क्यार्दान र बलै ! (कोरोना विशेष-२)
आज बिहानै तरकारी लिन बजार गएको थिएँ । एउटा तरकारी पसल मात्र खुला देखेकोले त्यतै पसेँ । त्यहाँ खरिदकर्ता र विक्रेताबीच कोरोनाकै विषयमा रोमाञ्चक तर्क वितर्क भैरहेको थियो । सबैजना चिन्तित तथा संशयग्रस्त मुद्रामा थिए. तर एकजना यी तर्कहरु सुनेर मात्र हाँसेको हाँसेइ गरिरहेका थिए ।
एकजना भन्दै थिएः म त ढुक्क छु, किनकि म ५९ वर्ष ९ महिनाको मात्र भएँ । ६० वर्ष माथिकालाई मात्र कोरोनाको जोखिम छ रे । ६० वर्षको पुग्न अझै तीन महिना बाँकी छ । तीन महिनापछि यो कोरोना नियन्त्रणमा आइसक्छ ।
अर्कोजना भन्दै थिएः यो चिन्ता जोसँग बढी छ उसैले गर्ने हो । आफूसँग त केही छैन के को चिन्ता ?
त्यसैबेला कोही खोक्दै आयो । उसलाई देखेर ६० वर्ष नपुगेका पनि भागे, पुगेका पनि भागे । आफूसँग केही भएका पनि भागे, केही नभएका पनि भागे ।
तरकारी जोखाइरहेका तरकारी छोडेर भागे । पैँसा तिर्न बाँकी रहेकाहरु नतिरेरै भागे । पैँसा बुझाएकाले पैँसा फिर्ता नलिएरै भागे । तरकारी किन्न आएकाहरु नकिनेरै भागे ।
तरकारी साहुजीलाई अन्टसन्ट पर्यो । एउटा आँखा तरकारीको टोकरीतिर लगाए र अर्को आँखा पैँसा राखेको घर्रातिर । हिसाब गरे । लिन र फिर्ता दिन बराबर भएको रहेछ । तसर्थ सन्तुष्ट हुँदै हत्तपत्त पसलको ढोका लगाइहाले ।
तरकारी नलिएरै म अर्कोतिर पसलतिर जान थाल्दा त्यो खोकिरहेको व्यक्तितिर आँखा पर्यो । ऊ भने खोक्नै बिर्सेर हाँसिरहेको थियो ।
![]()
Post Comment