लकडाउन
जब एक् महिना लकडाउन भो
पतिदेव असाध्य सुधा हुनुभो ।
घरि लेखकतुल्य उदाउनुभो
घरि बालकतुल्य निदाउनुभो ।
अघि बारतिरै कति धाउनुभो
घरकी समझीकन आउनुभो
पहिलो दिन नेत्र जुधाउनु भो
परिवार निमित्त खुदा हुनुभो ।
उहिले हुनुसम्म कडा हुनुभो
अहिले नतमस्त खडा हुनुभो
खुद भात तिहून पकाउनुभो
खुद बर्तन, खात-लुगा धुनुभो ।
उहिले घरदेखि फिका हुनुभो
अहिले सबदेखि निका हुनुभो
नरिसाउ भनेर फकाउनुभो
पढ आउ भनेर सिकाउनुभो ।
उहिले झिरतुल्य बिझाउनुभो
अहिले हुनुसम्म रिझाउनुभो
ममतामय आँशु बगाउनुभो
झगडा रिसराग भगाउनुभो ।
पहिले घरदेखि अघाउनुभो
अहिले कति प्रेम जगाउनुभो
घरको जति काम सघाउनुभो
घरि नाचनुभो घरि गाउनुभो ।
जब एक् महिना लक डाउन भो
मतभेद सबै नक डाउन भो
पतिजीप्रतिको शक डाउन भो
पतिजीसँगको धक डाउन भो ।
सरकार विवेक पुर्याउनुभो
घरबार दुरुस्त जुराउनुभो
घरमा पतिको हक डाउन भो
जब एक् महिना लक डाउन भो !!
![]()
Post Comment