कवितापद्य कविता

सानीभेरी

कुना, कन्दरातिर कतै नभुली

नियात्राभर अनेक सखीहरु बटुली

अस्तव्यस्तताले आभुषण बेरी

कुद्छ्यौ अहोरात्र किन सानीभेरी ?

 

अति गर्दछ्यौ तिमी हडबडाहट

किन गर्दछ्यौ यति गडगडाहट ?

जवानी चढेझैँ उर्लिरहन्छयौ

नसुनुन् कोही, तर कुर्लिरहन्छयौ ।

 

वृक्ष, पहरा, किनारै लछारी

जीवनको इहलीला समाप्त पारी

देवपुरीका असुर समान

पार्दछ्यौ सबलाई थर्कमान

न श्रेय पाउँछ्यौ, न पुरस्कार

थकित, रुग्ण, घायल हुन्छयौ बेकार ।

 

न चन्चलता, न त मदमस्तता

ठूली हुन् तथापि सदा नतमस्तक

शान्त, स्निग्धताले अति धैर्य गरी

पर्खी बसेकीछन् तल, ठूलीभेरी ।

 

दूर् छैन रिम्ना दोभान् तथापि

मीलन छ तिम्रो अवश्यम्भावी

अनि दुई बैनी मिलेर टम्म

यात्रा  छँदैछ महासागरसम्म

कूद या लम्क, गन्तव्य उही हो

चिच्याउ वा सुसेल, मन्तव्य उही हो ।

 

पंचमहाभूतको तिमी एक अंश

पुजनीय पो हौ वंश, वंश

आफू जन्मनुको कर्तव्य सम्झ

गर्नुहुँदैन श्रृष्टिको विध्वंश ।।

  • २०७०।०३।२३
  • मुसिकोट रुकुम ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *