×

२०८२ फागुन ३ गते, आइतवार

२०८२ फागुन ३ गते, आइतवार

दुवाकोट, भक्तपुर

जेठा जेठानसाबको भिडियोकलको घण्टीले बिहान निद्राबाट बिउँझायो । काठमाडौँ बसाइका बीसौँ वर्षहरूमध्ये धेरै वर्षअघि मात्र शिवरात्रिको मेला हेर्न पशुपतिमा गएका थियौँ । यो पटक जेठानहरूले समेत मेला हेर्ने इच्छा गरेकोले देवकुमारीको पनि मेलामा जाने इच्छा दरो भएको थियो । तर उनलाई बाहिर निस्कने बेलामा घरको बाँकी काम सक्नुपर्ने हुन्छ । बिहानै ६ बजे नै निस्कने योजना बनाए पनि तयारी सकेर निस्कँदा बिहानको ९ बजिसकेको छ । जेठानले ८ बजे नै आफूहरू कौशलटार पुगिसकेको खबर गर्नुभएको थियो । हामी निस्कँदा उहाँहरू पशुपति पुगिसक्नुभएको रहेछ । छिटो होला भनेर याङ्गोको कार बोलाइयो तर लोकेसन भेटाउन नसकेकोले उल्टै ढिला भयो । कार आइपुगेपछि चालकले लोकेशन गल्ती हाल्यौ भनेर हामीसँग पड्कियो । चालकले ‘तिम्रो गल्ती’, हामीले ‘तिम्रै गल्ती’ भनेर बाझ्दा बाझ्दै एरपोर्ट पुगियो । गन्तव्य लोकेसनमा एरपोर्ट गेट नदेखाएकोले डोमेस्टिक एरपोर्ट राखेको थिएँ । पहिले पहिले शिवरात्री मेलामा कोटेश्वरदेखि नै गौशाला जाने गाडीहरूलाई रोकिन्थ्यो र कोटेश्वरबाटै हिँडेर जानुपर्थ्यो । यसपालि पनि एरपोर्टभन्दा उता गाडी चलाउन रोक लगाइएको होला भनी एरपोर्टको मात्र लोकेसन दिइएको बताएपछि चालकले हामीलाई पशुपतिको पूर्वपट्टिको गेट नजिकै छोडिदियो । जेठान र दिदीले हामीलाई त्यहीँ पर्खिरहनुभएको रहेछ ।

उहाँहरूले यतैबाट लाइन लागेर पशुपति दर्शन गर्ने बताउनुभएको थियो तर देवकुमारीले पूर्वगेटबाट प्रवेश गर्ने भनेपछि हामीले लाइनको पुछार खोज्दै गौशालातिर लाग्यौँ । घरमा टिभीबाट प्रत्यक्ष प्रसारणको क्रममा लाइन लागेको १/२ घण्टामै पशुपति मन्दिरभित्र पुगिने प्रचार प्रसार गरिँदै थियो । त्यही पत्याएर हामीले लाइन लागेरै दर्शन गर्न खोजेका थियौँ । तर तिलगङ्गादेखि गौशाला पुगुन्जेल दर्शनार्थीहरूको लाइन एक पाइला सरेको पनि देखिएन । लाइन सायद चाबहिलसम्मै पुगेको हुँदो हो । हामीले भेटाउन सकेनौँ । अब लाइन लाग्न सकिँदैन बाहिरबाटै दर्शन गरौँला भनेर गौशालाबाट भित्र छिर्‍यौँ ।

भित्र मेलामा आउनेहरूको उल्लेखनीय भीड थियो । हामी भीड छिचोल्दै अगाडि बढ्दै गयौँ । जेठानहरूले अब अगाडि बढ्न नसक्ने भनेकोले उहाँहरू छेउ लाग्नुभयो । देवकुमारी र म भीडमा कोच्चिँदै अगाडि बढ्दै गयौँ । निस्कने हतारमा घरबाट फूलपाती, बत्ती र धूप ल्याउन छुटेकोले देवुकमारीले फूलपाती किन्ने ठाउँमा लैजान अनुरोध गर्दै थिइन् । बागमती किनारको पाल्लोपट्टि पुग्दा समेत फूलपाती कतै नभेटिएकोले हामी फेरि आएकै ठाउँतिर फर्कियौँ । किनारको पाटीको एकछेउमा फूलपाती र बत्ती बेच्ने मान्छे भेटेपछि देवकुमारी खुसी भइन् र कम्मरमा छड्के भिरेको झोलाबाट पर्स झिकेर बत्ती तथा फूलपाती किनिन् । अब हामीले पूर्वी गेटको छेउछाउमा पुगेर बत्ती बाल्ने निधो गर्‍यौँ । भीडमा कोच्चिँदै उत्तरपूर्वतिर लाग्यौँ ।

अलिकति खुल्ला ठाउँमा पुगेपछि पछि फर्किएर हेर्दा देवकुमारीको झोला खुल्लै देखियो । मैले पर्स कता राख्यौ चेक गर त भनेपछि उनले झोला हेर्छिन् त पर्स नै छैन । पर्सभित्र रहेको करिब १६०० रुपैयाँ केही डकुमेन्ट र प्रभू बैँकको एटीएम लुटेराले लुटिसकेको निश्चित भएपछि देवकुमारी निकै आत्तिइन् । पैसा त हरायो हरायो एटीएम पनि हराएकोले बैँकमा राखेको सबै पैसा हराउने सम्भावना प्रबल थियो । नजिकैको एउटा मन्दिरमा बत्ती बालेर प्रभू बैँक खोज्दै हामी मित्रपार्क पुग्यौँ । त्यहाँस्थित व्यापारीले मित्रपार्कमा प्रभू बैँक नभएको र कि त चाबहिल कि गौशाला नै पुग्नुपर्ने बताए । १९७ नम्बर डायल गरेर प्रभू बैँकको नम्बर पत्ता लगाएर फोन गर्दा आज केन्द्रीय बैँकबाहेक अरू कुनै बैँक नखुल्ने बताए ।

 एकातिर हिजैदेखि राम्रोसँग खाना नखाएकोले भोकले रन्थनाएको थियो अर्कोतिर पर्स र एटीएम हराउनुको चिन्ता । मेरो गोजीमा एक पैसा थिएन । देवकुमारीले नै सबै पैसा राखेकोमा त्यो पनि लुटेराको फेला परिसकेको थियो । घर फर्कने बसभाडा समेत थिएन हामीसँग । केन्द्रीय बैँक अनामनगरमा थियो त्यहाँसम्म जाने भाडा पनि थिएन । देवकुमारीले हिड्दै अनामनगर गएर एटीएम ब्लक गरौँ भनिन् । भोकभोकै गौशालाबाट हिडेर अनामनगर जानु सजिलो पनि थिएन । देवकुमारीले सुगरको सुई र औषधि पनि ल्याउन छुटाएकी थिइन् ।

मैले जेठानलाई भनेर १०० रुपैयाँ सापटी मागेमा अनामनगर हुँदै घरसम्म जान सकिने बताएँ । तर देवकुमारीले हल्ला हुने भएकोले दाइलाई समेत पर्स हराएको नबताउने भन्दै थिइन् । मैले बाटो यतैबाट छ भन्दै जेठानहरू भएको ठाउँमा देवकुमारीलाई पुर्‍याएँ । जेठानहरूले पर्खिरहेको ठाउँमा निशुल्क खाना वितरण गरिरहेको रहेछ जेठानले आफूले खाइसकेकोले तपाईँहरू पनि खानुहोस् भनेर सल्लाह दिनुभयो । गोजीमा सुको पैसो नभएको र भोक पनि लागेकोले निशुल्क खाना उत्तम विकल्प थियो तर देवकुमारीले लाइन लाग्न मानिनन् । म लाइन लागेपछि उनी पनि बाध्य भएर लाइन लागिन् ।

यसै बेला टेलभिजनका पत्रकारहरू भिडियो खिच्दै खाना वितरण स्थलमै आइपुगे । देवकुमारीले भनिन् लाइन छोडेर भागौँ । मैले एकअर्काले टेलिभिजनको क्यामेराबाट छलिन सक्ने बताएपछि त्यसै गर्‍यौँ । देवकुमारीले थापेको रोटी र तरकारी मलाई नै राखिदिइन् । पेटका किरा मारेपछि अब अनामनगरसम्म हिड्न आँट आयो । मैले देवकुमारीलाई पुनः जेठानलाई आफ्नो अवस्था अवगत गराउनुपर्ने र उहाँसँग पैँसा सापटी लिएर सार्वजनिक यातायातबाट अनामनगर गई एटीएम ब्लक गर्नको लागि जिद्दी गरेँ । देवकुमारीले आफ्नो हातले मेरो मुख नै बुजिदिइन् । जेठानहरू हाम्रो भरले मेला आउनुभएको थियो । तर हामीले उहाँलाई छोडेर आफ्नो समस्या समाधान गर्न जानुपर्ने भयो । लुटेराले एटीएमबाट पैसा पनि निकालिसक्यो कि भनेर बारम्बार मोबाइल मेसेज पनि हेरिरहेको थिएँ ।  मैले बहाना बनाउँदै अफिसमा तुरुन्त आउनू भनेर बोलाएको छ भनेर जेठानलाई ढाँटेर उहाँहरूसँग बिदाबारी भयौँ । जेठानले भन्दै हुनहुन्थ्योः दुबैजना किन जाने । अफिस त जुवाइँ मात्र गए भइहाल्ला । तर देवकुमारीले मानिनन् । आफ्नै झोलाबाट पर्ससर्स हराएपछि देवकुमारीको निम्ति मेलाको औचित्य सकिइसकेको थियो । साँचो बताउन पनि नसक्ने र आफ्नै दाइलाई ढाँट्न उनलाई बढी सकस परेको थियो । उनी पनि यसोउसो बताई दाजुभाउजूसँग बिदाबारी भइन् ।

हामी हिँड्दै अनामनगरतिर लाग्यौँ । हिँड्दै जान त चित्त के बुझ्थ्यो । सक्दो छिटो एटीएम ब्लक गर्नुपर्ने भएकोले पुरानोवानेश्वर नयाँवानेश्वर थापागाउँ हुँदै फाल हाल हाल्न थाल्यौँ । अनामनगरसम्म जान त कुनै समस्या थिएन । करिब १ घण्टामा पुग्न सकिन्थ्यो होला तर त्यहाँबाट कसरी भक्तपुरको दुवाकोटसम्म पुग्ने ठुलो समस्या थियो । देवकुमारीले भनिन्, ‘बसवालालाई पैसा छैन भने पनि होला वा अनलाइन भाडा तिरे पनि त होला ।’ तर बसवालालाई पैसा छैन भनेपछि हुने दुर्व्यवहार अकल्पनीय हुन्थ्यो । यसै बेला परिक्षितलाई फोन गर्‍यौँ । उसले भद्रपुरबाट साढे दुई बजेको प्लेनबाट काठमाडौँ आउँदै गरेको बतायो । हामीले सुविधानगरसम्म हिड्दै जाने र अनि परिक्षितसँग घर जाने पाइने विकल्प सुझेपछि हर्षले आल्हादित भयौँ ।

जसोतसो हामी अनामनगरस्थित प्रभू बैँकको केन्द्रीय कार्यालयमा पुग्यौँ । चेकबाट पैसा निकाल्ने प्रयोजनबाहेक अन्य काम नहुने भन्दै गार्डले हामीलाई भित्र छिर्नै दिएनन् । स्लिपबाट पैसा निकाल्ने विकल्प भएकोले त्यही कामको लागि आएको बताएपछि बल्ल भित्र छिर्न पायौँ । अघिपछि सेवाग्राहीहरूको भीडभाड भइरहने बैंकको क्यास विभागमा ३/४ जना कर्मचारी बाहेक सुनसान थियो । मैले आफ्नो समस्या राखेँ र स्लिपबाट आफ्नो खाताको पैसा निकालिदिन अनुरोध गरेँ । चेक वा एटीएमबाट मात्र पैसा झिक्न मिल्ने र स्लिपको सेवा यस बैँकमा नभएको कर्मचारीले बताए ।

मेरो मोबाइल बैकिङ सेवा छ त्यसैबाट पैसा निकाल्छु भन्दै दुवाकोट पुग्न अन्य विकल्प नभएको बताएपछि अर्को कर्मचारीले क्युआर स्क्यानबाट पैसा निकाल्न सकिने बताए र क्युआर कार्ड दिए । क्युआर गरेपछि भौचर पनि भर्नुपर्दो रहेछ । भौचरमा सहीछाप गरेपछि ५००० निकाल्न सफल भएँ । तर मुख्य समस्या त लुटेराले एटीएम फुत्क्याएकोले जुनसुकै बखत बैँकमा भएको पैँसा निकाल्ने सम्भावना थियो । यही कामको लागि केन्द्रीय बैँकसम्म पुगेका थियौँ । त्यहाँको कर्मचारीले आइटी शाखामा कोही न कोही कर्मचारी हुनसक्छ दोस्रो तल्लामा जानुस् भने । हामी दोस्रो तलामा उक्लियौँ । विशाल कोठाहरूमा सयौँ कुर्सी र कम्प्युटरहरूको ताँती देखियो तर कर्मचारी एउटा पनि छैन । कुनै कर्मचारी भेटिइ पो हाल्छन् कि भनी यताबाट उता उताबाट यता धुइँधुइँती निर्बाध खोजिरह्यौँ । केन्द्रीय बैँकमा अनधिकृत व्यक्ति एक्लै भौँतारिँदा कसैले चोर भन्ने हुन् कि भन्ने डर पनि लाग्यो । टेबुल टेबुलका कम्प्युटरहरू मुख बाएका काला कुकुरहरूजस्तै प्रतीत भए । झन् डर लाग्यो ।

अब फर्कनुपर्छ भन्ने लागेको बेला बल्लतल्ल पश्चिमपट्टिको कोठाबाट एकजना कर्मचारी झुल्किइन् । मैले उनलाई आज एटीएम चोरी भएकोले ब्लक सो एटीएम ब्लक गरिदिन अनुरोध गरेँ । उनले भनिन् एटीएम नम्बर दिनुहोस् । मैले खाता नम्बर दिएँ । तर उनले एटीएम नम्बर नै चाहिने बताइन् । पैसा झिक्दा एटीएमको पिन नम्बर बाहेक कहिले पनि एटीएम नम्बर नचाहिने भएकोले त्यसको बारेमा जानकारी हुने कुरै थिएन । पुनः ती कर्मचारीसँग अनुरोध गरेँ एटीएमको नम्बर कहिल्यै चाहिएन । लुटेराले लिएपछि मात्र अहिले आएर चाहिन्छ भन्ने थाहा भयो । अन्य विकल्प छ भने सहयोग गरिदिनुस् । आजै मेरो एटीएम ब्लक हुनुपर्छ ।

उनले मेरो मोबाइल नम्बर र नाम टिपिन् र काम भयो भने मेसेज आउँछ पनि भनिन् । नभन्दै वानेश्वर नपुग्दै मोबाइलमा ‘काम भयो’ भन्ने मेसेज आयो ।

आज अरु २ वटा कार्यक्रमहरूमा पनि जानु थियो । प्रकाश भाइले कीर्तिपुरमा घर बनाउँदै छ । आज घरको ढोका राख्ने कार्यक्रम भएकोले प्रसाद र खाना खान यतै आउनू भनी निम्तो दिएको थियो । यसै गरी सम्धी ताराबहादुर खडकाको आजै शुद्धेरी कार्यक्रम भएकोले सो कार्यक्रममा आउनू भनी भदाहा (सम्धीका छोराहरू) ले निमन्त्रणा गर्नुभएको थियो । तर पहिले लाइन लाग्नको लागि वरपर निकै भौँतारिइसकेका थियौँ । गोजीमा सुक्को पैसा बाँकी नराखी पैसासहितको पर्स लुटिएकोले त्यसपछि आत्तिएर झन् दौडधूप चलेको थियो । त्यसपछि गौशालादेखि अनामनगरसम्म छिटो एटीएम ब्लक गराउनको निम्ति म्याराथन दौडले जिउ फतक्कै गलिसकेको थियो । अन्य कार्यक्रमहरूमा जाने योजना हुँदा हुँदै पनि अत्यधिक थकानले कतै जान सकिएन ।

दुवाकोटस्थित घरमा आएपछि नुवाइधुवाई गरियो र धुन बाँकी लुगाहरू वासिङ मेसिनमा हालेर चीरहरण उपन्यासका केही पानाहरू पल्टाइयो । योगमायाभन्दा पनि यो उपन्यास हरेक हिसाबले उपयुक्त भएकोले मन तानिरहेको छ । उपन्यास प्रथम पुरुष दृष्टिबिन्दूमा रचिएको भए पनि प्रत्येक खण्डमा फेरिने आन्तरिक दृष्टिबिन्दूले उपन्यासलाई नयाँ प्रयोगको साथै सरस र कौतुहलपूर्ण बनाएको रहेछ ।

नुहाइधुवाइमा लागेकोले फोनमा धेरै कल आइसकेको रहेछ । भाउजू मिठ्ठू मल्लले फोन गर्नुभयो । रुकुममा रुख वा आँखामध्ये एकले जित्ने र यी दुईमध्ये एकलाई भोट हाल्नको लागि छिटो रुकुम आउन अनुरोध गर्नुभयो । मैले यसपालिको निर्वाचनमा निकटतम् व्यक्तिहरू धेरै उठेका । सबैले आफैलाई भोट हाल्छन् भनेर आफूप्रति विश्वास गरेकोले एउटाको प्रचार गर्दा अर्को व्यक्ति रिसाउने भएकोले जसले जित्ने सम्भावना हुन्छ उसैलाई भोट हाल्ने कुरा व्यक्त गरेँ । उहाँले काठमाडौँबाट रुकुम आउँदा काठमाडौँमै छुटेको आफ्नो कपडा ल्याइदिन पनि अनुरोध गर्नुभयो ।

परिक्षितको २ बजे उड्ने भनेको प्लेन उडान सर्दै सर्दै ५ बजे सर्‍यो । ५ बजेतिर फोन गर्दा प्लेन चढेँ भन्यो परिक्षितले । तर साढे ६ बजेसम्म पनि मोबाइल स्विचअफ थियो । दिउँसो पर्स हराउनुको एक चिन्ता छोरा परिक्षित आइनपुगेको अर्को चिन्ताले देवकुमारी बेलुकासम्म छटपटाइरहिन् । पहिले सानातिना घटनाको मतलब नगर्ने देवकुमारी १० वर्षअगाडिको घटनाले गर्दा मन निकै कमजोर भएको छ । हरेक कुरामा चिन्ता भइरहन्छ । पौने ७ बजेतिर परिक्षितको फोन लाग्यो र उसले काठमाडौँ ओर्लिएको खबर गरेपछि बल्ल देवकुमारीलाई शान्ति मिल्यो र बेलुकाको खाना पकाउन जाँगर गरिन् ।

परिक्षित आइपुगेपछि आमालाई अनावश्यक चिन्ता नलिन विभिन्न उदाहरण दिएर सम्झायो । महाशिवरात्रिको कथा पनि भन्यो । जाबो पन्ध्र सोह्र सय त लुटेराले नलगेको भए पनि उतै खर्च भइहाल्थ्यो । सबै कुरा राम्रो भइरहेको छ र राम्रै हुनेछ भन्ने सोच्नुपर्छ भनेर देवकुमारीको मन ठुलो बनाइदियो । परिक्षितको हरेक कुरालाई सकारात्मक रूपमा लिने स्वभावले घरमा उत्पन्न हुने तनाव, सन्ताप वा चिन्ता दूर गर्न मद्दत गर्दछन् ।

Loading

Post Comment

You May Have Missed