लेख/आलेख

सम्वाद

“शान्त होऊ ! मेरा सन्तान, धीर बन । यो छातिभित्र उत्पन्न तेज ज्वरोको मारवश् अहिले मेरो जीऊ दुखिरहेको छ । फलतः जाडोले सर्वाङ्ग काँपिरहेको छ । मेरो निधार छाम । मेरो स्पन्दन छाम । आऊ एकछिन मेरो समिपमा ।”

“नाइँ, नाइँ, म आउँदिन तिम्रो नजिकमा
अनाहक तिमी मेरो सातौ खान्छ्यौ
तिमीलाई मैले बल्ल चिनेँ
तिमी एक नम्बरकी कपटी रहिछ्यौ
तिमी त साँच्चिकै पापिनी रहिछौ
न सुख्ख मनले बाँच्न दियौ
न सुख्ख मनले सपना साँच्न दियौ
म तिम्रो नजिक आउँदिन, नाइँ ।”

“त्यसो नभन, मेरो पृय सन्तान ! हेर, यो ज्वरोको कारण म आफै वशीभूत छु । मेरो काखमा बस्नेलाई स्वाभाविक रुपमै कहिले ज्वरोको तापले छुन्छ, कहिले मायाँको न्यानोले भिज्छ ।
मतिर फर्केर हेर त ! मैले त आफू शून्य आकाशमा अनादिकालदेखि अनवरत झुण्डिएर तिमीहरुलाई आश्रय प्रदान गरिरहेकी छु । तिमीलाई थाहै छ, म सूर्यलाई परिक्रमा गर्न प्रति घण्टा एक लाख सात हजार किलोमिटरको वेगले कुदिरहेकी छु । तिमीलाई आवश्यकताअनुसार शितलता र न्यानो प्रदान गर्न, श्रम र विश्राम दिन आफ्नै कक्षमा प्रति छयासी हजार चार सय सेकेन्डको गतिले घुमिरहेकी छु । त्यही गतिमा तिमी पनि हुँइकिँइरहेका छौ । तर पनि तिमी अनायास लडौला भनी किञ्चित नहल्लाई तिम्रो अस्तित्वमा तलबितल नपारी मेरो कर्तव्य पूरा गरिरहेकी छु । तिमीले हत्पति थाहा नपाउने गरी कति जतनसाथ तिमीलाई ब्रह्माण्ड भ्रमण गराइरहेकी छु, आकाशीय पिण्ड अवस्थिति नहेरी तिमी चाल नै पाउँदैनौ ।
तिमीलाई त्राहीमाम तुल्याइरहेका मेरो कम्पनको हल्का प्रभावलाई ध्यान देऊ त ! यदि ती ठूला आकारका कम्पन मध्यरातको बखत वा बच्चाहरु शिक्षालयमा थुप्रिएको बखत आइदिएको भए त्यसको प्रभाव कति गुणा बढी हुन्थ्यो ? साढे सात म्याग्नेच्यूटको कम्पनभन्दा अलिकति मात्र उँचो कम्पन गरिदिएको भए बाँकी रहन्थे तिम्रा निजी र स्थायी भनाउँदा संरचनाहरु ? तर मैले त्यसो गर्न सकिन । मैले तिमी र तिम्रा समस्त कुराहरुलाई यथाशक्य बचाउन नै खोजेँ ।
कल्पना गर त, एक मिनेट हावा रुकिने हो भने तिम्रो अस्तित्व बाँकी रहन्छ कि रहँदैन ? मैले तिम्रो प्रत्यक धड्कनका लागि पलपलको श्वासको प्रबन्ध मिलाइदिएर तिमीलाई बचाइरहेकी छु । एकछिन पानी नपाउँदा तिमी प्याकप्याक्ति भई कति छटपटिन्छौ ? कल्पना गर । मैले निशुल्क सर्वसुलभ दूधरुपि अमृत जल खन्याएर तिम्रो अस्तित्व जोगाइदिएकी छु । सूर्य लगायतका ताराहरुबाट सिर्जित परावैजणी किरणहरुलाई माथि नै छेकी तिमीलाई सुरक्षित तुल्याई आइरहेकी छु ।
तिमीले विकासका जुन गुड्डी हाँक्छौ ती गफहरु ऊर्जाको उद्भव नभइदिएको भए सम्भव हुने थिएनन् । मैले ऊर्जाको एक झिल्का उपहार दिएर तिम्रा अत्याधुनिक वैज्ञानिक आविष्कारहरुलाई सम्भव तुल्याइदिएकी छु ।
तिम्रा ज्ञानेन्द्रीय र कर्मेन्द्रीयको आवश्यकता र महत्वबारे एकछिन सोच । ती ज्ञानेन्द्रीय र कर्मेन्द्रीयसंग सामञ्जस्य हुने गरी मैले मेरो छातिबाट तिम्रा इच्छामुताबिकका वस्तुहरु सिर्जना गरेकी छु ।
तिम्रो जिब्रोका स्वाद अनुसारका वनस्पति उमारेर
तिम्रा नजरअनुसारको सुन्दरता सृजना गरेर
तिम्रो कर्ण पृय मृदुध्वनी उबाजेर
तिम्रो स्पर्शअनुसारको अनुभूति प्रदान गरेर
तिम्रो हृदयमा प्रेमको बीज रोपिदिएर
तिम्रो खुशीलाई अधिकतम् पार्न तिमीलाई हरेक संकटमा मैले हरतरहले जोगाउने कोशिस गरेकी छु
भन मैले तिम्रो के बिगार गरेँ ?”

“तिमीले हाम्रो के बिगारिनौ ? भन न ।
आफ्नै सन्तानलाई
घरि भुइँचालो मच्चाएर
घरि महामारी फैलाएर
घरि बाढी पहिरो उच्चाएर
घरि चट्याङले हिर्काएर
मेरो सम्पत्ति लुट्यौ
मजस्तै दुःखी गरीबलाई नै छानीछानी रुवायौ
मेरो भविष्य लुट्यौ र सर्वस्व लुट्यौ
मेरो जिन्दगी बर्बाद पार्यौ आमा तिमीले
तिमी त साँच्चिकै पापिनी रहिछौ ।”

“सोह्रै आना गलत । मेरा सन्तान होशमा आऊ तिमीहरु । तिमीजस्ता लुते र बेइमान सन्तान जन्मँदा मैले कति कहर सहिरहेकी छु मलाई मात्र थाहा छ । मेरै शरीरका अंश-अंशलाई भागबण्डा लगाएर मेरै रोम-रोममाथि लुँछाचुँडी मच्चाएर मेरै छातिलाई गर्नु दोहोन त तिमीहरुले गर्यौ । गर्नु नगर्नु त तिमीहरुले गर्यौ !”

“आफ्नी आमाको छातिमा रजाइँ गर्ने
हामी सन्तानको जन्मसिद्ध अधिकार हो !
हामीले तिम्रो छातिमा
मनपरि गर्न छुट पाउनैपर्छ,
पाउनैपर्छ पाउनैपर्छ ।”

“तिमीहरुले तिम्रो इच्छामुताबिक सुकृत्य गर या कुकृत्य गर, भाँतिभाँति गर्न मनग्गे छुट पाइरहेकै छौ । तिमीलाई तिम्रो उन्नतिको लागि ‘हात’ दिएँ, तिमीले मेरा प्राकृतिक सिर्जनाहरुलाई उखलआखेल पार्न प्रयोग गर्यौ, यतिसम्म कि तिमीहरुले कंक्रिटको जंगलले मेरो घाँटी नै भरिदियौ । तिमीलाई मेरो छातिभरि विचरणको लागि र अडेस लाग्न ‘खुट्टा’ दिएँ, तिमीले तिम्रै सहोदर दाइभाइलाई थिचोमिचो गर्न ‘लात’को रुपमा प्रयोग गर्यौ । तिम्रो जीवन आधारको लागि ‘मुख’ दिएँ । तिमीले चपाउने दाँत र देखाउने दाँत हुर्काउने थलो बनायौ । मैले प्रकृतिको मृदु ध्वनी सुन्नलाई स्वर र कान दिएँ तिमीले त्यो स्वरलाई कर्कश गालीमा परिवर्तन गरी मेरा कान नै बन्द गरिदियौ । प्रेमको निवास कायम गर्नुपर्ने दिललाई षडयन्त्रको घर बनायौ । संसार बुझ्ने आँखालाई गिद्दे दृष्टि तुल्याउँदै मेरा आँखा नै कोपरिरह्यौ ।
प्राकृतिक सिर्जनाहरुमा विध्वंश मच्चाउँदै हरतरहका प्रदुषणले मेरो बाह्य आवरणलाई (ओजोन) नै प्वाल पारिदयौ । आफू अग्लिने लालशाले अरुलाई थिचिरह्यौ, मिचिरह्यौ । तिमीलाई नै यस लोकको देवता तुल्याउन मैले तिमीलाई असल आत्मा दिएँ, तर तिमीले भने पत्थरलाई कुँदेर त्यो आत्मा त्यतै घुसारिदिएऊ, अनि फुर्सद र स्वार्थ अनुकुल पुज्न मिल्ने देवता बनायौ । आजन्म आफूले गरेका कुकृत्यलाई ढाकछोप गर्न हतियार बनायौ त्यसलाई । मानवको कोखमा जन्म लिएर एक चिम्टी पनि मानवता संगाल्न सकेनौ । खेद छ तिमीहरुप्रति, मेरा मानव सन्तानहरु हो !
मैले तिमीलाई मानव नीति सिकाउन खोजेँ, तिमीले त्यसलाई बिगार्दै फोहोरी राजनीतिको निर्माण गर्यौ । अनि भागबण्डा लगायौ आफ्नै भाइहरुलाई र तिनीहरुबीचको भालेजुधाइको आयोजना गरी मनोरञ्जन लियौ । काटाकाट गरायौ । मारामार गरायौ । आफ्नो पक्षलाई संरक्षण गर्यौ र अर्को पक्षको नरसंहार मच्चायौ । मेरो सन्तान हौ भन्ने पनि लाज मान्नुपर्ने अवस्था आफैले सिर्जना गर्यौ ।”

“उसोभए हाम्रा यी स्वाभाविक कृत्यको
प्रतिशोधको लागि
यो बिपत्तिको नाटक रच्यौ तिमीले ?”

“त्यो पनि होइन । म कहिले पनि तिमीहरुको लागि बिपत्ति बन्न सक्तिन । म तिम्री आमा हुँ र तिमीहरु मेरै मुटुभन्दा पृय सन्तान हौ । तिमीहरु छौ र त म जीवन्त छु, सुन्दर छु र अन्य आकाशीय पिण्डभन्दा भिन्न छु । मेरो आफ्नै कर्तव्य निर्वाहको क्रममा हुने नियमित गतिशिलतामा म तिमी कुन लिङ्ग, वर्ण, जातजाति, उँचनिच, धर्म सम्प्रदायका हौ भनी छुट्ट्याउन सक्दिन ।
मैले तिम्रै कल्याणका लागि प्रश्वास दिन्छु, तिमीले घाँटीमा पासो लगाई आत्महत्या गर्छौ । तिम्रै कल्याणको लागि पानी दिन्छु, तिमी चाँहि पानीमा डुबेर मर्छौ । म तिमीलाई ऊर्जाको लागि आगो दिन्छु, तिमी त्यसैमा आत्मदाह गर्छौ । म माटो दिन्छु, तिमी माटोमै खेलाँची गर्छौ । म तिमीलाई अनाज दिन्छु, तिमी त्यसको नाफाघाटाको व्यापार गर्छौ त म के गरुँ ?
अधिकांश बाढी, पहिरो, आगलागी, महामारी, असाध्य रोगव्याधी आदि तिम्रै मूर्खताले नै सिर्जिएर तिमीहरुको काल बन्न पुगेका हुन् । त्यो मैले गर्दा हुँदै होइन । वर्षाद, हिउँद, गृष्मजस्तै भूकम्प, ग्रहण, ज्वालामुखी पनि मेरा नियमित प्रक्रिया हुन् । तिमीले मलाई घाँटी सुकुन्जेल गाली गर्दैमा वा तिमीले तिम्रा स्वार्थका लागि सिर्जना गरेका देवतासंग भाकल, कामना वा पूजा गरेर रोक्न खोज्दैमा आइन्दा मेरा अनिवार्य प्राकृतिक अवयवहरु सिर्जना हुन छोड्ने होइनन् । बरु तिमीले बुद्धिमतापूर्वक तिनीहरुसंग तादात्म्य हुने खालको जीवन चयन गर्न जान । मेरो अति मिहिन हलचलमा पनि धरमराएर ध्वस्त हुने कमजोर संरचना वा जनधनको लागि दोष दिएर मलाई धारे हात नलगाऊ र मेरा नियमित प्रक्रियादेखि नडराऊ । तिमी डराउँदा तिम्रो आयुमा समेत क्षति भइरहेको तिमीलाई हेक्का हुनेछैन । मलाई गाली गरेर आत्मतुष्टि लिनुभन्दा अहिल्यै यो नियमित आकस्मिकताको घटनाबाट सिर्जित घाउहरुमा मलहम लगाउन तयार होऊ ।”

“म के गरुँ ?
मैले गुमाउने चिज नै केही बाँकी नरहेपछि
कसरी चित्त बुझाऊँ ?”

“तिमी आफैलाई बुझ
अरुलाई बुझ र
मेरो समस्त चरित्रलाई बुझ्ने कोशिस गर
जे भएपनि म तिम्री आमा हुँ,
तिमी मेरा सन्तान हौ, वश् ।”

२०७२।०२।०२
चाँगुनारायण भक्तपुर ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *