२०८२ फागुन ११ गते सोमवार
पोखरा कास्की
बिहान ४ बजे नै आँखा खुले । अलार्म नबजेरै । यात्रा भन्यो कि मेरा आँखालाई घडी चाहिँदैन । आज रुकुमतिर प्रस्थान गर्ने कि नगर्ने भन्ने निश्चित भइसकेको थिएन । हिजै भेषराज सरले ग्लोबल ट्राभेलको नम्बर दिनुभएको थियो । अगाडि सिट खाली छ पनि भनेका थिए । तर ती सिट बुक गरिएन । खासमा रुकुमको यात्रा गर्ने नगर्ने भन्नेमै दुविधा थियो । अतः ४ बजे आँखा खुल्नेबित्तिकै देवकुमारीलाई भनेँ । ४ बजिसक्यो जाने भए उठ । देवकुमारीले भनिन् गए पनि अलि दिउँसोतिर जाउँला । बिहानै जान सकिँदैन ।
मैले भनेँ दिउँसो गए त पोखरा राति पुगिएला । कि जाँदै नजाऊँ ।
देवकुमारीले भनिन् उसोभए भोलि जाउँला । म उठेर पनि सुतिहालेँ । १५ मिनेटपछि देवकुमारी उठिन् र जाने भए पनि जाम् न त भनिन् । उनले जाने भन्नेबित्तिकै म जर्पत्ताल उठेँ । दारी काटेँ । कपडा फेरेर बसेँ । झोला भने हिजो बेलुका नै तयार गरिसकेको थिएँ । यात्राको लागि आफ्नो झोला त देवकुमारीले पनि तयार गरिसकेकी थिइन् ।
मैले भागवत खनाल सरलाई मेसेज गरेको थिएँ सर ठिक ६ बजे लोकन्थली बसपार्कमा आइपुग्नुहोला । मैले चीरहरण उपन्यास तपाईँलाई छोडिदिन्छु ।
भागवत सरले मेरो मेसेज ६ बजेपछि मात्र हेर्नुभएछ । ओली आएर पनि गइसक्यो होला भन्ठानी मेसेजको रिप्लाइ नै गर्नुभएनछ । देवकुमारी ६ बजेसम्म पनि तयार भइसकिनन् । मैले सवा ६ बजे भागवत खनाल सरलाई किताब लिन साढे ६ बजे बसस्टपमा आउनुस् भनी फोन गरेँ । उहाँ साढे ६ बजेपहिले नै लोकन्थली बसस्टपमा पुगिसक्नुभएछ । तर हामीहरूलाई याङ्गोको कार लिएर त्यहाँ पुग्न पौने ७ बज्यो । खनाल सरलाई उपन्यास हस्तान्तरण गरेँ ।
कोटेश्वर नपुग्दै लोक जेठानले दाङबाट फोन गर्नुभयो । मैले कोटेश्वर पुगेको बताएँ । उहाँले बेनीघाटमा भर्खरै एउटा बस खसेको र करिब १७ जनाभन्दा धेरै यात्रुको निधन भएको बताउनुभयो । खबर सुनेर आत्तिन्छिन् भनेर देवकुमारीलाई मैले केही भनिनँ ।
बालाजु चोकमा पुग्दा सवा ७ बजे बजिसकेको थियो । याङ्गोले हामीलाई त्यहाँ ओरालेर ५०० भाडा लिई फर्कियो । आजभन्दा पन्ध्र वर्षअगाडि भक्तपुरबाट यही ठाउँसम्मको ट्याक्सी भाडा १००० भन्दा बढी लाग्थ्यो । जब कि त्यस बेला इन्धनको मूल्य आधा पनि थिएन । प्रतिष्पर्धाले ट्याक्सी निकै सस्ता हुनगएको छ ।
हिजो सम्पर्क गरिएको गाडी भर्खर गएको रहेछ । उसले आफू स्वयम्भू पुगेको र पर्खिरहेको बतायो । देवकुमारी २ महिनाअगाडि दाङदेखि चितवनको यात्रा सम्झँदै गाडी छुट्यो अब के गरी जाने भन्दै आत्तिइन् । ट्याक्सी चढेर छुटेको बस भेटाउनुभन्दा अरू गाडी आइहाल्छन् नि भन्दै मैले गाडी पर्खिरहेँ । नभन्दै एउटा टुरिस्ट बस आइपुग्यो । देवुकुमारीलाई फस्ट सिट नै चाहिन्छ । भाग्यवश् अगाडि नै एउटा फस्ट सिट खाली रहेछ । देवकुमारी अघिल्लो सिटमा बसिन् म चौथो सिटमा बसेँ । मेरो साइडपट्टिको सिटमा एकजना विदेशी बसेको थियो ।
गाडी आरामदायक नै थियो । देवकुमारी बसमा चढ्नेबित्तिकै निदाइहालिन् । उनलाई यसपालि बान्ता भएन । मलाई हाइसञ्चो भयो । नभए त गाडी देख्नेबित्तिकै देवकुमारीलाई बान्ताको छहरो ओर्लिन सुरु भैहाल्थ्यो । नागढुङ्गादेखि मुग्लिनसम्मै ठाउँठाउँमा बाटो विस्तारको कार्य भैरहेकोले बिचबिचमा रोकिनुपर्यो । १२ बजेतिर मुग्लिन पारिपट्टि बसले खाना खान रोक्यो । दुबैजनाले खाना खायौँ । यसपालिको यात्रा देवकुमारीको सुतेरै बित्यो मेरो भने नबोलेरै बित्यो । विदेशीले एकचोटि मतिर फर्की हेरेन । मैले झ्यालबाहिर हेर्न खोज्थेँ उसले आफैलाई हेरेको जस्तो ठान्थ्यो कि उतापट्टि हेर्नेबित्तिकै झ्यालपट्टि ढल्कन्थ्यो र मोबाइल लुकाउँथ्यो । त्यो विदेशी यात्रीको अनुहार मङ्गोलियन थियो । सायद ऊ चाइना वा कोरियन वा जापानिज थियो । उसले मोबाइल देखाएकै भए पनि मैले केही बुझ्ने थिएनँ । मन त थियो उसलाई ह्वेर आर यु फ्रम ? भनी सोधूँ । ऊ नै बेपरवाह भैदिएपछि उसको यो एकान्तप्रेमलाई मैले खल्बल्याइदिनुहुँदैन भन्ने लाग्यो । मुग्लिनदेखि पोखरासम्म ४ लेनको बाटो निर्माण सम्पन्न भैसकेछ । पोखरा पुग्न २ घण्टा पनि लागेन ।
हामी ३ बजे नै पोखरा आइपुग्यौँ । पृथ्बीचोकमै लिन आउनुभयो साहित्यकार भेषराज रिजाल सर । हामी आज उहाँकै पाहुना बन्ने भयौँ । भेषराज सर सहकारी रजिष्ट्रार कार्यालय कास्कीका कार्यालय प्रमुख पनि हुनुहुन्छ । उहाँको क्वाटर राष्ट्रबैँक चोकको नजिकै रहेछ । उहाँको भर्खरै प्रकाशित भेरीका छालहरूले हामीलाई स्वागत गरे । एकछिन भेरीका छालहरूकै बारेमा कुरा भएपछि सहकारी र अख्तियारमा उहाँको काम गर्दाको अनुभव सुनाउन थाल्नुभयो । काम झन्डै झन्डै उस्तै । सहकारीमा पनि सहकारी ठगहरूको अनुसन्धान गरी डुबेको पैँसा फिर्ता गर्नुपर्ने मुख्य काम । अनुसन्धानको क्रममा सहकारी सञ्चालकहरूको मनोमानी साधारण मान्छेहरूबाट संकलनको नाममा लुट । त्यसपछि उनीहरूकै बचाउको लागि नेताहरू, वकिलहरू, हाकिमहरू अन्य व्यक्तिहरूको फोन, धम्की यस्तै बिचमा काम गरिरहनुपरेको अवस्था ।
![]()
Post Comment