×

जब मेरो दिमागमा केही खेल्छ त्यो कुरा चालपाएर यो मेरो दिलको आँगनीमा झोला लिएर टुप्लुक्क देखा परिहाल्छ । यसले दिमागमा खेलिरहेका मेरा शब्दहरु माग्छ । ती शब्दहरुमा रस भर्छु भनेर लोभ देखाउँछ, आकार भर्छु भनेर मरिहत्ते गर्छ । म पत्याउँदिन । ऊ मेरा हरेक शब्दहरुलाई सजाएर सुरक्षित राखेको भकारी नै ल्याएर देखाउँछ । म तीनछक् पर्छु योसँग । मैले यो मान्छेबाट यस किसिमको आशा कहिले पनि गरेको थिइन । मेरै लागि यतिविधि श्रम, सिप र लागत ऊ एक्लैले किन खर्च गर्यो ?मैले यसलाई राम्रोसँग चिन्दिन । हामी उमेर, पढाइ, जागिरी, मित्रता तथा अन्य सामाजिक सम्बन्धको हिसाबले समकालीन वा नजिकका हुँदैहोइनौँ । अहिले त ऊसँग जिल्लाकै अन्तर छ । सुन्छुः ऊ प्रगतिको पाइलामा अघि लम्किरहेको छ । हाम्रो संवाद शून्यप्रायः छ । तै पनि किन ऊ मलाई यतिविधि गुण लगाइरहन खोज्छ ?मैले कतै व्यक्त गरेका शब्दहरुलाई यदि साहित्यको नाम दिन लायक छ भने त्यो साहित्यमा ९० प्रतिशत भूमिका यही मान्छेको रहेको छ । यसले नै कुतकुत्याइरहन्छ मलाई केही कुरा अभिव्यक्त गर्न । किनकि ती शब्दहरुको बीउ राख्ने अभियानमा छ ऊ ।उसलाई नै महत्त्व दिन चाहेको मुख्य दुई कारण छन् । एकः मैले साहित्यतिर कलम चलाउन थालेदेखि ३८ वर्षको होउन्जेलसम्म सिर्जना गरेका सबै रचनाहरु तत्कालीन राजनीतिक परिवेशको भयवश् मेरो बाले पाखोमा लिएर खौलो खनेर गाडिदिनुभएछ । जब धेरैपछि यो कुरा थाहा पाएर बाले देखाएअनुसारको ठाउँहरुमा मैले खौलाहरुका डोब उधिनेर हेरेँ, पन्ध्रबीस वर्षसम्मको वातावरणीय तथा जैविक प्रभावले मेरो वर्षौँवर्षको सबै परिश्रम माटोतुल्य भैसकेको रहेछ । म पश्चात्तापको भूमरिमा फसेँ । यो पीडाले म झण्डै एक दशक लेखन कार्यमा हात बाँधेर बसेँ । अब न त ती रचनाहरुलाई पुनर्जिवित गर्न सकिन्छऽ न त त्यस परिवेशमा लेखिएका शब्दहरु यो प्रौढावस्थाको दिमागमा पुनःउत्पादन गर्न सकिन्छ ।यो मान्छेले अब त्यसरी क्षति हुने सम्भावनाबाट मेरा लेखाइहरुलाई जोगाउने उद्देश्यले वातावरणीय तथा जैविक प्रतिरोधक भकारी निशुल्क उपलब्ध गराइदिएको छ । त्यो भकारी हेर्न चाहनुहुन्छ भने purnaoli.com.np मा पुग्नसक्नुहुन्छ तपाईँहरु पनि ।दुईः यो कहिल्यै भुल्ननसकिने गुणस्वरुप उपहार प्राप्त गरेपछि यति शब्द खर्चिनको लागि आफ्नै जीवनका आरोहअवरोह र त्यसले छोडेको दीर्घकालीन छापले मलाई उपयुक्त अवसरको खोजी गर्नबाट टाढै अलमल्याईरह्यो । मेरो लागि आज त्यो अवसर प्राप्त भएको ठानेको छु र यो दिनमा मैले दुईचार शब्द खर्च नगर्दा यो मान्छेप्रति न्याय नहुने देखी आज यी शब्दहरु खर्च गरिरहेको छु ।………………..आज मेरो अति नै पृय यो मान्छेको जन्मदिवस रहेछ ।……………..यहाँले चालेका हरेक पाइलाहरु सफल बनून् । परिवार सधैँ सुखमय रहोस् । सुस्वास्थ्य र दीर्घायुको कामना ।

Loading

Post Comment

You May Have Missed