Purna Oli

Freelance Writer

गद्य कविता

म एक कार्यालय सहयोगी

मेरो बिहानीको उज्यालो
मेरो घरमा होइन, अफिसको मूलगेटमा झुल्किन्छ

पछ्याउँदै आएका बच्चाहरूको रुवाइ
जीवनसाथीको टाउको दुखेको गुनासो
मेरो कानसम्म आइपुग्दैनन्,
किनकि म
कार्यालय समय सुरु हुनुअगावै
ड्युटीमा पुगिसक्नुपर्छ ।

मैले मूलगेट खोलेपछि समग्र राज्यको मुख खुल्छ
ढोका–झ्याल खोलेपछि प्रशासनयन्त्रको निद्रा खुल्छ
म आफ्नै थकान पन्छाउँदै कुचो चलाउँछु र
मेरो कार्यालय सिनित्त सफा हुन्छ ।

टेबल–मेच रुमालले होइन
आत्मसम्मानले पुछ्छु म
आफ्नो अँध्यारो खर्चेर म बत्ती बाल्छु
अफिस धपक्क उज्यालोमा बल्छ ।
नेट खोल्छु तर आफ्नो जीवन
कुनै नेटवर्कमा जडान हुँदैन

अनि मात्र कर्मचारीहरू आउँछन्,
आआफ्ना गथासा र गुनासाका पोका बोकेर
म मनतातो पानीले विविध गुनासा समन गर्छु ।

म स्वतःस्फूर्त दराज खोल्छु
फाइल झिक्छु
कलम बाँड्छु ।
कसैको आदेश चाहिँदैन मलाई ।

सके साइकलमा नसके पैदलै
म चिठीपत्र बोक्छु
भित्रिँदै गरेका गाडी वा बाइकलाई
विनम्रतापूर्वक नमस्कार ठोक्छु
र अफिस अफिसमा चिठी बाँड्छु
म राज्ययन्त्रकै जीवित पुल हुँ
मेरै काँध चढेर
तालुक र मातहत कार्यालयहरूका
विभिन्न ओहदाका कर्मचारीहरूका
काम कर्तव्य र सूचनाहरू वारपार गर्छन्
म तत्काल भत्कन्छु
हाजिर हुन्छु कार्यालयको सेवामा ।

कार्यालयमा कुनै कर्मचारी टेबुलमा नहुँदा
सेवाग्राहीको आक्रोश मेरै निधारमा फुट्छ,
हाकिम जोगिन्छन् म अचानो बन्छु ।

बिचमा टिब्रेक हुन्छ
कर्मचारीहरू पिँजडाबाट छुटेका चराजस्तै
स्वतन्त्र रूपमा चिरबिर गर्न थाल्दा
भोका कर्मचारीको मनशाय बुझेर
म गिलास–गिलासमा मनतातो पानी भर्छु
चिनी र चियापत्तीको अड्कल गर्दै चिया बाँड्छु
मनपसन्दका फलफूल, खाजा टेबुल–टेबुलमा पुर्‍याउँछु
मेरो दिन अरूको जिब्रोले तय गर्छ ।

टेबुलमा चिया पोखियोस् कि खाजा छरियोस्
कार्यालयमा कलम हराओस् कि फाइल नभेटियोस्
मै जिम्मेवार हुन्छु, मै दोषी हुन्छु ।

बेलुका सबै कर्मचारी घर फर्किसक्दा
म भने असरल्ल फाइल मिलाउँदै
बत्ती निभाउँदै झ्याल–ढोका बन्द गर्दै
राज्य सुरक्षित भएको एक्लै प्रमाणित गर्छु ।

मेरो आफ्नो जीवन भित्रै थुनेर
मूलगेट बन्द गर्छु र राज्यले सन्तोषको सास फेर्छ ।
म घर फर्कँदा रात परिसक्छ !

श्रीमती ज्वरोले काँपिरहेकी हुन्छिन्
चुल्हो चिसै हुन्छ
बच्चाहरू गहमा आँशुका ढिक्का सुकाएर
भोकै निदाएका हुन्छन् ।

मलाई खान मन लाग्दैन
उनीहरूसँग रुन पनि मन लाग्दैन
दिनको ढोका
श्रीमतीको निधार छुँदै
चुपचाप बन्द गर्छु ।

उनलाई भन्न सक्दिनँ म
अफिसमा बिदा पाउन
सिफारिसको कति लामो यात्रा तय गर्नुपर्छ
घरका गन्थन झिनामसिना समस्या बोकेर जाँदा
हाकिमको अनुहार कति अँध्यारिन्छ ।

यसरी महिनाभर जोतिएपछि अन्त्यमा
मैले थाप्छु गाईको थुनबाटै झिकेझैँ
विशुद्ध तर एक सिर्को तलब
न त्यसले दाल तरकारी पुग्छ
न बच्चाहरूको सरकारी स्कुलको कापी किताब
र अन्तमा मेरो सन्तान पनि कतै नबिक्ने हुन्छ

बिकेछ भने पनि मेरै खप्पर बोकेर
यस्तै काम पाउन अभिशप्त हुन्छ ।

आफ्नै कार्यालयमा
खरिदारबाट सेवा प्रवेश गरेको एक कर्मचारी
यिनै आँखाले देख्दा देख्दै सचिवसम्म पुग्छ
काममा जोतिनेबाट काममा जोताउनेमा पुग्छ
जमाना फेरियो, हातले गर्ने काम प्रविधिले गर्छ भन्छन्
तर म कहिल्यै नफेरिने उही पदनामले
कहिल्यै नफेरिने उही हाते काम गरिरहनुपर्छ ।

बजारको महँगीले
अरू कर्मचारीको भन्दा पहिले मेरै ढाड सेक्छ
महंगी र कुशासनको विरोधमा आन्दोलन चले
पहिलो घाइते मै बन्छु
र जलेको कार्यालयको जिम्मेवारी मैले लिनुपर्छ ।

तर गुणस्तर नापिँदैन मेरो कामको
त्यसो त गुणस्तरयुक्त काम नै के पो छ र
गुणस्तर नै नभएको कामको गुणस्तर जोगाउन
म कति सतर्क र सचेत बन्नुपर्छ
कतिसम्म पापड बेल्नुपर्छ अरूलाई के थाहा ?

इज्जतै नभएको मेरो कामको लागि
म वफादार भइरहन्छु, इमान्दार भइरहन्छु
किनकि यो देशको सबैभन्दा जिम्मेवार
र सबैभन्दा इज्जतदार
म कार्यालय सहयोगी नै हुँ भन्ने
मलाई मात्र राम्रोसँग थाहा छ ।

अरूले दिन काटिरहँदा म दिन जोगाइरहन्छु
मेरै कामले समग्र कार्यालयको साख बढ्छ
र हाकिमको इज्जत बढ्छ
यसैमा मलाई गर्व छ ।
म यस कार्यालयको मुख्य सहयोगी
कार्यालय सहयोगी ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *