दिल धुने शब्दहरु
नटक्टक्याउ शब्दहरुले ठटाएर त्यसरी
शुद्ध सुतीले बुनिएको मुलायम दिल उध्रिनसक्छ ।
……..
धुलौटे बजारमा खुल्ला छोड्दा पनि
उस्तै टहकिलो सफा/स्निग्ध छ
अलिकति किनारामा लागेको धुलो
रिठ्ठा जस्ता थोरै हल्का शब्दहरुले धोइँदा सिनित्त सफा हुन्छ
अलिकति मायाको न्यानोले सुकिसक्छ भिजेको दिल
कहाँ बुनिएको हो त्यो दिल ? साँच्चिकै मलाई सक्कली लाग्छ ।
……..
त्यस्तै दिल भेट्टाउने लहडमा
हिजै बजारजम्मै छानेर ल्याएको एक थान मन
यति नक्कली परेछ !
आँखा तान्छ त्यस्सै त्यस्सै अरुहरुको
टाँस्सिनपुग्छन् चोपिला र धारिला शब्दहरु
शिरमा लायो गिदी पोल्छ, आङमा लायो मुटु पोल्छ
खस्रो न खस्रो खद्दरजस्तो
आजै कति मैलिसकेछ यो मन
गएन जति रिठ्ठायुक्त शब्दहरुले घोटे पनि
…..
बजारका डिटर्जेन्टयुक्त दर्जनौ पोका शब्दहरु ल्याएर
बिहानैदेखि घोटिरहेको छु निरन्तर
बजारकै एकजार ठण्डा कर्कश ध्वनीपानीले
मनमा लागेका दागहरु मेटिएनन् मरिगए
खुम्चिँदै र खुइलिँदै गयो मात्रै यो
हप्तौँसम्म चीसो रहने/सितिमिति नसुक्ने मन ।
मनमा छ कि शब्दमा खोट ?
झनक्क रिस उठ्छ
यो असत्ति फेसबुकबजार
यति बिघ्न ठग परेछ ।
…..
भन न भन कहाँ बुनिएको हो ?
थोरै शब्दले सिनित्त सफा हुने
दिलमाया !
मलाई तिम्रोजस्तै सक्कली दिल चाहिएको छ ।
२०७५।०६।०४ भैरहवा
![]()
Post Comment