एकादेशको कथा
एकादेशमा रुञ्चे नामको एकजना गोठालो रहँदो थियो । उससंग एउटी हाँसे नामकी भैंसी पनि आनन्दसाथ रहँदी थिई । उनीहरुलाई कुनै कुराको पनि दुःख, मर्का औ चिन्ता थिएन । त्यस भैंसीले आजका मितिसम्म भोजनको लागि नजिकको पाखासम्म र पानीको लागि नजिकैको आहालसम्म पनि पाउकष्ट गर्नुपरेको थिएन । हाँसेले “आँइऽऽऽऽऽऽ” गरीकन माग गरेका सबै प्रकारका चौरासी व्यञ्जनले युक्त भोजनहरु उसको सन्मुख तत्काल आइपुग्ने गरी रुञ्चेले सबै प्रबन्ध मिलाईदिएकोले आफ्नो मालिक रुञ्चेसंग हाँसे आजन्म गुणी औ कृतकृतार्थ थिई । हाँसेलाई कुनै प्रकारको असुरक्षा नहोस् भनी यस्तो यस्तो प्रबन्ध मिलाईएको थियोः
रुञ्चेले १०० बिगाहा जमिन, त्यस हाँसेको सुरक्षार्थ प्रमुख संरक्षक स्वयम् आफ्नै नाममा दर्ता गरेको थियो ।
त्यति जमिनको ठीक मध्ये भागको एक रोपनी जग्गामा बलिया बलिया र मोटामोटा काठहरु छानेर मजबुत बार लगाएको थियो ।
त्यसभित्र एक कठ्ठा जमिनमा दुईहात चौडाइ भएको ढुङ्गा गारो लगाइएको भुसुनादेखि भुस्तिघ्रेसम्म छिर्न नसक्ने गरी धेरै अग्लो पर्खाल लगाएको थियो ।
पर्खालभित्र हाँसेको प्रमुख संरक्षकको लागि दुईतले निवास बनाएको थियो र त्यसको नजिकै हाँसेकै लागि भनेर अर्को भुइँतले मजबुत शयनकक्ष, जसमा झ्यालबिनाको एउटा मात्र ढोका थियो, बनाइएको थियो ।
त्यस गोठभित्र तीनचारवटा निकै बलिया किलाहरु ठोकेको थियो । एउटा किलामा निकै मोटो र निकै बलियो दाम्लोले त्यस हाँसे भैंसीलाई बाँधेर सुरक्षा दिइएको थियो ।
साथै, हाँसेलाई दायाँबायाँ गर्ने दुःखसम्म नहोस् भनी हाँसेको नाकै प्वाल पारेर मोटो डोरी नाकको प्वालमा छिराई दायाँबायाँबाट दाम्लोसम्म कसेको थियो ।
यति राम्रो थियो हाँसेको सुरक्षा प्रबन्ध !
रुञ्चे पनि हाँसेलाई छाडेर विरलै यताउता लाग्थ्यो । हाँसेकहाँ बिहानै मल सोहर्ने निहुँले भेट हुन्थ्यो । केही समयपछि घाँस दिने निहुँले भेट गर्थ्यो । अनि दूध दुहुने निहुँले । दूध यति दुहुन्थ्यो कि हाँसेको दूधभण्डारमा एकथोपा पनि बाँकि रहन्नथ्यो र हाँसेले बुरुकबुरुक उफ्रेर काउकुती नै लागेको जनाऊ दिन्थ्यो ।
हाँसेको दूध संरक्षणको बारेमा अर्को एउटा एकादेशको उपकथा बनेको थियो ।
कथा यस्तो थियोः
एक महिना जति मात्र पहिले हाँसेले पाडोलाई जन्म दिएकी थिई । यो रुञ्चेको ईच्छा विपरीतको काम गरेकी थिई । रुञ्चे मानव समूदायमा पुरुषप्रधान पुरुषको प्रतिनिधित्व गर्दो थियो । आफ्नी छोरी जन्मने भयले प्रत्येक गर्भपरीक्षण गरी छोरी जातकी भ्रुणलाई तुहाउँदै जाँदो थियो । यस्तो अवस्थामा बग्ने आफ्नै स्वास्नीको दूधलाई पनि संरक्षण गर्न सकिन्छ भनी धेरै सोचबिचार गर्दो भयो । तर कुनै यस्तो उपाय भेटाएन जसले लोकलज्जालाई छेक्न सकिन्थ्यो । यसै लज्जाबोधको मारवश् यस एउटामा कुरामा मात्रै उसले सँधै हार खानु पर्दो थियो । यसको असीम पीडा उसकी श्रीमतीले भित्रभित्रै लुकाइराख्नु पर्दथ्यो ।
तर हाँसेको सन्दर्भमा भने ऊ आमूल क्रान्तिकारी थियो । यस मानेमा कि ऊ स्त्रीप्रधान भैँसी समाजमा हुर्केको थियो । राङो समाजको कडा आलोचक थियो भने भैँसी समाजको उग्र समर्थक थियो ऊ । अतः हाँसेको प्रत्येक गर्भमा पाडोको भ्रुण नरहोस् भनी अनेक भाकल गर्दथ्यो । हाँसेले गर्भधारण गरेको सुइँको पाउन बित्तिकै भेटनरी डाक्टरलाई भेट्न पुग्थ्यो र भ्रुण जचाइ पाउन निवेदन नहाली छाड्दैनथ्यो । यो निवेदनउपर कारवाही गर्दा भे.डा. ले अहिलेसम्म त्यो प्रविधि गाउँमा नभित्रिएकोले केही गर्न नसक्ने भनी दरपीठ गरिदिन्थ्यो । जब यो कुरा रुञ्चेको कानमा पर्न जान्थ्यो ऊ आगोको राँको बन्थ्यो र डाक्टर लगायत भेटनरी अस्पत्ताललाई विकास विरोधी भन्दै नाराले नै भष्म तुल्याउन उद्दत रहन्थ्यो ।
त्यसै कारणले नै रुञ्चेले हाँसेको सन्तानलाई जन्मने बित्तिकै कसाईको जिम्मा लगाइसकेको थियो ।
यो पीडाले तड्पिँदा रुञ्चेले हाँसेप्रति देखाएको दयाभाव अत्यन्तै उदाहरणीय थियो । नौपूला घाँस, ताततातो खोले, गाग्रीको गाग्री पानी आदिको कतै कमी हुन दिएन । तर हाँसेले यसको कुनै परवाह नगरेर हप्तादिन पुग्दासम्म वाइँ वाइँ गर्दै आफ्नो सन्तान देखाइदिन रुञ्चेसमक्ष माग राखी रही । रुञ्चे पनि कम्ता बाठो थिएन । उसको यस बिछोड पीडा बुझेर पाडोको छालाभित्र भुस कोचेर नक्कली सन्तान बनाएर देखाइदियो । त्यही पाडोलाई साँच्चिकै सन्तान ठानी या के गरी हाँसेले त्यही पाडोलाई चाटेर पनि रुञ्चेलाई मनग्गे दूध दिन छोडिन ।
रुञ्चेको यस उदारभावबाट हाँसे निक्कै नै प्रभावित हुन पुगी । रुञ्चेले जति मात्रामा सेवा सुश्रुवा पुर्याउँथ्यो त्यसैको दोब्बर दूध र गोबर दिन्थी ऊ । यही दूधबाट दही, मोही, नौनी, घ्यू बनाई रुञ्चेले आफ्नो भौतिक साम्राज्य बढाउन अवसर पाइरहँदो भयो भने हाँसेले पनि रुञ्चेको यति बिघ्न गुणबाट आफ्नो आध्यात्मिक साम्राज्य बढाउँदै जाँदी भई ।
यी एक मनुष्य तथा अर्को एक पशुको यति राम्रो मिलन देखेर देवराज इन्द्रले ईर्ष्याले जल्दै जाँदा थिए भने स्वर्गबाट अन्य देवीदेवताले भने रुञ्चे र हाँसेको आनन्दमयी जीवनको बारेमा हज्जार जिब्रो भएका शेष नागले पनि वर्णन गर्न नसक्ने भन्दै नगराहरु बजाउँदै रुञ्चे-हाँसेतिर अबिर फूलहरु बर्साउँदा थिए ।
यस प्रकारको एकादेशको कथाले निरन्तरता पाउँदो थियो र अर्को यस प्रकारको कथाले जन्म लिँदो भयोः
त्यसैबेला सबैप्रकारका बारहरु नाघ्दै भुर्र भुर्र गर्दै एउटी फिस्टेचरी आएर हाँसेको पिठ्यूँमा बस्दीभई र तत्कालै आफ्नै भाषामा यस्तो कविता वाचन गर्दी भईः
ए हाँसे !
झरिसकेछन् कठै रौँ सबै
तिमी नाङ्गिएकी कि उदाङ्गिएकी ?
एउटै किलोमा कति टाङ्गिएकी ?
अझै छौ सात ठाउँ त बाङ्गिएकी ।
फिस्टेको यस कविताले गर्दा समयचक्रमा गम्भीर उथलपुथल ल्याइछाड्यो र एकादेशको कथा पनि यतैकतै समयकल्पमा हराउन पुग्यो फलस्वरुप अत्याधुनिक देशको कथाले त्यसको ठाउँ लिन पुग्यो ।
यो भाषा फिस्टेको थियो, हाँसेको थिएन, गाँठी कुरा त के थियो भने हाँसेले अर्को प्रदेशका प्राणीको भाषा बुझ्ने कुरै थिएन । त्यसैमाथि यो सोधनी सरल भाषामा व्यक्त भएको थिएन, कवितामा पो व्यक्त भएको थियो ! बरु फिस्टेलाई आफ्नो पिठ्यूँबाट धपाउन हाँसे चलमलायो । फिस्टेलाई सिङले हान्न खोज्यो, सिङ पुगेन, पुच्छरले हम्कन खोज्यो, तर फिस्टेले चलाकीसाथ टाउकोतिर भुर्र उडेर छलिदियो, हाँसे बुद्रुकबुद्रुक उफ्रियो, अँहँ फिस्टे टसको मस भएन । नाकपासोले हाँसेको नाक अझै घोटिएकोले पीडा महशुश गर्यो, पुच्छर हल्लाउँदा ढाडै दुख्यो, उफ्रँदा उफ्रँदा उसका खुर मात्रै दुखे ।
रुञ्चेले यो सबै कुरा आफ्नै निवासभित्रबाट देखिरहेको थियो । ऊ चरीको भाषाको ज्ञाता पनि भएकोले फिस्टेले भन्न खोजेका कुरा बुझिसकेको थियो । अतः आफ्नो सुरक्षा प्रबन्धमा गम्भीर चुनौती उत्पन्न भएको ठानी एउटा लाठो बोकेर फिस्टेलाई आक्रमण गर्न गोठतिर कुद्यो । उसले महाभारतकालीन अनेकौँ अस्त्रशस्त्रहरु प्रहार गर्दै भन्यो फिस्टेलाई:
“पाजी, तँलाई साहित्य के हो थाहै छैन । त्यस्ता गँवार शब्दमा वाचन गरिएको कविता पनि कविता हुन्छ ? न रस छ, न अलङ्कार छ, न साहित्यिक शब्द । कतै मिलेको छैन । यो कविता हो कि, कथा हो कि, निबन्ध हो कि, केही स्पष्ट नहुँदा यति राम्रो सुरक्षा प्रबन्ध दिइएको मेरो हाँसेलाई असह्य पिडा हुन गएको छ । भन्, तैंले त्यो फाल्तु कविता फिर्ता लिन्छस् कि, तेरो इहलिला यहीँ समाप्त पारिदिऊँ ?”
रुञ्चेले छाडेका सबै भौतिक अस्त्रशस्त्रहरु फिस्टेले भुर्रभुर्र गर्दै घुमीघुमी छलिदियो ।
अब अस्त्र प्रयोगबाट समस्या समाधान नहुने ठानी रुञ्चेले आफूले जानेका कूटनीतिक उपाय प्रयोग गर्न तम्सियो । तर उसलाई ती कूटनीतिक उपायमा कि गालीगलौज गर्न मात्र आउँथ्यो, कि त छन्दमा लयबद्ध कविता भन्न । उसले पहिलो उपाय प्रयोग गर्यो: उसले जानेसम्मका गालीगलौज प्रयोग गर्यो । त्यो गाली फिस्टेको अन्तरमनसम्म पुग्दैपुगेन । अनि रुञ्चेले आफ्नी स्वास्नीलाई सोधेर अरु धेरै गालीहरुको पनि प्रयोग गर्यो, ती गालीहरुले पनि फिस्टेलाई छुँदैछोएनन् । अब उससंग अन्तिम उपाय बाँकि थियो: छन्दमा कविता भनेर फिस्टेलाई चोट पुर्याइ धपाउने । उसले कनीकुथी छन्दमा कविता मिलाउन खोज्यो, अँहँ एक लहर पनि छन्दमा कविता मिल्न सकेन, उसले शेर, पाउ गर्दै एक धार्नी पुर्याउन कम्तीमा एक हप्ता समय लाग्ने देख्यो । अन्य अस्त्र प्रयोग गर्दागर्दा उसको दिमाग नै शून्य भैसकेको थियो, भुत्रो आउँथ्यो छन्दमा कविता रच्न ! तर फिस्टेलाई नधपाइ सुख्खै थिएन । ऊ झल्याँस्स भयो, किनकि उसमा उत्तम उपाय सुझिसकेको थियो । ओहो ! अब मैले लयबद्ध गीत गाउनुपर्छ, त्यो गीत गाएँ भने फिस्टे त ठाउँको ठाउँ ठहरै पर्नेछ । ठ्याक्कै उसका दिमागमा अत्यन्त प्रभावकारी गीत पनि आइछाड्यो । अनि फिस्टेलाई लक्ष्य गर्दै रुञ्चेले ततकालै लय मिलाएर गीत गायोः
“तीखो बचन् जनम् भरी मुटुमा रैजानो
न परानी निको हुनो, न बैरी गै जानो ।”
फिस्टेले गीत बुझ्यो । बुझ्नु मात्रै के थियो, गीतले फिस्टेको मर्ममै छेडेर गयो । झण्डै फिस्टे मरेन ! त्यो गीतको चोटले ऊ लरबराउँदै उडेर गोठको छानामा पुग्यो । अनि अग्लो परखालको टुप्पामा पुग्यो । अनि त्यहाँबाट बारको माथि पुग्यो । अन्तमा खुल्ला आकाशमा कावा खाँदै रुञ्चेको साम्राज्यभन्दा पारितिर उड्यो ।
यता फेरि उही एकादेशको कथाले निरन्तरता पाउँदो भयो ।
विकास मोडेलका अत्याधुनिक प्रविधिहरु प्रयोग गरेर हाँसेको अमन चयनको लागि कडा सुरक्षा प्रबन्धलाई अझै मजबुत बनाउँदै लगियो ।
फलस्वरुप……………
फिस्टे उडेर गैसकेपछि रुञ्चे र हाँसेले स्वर्गीय आनन्दपूर्वक बाँकि दिन बिताउँदा भए ।
सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला, यो कथा बैकुण्ठ गइजाला ।