नोक्री गाई
मसंग नोक्री नाउँको बुढी गाई छ
जुगौँ भयो पालेको
सिर्फ एक डोको मलको लागि |
तर धेरै भयो थारै रहेको
न दूध दिन्छ, न ब्याउँछ, न अरु केही काम छ ।
चाहियो हजूर ?
सित्तै दिने थिएँ, चित्त दुख्छ
बरु सस्तो भाउमा
नोक्री गाई विक्रीमा छ ।
न धेरै घाँस खान्छ, न आटोपीरो नै खोज्छ
सिर्फ एकमुठा परालले थप एकदिन बाँचेकै छ
कसैसंग जुध्दैन, न लात्ती हान्छ
न मान्छे हान्छ, जे भन्यो त्यही मान्छ
निक्कै सुँधो छ, निक्कै जाती छ
चाहियो हजूर ?
सित्तै दिने थिएँ, पालेको अलिकति दुख्ख छ
आजसम्म यसलाई घाँसपीरो गरियो नि त !
हल्का सस्तो भाउमा
नोक्री गाई विक्रीमा छ ।
कहिले गोठमै किलामा बाँध्छु, कहिले गुवाला लाउँछु
गुवाला लाउँदा,
सबभन्दा पछि लाग्छ, अरु गाईवस्तुले धेरै बाटो काटिसक्दा
तङरङतङरङ ढल्कँदै, लामोलामो श्वास फेर्दै
सुस्त सुस्त गोडा चाल्छ,
चुट्दै अघि लायो
काली गाईले हान्छ, प्वाँली गाईले पनि हान्छ
तिर्से गोरुले हेप्छ, जुरे बहरले पनि हेप्छ
यिनीहरुबाटै उछिट्याइदै पछिपछि पर्छ
त्यसपछि गुवालाको लठ्ठीको चाप्की
चरणसम्म नपुगुन्जेल स्वाँट्ट ! स्वाँट्ट !
दिनदिनै पछि लागेर सहिरहन्छ
जब चरणमा पुग्यो
अरु गाईवस्तु चर्न चरन खोज्दै लाखापाखा लाग्छन्
तर बुढी गाई चर्नसर्न छोडेर, रुखको शितल छायाँको आड खोज्दै
घरि उभिएर, घरि बसेर, दिनभरि औराउँछ
दुई आँखाबाट मोटा आँशु तपतप झार्दै
गुवाला र उपद्रयाहा गाईवस्तुले हानेका चोटका
आफ्नै आङका मोटा सुम्ला सुमसुम्याउँदै
जिब्रोले चाट्छ, पुच्छरले हम्कन्छ
कठै! बुढ्याइँको नियति हो कि
पछि लाग्नुको नियति हो यो ?
फेरि साँझपख सप्पै गाईवस्तु बटुलिएपछि
जुरुक्क उठी तिनैको पछिपछि लाग्छ
स्याँलाको पानीको आहाल भेट्टाएपछि
अरु गाईवस्तुले धुमालेको पानी भनौँ कि हिलो भनौँ
घटघटी चुस्छ, सिमजुका पनि निल्छ
फेरि गुवालाको चुटाइपछि
अघि लायो, पछि पर्छ, फेरि अघि लायो, फेरि पछि पर्छ
र गोठ पुगेपछि रातभरि
सिमजुकाले नाकघाँटी अंठ्याउँदा
खोक्छ, घ्वाँक्क घ्वाँक्क गरिरहन्छ
यसका व्यथा कति ! कति !
सबैको यस्तै त हो नि, होइन हजुर ?
तर पनि गोबर र गउँतका निम्ति
चाहियो हजुर ?
सित्तै दिने थिएँ, गाई देउता भन्छन्
कसैको बैतर्नीमा त काम दिनसक्छ
यसो बतेलीको भाउमा
नोक्री गाई विक्रीमा छ ।
कहिले गोठको किलामै बाँधिँदा
घरि उठ्छ, घरि बस्छ
दिनभरि उङ्छ, मोटा आँशुमै रुन्छ
गोठमा पनि दाजुभाइका धौले बहर/नौली गाई प्रशस्तै छन्
मेरो यो बुढी नोक्री गाईलाई
घाँस दियो घाँसै खोस्छन्, पीरो दियो पीरै खोस्छन्
पानी दियो पानी खोस्छन्, पराल दियो पराल खोस्छन्
बरु सबैले धुमालेको पानी चुस्छ र सबैले कुल्चेको पराल टोक्छ
अनि खुशीले कि केले भनौँ, उतैतिर फर्केर
उनै धौले बहर/नौली गाईलाई चाट्छ
चाट्न छोड्यो झम्टनै खोज्छन्
कठै ! चाट्नुको नियति हो कि, हेपाइको नियति हो !
सप्पै झम्टाइ पछि हटी सहिदिन्छ ।
सेवा पुरयाउने इच्छा भए
चाहियो हजुर ?
सित्तै दिने थिएँ, सेवाको पनि मोल हुन्छ
बरु थोरै दिनूस्
नोक्री गाई विक्रीमा छ ।
यस्तो गाई पालेको देखीदेखी
दाइले पनि रिसै गर्छन्, भाइले पनि रिसै गर्छन्
नौली गाईले बाली चोर्छ, मेरै गाईले कुटाइ खान्छ
धौले बहरले दाम्लो छिन्छ, मेरै गाईले चुटाइ खान्छ
बुढी गाईको न बिराम छ, न दोष छ
तै पनि सँधै डाहा ! सँधै इर्ष्या !
संसारबाटै बिदा पाउने आज हो कि भोलि हो !
तैपनि सँधै हम्कीधम्की, सँधै कुटाइचाप्की |
मरिहालेछ भने पनि
छालाले त सार्की दाइलाई काम देला
चाहियो हजुर ?
सित्तै दिने थिएँ, छालाको त मोल छ नि
जति सक्यो थोरै दिनुस्
नोक्री गाई विक्रीमा छ ।
दिनमा चारपल्ट दश मानाको दरले
दूध दिन्छ भन्ने हल्ला सुनी
ऋण काढेरै बटौली पुगी ल्याको हजुर
कतै हिँडेर, कतै गाडी चढेर, कतै लडेर, कतै परेर,
कतै हानिएर, कतै थापिएर
त्यत्तिकै पाको होइन, हजुर !
धेरै दुख्खजिलो गरियो
कति घाँस खेरियो, कति आटोपीरो फेरियो
कति कीला फेरियो, कति दाम्लो फेरियो
मोलहिन मल कति सोहोरियो! सोहोरियो !
यसैले गर्दा भन्नुनभन्नु भनी मागियो
कति बाझियो, जितियो अनि हारियो
तर धेरै हारियो, हजुर, धेरै हारियो |
एक अवधि गाई पाल्दैमा
गुवालाकै हैसियतले हेरियो
त्यसैले मुटु पिरियो, हजुर, मुटु पिरियो |
अब म नोक्रीजस्तो बुढी गाई पाल्दिन
बुढी गाई बेचिदिन्छु, नोक्री गाई बेचिदिन्छु |
मेरो भागको गाईजस्तै
सबै गाई यस्तै त हुन्नन् नि हजुर
गाईका पनि हज्जार गुण हुन्छन्, हज्जार रुप हुन्छन्
तपाईँको ईच्छा नलागे के भो त
अरुलाई त गाहकी लाइदिनुस्
जो गाई देख्दैमा रयाल काढ्छन्, इर्ष्या र डाह गर्छन्
बरु ‘दाम्ली फुकाउनी’ मात्र दिनुस्
मेरो नोक्री बिक्रीमा छ ।
२०५४।१२।१४
रुकुम