२०८२ फागुन २६ गते मङ्गलवार
सोलाबाङ, रुकुम पश्चिम
आज पनि बिहान खेतबारीकै काममा व्यस्त भइयो । बाँझो तथा बारीको ढिकघारि फर्सी र करेला लगाइयो ।
चिया खाने समयमा होम सम्धी बजार जाँदै हुनुहुन्थ्यो सासूआमाले घरमा बोलाउनुभयो र पुनः छोराहरूसँग छलफल गराइदिन अनुरोध गर्नुभयो । उहाँले सबै परिवार शिक्षित र बुद्धिमान हुनुहुन्छ, आमाको महत्त्व उहाँहरूलाई बुझाइरहनुपर्ने होइन बरु पालैपालो सबै छोराहरूकहाँ जान सुझाव दिनुभयो ।
वृद्धावस्थामा वृद्धहरू बच्चाको जस्तो व्यवहार गर्ने भएकोले बच्चाकै जस्तो स्यहार गर्नुपर्छ । बुढाबुढीलाई नियमित रूपमानुहाइदिने, लुगा धोइदिने, हात समातेर टोइलेट गराउने, राति बेलाबखत अवस्था जाँचिरहने, बच्चाकै जस्तो लिटो बनाएर वा नरम खाने कुरा खुवाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । वृद्धहरूको इच्छामुताविकको कुरा पुर्याउन सन्तानले कोसिस गर्नुपर्छ जसरी बच्चामा आफूलाई आमाबाबुले संरक्षण गरेका थिए त्यसरी वृद्धावस्थामा स्याहार सुसार गर्नुपर्ने बताउनुभयो ।
दिउँसोतिर खाराबाट दिदीसासू अर्थात् सासूआमाकी दिदीकी छोरी आउनुभयो । धेरै दिनपछि भतिजीलाई भेट्न पाउँदा सासूआमा निक्कै खुसी हुनुभयो र तन्दुरुस्तको जस्तो व्यवहार देखाउन थाल्नुभयो । उहाँले सासूआमासँग नाचेर टिकटक बनाउनुभयो । उहाँको सान्निध्यले सासूआमाको खुसी बढेकोले दिदीलाई आज सोलाबाङमै बसिदिन आग्रह गर्यौँ । उहाँ बस्न राजी हुनुभयो ।
हामीले दिदीकै भरमा सासूआमालाई छोडेर गहुँ पिँध्न घट्ट गयौँ । घट्टको छेउमै नुमाको परिवारले सुँगुर तथा कुखुरापालन गरेकोले घट्टमा दुर्गन्धले बसिसक्नु थिएन । तैपनि २ पाथीजति गहुँ पिँधुन्जेल नाक थुनेर बस्नैपर्ने भयो । नुमाले करिब १००० भन्दा बढी ब्रोइलर चल्लाहरू एक दर्जनजति बङ्गुर र त्यति नै हाँसहरू पालेर महिनामा लाखौँ आम्दानी गरिरहेका छन् । गाउँमा काम के छ र भन्दै विदेश लर्को लाग्नेहरूलाई नुमाहरू उदाहरणीय व्यक्तित्व हुन् ।
मनलाल ओलीकी दिवंगत पत्नी राधाको स्मृतिमा राधा ओली स्मृति ग्रन्थ प्रकाशन गर्ने तयारी अन्तिम अवस्थामा पुगेको छ । उक्त स्मृतिग्रन्थको सम्पादन मैले नै गरेको थिएँ । अतः मुद्रणको बारेमा फोनमार्फत् सामान्य छलफल भयो ।
लटे ठुल्दाइको कान्छो छोराको बिहेको तयारीमा सहयोग पुर्याउन बेलुका कइनपानीतिर उक्लियौँ । उसको बिहे भोलि हुँदै छ दुलही पहिले नै घरमा ल्याइसकिएको छ । केही तयारीको काम सकिइसकेको र केही भोलि नै गर्नुपर्ने भएकोले बेलुकीपख हामीले केही गर्नुपरेन । पारिवारिक कुराहरू भए ।
![]()
Post Comment