×

२०८२ चैत्र १८ गते बुधवार

२०८२ चैत्र १८ गते बुधवार

दुवाकोट भक्तपुर

हिजो राति नै फ्लाइट मोडमा रहेको मोबाइलले कति शुभेच्छुकहरुको फोन कल अस्वीकार गर्‍यो होला बिहान ९ बजेतिर खोलेपछि मात्र पछुतो लाग्यो । निस्कँदा मोजा झिकेको थिएँ तर लगाउनै बिर्सिएछु । खुट्टामा चिसो लागेपछि बल्ल थाहा पाएँ । झोलामा एउटा किताब सधैँ भइरहन्थ्यो तर राति सुत्दा निद्रा नलागेकोले झोलामा राख्ने गरेको द्रौपदी अवशेष झिकेर पढेको थिएँ । अफिसतिर लाग्दा त्यो पनि झोलामा हाल्नै बिर्सिएछु । धुमपान गर्नेलाई चुरोटको तलतलजस्तै कछुवा गतिमा चल्ने बसमा धैर्यताको बाँध बाँधिराख्न मलाई कुनै पठनीय किताब नभई हुँदैन । आज पुस्तक घरमै छुटेकोले बसमा समय कटाउन महाभारत नै पर्‍यो ।

अफिसमा पुगेर हरि पाण्डे र क्याप्टेन डीआर निरौलाको पुस्तकको पुनःसम्पादनको काम गरियो । कमलजी आएपछि क्यालेन्डर र बिदाको प्रस्ताव पेस गरियो । १ बजेतिर गोविन्दराज जोशीलाई भेट्न कमल सर र सिर्जनासहित महाराजगञ्ज पुगियो ।

शान्त र सभ्य तरिकाले हाँसी हाँसी बोल्नुहुँदो रहेछ । उहाँसँग राजनीतिक कुराहरू बढी भए । के गरेको भए भदौ २३ र २४ गतेको आन्दोलनलाई व्यवस्थापन गर्न सकिन्थ्यो भन्ने उपाय बताउनुभयो । ककसबाट के कमजोरीहरू भएका थिए भन्ने पनि बताउनुभयो । कुराकानीको क्रममा शेरबहादुर देउवा साविकमा सिङ्गापुरमा बसिरहेकोमा सिआइबिले रेड कर्नर नोटिस जारी गरेकोले हङकङ हुँदै चाइना पसेको भन्ने अनुमान गरियो । रेडकर्नर नोटिस कहाँकहाँ लागू हुन्छ भन्ने कुरा लगायतका कुराहरू पनि भए ।

उहाँको आत्मकथाको लागि अन्तर्वार्ता लिने र त्यसको टाइपिङ गर्ने काम स्वागत नेपालले गरिसकेका रहेछन् । त्यसमा थपघट गरीरी प्रकाशन गर्नको लागि सिर्जना शर्मालाई जिम्मेवारी दिनुभएको छ कमल सरले । तसर्थ सिर्जनालाई महाराजगञ्जमै छोडी हामी प्रज्ञा प्रतिष्ठानतिर लाग्यौँ । तर कुलपति भूपाल राई मिटिङमा हुनुहुँदोरहेछ । सवा ३ बजेतिर मात्र मिटिङ सकिने बताएकोले हामी लेखनकुञ्जतिर लाग्यौँ । बाटोमा पुरातत्त्व विभाग पर्ने भएकोले पुरानो अफिसका साथीहरूसँग भेटघाट गर्ने उद्देश्यले म रामशाहपथमै ओर्लिएँ भने कमलजी लेखनकुञ्जतिर लाग्नुभयो ।

हिजो राष्ट्रिय अभिलेखालयका महानिर्देशकले फोन गरेर मलाई भेट्न खोज्नुभएको थियो । तर उहाँ मन्त्रालयको मिटिङमा निस्कनुभएको रहेछ । उपसचिव सावित्री म्यामसँग भेट भयो । लेखा अधिकृत लक्ष्मण भण्डारीलाई भेट्न जाँदा खाजा समेत खुवाउनुभयो । इन्जिनियर प्रेम पोखरेल र प्रमुख पुरातत्त्व अधिकृत भाष्कर ज्ञवालीसँग भेट भयो । उहाँहरूसँग रुकुमको सोलाबाङमा बनिरहेको शिवजी मन्दिरका बाँकी रहेको निर्माण कार्यलाई छिटो सकिदिन अनुरोध गरेँ । स्टोरकिपर किशोर हमालले मलाई लेखनकुञ्जमै छोडिदिनुभयो ।

लेखनकुञ्ज पुग्नेबित्तिकै कुलपति भूपाल राईको फोन आयो । उहाँले भेट्न बोलाउनुभएको रहेछ । कमलजी र म नेपाल प्रज्ञा प्रतिष्ठानतिर लाग्यौँ । भूपाल राई सरसँग स्थानीय प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कुलपतिहरूको भेला आयोजना गर्ने सम्बन्धी र साहित्यिकार विश्व कोश बनाउने बारेमा प्रस्ताव राखेँ । मलाई हालसम्मका प्रज्ञा प्रतिष्ठानका कुलपति उपकुलपति लगायत सदस्यहरूको नामावली उपलब्ध गराइदिन अनुरोध गरेँ । उहाँले सदस्य सचिव धनप्रसाद सुवेदीलाई भेट्न भन्नुभयो । धनप्रसाद सरले अघिल्लो वर्षसम्मको विवरणको पुस्तक प्रकाशित भएकोले पुस्तकालयबाट लिन र अन्यको हकमा योजना शाखाबाट लिन सुझाउनुभयो । योजना शाखा प्रमुख सुधीर ढुङ्गेलले उपलब्ध भएसम्मको विवरण प्रिन्ट गरेर दिनुभयो । बाँकीको लागि पुस्तक विक्री कक्षमा लिन सुझाव दिनुभयो । तर पुस्तक विक्रो कक्षमा उक्त पुस्तक भेटिएन ।

बेलुका फर्कने तर्खर गर्दै थिएँ । कमल सर र धनप्रसाद सुवेदी सर बाहिर निस्कँदै गर्दा कमल सरले धनप्रसाद सुवेदी सरसँग पूर्ण ओलीलाई पनि सल्लाघारीसम्म छोडिदिन अनुरोध गर्नुभएकोले उहाँकै गाडीमा हामी भक्तपुरतिर लाग्यौँ । बाटोमा देशमा पछिल्लो अवस्थामा भइरहेको चरम राजनीतिकरण र अति भ्रष्टीकरणको बारेमा छलफलहरू भए । नाम मात्रको समाजवादको बारेमा पनि कुराहरू भए । कसैले यस समस्यालाई समाधान गर्न नसकेको परिप्रेक्ष्यमा बालेन सरकारले गर्न खोजेको सुधारको प्रयास प्रशंसायोग्य भएको र कार्यान्वयन पक्षलाई हेरेर मात्र आलोचना वा आन्दोलन गर्न उपयुक्त हुने भन्ने नै दुबैजनाको निष्कर्ष रह्यो ।

उहाँ कटुन्जेतिर लाग्नुभयो । म सिर्जनानगरमै ओर्लेर दुवाकोट मोडतिर लागेँ । खाना खाएर देवकुमारी र म बेलुका दुवाकोट हाइटसम्म इभिनिङवाकमा निस्कियौँ । सुत्दा ११ बजिसकेको थियो ।

Loading

Post Comment

You May Have Missed