कविताछन्द कविता

तस्बीर खिच्दै गर्दा

अग्ला आउ पछाडि वा निहुरिद्यौ सर्वाङ्ग देखिन्छु म

मेरो सम्मुख आइ ठिङ्ग उभिँदा सम्पूर्ण छेकिन्छु म

जस्तो जे छ लगाइ वस्त्र पहिरन् तस्बीर खिच्दै छु म

तिम्रो माथ बराबरी कद हुने तक्दीर खोज्दै छु म ।

 

चालीसे वयको कठीन श्रमले बूढो नि देखिन्छु म

छक्का जाल कुटील जान्दिन कुनै झूठो नि देखिन्छु म

पालन्-पोष नपाउँदा तिमिसरी होचो भनी सोच्दछौ

खोल्नै पाइन गाउँले मनकुरा सोझो भनी घोच्दछौ ।

 

आफ्नै कौशलले बुनेँ जुन लुगा भद्दा भनी तर्कियौ !

आफ्नै पौरखको तुल्यायँ अनुहार् रद्दी भनी कर्कियौ !

अर्वाचीन भयौ तिमी नकलले पाखे म नै देखिएँ

मैलाई सहसा धकेलि उभियौ ठेल्दा झनै छेकिएँ ।

 

भाषा सभ्य भनाउँदो वक तिमी के भिन्नता अर्थमा ?

भाषा भेषभुषा यिनै पृय हुँदा के सिक्नु त्यो व्यर्थमा ?

हाँस्नैपर्छ भनेर साथ नदिए हाँस्नै कहाँ सक्छु र ?

उठ्नैपर्छ भनेर हात नदिए उठ्नै कहाँ सक्छु र ?

 

होचा छौ दिलले शरीर सहसा के हुन्छ अग्लो भई ?

खोक्रो लाग्छ विवेकमा तर तिमी को चिन्छ सग्लो भनी ?

जस्को क्वै क्षतिपूर्ति हुन्न कहिल्यै यो झेलमा मै परेँ

फोटो फोकसमा पर्यौ तिमि सँधै ओझेलमा मै परेँ ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *