सन्तुलन
एक पाइला धौलागिरीको र अर्को पाइला सगरमाथाको
माथिल्लो आधारशिविरमा टेकेर
कनिकुथी चढिरहेको छु जिन्दगीको उकालो
यताको हरकदमले यतैको पाइताला दुख्छ
उताको हरकदमले उतैको पाइताला दुख्छ ।
रहस्यमय आकाशमा मडारिने सेतो/कालो बादलले
दुवैतिर थपिहेकोछ चैतसम्मै आलो हिउँ
दुःखको धौलागिरी अग्लिरहेको छ
सुखको सगरमाथा पनि अग्लिरहेको छ
उताबाट होचो लाग्छ- धौलागिरी
यताबाट होचो लाग्छ- सगरमाथा ।
सगरमाथाको माथमै पाइला टेक्न
टुप्पो निहुर्यााउने/सम्याउने उपाय बजारमा बग्रेल्ति बेचिएका छन्
जताततै कुँदिएका छन् बनीबनाउ हिमपदमार्गहरु
बढिरहेका छन् समथर सगरमाथाका सजिला यात्रीहरु
सगरमाथाको उचाइ जो पनि बताउन सक्छन्
र त सगरमाथाको सर्वोच्चता प्रतित हुन्छ ।
सगरमाथा मात्र चढ्न चाहनेहरु
बुझ्दैनन् अक्करेभीरको धौलागिरीको उकालो यात्रा
बाङ्गोटिङ्गो छ यसको अदृश्य/अउद्घाटित/अनपेक्षित पथ
कसैगरी सकिँदैन सिधा नाप्न यसलाई
यताको चढाइ फरक छ
यताको दुःखाइ फरक छ ।
उताको सुखानुभूतिले यताको दुःखाइ भुल्नुपर्दोरहेछ
एकपाइला स्वतः घिस्रिँदा दुःखको धौलागिरीको उचाइतिर
घिसार्नु बलजफ्ती सगरमाथाको उचाइतिर अर्को पाइला
पो जिन्दगीको सन्तुलन रहेछ !
उकालोमा लड्खडाएर गिर्नबाट आफैलाई जोगाउन ।
२०७३।११।२७ भैरहवा