×

२०८२ फागुन २१ गते विहीवार

२०८२ फागुन २१ गते विहीवार

सोलाबाङ, रुकुम पश्चिम

आज चुनावको दिन । बिहानै मतदानकेन्द्रमा पुग्ने पूर्वयोजनामुताबिक बिहान ५ बजे नै उठेर नित्य कर्म सिध्यायौँ । ठुल्दाइसँग सँगै जाने कुरा थियो तर उहाँले फोन उठाउनुभएन । जेठा जेठान तथा दिदी र हामीहरू पैदल सालीबिसौनाको बाटो जाने कुरा थियो तर दिदी हिड्न सक्नुभएन भनेर उहाँहरू बाइकमा जानुभएछ । अतः बाटो लाग्दा देवकुमारी र म एक्लै पर्‍यौँ । बिहानैदेखि गाडी चल्ने छाँट नभएकोले हामी साउनेपानी बादीडेरा हुँदै दाउरीकाट्नेतिर उक्लियौँ । हामी बोरागाउँमा पुगेपछि होम सम्धीहरू चढेको गाडी आइपुग्यो । सम्धी गाडीबाट ओर्लनुभयो उहाँसहित ३ जना पैदलै बोरागाउँ कोट हुँदै सवा ७ बजेतिर हामी चाँपा पुग्यौँ ।

हामीभन्दा पहिले ३ जना मात्र लाइनमा थिए । असक्त र जेष्ठ नागरिकलाई प्राथमिकता दिनुपर्ने भएकोले दुईतीन जना हाम्रो अगाडि लागे । चाँपाको क मतदानकेन्द्रपट्टि रुजु गर्ने व्यक्ति निकै ढिला देखिए । वर्णाणुक्रममा रहेको एकजनाको नामावली हेर्न पनि उनलाई १० मिनेटजति लाग्यो । उनले जुम्रा केलाएझैँ नाम रुजु गर्दा दिक्क लागिसकेको थियो । करिब आधा घण्टा लाइनमा बसेर मतपेटिकामा मतपत्र खसाइयो । देवकुमारीले पहिले हानेको छाप प्रस्ट देखिएन भनेर अर्कोचोटि हानिछन् । २ पटक हाने मतपत्र रद्द हुन्छ भन्ने सिकाउनै बिर्सेकोमा थक्क थक्क लाग्यो । आधा घण्टासम्ममा धेरै मतदाताहरू आएर लाइन लागिसकेछन् ।

अरू गाउँलेहरू चुनावी वातावरणको रमाइलो लिन चाँपातिरै अल्झिएका थिए तर देवकुमारी र म मत हाल्नेबित्तिकै फर्किहाल्यौँ । देवकुमारीले आमालाई भेट्छु भनेकोले हामी माइला जेठानको घरमा गयौँ र त्यतै खाना खायौँ । ८० वर्षीय सासूआमाले भोट हाल्ने र चुनावको रमाइलो हेर्ने खुबै रहर गर्नुभएको थियो तर पुर्‍याउने र ल्याउने मान्छे नभएको तथा वार्धक्यको अन्तिम खुड्किलोमा पुगेकोले भोट हाल्नुको कुनै औचित्य नभएको भनी अन्तिम रहर पूरा गर्न पाउनुभएन ।

घर आइसकेपछि २ पाथीजति गहुँ लिएर मुग्लुखोलास्थित पानीघट्ट गयौँ । मैले आरभ साहित्यिक पत्रिका बोकेर गएको थिएँ त्यही पढेर समय कटाएँ । देवकुमारीले घट्टमा गहुँ पिस्ने काम गरिन् । २ घण्टामा गहुँ पिसिसकिएकोले घरमा आयौँ । मैले धेरै वर्षदेखि सुख्खा रहेको तल्लोपाटोमा पानी चार्न काम गरेँ । आमालाई अलि गारो भएको खबर आएकोले देवकुमारी आमा भएतिर गइन् । फर्कँदा आमालाई साथमै ल्याएर आइन् । सासूआमा पनि खुसी हुनभयो देवकुमारी पनि खुसी ।

मैले अनलाइन समाचारहरू हेरेँ । देशमा जताततै शान्तिपूर्ण निर्वाचन सम्पन्न भएछ । इतिहासमै पहिलोचोटि कतै पनि बुथ क्याप्चर नभएर र चुनाव नसरेरै चुनाव सम्पन्न गर्न सकेकोमा प्रधानमन्त्री सुशीला कार्कीलाई सबैले प्रशंसा गरेका रहेछन् । देशमा कूल ६० प्रतिशत मत खसेछ । यसपालिको मतपरिणामले चमत्कार गर्ने खबर सबै पत्रपत्रिकाहरूमा छ्याप्छ्याप्ती थियो । रुकुम पश्चिममा पनि ५८.४४% (६२,९६७) मत खसेको प्रारम्भिक अनुमान देखियो । जसअनुसार मुसीकोटः १२७१६, आठविसकोटः १२५८४, सानीभेरीः ९६१९, बाँफीकोट: ८००५, त्रिवेणी:८४५८ ,चौरजहारीः११५९६ मत खसेको प्रारम्भिक अनुमान छ । यस आँकडाअनुसार करिब १८००० मत ल्याउनेले चुनाव जित्ने सम्भावना देखियो ।

Loading

Post Comment

You May Have Missed