स्यार्पू
मुसिकोटदेखि अलिकति पारी
प्रकृतिको अनुपम् सुन्दर बारी
गाउँदै, नाच्दै, आसन फेरी
तलतिर बहने सानीभेरी
पिपल, बाँफीकोट समिप गिरी
ती दुई गिरीकै काखमा छिरी
उत्तर खोँचको तकिया पारी
नील उदरलाई पुरै उघारी
सिस्नेतिर एकटक् नजर्ले हेरी
लेटिरहेकी स्यार्पू मेरी ।
सुरम्य दृश्य, शान्त, अविचलता
त्यो सौम्य रुप, तर सरलता
वश्मा परी तिम्रै मैले पनि ता
अहोरात्र गर्दछु तिम्रो मानमनिता
हान्छु म ढुङ्गा उछाल्न छाल
तरङ्ग सुस्त, अटल छ चाल
भनुँभनुँ लाग्दछ, ‘मायाँ लाउँ’
‘तिम्रै दिलभित्र म अटाउँ’
मौन जवाफ तिम्रो कस्तो !
रतिभर परवाह छैन जस्तो ।
रुकुमका हरियाली सुन्दर गाउँ
अरुभन्दा अलिकति फरक ठाउँ
झरना, नदी, ताल, तलैया
गिरी, टाकुरी त कति छन् कति ह्याँ
विविध जाति, भाषा, विविध संस्कृति
हट्दैछन् जहाँ मानवताका दुस्कृति
प्रकृतिप्रेमी हो, यो हेर्न त आउ
भुली कृत्रिमता, सुन्दरतामा रमाउ ।
२०७०।०३।२१
मुसिकोट रुकुम ।
![]()
Post Comment