×

आधारभूत रङहरु

आधारभूत रङहरु

आज एकाबिहानै यो

बूढिन नमानेको मगजमा

कहाँबाट पस्यो चित्रकारिताको अद्भूत भूत ?

 

मगजको एक धर्सो प्वाँख मनको भाँडोमा डुबाएर

छातिमा कोर्न थालेँ मान्छेका विचित्र चित्रहरु

सोचेँ युवक बनाउँछु, वृद्धा बनी

युवक बनेर उफ्रियो, बच्ची बनाउँछु भनेको थिएँ

वृद्ध बनाउँछु कल्पिएँ, दूधे बच्चो बामे सर्दै निस्कियो

 

कुन धर्को कति लम्ब्याउँदा बढ्दछ उमेर ?

कति मिहिन पारे बन्छ स्त्रीको आकृति ?

मरिगए खुट्ट्याउन सकिन !

 

खोजेँ कल्पनातित बजारमा

रङ्गिन बिर्सिएका ब्ल्याक एण्ड ह्वाइट तस्बिरहरु

रङ भर्न तम्सिएँ एकेक गरी तिनीहरुमा

मेरा हरेक प्रयत्नहरु निष्फल भइरहे

बाल्यावस्थाको चित्रमा अबोध रङ भर्नै सकिन

किशोरावस्थाको चञ्चल रङ तुल्याउनै सकिन

युवतीको लज्जालु मुहार उतार्नै सकिन

अरु त अरु आफ्नोजस्तै सजिलो चित्रमा

वृद्धोत्तर पीडाले खुइलिएको रङ हाल्नै सकिन !

 

माया भर्न खोज्दा रिसले रन्थनियो मेरो चित्र

इमानले रङ्गाउछु भनेँ भ्रष्टोन्मुख देखियो

जाँगर थपिदिन खोजेँ मरिचझैँ चाउरियो यो

ए सफल चित्रकार, विभिन्न उमेर लिङ्ग र भावका

कसरी कोर्छौ तिमी दुरुस्त चित्रहरु ?

 

गलेको हातबाट झर्‍यो लेखनी

पोखियो रङको डिब्बा

छरिँदा पो देखियो सयौँ सेकेन्ड्री कलर

रङ्गीबिरङ्गी कलेजीका भित्ताभरि !

 

ओहो ! मान्छेको चित्र कोर्न चाहिने आधारभूत रङहरु:

‘आइ’, ‘एल’ र ‘यु’

कति कति अंश मिलाउँदा बन्छ द्वितीय रङ ?

मैले अद्यापि बुझेकै रहेनछु ।

 

२०७५।९।४ भैरहवा

Loading

Post Comment

You May Have Missed