×

२०८२ फागुन १ गते, शुक्रवार

२०८२ फागुन १ गते, शुक्रवार

दुवाकोट, भक्तपुर

आज अफिस जानुपूर्व मनोहर लामिछाने सरको ल फर्मको अफिसमा छिरेँ । अन्तरङ्ग छलफलपछि अफिस पुगेर सरिता शर्माको कृतिकै सम्पादनमा लागेँ । डा सुरेन्द्रभक्त प्रधानाङ्गले मौलिक अर्थशास्त्र र अर्को एक अङ्ग्रेजी कृति तयारीको लागि दिनहुँ लेखनकुञ्जमा आएर तयारीमा व्यस्त रहनुहुन्छ । करिब ७० वर्षे उमेरको यो जाँगर तारिफयोग्य छ । यसै गरी सोही उमेरका बाग्लुङका थम्मलाल शर्मा पनि अफिसमा आउनुहुन्छ र कमल ढकालजीसँग धर्म आचार विचार आदि पक्षमा लामो विचारविमर्श गर्नुहुन्छ । उहाँले यसअघि नै यहीँबाट आत्मकथा प्रकाशित गरिसक्नुभएको छ र अब अडियो बुक बनाउने सोचमा हुनुहुन्छ ।

कुरै कुरामा कमलजीले थम्मलाललाई यक्ष प्रश्नहरू के के थिए भनी सोध्नुहुन्छ । कमलजीको कुरा गर्ने शैली नै प्रश्नात्मक हुन्छ । जोसँग कुरा गरिरहनुभएको हुन्छ उहाँलाई आफ्नो कुरामा आकर्षित गरिरहन बिचबिचमा प्रश्न सोधिरहनुहुन्छ । थम्मलाल अलमलिएपछि मलाई सोध्नुहुन्छ । मैले महाभारतको वनपर्वको कथा भन्न सुरु गर्दछु । तर यक्ष प्रश्नहरू ठ्याक्कै के के थिए सबै भन्न  गाह्रो पर्छ । उहाँले भन्नुहुन्छः मान्छेले दिनदिनै अरु मान्छे मरिरहेको देख्छ तर आफूचाँहि कहिले नमर्ने जस्तो व्यवहार गर्छ । यही नै सबैभन्दा आश्चर्य छ ।

मानिसको वास्तविक मित्र को हो? धर्म । धन, नाता, शक्ति सबै छोड्छन्; धर्म मात्र साथ जान्छ । सबैभन्दा ठूलो सुख के हो?  सन्तोषः थोरैमा सन्तुष्ट हुन जान्नु नै साँचो सुख हो। सबैभन्दा ठूलो दुःख के हो? लोभः लोभले मानिसलाई कहिल्यै शान्ति दिन्न भन्दै यी कुराहरूलाई आत्म प्रकाशन गरेमा वा कृतिको रूपमा छोडेमा नाम रहिरहने बताउनुहुन्छ कमलजी ।

फेरि थम्मलाललाई सोध्नुहुन्छः ‘ॐ पूर्णमद: पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते। पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।’ को अर्थ के हो ? हामी अलमलिएपछि आफै बताउनुहुन्छः त्यो (परम सत्य/ब्रह्म) पूर्ण छ, यो (संसार) पनि पूर्ण छ। पूर्णताबाट नै पूर्णता उत्पन्न हुन्छ। पूर्णताबाट पूर्णता हटाउँदा पनि अन्ततः पूर्णता नै बाँकी रहन्छ । हेर्नुस् त जीवन र जगतको व्याख्या !

कमल ढकालजीले नेप्रप्रका पूर्व कुलपति बैरागी काइँलासँग फोन गरी आजलाई भेट्ने कार्यक्रम मिलाउनुहुन्छ । उहाँले २ बजेतिर भेट्ने समय दिएपछि कमलजीकै गाडीमा हामी बैरागी काइँलाको निवास रहेको स्थान सुकेधारा जान्छौँ । घरमा ८७ वर्षीय बैरागी काइँला र उहाँकी ८२ वर्षीय पत्नी भेटिनुहुन्छ । श्रवणशक्ति निकै घटेको हुँदा उहाँसँग दोहोरो संवाद गर्न कठिन हुन्छ । केही कुरा मेसेन्जरमा आफ्नो उद्देश्य देखाएर बुझाउने कोसिस गर्छौँ केही कुरा उहाँको कानमै खुसखुसाएर बुझाउने प्रयत्न गर्दछौँ ।

यसै बेला पूर्व राजा ज्ञानेन्द्रलाई विमानस्थलमा स्वागत गर्न गएको जुलुसु नारा र बाजागाजासहित फर्किरहेको देखिन्छ । देशमा भइरहेको पछिल्लो समयको परिवर्तित अवस्थाले आफू चिन्तित भएको बताउनुहुन्छ बैरागी काइँला ।

म बिदाबारी हुन थाल्दा आज एक कार्यक्रममा अश्विनी कोइरालाले बोलाएको बताएपछि कमलजीले भन्नुहुन्छः पूर्ण त यसै पूर्ण छ । पूर्ण अब दर्शकदीर्घामा बसेको मात्र सुहाउँदैन ।

बिदा भएपछि म अश्विनीले दिएको स्थल सोध्दै जान्छु । केही पसलेहरू सोध्दा पनि मुन्टो भाँच्छन् । अर्को पसलेसँग गुनासो गर्छन् के हाम्रो काम छैन दिनभर यताउता बरालिने मान्छेहरूलाई बैँक कता हो पार्टी प्यालेस कता हो भनेर बताएर मात्र बस्ने ? गुगल नक्सा हेरे त पुगिहाल्यो । अरूको दिमाग खराब किन गर्छन् मान्छेहरू । म युकेको कुरा सम्झन्छु । त्यहाँ केही कुरा सोध्दा जोसुकै मान्छे पनि टक्क उभिएर सोध्नेलाई स्पष्ट जवाफ दिन पाउँदा खुसी हुन्छन् । नेपालीहरूलाई मात्र के भएको होला यस्तो ?

कार्यक्रम स्थल पुग्न ६ तला माथि जानुपर्दो रहेछ । म भर्‍याङ चढ्न थाल्छु । एकजना भन्छन् लिफ्टमा पनि माथि पुग्न सकिन्छ । उनले लिफ्ट खोल्ने, नम्बर थिच्ने, बाहिर निस्कने सबै कुरा बताउँछन् । लाग्छः यिनले लाटोबुङ्गो पो  सोचे कि ? कसैले नबताउँदा पनि रिस नै उठ्छ । बढी बताउन खोज्दा पनि रिस उठ्छ ।

राजकुमार श्रेष्ठको कविता कृतिको विमोचन रहेछ । विमोचन कार्यक्रममा दुईचारजना मात्र परिचित अनुहार छन् । तीमध्ये भागवत खनाल सर एकदुई मन्तव्य सुनेपछि उठेर हिड्नुहुन्छ । अतिथि बेन्चमा बसेका एकदुईजना बाहेक अरूले मलाई चिन्दैनन् । अरू त अरू कृतिका लेखकले पनि मलाई चिन्दैनन् । म दर्शकदीर्घामा बसेर समय कटाउनुको प्रयोजन के ? मेरो झोँक चल्छ म पनि बिचमै उठेर घरतिर हिँड्छु ।

आज राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमले पाक्षिक रूपमा आयोजना गर्ने  पाँचौँ भर्चुअल रचना वाचन र समीक्षा कार्यक्रम साढे सात बजेदेखि सुरु हुँदै छ । रचना वाचक हुनुहुन्छ मुकुन्दप्रसाद शर्मा । समीक्षक हुनुहुन्छः डाक्टर मधुसूदन गिरी । भरत सरलगायत १५ जनाजतिको उपस्थिति छ । डेढ घण्टामा कार्यक्रम समापन हुन्छ ।

देवकुमारी चिन्तित छिन् । खाना खाएका छैनौँ । खाना खाने जाँगर पनि छैन । भोलि दिवंगत परिशीलनको दशौँ वार्षिक तिथि छ । दश वर्षअगाडि छोरा परिशीलन होउन्जेल सबै पुगेको जस्तो लाग्थ्यो । उसको दुर्घटनामा दुखद निधन भएपछि हाम्रो परिवार शोकमै डुब्ने गर्दछ । दुर्घटनापछि शिवरात्रिकै दिन आफ्नै सन्तानलाई चितामा जलाउनुपरेको त्यो पीडा बिर्सेर बिर्सने खालको छैन । अझ खास गरी जब शिवरात्रि आइपुग्छ हाम्रो लागि दुःखरात्रिहरू सुरु हुन्छन् । पुरानो घाउ आलो भएर बल्किन थाल्छ । सबै प्रयत्न वाहियात लाग्छन् । पृय पुत्र गुमाएर अझै बाँच्न खोज्नु पनि वाहियात लाग्छ ।

Loading

Post Comment

You May Have Missed