२०८२ चैत्र १७ गते मङ्गलवार
दुवाकोट भक्तपुर
हिजो बेलुका सुत्दा करिब १२ बजिसकेको थियो । बिहान ७ बजेसम्म सुते निद्रा पुग्छ भन्ने हिसाबले सुतेको थिएँ तर देवकुमारीले बिहानै ३ बजे नै उठिहालिन् ।उनी त बेलुका ९ बजे सुतिसकेकी थिइन् । ६ घण्टामै निद्रा पुगिहाल्यो । उनको गतिविधिले मलाई निद्रा लाग्ने कुरै भएन ।
आज स्वर्गीय परिशीलनको जन्मदिन पनि ।अरूहरूको जन्मदिनको विषयमा शुभाशिषका लामा लामा प्रस्तुतिहरू सामाजिक सञ्जालमा राखिरहँदा आफ्नै छोराको जन्मदिन आइपुगेको छ ।सामाजिक सञ्जालमा राख्नू कि नराख्नू । घाउ त भित्र छ । घाउको व्यापार कति गर्दै हिड्नू ।पछिल्लो समयका मान्छेहरू अरूको संवेदनामा दुख्दैनन् फेरि । आफ्नो संवेदनशीलतालाई हाँसोको विषय बनाउँछन् । आफ्नो काखबाट उठेर यो धरतीबाट कता हो कता पर गइसकेपछि उसलाई सम्झेर यहाँ फोटो राख्नुको के अर्थ छ । उसले यो कुरा थाहा पाए पनि अर्थ छैन । थाहा नपाए पनि अर्थ छैन ।
यस्तै द्वन्द्व चलेको छ मनभरि । जीवित सन्तानको जन्मदिन भइदिएको भए बिहानै उठ्दाको फाइदा लामालामा फेसबुक स्टाटस लेखेर लिइन्थ्यो होला । तर अहिले हात काँपिरहेका छन् ।
परिशीलन जन्मँदा पनि देवकुमारीलाई अरू सन्तान जन्माउँदाको जस्तो पीडा त थियो नै । अझै ऊ जन्मँदा नै हृष्टपुष्ट ठुलो जिउमा जन्मिएकोले प्रसव वेदना अधिक थियो होला ।देवकुमारीलाई बेथा पहिल्यैदेखि लागिसकेकोले निदाउन सकेकी थिइनन् । उनी ननिदाएपछि म पनि निदाउन सक्ने कुरा भएन । हिजोआजको जस्तै धुम्मिएको थियो आकाश । अँध्यारिएको थियो धरती । अँध्यारिएकी थिइन् देवकुमारी । हावाहुरी र चट्याङसहितको वर्षाद्को सम्भावना थियो ।
यस्तै अवस्थामा परिशीलनले यो धरतीमा जन्म लियो ।म छोराको बाबु भएँ । मलाई पाती लगाउनेको लर्को लाग्यो । पाती त देवकुमारीलाई लगाउनुपर्ने हुँदो हो । धुम्मिएको आकाश उत्तिखेरै सफा भयो । परिवारमा हर्ष छायो ।
ऊ बढ्दै गयो । मोटो भकुल्ले थियो । २ वर्षकै उमेरमा सिँगै एउटा मकैको रोटी खान्थ्यो । यो देखेर अच्चम्म मान्नुहुन्थ्यो बम्बैबाट आउनुभएकी माइली आमा । बम्बै फर्किएपछि परिशिलनकै उदाहरण दिनुहुन्थ्यो रे ।
पछि जुका परेर ऊ बिरामी पर्न थाल्यो । ऊ बिरामी परेकै अवस्थामा काठमाडौँमा मेरो डिग्रीको जाँच परेको थियो । परीक्षा त दिनुपर्यो भनी बिरामी अवस्थाको बच्चालाई देवकुमारीको जिम्मा छोडी म घरबाट हिडेँ । तर गोडाले अगाडि बढ्नै मानेनन् । लार्दाको उकालो चढ्नै सकेनन् । म फर्किएँ सिम्रुतुबाटै । सबैलाई आफ्नो सन्तानको माया उस्तै त हो ।तर घर फर्किएपछि देवकुमारीले आश्चर्य मानिन् । आमाबाले भन्नुभयो यो त हामीसँगै छ । एक दुई दिनमा सन्चो भइहाल्छ । तेरो त जाँच छ । फेरि आउँदैन । अर्को वर्ष जाँच दिन मिल्ला नमिल्ला । गइहाल् । देवकुमारीले पनि एक्लै बिरामी बच्चाहरू सम्हाल्ने आँट गरिन् ।म लागेँ अर्को दिन काठमाडौँतिर मुटुमा ढुङ्गा राखेर । यता परिशीलन झनै बिरामी परेछ ।देवकुमारीको ठुलाबा धामी । बा ज्योतिषी र वैद्य पनि । घरमै बोलाइराख्नुभन्दा उतै जाँदा सहज हुनेठानी देवकुमारी माइती हिँडिछिन् । परिशीलन मूर्छित हुँदै जाँदा ससुरा र जेठानहरू सबै काम्नुभएछ । आगो फाल्नुभएछ खरानी उडाउनुभएछ ।बिहान जुकै जुका मात्र हगेपछि परिशीलनलाई अलि बिसेक भएछ । उहिले अधिकांश बच्चाहरू जुकाले खाएरै मर्थे ।
परिशीलनलाई जुकाको औषधि खुवाइदिएपछि भोलिपल्टदेखि अलि सन्चो हुँदै गएछ । म जाँच दिएर फर्कँदा त पूरै सन्चो भइसकेको थियो । तर देवकुमारीले सबै इतिवृत्तान्त सुनाउँदा मलाई असाध्यै पीडा भएको थियो । उनीहरूले के गरी त्यो पीडा भोगे होलान् ।
पछि दिदी अस्मिता स्कुल जाँदै गरेको देखेपछि उसलाई पनि स्कुल जान रहर लागेछ ।सानो झोलामा किताब र कापी राखेर आफै स्कुल जान थाल्यो ।नजानेको कुरा सोध्ने उसको बानी थियो । जसको काखमा जाँदा पनि आफूलाई पढ्न सिकाइदिन अनुरोध गर्थ्यो । म घरमा नहुँदा मामाघरमा गएर पनि मामाहरूसँग सिकाइदिन भन्थ्यो रे ।
५२ सालमा सुरु भएको जनयुद्ध उत्कर्षतिर लागेपछि मैले सिम्रतु विद्यालय सदाको लागि छोडेर र कलिला दूधबच्चाहरूसहितकी देवकुमारीलाई एक्लै घरमा छोडेर २०५३ सालदेखि काठमाडौँतिरै गुप्त रूपमा बसेर लोकसेवा रट्न थालेँ । परिशीलन ५ वर्षकै छँदा आफ्नो साइँलो मामाको साथ लागेर मलाई भेट्न काठमाडौँमै आयो ।मैले आफैले चलाएको भनिएको गठ्ठाघरस्थित स्कुलमा भर्ना गरिदिएँ ।पढ्न थाल्यो । तर सानो बच्चा पूरै अपरिचित सहरमा एक्लै पढ्न गाह्रो भएछ । मलाई फेरि दिनरि लोकसेवाकै पढाइतिर लाग्नुपर्ने भएकोले साथमै राखेर पढाउन पनि सकिनँ ।
प्याजको बिउ बेच्ने निहुँ बनाई मेरो आमाबा काठमाडौँ आउनुभएको थियो । उहाँहरूसँगै लागेर ऊ गाउँ फर्कियो ।
त्यसको करिब एक वर्षपछि लोकसेवामा मेरो नाम निक्लियो ।सपरिवार खुसी हुँदै काठमाडौँ आए । आमाबाहरू पनि बच्चाहरू र देवकुमारीलाई लिएर आउनुभएको थियो । तर उतिबेलाको नासुको जागिरेले ठुलो परिवार पाल्न सम्भव नै थिएन । काखैको बच्चा परीक्षितसहित देवकुमारी र आमाबा फर्कनुभयो । अस्मिता र परिशीलन काठमाडौँमै बसेर पढ्न थाले । मैले जागिरीको साथसाथै उनीहरूको आमाबा दुबैको भूमिका निभाउनुपर्यो ।बिहान बेलुका खाना पकाएर खुवाउने । स्कुल पठाउने । बेलुका होमवर्क गराउने ।म अफिसबाट आइ नपुगुन्जेल २बच्चाहरू मेरै पर्खाइमा कौसीमा बसेर बाटो हेरिरहेका हुन्थे । बिहानदेखि दिउँसोसम्म पानीको पालो पाइँदैनथ्यो र मलाई फुर्सद पनि हुँदैनथ्यो। पानी भर्न र लुगा धुन राति १२ बजे धारामा जानुपर्थ्यो ।
यस्तै गरी सानोठिमीका दिनहरू बिते । सुब्बाको जागिरी छउन्जेल देवकुमारी र परीक्षितले कहिले रुकुम र कहिले काठमाडौँ गरिरहे ।मेरो डेरा पनि सरिरह्यो र स्कुल पनि सारिरहेँ । लेखा अधिकृतमा नाम निस्किएपछि भने सपरिवार काठमाडौँ नै बस्न थाल्यौँ ।स्कुल जता सारे पनि अस्मिता परिशीलन र परीक्षित तीनै जनाले आफ्नो कक्षामा प्रथम स्थान हासिल गरिरहन्थे । परिशीलनले ६ कक्षामा एसओएसमा नाम निकाल्यो र पढ्न थाल्यो । तर इन्डिभिजुअल गाइडेन्स हुन नसक्दा पढाइ अलि खस्केको ठानी उसलाई वानेश्वरस्थित सोसाइटल स्कुलमा हालिदिएँ ।तीनै जनाले विशिष्ट श्रेणीमा एसएलसी पास गरे । अस्मिता र परीक्षितले १२ सम्म सेन्टजेभियर्स र त्यसपछि एमबीबीएसमा नाम निकालेर भैरहवा पढ्न थाले । परिशीलनले भने १२ देखि इन्जिनियरि डिप्लोमा भक्तपुरको ख्वपः कलेजमा पढ्यो र राम्रै अङ्क ल्याएर पास गर्यो । लोकसेवाको जाँच दिएर पहिलोचोटि नै हाइवेतर्फ नाम निकाल्यो तर अन्तर्वार्तामा नाम निस्किएन । जीवनमा पहिलोचोटि असफल भएकोले १ हप्तासम्म रोएरै बितायो । पुनः अर्को वर्षको निम्ति कडा मिहिनेतसाथ लोकसेवा पढ्न थाल्यो र परीक्षा पनि दियो । परीक्षा राम्रो भएको बताएको थियो ।
परीक्षा सकिएपछि राष्ट्रिय योजना आयोगको एनडीसी प्रोग्राममा करारमा इन्जिनियरको नियुक्ति पाई मकवानपुरमा गई काम गर्न थाल्यो ।जागिरबाट आएको पैसाले मोटरसाइकल किन्यो ।
२०७२ सालको फागुन २३ गते हाम्रो लागि महासङ्कटको दिन बनेर जहाज नै पल्टिएको दिन । परिवारलाई नै आँसुको भेलले डुबाउन थालेको दिन । परिशीलनको काल बनेर आएछ त्यस दिन ।खरीपाटी विद्युत प्राधिकरणमा पनि लोकसेवाको विज्ञापन निस्किएको रहेछ ।ऊ फाराम भर्न भनेर त्यतातिर लाग्यो । म भने बिहानै अफिस लागिसकेको थिएँ । बाहिर निस्किइसकेपछि सपनाले कुनै कुराको सोधपुछको लागि घर बोलाइछन् ।सपनालाई बुझाएर ऊ बाहिर निस्किएछ । बाटोबाटै फेरि कसैले उसलाई सानोठिमीतिर बोलाएछ । कमलविनायकको खरीपाटी जानुपर्ने मान्छे सानोठिमीतिर लागेछ ।
परिशीलन सबैको अत्यन्तै प्यारो थियो । कसैको मन दुखाउँदैनथ्यो । जसको काम गरिदिन पनि अघि सर्थ्यो । यताउता जान बाइक थियो । काम छिटो र सजिलै हुनेभएकोले सबैले केही काम गराउनुपर्यो भने परिशीलनलाई नै सम्झन्थे ।ऊ खुरुखुरु गरिदिन्थ्यो । सानोठिमीतिर बस्ने कुनै केटी पनि परिशीलनप्रति आकर्षित थिई भन्ने सुनिन्थ्यो । हामी मात्र दुवाकोट मोडमा बस्थ्यौँ । अरू रुकुमतिरका सबै सानोठिमी नै बस्थे ।
कमलविनायकितर जानुपर्ने मान्छे ऊ पुरानोबाट हुँदै सानोठिमीतिर लागेछ । पुरानोबाटोको राधेराधे चोकमा एउटा गाडीले उसलाई ठक्कर दिएछ। ऊ घाइते भएर बचाऊ बचाऊ भनिरहेको बखत गाडीले ब्याक गरेर टाइरले टाउकोमा नै किचिदिएछ । दुर्घटना भएपछि उसलाई भक्तपुर अस्पत्तालमा लगिएछ ।गाडीले ताकेर टाउकोमै किचेपछि बाँच्ने कुरै थिएन । एक परिवारको प्यारो सन्तान एकजना होनहार विद्यार्थी एकजना सम्भावित राष्ट्रको कर्णधार चरोमुसो मारिएझैँ बिरानो ठाउँमा मारियो । एउटा कुखुरा मारिँदा सडक बन्द गर्दै प्रतिरोध गर्ने मान्छेहरू उसको मृत्युमा एकजना पनि सडकमा गएन । बाटो निर्बाध चलिरह्यो ।
म अफिस पुगेको थिएँ । परिशीलन दुर्घटनामा परेको भनी शोकमा डुबिरहेका परिवारको फोन आयो । मेरो होस हवास उड्यो ।बाटोभरि परिशीलनलाई बचाइदेऊ भगवान भन्दै पुकार गरिरहेँ । भक्पुर अस्पत्तालमा पुग्दा रुकुमका धेरै आफन्तहरू जम्मा भइसकेका थिए । वातावरणले देखाउँथ्यो परिशीलन बाँचेन भन्ने कुरा । आफू उभिएको धर्ती भासियो । सबै सपनाहरू चकनाचुर भए । भविष्यका सबै योजनाहरू भताभुङ्ग भए । परिवार आँसुको रहमा नै बाँच्न थाले ।पीडा त सबैको उस्तै थियो तर देवकुमारीलाई सम्हाल्नु झनै मुस्किल थियो ।
ठिमीस्थित सुप्रिम एकेडेमी नाम गरेको स्कुलको बस रहेछ त्यो । त्यसै दिन चालक फेरिएको रहेछ ।सुन्दर नाम गरेको चालकले मदिरासेवन गरेर गाडी चलाएको रहेछ ।उसको गाडी चलाउने लाइसेन्स पनि रहेनछ ।भित्रको साइड बाटोबाट आएको बसले सुस्त गतिमा गइरहेको परिशीलनलाई ठक्कर दिएको र गाडी ब्याक गरेर किचेको सबै प्रमाणहरू थिए । तर मान्छे मारिँदा पनि प्रहरीले सितिमिती उजुरी लिन नै मानेन । उजुरी लिएपछि सरकारी वकिलमार्फत् मुद्दा त चल्यो तर हप्ता दिनमै ढिसमिस भयो । चालक एक दुई हप्तामै हिरासतबाट छुट्यो । न्यायाधीशहरू पीडितको पक्षमा भएनन् ।राज्यले पीडितको पक्षमा लाग्ने औचित्य ठानेन ।
हामी दुवाकोट बस्न नसकेर भैरहवा पढ्दै गरेका अस्मिता र परीक्षितसँग बस्यौँ । जागिरी पनि उतै सरुवा गराइयो । देवकुमारी र मेरो पीडाले छटपटिँदा आत्महत्या गर्ने योजना पनि बनाउँथ्यौँ ।सम्झना होस् भनेर परिशीलन स्मृति प्रतिष्ठान त खोल्यौँ तर कानुनी प्रक्रियाको झन्झटले समयमा नवीकरण गर्नै धौधौ छ । नाम मात्रको बनेको छ । आफन्तहरूले संवेदनाको हिसाबले उठाएको पैसा प्रतिष्ठानको कोषमा छ र अहिले ५ वर्षे मुद्दती खातामा राखेका छौँ । ब्लड मनीको रूपमा दिएको केही पैसा र आफ्नो जागिरीको अवकाश हुँदा आएको पैसाले बुङमतीमा सानो टुक्रा जग्गा किनेका छौँ ।
यो दिनले यस्तै कुराहरू सम्झाउँछ । अतीतको घाउ आलो भएर आउँछ ।जन्मदिनको दिनमा केही त गरौँ भन्ने सोच आउँछ तर गर्नु के । परिशीलनकै नामबाट आजैको उसको जन्मदिन पारेर सोलाबाङ स्कुलका विद्यार्थीहरूलाई हरेक वर्ष सानो सहयोग गरिरहेका छौँ ।यसपालि पनि नाम पठाइदिन सोलाबाङका हेडसर तथ जेठान भक्तबहादुर खडकालाई विद्यार्थीको नाम पठाइदिनुहोस् भनी फोन गरेको एक हप्ताभन्दा बढी भइसकेको छ । तर नाम पठाइदिनुभएको छैन ।
तसर्थ बिहान खाना पनि नखाई पशुपतिमा गएँ ।पशुपति आर्यघाटमा परशीलनको अस्थिपञ्जर खरानी पारेको ठाउँ भक्कानिँदै केही बेर हेरिरहेँ । त्यताबाट उठेर पशुपति दर्शन गरेँ र परिशीलनको आत्मा शान्तिको कामना र बाँकी परिवारको सुरक्षाको निम्ति पुकार गरेँ । पशुपतिमा बसेका असक्त अपाङ्ग वृद्ध र मगन्तेहरूलाई दान गरेँ ।
पशुपतिबाट लेखनकुञ्ज फर्किएँ ।पुग्दा साढे ७ मात्र बजेको थियो । बाँकी रहेको क्यालेन्डरको काम सकेँ । विवशले खाना खानुभएको छ कि छैन भनेर पनि सोधेनन् । मैले पनि खाना खाएको छैन भनिनँ । अस्ति भनेर पनि मेरो निम्ति खाना पाकेको थिएन ।
सौरभहरू आएपछि क्याप्टेन डीआर निरौलाको आकाश यात्रा पुस्तकको दोस्रो संस्करणको प्रकाशनको लागि केही काम गरियो र हरिप्रसाद पाण्डेको प्रकाशोन्मुख पुस्तकको केही छुट सम्पादनको काम भयो । उहाँका भान्जा महेश थपलियाले पुस्तकमा राख्नुपर्ने थप कुराहरूको बारेमा छलफल गर्न बोलाएकोले उहाँको कुलेश्वरस्थित कार्यालय आदर्श नेपाल निर्माण कम्पनीको अफिसमा पुगेँ ।हरिप्रसाद पाण्डे खसीबजारस्थित आफ्नो घरमै हुनुहुँदोरहेछ । त्यहाँबाट महेशसहित खसीबजार पुग्यौँ ।ठुलो एरियामा हरिप्रसादका भाइभाइको दुई सफेद रङका घरहरू रहेछन् । भित्रै गाई र पशुपन्छी पनि पालिएका रहेछन् । हरिप्रसादकी पत्नी छोरा गोविन्द भाइ भान्जाहरूलगायतसँग थप छलफल भयो ।
काभ्रेको नमोबुद्धबाट बच्चैमा मुग्लिन हिँडेका हरिप्रसादलाई उहाँका भिनाजुले काठमाडौँको प्रयागराज पाण्डेको घरमा राखेर जानुभएछ। बिचरा हरिप्रसादले प्रयागराजको लङ्गौटी धोएर र गोठालो भएर बाल्यकाल बिताएछन् । ८ कक्षासम्म पढेछन् पनि ।तिनै प्रयागराजले हरिप्रसादलाई निर्माणको काममा लगाइदिएछन् । पछि आफ्नै आदर्श नेपाल निर्माण कम्पनी लिमिटेड खोलेछन् । केही वर्षअघिसम्म यो कम्पनी देशकै अग्रणि निर्माण कम्पनीमा पर्दथ्यो । गोठालोबाट निर्माण कम्पनीको प्रोप्राइटर बनेका सङ्घर्षका कहानीहरू छन् मैले सम्पादन गर्दै गरेको हरिप्रसादको आत्मकथारूपी पुस्तकमा ।
छलफलपछि लेखनकुञ्ज नै फर्किएँ । क्याप्टेन डीआर निरौलाको पुस्तकको दोस्रो संस्करणको डमी पनि तयार भइसकेको रहेछ ।त्यो लिएर पुनः बत्तीसपुतलीस्थित निरौलाको घरमा पुगेँ र परिवर्तन गरेका र थपेका कुराहरूको ब्रिफ गरेँ । त्यहाँबाट गौशाला आएँ र पुरानोबाटो हुँदै दुवाकोट मोडतिर आएँ । भाडा तिर्दा खलासीले ४० रुपैँया काट्यो ।गौशालाबाट आएको हुँ भन्दा मान्दै मानेन । बुढो भएर पनि गाडीवालालाई ठग्न खोज्ने भन्दै झगडा गर्न तम्सियो । १० रुपैयाँ बढी जानु ठुलो कुरा थिएन तर उल्टै आफैलाई ठग प्रमाणित गरेकोले उठेका प्रचण्ड रिस मार्न अनेकौँ प्रयत्न गरियो ।
घरमा पुगेपछि बैशाख १ गतेदेखि सुरु गर्ने भनिएको भर्चुअल बर्थडे प्रोग्रामको निम्ति त्यस दिन जन्मदिन पर्ने फेसबुक साथीहरू खोजेँ र सबैलाई मेसेज पठाएँ । आजको कामको बारेमा मेसेन्जरबाट कमलजीलाई अवगत पनि गराएँ । अनि छिटै खाना खाएर अघिल्लो रातको निद पुर्याउन छिट्टै बिछ्यौनामा पल्टिएँ । सितिमिती निद्रा नै आएन ।
![]()
Post Comment