बन्दै गरेको भवन उहाँकै सहजीकरणबाट निर्माण भएको हो । उहाँलाई प्रतिष्ठित पुरस्कार राप्ती साहित्यमाला पुरस्कारबाट सम्मानित गरिँदै छ । म पनि मुसीकोट नगर साहित्य पुरस्कारबाट पुरस्कृत हुनेमा प्रस्तावित छु । आमाको नामबाट स्थापित योगमाया लोकसाहित्य पुरस्कार कमलमणि देवकोटालाई सिफारिस गरिएकोमा उहाँको आमा बित्नुभएकोले आउन नसकेतापनि उहाँका आफन्तलाई हस्तान्तरण गरिने कार्यक्रम छ ।
मेरो लागि महत्त्वपूर्ण कार्यक्रम भएकोले बिहानै जानुपर्ने कर्तव्य पनि हो । सेरीगाउँ मनलाल सरको घरमा खाना खाने कार्यक्रम भएकोले घरमा एक्लै पकाउने झन्झटबाट मुक्त पनि हुने भइयो । पैदल जाँदा १ घण्टा ढिला हुनेभएकोले बिहानै साढे ५ बजे सोलाबाङ बजारमा पुगेर अटो चढेँ । चाँपासम्मलाई १०० रुपैयाँ मात्र भाडा रहेछ । सेरीगाउँसम्म पुगेमा २०० भाडा लाग्छ । म चाँपामै झरेँ र १० मिनेटजति हिँडेर सेरीगाउँ पुगिहालेँ । शरीरलाई कसरत पनि भयो १०० रुपैयाँ पनि जोगियो ।
सेरीगाउँबाट मनलाल सर र म खलङ्गा उक्लियौँ । रमेश सुवेदी सर र खगेश्वर भण्डारी सरसँग भेट भयो । ४ जना फेरि सेरीगाउँ नै झर्यौँ र राप्ती साहित्य परिषद्को बन्दाबन्दै अधुरो रहेको निर्माणाधीन भवन रमेश सरलाई देखायौँ । उहाँकै पहलमा २ पटक गरी ३५ लाख कर्णाली प्रदेश सरकारबाट प्राप्त भइसकेको र अझै करिब ३० लाख भए कार्य सम्पन्न हुनेभएकोले पुनः सहयोग गर्न अनुरोध गर्यौँ ।
मनलाल सरकै घरमा मार्सी चामलको खिर खाएर चारैजना फेरि खलङ्गा उक्लियौँ । ११ बजे सुरु हुने भनेको कार्यक्रम अतिथि र सहभागीहरू आइनपुगेकोले १२ मात्र सुरु भयो । मनलाल ओलीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रमको कुशल सञ्चालक ओमबहादुर खत्री थिए । कार्यक्रममा पूर्व सांसद ठगेन्द्रप्रकाश पुरी जिल्ला समन्वय उपप्रमुख देवबहादुर बिकलगायतको उपस्थिति रह्यो । म रमेश सुवेदी र कमलमणि देवकोटाको अतिरिक्त देवबहादुर ओली र कुबेर मल्ल पनि विभिन्न पुरस्कारहरूबाट सम्मानित भए । अत्यन्तै शान्त र सौहार्द वातावरणमा कार्यक्रम ५ बजे समाप्त भयो ।
बेलुका डम्बर सालाको बाइकमा सोलाबाङ ओर्लियौँ र खाना पनि त्यतै खाएर सुत्न मात्र घर आइपुगेँ ।
![]()
Post Comment