भेरी दह
यो दहको नाम तपाईँले आक्कलझुक्कल सुनेको भए पनि आजसम्म बिर्सिसक्नु भएको छ ।
तपाईँले भेरी दहलाई त्यहाँ पुग्ने समय नपाउँदा भुलेको जस्तो मात्र भएको हुन्छ । तर स्मृतिपटलले तपाईँलाई बेलाबखत घच्घच्याइरहन्छः भेरी दह जान बिर्सिस् कि ?
समय उबारेरै एक दिन त्यहाँ पुग्छु भन्ने इरादा त कस्नुहुन्छ तर भेरी दहको बारेमा जे जति सुन्नुभएको थियो, त्यहाँ पुग्दा सुनेकोभन्दा बढी देखिएला भन्ने तपाईँको कल्पनामै हुँदैन ।
सुनेकै भरमा बाइक वा गाडीको माध्यमबाट मध्यपहाडीको लहरो समात्दै पश्चिमतिर बत्तिनुहुन्छ । मुसीकोटबाट १७ किलोमिटर टाढा रहेको सिम्लीमा आधा घण्टाभित्रै पुग्नुहुन्छ तपाईँ । कोठाबाट निस्कँदा खाजाले टन्नै पेट भरे पनि सिम्लीको बजारमा अधिकांश सानातिना होटलै होटल ताँती लागेको देखेपछि तपाईँलाई फेरि चियाखाजा खाने तलतल लागिहाल्छ । चिया पिउँदै गर्दा होटले र ग्राहकहरूले तपाईँलाई सोध्छन् : कताको साइत हो ब्यानब्यानै ?
तपाईँ कुरा नलुकाई भन्नुहुन्छः भेरी दहतिरको !
उनीहरूमध्ये कसैले, भेरी दहमा के हेर्न जाने हो र ? भनी अर्को प्रश्न तेर्स्याउँछन् ! कसैले, यतातिर त भेरी नदी मात्रै छ, दह त छैन भन्छन् ! कसैले छन त छ तर त्यो दह होइन, त्यो त डिङाले पानी खाने सानो खोपिल्टो मात्र हो भन्छन् ।
तपाईँलाई बित्थैमा आइयो कि भन्नेसम्म पारिदिन्छन् तपाईँको यात्राको गन्तव्य सुन्नेहरूले ।
चिया खाइसकेपछि तपाईँ फुक्रु जिउला सोध्दै चौरजहारीतिरकै बाटोतिर सोझिनुहुन्छ । सिम्लीबाट २ किमि मात्र पर रहेको फुक्रु जिउलामा पुगेपछि तपाईँले गाडीयात्रा टुङ्ग्याउनुहुन्छ र सुरु हुन्छ तपाईँको पैदल यात्रा ।
फुक्रु जिउलाबाट तेर्पायाँ तेर्पायाँ हुँदै नजानिँदो उकालो चढेपछि १५ मिनेटजतिमै फुक्रुलाई हराभरा बनाई छोड्नेहेतु दक्षिणपश्चिमबाट पूर्वाभिमुख नहरको डिल भेटिन्छ । तपाईँलाई यो उकालो उक्लिएजस्तो पनि लाग्दैन । अनि नहरको डिलडिलै तेर्छै तेर्छो लागेर नहरको मुहानतिर अगाडि बढ्नुहुन्छ । वारिपारि महका चाकाजस्तै एकपछि अर्को खप्टिएका पहाडहरू, पहाडभरि छरिएका सुन्दर बस्तीहरू र तलको नागबेली परेको सानिभेरीले तपाईँका आँखा र ध्यान चपक्कै पारेर आफूतिर खिच्न खोज्छन् । तपाईँ अटेर गर्दै भन्नुहुन्छः तिमीहरूलाई बरू पछि नै हेरूँला । अहिले त त्यता हेर्दा नहरको डिलबाट फुत्किएँ भने त फेरि उक्लिनै पाउँदिनँ ।
साललगायत विभिन्न रुखका पोथ्राहरूले ढाकिएको पाखो सकिएपछि एकैछिनमा भेटिन्छ रोल नाउको सानो सुन्दर वलीगाउँ । नहर सकियो होला भन्ठानेर तपाईँ त्यतैबाट उकालो लाग्न खोज्नुहुन्छ । तर गाउँलेहरूले नहरको मुहानतिर जाने भए बाटो तलबाटै हो भनेर तपाईँलाई तलतिर झारिदिन्छन् ।
रोलगाउँबाट तपाईँ १० मिनेटजतिमा पुग्नुहुन्छ नहरको मुहानसम्म । नहरको मुहानमा तपाईँहरूलाई देखेर पानीघट्टहरू खुसीले बेतोडसँग छमछम नाच्न थाल्छन् । पानी उछिट्याएर तपाईँलाई छ्याप्न खोज्छन् ।
तपाईँलाई देखेपछि घट्टाल्नीहरू घट्टबाट बाहिर निस्केर मस्कँदै सोध्छन् :
‘काँसम्मको साइत होला ? कता पर्यो घर ?’
तपाईँ फुस्किँदै जवाफ दिनुहुन्छः ‘म त परेँ मुसीकोटे, दह च्याउने रर !’
उनीहरूले अविश्वास प्रकट गर्छन्: जाबो दहको लागि ता होइन होला । कि नहर, कि दहमा परेको योजनास्योजना हेर्न आउनुभएको होला । यो दहको लागि त कुनै योजना परेको सुनिएकै छैन ।
तपाईँले सिम्लीबजारदेखि बाटैभरि यस प्रश्नको जवाफ बारम्बार दिइसकेकोले यहाँ आइपुगेर फेरि प्रस्ट पार्न आवश्यकता ठान्नुहुन्न ।
यो छोटो संवादमा सहभागी हुँदै तपाईँ उकालो लाग्दा सोच्नुहुन्छः अरूले दश मिनेटको उकालो भने पनि उकालो काट्न कम्तीमा आधा घण्टा त लाग्ला लाग्ला ।
तर ५ मिनेटमै भेटिन्छ हरियो मेवाको आकारको शान्त सुन्दर ताल । ताल देखेर छक्क पर्नुहुन्छ र तपाईँ यसो भन्दै जिब्रो टोकेर गम्न थाल्नुहुन्छः
‘कल्पनै नगरेको ठाउँमा ठुलै दह पो रहेछ त ! मैले त सानो पोखरी मात्र होला भन्ठानेको ! कति नजिकैको ताल हो यो !
ताल त निलो हुनुपर्नेमा पिपलको पात निचोरेझैँ हरियो पो छ त !
वरिपरि दुई खोलाहरू, कोइलीलगायतका चराहरूको चिरबिर, काफल, साल र सदाबहार वनस्पतिको घना जङ्गल ! लठ्ठै पार्ने प्राकृतिक मनोरमता पो रहेछ बाब्बै !
यति मनोरम ताललाई सानीभेरी गाउँपालिकाले किन यसरी उपेक्षा गरेको होला ?’
तपाईँ तालको वरिपरि घुम्न चाहनुहुन्छ तर डोरेटोसम्म पनि भेटाउनुहुन्न । तैपनि आफैले डोरेटो पार्दै, पाखाका रुख बिरूवाको बोटमा झुन्डिँदै ताललाई फनक्कै एक फन्को मार्नुहुन्छ ।
फेरि अर्को फन्का मार्ने रहर जाग्छ । तपाईँलाई यो ताल छोड्न मनै लाग्दैन ।
तपाईँ यो तालको अनुपम छटाको रसास्वादन गर्ने आफू एक्लै छु कि अरू पनि होलान् भनेर वरिपरि हेर्नुहुन्छ । त्यहाँ तपाईँकै पछाडिपट्टि मख्ख परेर हेरिरहेको साहित्यकार कल्लिएको पूर्ण ओली, सेवानिवृत्त शिक्षक लोकबहादुर खडका र सानीभेरी गाउँपालिकाका कर्मचारी उमेश बडुवाललाई पनि आफैसँग देखेर अर्कोबाजी छक्क पर्नुहुन्छ ।
तपाईँ सोच्नुहुन्छः मुसीकोटबाट ३ घण्टामै आउजाउ गर्न सकिने यस तालमा त दिनदिनै आए पनि भो ।
फेरि सोच्नुहुन्छः यहाँका मान्छेहरूले त्यो जाबो ताल हेर्न दिनदिनै क्यार्न आको हो भनी सोधे जवाफ के दिने ?
तपाईँलाई थाहा छ दिनमा ३ घण्टा उबार्न पनि निकै मुस्किल छ ।
तर दिनमा घण्टौँ घण्टा त्यत्तिकै खेर गएको तपाईँ मतलबै गर्नुहुन्न ।
![]()
Post Comment