×

२०८२ फागुन १९ गते मङ्गलवार

२०८२ फागुन १९ गते मङ्गलवार

सोलाबाङ, रुकुम पश्चिम

आज बिहान ४ बजे नै मनलाल ओली सरसँग चुनावको पछिल्लो अवस्थाको बारेमा छलफल गर्दै समानुपातिक उम्मेदवार बनेका राप्ती साहित्य परिषद्का सल्लाहकार तथा प्रगतिशील लेखक संघका पूर्व केन्द्रीय सचिव गिरिप्रसाद बुढालाई भोट दिने नदिने सम्बन्धमा सङ्क्षेपमा कुराकानी भयो । प्रत्यक्षतर्फ आआफूले उपयुक्त ठानी छनौट गरेका उम्मेदवारहरूलाई भोट दिए पनि समानुपातिकतर्फ भने गिरिप्रसादलाई भोट दिनु नैतिक सवाल भएको विषयमा मतैक्य भयो ।

त्यसपछि गिरिप्रसाद बुढाजी आफैले फोन गर्नुभयो र निर्वाचन आचारसंहिताअनुसार मौन अवधि सुरु भइसकेकोले आफूले भोट माग्न नसक्ने जानकारी गराउनुभयो । चुनाव सकिनेबित्तिकै साहित्यिक कार्यक्रमहरूमा जोडिने प्रण गर्नुभयो ।

लगत्तै जितबहादुर शाह सरको फोन आयो । उहाँले रुकुमको चुनावी माहौलबारेमा बुझ्नुभयो । मैले देखेको अनुमानित अवस्था बताइदिएँ । हाम्रो सम्बन्धमा साहित्यिक नाता नै गाढा हुन गएकोले गिरिप्रसाद बुढालाई समानुपातिकतर्फ भोट दिने रुकुमेली साहित्यकारहरूको नैतिकता हुन गएको बताउन पनि चुकिनँ । उहाँले भन्नुभयो कि राष्ट्रिय जनमोर्चा त राष्ट्रिय पार्टी बन्न सक्दैन । अघिल्लो चुनावमा थ्रेसहोल्डको आधा पनि मत ल्याएको थिएन । तसर्थ तपाईँहरूले उहाँलाई भोट दिए पनि कुनै अर्थ छैन । जानी जानी आफ्नो अमूल्य मत किन खेर फाल्नुहुन्छ ?

मैले यो कुरा नबुझेको त थिइनँ तर ज्ञानभन्दा नैतिकता ठुलो हुने ठानी गिरिप्रसादतिर झुकेको थिएँ । तर जितबहादुरजीले जोड दिएको अमूल्य मत खेर जाने कुराले मन चसक्क भयो ।

आज घरमुनिको पाटाका काँडेदार रुखहरू र झेप भएका अन्य रुखहरूको कटानी गरी आगो लगाउने काम गरियो । यस कामको लागि शालिग्राम ओली भाइलाई बाउरे बोलाइएको थियो ।  ७५ सालमा सल्यानमा कार्यरत रहेको बखत टिम्मुरका २५ वटा बेर्ना ल्याएर तल्लो पाटामा लगाएको थिएँ । तीमध्ये करिब १५ वटा बेर्ना जागेका थिए । परार सालदेखि टिम्मुर फल्न पनि थालिसकेको थियो । टिम्मुरका बोट झन् झन् ठुला भइरहेका थिए । तर टिम्मुर फल्न थालेदेखि दुईचार गेडाबाहेक अरू जम्मै बाटो हिड्नेकै प्रयोगमा आएका थिए । बारीमा र कान्लाभरि काँडैकाँडा मात्र भएका थिए । काँडाले गर्दा खाली ठाउँमा पनि अन्य बाली लगाउन सकिएको थिएन । तीमध्ये आधा बोट देवकुमारीले पोहोर साल नै काटिसकेकी थिइन् । मैले प्रतिफल नै प्राप्त नभई बोट काटेकोमा देवकुमारीलाई गुनासो गरेको थिएँ ।

आमाबाले त्यसै पाटामा बेलपत्रका बोटहरू पनि लगाइदिनुभएको थियो । बेलपत्रहरू पनि अरूकै लागि काम आएको थियो र जग्गा नै सार्वजनिक जस्तो भएको थियो । पाटाको ढिक घारी आँप, टोट्नारे, बेलाइँती, इपिलइपिल, नास्पाती, अङ्गुर, बेरुला आदिका बोटहरू पनि थिए र ती बोटहरूबाट अन्य बेर्ना पनि उत्पादन हुँदै थिए । एकातिर जग्गा रुखो हुँदै गएको र अर्कोतिर ती रुखहरूबाट अन्य बेर्ना समेत उत्पादन भई अनावश्यक रूपमा बोट मात्र झ्याम्म परी कि फल लाग्न पाउँदैनथ्यो । फल लागे पनि सानो हुने र उपभोग भने अर्कैले गर्ने भइरहेको थियो । अतः पाटालाई कुनै बाली लगाउन योग्य तुल्याउन टिम्मुरलगायतका अन्य रुखहरू काटेर उगारो बनाउनै पर्ने आवश्यक ठानी धमाधम रुखहरू काटेर दाउरा बनाउने काम भयो ।

दिउँसोतिर भाइ प्रकाश ओली र भतिज सुमन ओली पनि आए । पारिवारिक भेटघाट र कुराकानीपछि तीनैजना होमबहादुर खडका सम्धीको घरमा गयौँ । हिजो बेलुका अनलहरू आएर छलफल गरेको सम्बन्धमा कुरा सुरु भयो । प्रकाशले आफैले बोलाएको बतायो । सम्धीले आँखाले बोलाएर तारातिर लाग्ने के कुरा हो यस्तो भन्दै आश्चर्य व्यक्त गर्नुभयो । प्रकाशले ताराकै उम्मेदवारलाई जिताउनको लागि आफू आएको बतायो ।

होम सम्धी भने गाउँमा आँखाको प्रचारककै जिम्मा लिनुभएको रहेछ । सम्धी र प्रकाशबाट दुई उम्मेदवारहरूको तुलना भयो । भविष्यमा आवश्यक उम्मेदवारको योग्यताको कुरा भयो । सक्षमताको प्रश्न उठ्यो । हुँदा हुँदा एक अर्का उम्मेदवारहरूको पोल खोल्दै फटाहा बदमाश लुटाहा भन्न पनि पछि परेनन् । आफ्नै उम्मेदवारले जित्ने ठोकुवा गरे । छलफलले निकै सरगर्मी पैदा गर्‍यो ।

त्यहाँबाट फर्किएर सुमन र प्रकाश हाम्रो घरमा अर्नी खाई आआफ्नो निवासतिर लागे । देवकुमारी र म पनि बजारमा चिया चिनी किनमेल गर्नुपर्ने भएकोले बजारतिर लाग्यौँ । बजारमै रहेको डम्बर र देवीको घरमा पस्यौँ । चन्द्राको भनाइ मत विभाजन गर्नुपर्ने पो हो कि भन्ने थियो भने देवीले भने आफ्नो समस्यामा कुनै दल पनि काम नआएकोले मत नै रद्द गरिदिने आक्रोश पोखिन् ।

हामी बजारमा अत्यावश्यक खाद्य वस्तुहरू किनमेल गरी घरमा राति अबेरतिर फर्कियौँ ।

Loading

Post Comment

You May Have Missed