नदी
म गीत गुन्गुनाउँदै पहाडदेखि धाउँछु
हरेक जीव जन्तुको म भोक प्यास् मिटाउँछु
नछेक मार्ग भाइ हो समुद्रसम्म पुग्नुछ
बनेर वाफ मेघको हिमाल शीर चुम्नुछ ।१।
म बग्छु गड्गडाउँदै असारदेखि भाद्रमा
र सुक्छु छट्पटाउँदै म माघदेखि चैत्रमा
मनुष्यको भलाइमा म दान गर्छु जीवन
अनेक रूप रङ्गले प्रदान गर्छु जीवन ।२।
नहान जाल छातिमा विनासमा घिनाउँछु
लगाउ है प्रयोगमा विकासमा सघाउँछु
पिए मिठो सुपाच्य छु म बन्न सक्छु ओखति
तुल्याउँछौ विषाक्त ता पुर्याउँला ठुलो खति ।३।
सदैव साथ देखिने दुवै किनार यार हुन्
म भेट्न खोज्छु सर्वदा समुद्रजी पियार हुन्
पहाड मातृभूमि हुन् पिता त सूर्य बादल
कहाँ रहन्छ श्रृष्टि यो ? बिना रवी, बिना जल ?४?
समस्त लेक फाँटमा सदाबहार ल्याउँछु
म रीस, राग, धाकको अज्ञानता चिस्याउँछु
ज्वरो चढे निधारमा मुसा कुदे अभावको
निभाइदिन्छु अग्नि त्यो, म रोग, भोक, शोकको ।५।
करोड टन् घुमाउँदै म बत्ति बाल्न सक्तछु
पहाड खैँचि श्रृष्टि नै समाप्त पार्न सक्तछु
महा पञ्चभूतको तिनै महत्त्व बुझ्दछन्
गरेर देवतुल्य जो चढाइ दील पुज्दछन् ।६।
२०७८।०२।१८
चाँगुनारायण भक्तपुर ।
छन्दः पञ्चचामर
वर्णः १६ अक्षर
गणः ज र ज र ज ग
गण संकेतः ISI SIS ISI SIS ISI Sविश्रामः आठ/आठ अक्षर ।