×

धान-कोदो सम्वाद्

धान-कोदो सम्वाद्

पोटिला पात छन्, भरिला डाला

जीउभरि लटरम्म खँदिला बाला

गम्की हिँडेको देखी मदवाला

ईर्ष्याले बोल्यो धानको बाला:

“देख्दैछु निच, तेरा चालामाला

कता मुन्टिँदैछस् ? ए कोदे काला !!”

 

‘यो जाबोभन्दा त छु म बलियो’

सोच्दै कोदो अलिबेर् अलमलियो,

“सिरुपाते, झुसे, सुक्दो छ जीउ,

किन खोज्दैछस् ए, बिनसित्ति निहुँ ?

तैँ सुधारेस् घमण्डी, निर्लज्ज चाला

पृथ्वी परिक्रमामा छु म, भुसे बाला !!”

 

हानेको तीर त्यो आँफैतिर सोझियो

कताकता घोचियो, कारक खोजियो,

अर्काको प्वाँख तान्दा आँफै भुत्लियो

इज्जत जोगाउन धान, अलिबेर् घोत्लियो

‘गरेँ मैले व्यर्थ, यो अपमान,

मानको खातिर पाइन्थ्यो मान !!’

 

देख्यो धानले जब कोदोको फिर्ति सवारी

मुहार हसिलो, वचन नम्र पारी

बोल्यो हात जोडी: “मेरो समिप आऊ,

थकान यात्राको त्यो, यहीँ बिसाऊ

सफलताको शिखर चुम्नेवाला,

तिमी नै हौ समस्त पृथ्वी पाला !!”

 

अब कोदो अन्तरदेखि पग्लियो

जति पग्लियो, उतिउति अग्लियो,

“उत्कृष्ट छौ, तिमी मित्र धान

जस्तो विधान, उस्तै परिधान ।

गुनगान सर्वत्र तिम्रै छ खाली

‘लाभकारी, सुन्दर, स्वर्ण बाली’ !!”

 

Loading

Post Comment

You May Have Missed