×

गुप्ता दह

अघिल्लो रात तन्नेरीहरूले हामी बूढाहरूलाई छोडिदिएको सिङ्गै कोठा र ओढ्ने ओछ्याउनेको छेलोखेलो नै भयो । आफ्नो लागि मात्र नभई कहिलेकाहीं मात्र आउने पाहुनाहरू समेतको लागि प्रशस्त मात्रामा ओढ्ने ओछ्याउनेको सामा गर्ने सोच कसरी आयो होला प्रवीणको परिवारलाई ? म छक्क पर्छु । चरम थकाइको कारण अरू सबै ढिम्किनेबित्तिकै भातेनिद्रामा परिहाले । मलाई भने पटक्कै निद्रा लागेन । थकानले लस्त हुँदा म निदाउनै सक्दिनँ ।

‘बाँकी संसारबाट गुप्त रहेको त्यो गुप्ता दह कस्तो होला ? त्यहाँ कसरी पुगिएला ? पहिलेको जिल्ला पञ्चायत र जिल्ला विकास समिति र अहिलेको स्थानीय सरकारले गुप्ताको रहस्यलाई किन बाहिर ल्याउन चाहेन ? लोकसेवामा स्यार्पु र कमल तालको मात्र प्रश्न सोधियो, गुप्ता दहको बारेमा किन प्रश्न सोधिएन ? कि गुप्तादह भनेको भैँसी खेल्ने महत्त्वहीन आहाल मात्र हो ? यदि त्यस्तै रहेछ भने त साथीहरूले बित्थैमा दुक्ख मात्रै दिएको भनी मलाई नराम्रोसित खेद्ने भए ।’

यस्तै नानाथरी सोचाइ मात्र मनदेखि मस्तिष्कसम्म लाम लागेकाले परेला ढप्किन मानेका छैनन् । निद्रा बिथोल्न लागिपरेका सोचहरूबाट मुक्ति पाउन सिरक एकातिर मिल्काएर म कोठाबाहिर निस्कन्छु । पाइताला बाहिर निकाल्नेबित्तिकै सिस्नाले चिलेझैँ चिसो सिरेठोले मुखमा हान्छ । लैपाको उचाइ २२०० मिटर मात्र भए पनि चिसो थेगिनसक्नु छ ।

म वारिपारि नजर फैलाउँछु । धरातललाई अन्धकारले खर्लप्पै निलेको छ । दक्षिणपश्चिमतिर पातलो हँसियाजत्रो जूनलाई आफ्नो बाहुपासमा लुकाउन कादम्बिनीले गरेको भरमग्दुर प्रयास मनोरञ्जक छ । जून भने लुकामारी खेल्दै यताउता भागिरहेकी जस्ती देखिन्छिन् । उनले धरतीमा छरेको प्रकाश बित्थै भइरहेको छ । बरू आकाशमा भने ताराहरूको झिलिमिलीले गर्दा अन्धकारलाई प्रवेश निषेध गरेको छ । हामीहरू लैपामा आइपुग्दा उत्तरतिर बादलका धब्बाहरू अलिअलि देखिएका थिए । अहिले ती बादलका धब्बाहरू निर्बाध चमचमाइरहेका तारालाई कत्ति पनि नबिथोलीकन आकाशभरि फैलिएका छन् । शङ्का उब्जन्छ, भोलि बिहान बादलले डम्मै आकाश ढाकेर पानी नै पर्‍यो वा वारिपारि केही देखिएन भने हाम्रो यात्रा व्यर्थ त हुँदैन ?

कोठाभित्र पसेपछि निदाउने प्रयास गर्छु । तन्द्रामा पौराणिक कथाकी अनुसूया टुपुल्किन्छिन् । अत्रि ऋषिपत्नी ब्रह्मवादिनी अनुसूयाले परपुरुषको मोहजाल र आकर्षणबाट टाढै रही अवलम्बन गरेको कठोर पतिव्रता धर्म देखेर स्वर्गमा देवताहरूको निद्राहराम भइरहेको छ । उनको धर्म र तपस्या देखेर ईर्ष्याले भित्रभित्रै जल्ने त झन् देवीहरू नै अधिक छन् । देवीहरूकी पनि देवी त्रिदेवीले  विष्णु, ब्रह्मा र महेश्वरलाई अनुसूयाको पतिव्रता धर्म जाँच्न पृथ्बीलोकमा पठाउने सल्लाह गर्दछन् । अनुसूया आश्रममा एक्लै रहेको मौका पारेर त्रिदेव जोगीको भेषमा आश्रमको द्वारमा पुगी ‘भिक्षा देही !’, ‘भिक्षा देही !’ भन्दै अलाप्छन् । अनुसूया हत्तपत्त भिक्षा लिएर बाहिर निस्किन्छिन् र जोगी भेषधारी त्रिदेवलाई भिक्षा स्वीकार गर्न आग्रह गर्छिन् । त्रिदेवले ‘सर्वाङ्ग नग्न भएर दिएको भिक्षा मात्र स्वीकार गर्ने, नत्र श्राप दिएर रित्तै फर्कने’ धम्की दिन्छन् ।

अनुसूयालाई ठूलो धर्मसङ्कट पर्दछ ! उनीहरूले भनेको मानूँ आफ्नो पतिव्रता धर्म नष्ट हुने, नमानौँ श्रापको भागिदार हुनुपर्ने । उनले जुक्ति लगाउँछिन् । भित्रबाट घडामा जल ल्याएर त्रिदेवलाई छर्किन्छिन् । जलले सिँचन हुनेबित्तिकै त्रिदेव शिशुहरूमा परिवर्तन हुँदै ‘च्याहाँ, च्याहाँ’ गर्दै भुइँमा लडीबुडी गर्न थाल्छन् । अनुसूयाले तीनैजना शिशुलाई अङ्गालोमा बेरेर आश्रमभित्र लग्छिन् । त्रिदेवलाई दिशापिसाब गराउँछिन् । नाङ्गै पारेर नुहाइधुवाइ गरिदिन्छिन् ।  अनि आफ्नो नग्न काखमा लिएर स्तन चुसाउँछिन् । नग्न काखमा खेलाउँछिन् । अबोध शिशुहरूको लागि आमाको नग्नता ग्राह्य हुने नै भयो । सर्प पनि मर्‍यो लठ्ठी पनि भाँचिएन । अनुसूयाको आफ्नो पतिव्रता धर्म पनि बच्यो र त्रिदेवको इच्छा पनि पूर्ण भयो । त्रिदेवीको जाँच पनि पूर्ण भयो ।

निद्रा अझै लागेको छैन । रात घर्केर मध्यरातको पर पुगिसकेको छ । म पटकपटक बाहिर निस्कन्छु र पटकपटक आकाशतिर हेर्छु । आकाशलाई त कादम्बिनीले सम्पूर्णरूपमा आफ्नो बाहुपासमा बेरिसकी छन् । लौ बित्यासै पर्नेभयो ! हामीसँग न छाता छ, न शरीर ओत्ने अर्को कुनै उपाय ! दूरदेशका यात्रीहरूउपर प्रकृतिको यो कस्तो प्रहेलिका हो ? हिजोसम्म छर्लङ्ग खुलेर आजै किन धुम्मिनुपरेको होला ? प्रकृतिको सामु मान्छेको केही जोर चल्दैन । ऊ सधैँ प्रकृतिको अगाडि निरीह र बबुरो बन्न पुग्दछ । जीव जगतले त जस्तो परिआउँछ, त्यही स्वीकार्नुको विकल्प छैन । तर पनि मनले आसन्न विपरीत परिस्थितिलाई पटक्कै स्वीकार्न मानेको छैन । ‘हे भगवान ! भोलिको एक दिन मात्र आकाश खुल्ला राखिदेऊ ! त्यसपछि बरू तिम्रै मर्जी !’ भन्दै  जम्लाहात जोड्छु ।

भित्र पसेर आँखा झपक्क के लागेका हुन्छन् गाउँभरिका घडीचराहरू एकपछि अर्को गर्दै कुखुरी काँ को गीत घन्काउन थाल्छन् । अनि प्रत्येकका मोबाइलका अलार्महरू पालैपालो कुखुराहरूसँग आआफ्नो लयमा गीत मिस्याउन थाल्छन् । अब नउठी धरै छैन । गोपाल, होमसम्धी, दिलबहादुर र म एकैचोटि ब्युँझन्छौँ र ओढ्नेलाई एकातिर सर्काउँदै अनिदो जिउलाई तनाकतुनुक पार्न थाल्छौँ । एकैछिनमा अर्को घरबाट पनि एक्कबहादुर, बमकाजी, नरसिंह र अनिलहरू पनि आइपुग्छन् । हामीहरू आँखाका कचरा पनि नपखाली हत्तपत्त आआफ्ना झोला भिरेर बाहिर निस्कन्छौँ । पहिलो नजर पर्छ आकाशमै । आकाश उस्तै धुम्मिएकै छ ।  मोबाइल घडीमा बिहानको साढे चार बजे तापनि बाहिर घनघोर रात्रि बाँकी नै छ । जे त पर्ला भन्दै पथप्रदर्शक गोपालका पाइला पछ्याउँदै मोबाइल टर्चको मलिनो उज्यालोको सहायताले हामी चिसो रातमा लामबद्ध भएर उकालो लाग्छौँ ।

केही पर पुगेपछि गोपालले बाटो भुलेको छनक दिन्छन्। घरी घाँसका बुटा पन्छाउँदै त घरी कान्लामा चढ्दै हराएको बाटो पग्याउने प्रयास गरिरहन्छन् । हामीहरू एकै ठाउँमा गुजुल्टिएर ‘पथसमेत थाहा नहुने केको पथप्रदर्शक !’ भन्दै गोपाललाई  उल्ल्याइरहेका छौँ । अर्को चिन्ता थपिन्छ अब उज्यालो नभई बाटो भेटिनु सम्भव छैन । उज्यालो हुन अझै २ घण्टा बाँकी नै छ । २ घण्टा यतै बिताउने हो भने न समयमा गुप्ता दह पुग्न सकिन्छ, न त हिमालको दृश्य मनग्गे हेर्न पाइन्छ !

“अङ्कल पर्खनुस् हामी पनि जाने !”

“हामीलाई किन छोड्नुभयो अङ्कल ?”

“जहाँ हुनुहुन्छ त्यहीँ पर्खनुस्, हामी पनि आउँदै छौँ ।”

बच्चाहरूको तिखा युगल आवाजहरू हाम्रा कानमा ठोक्किन्छन् । बच्चाहरूलाई लेकमा लैजाँदा धेरै कुराले जोखिम हुने भएकोले उनीहरूलाई नब्युँझाई हामी बाटो लागेका थियौँ । बाटो भुलेका हुँदैनथ्यौँ भने हामीले अहिलेसम्म एउटा कुइनेटो काटिसकेका हुनेथियौँ र उनीहरूले हामीलाई भेट्न सम्भावना नै थिएन । बाटो भुलेर विलखबन्दको अवस्थामा उभिइरहेकोले उनीहरूलाई नै पर्खीबसेको जस्तो हुन गयो ।

“गुप्ता जाने बाटो त्यता होइन, यता हो अङ्कल बाटो त । माथि आउनुस् सिधै माथि ।” प्रवीणका छोरा र उनका साथी हाम्रो नजिक  आइपुगेपछि कुहिरोको कागजस्ता हामीहरूलाई दिशानिर्देश गर्दछन् । हामी अनिर्णयको कठघराबाट मुक्त भएको अनुभूत गर्छौँ र आज्ञाकारी बच्चाजस्तै उनीहरूलाई पछ्याउँदै कान्ला चढ्न थाल्छौँ । अब हामीसँग अरू २ जना पथप्रदर्शक थपिए । हाम्रो जिउमा बाक्ला स्वीटर र जाकेटहरूले पनि सिरेठोलाई हम्मेसी रोक्न गाह्रो भइरहेको छ, तर ती केटाहरू भने नाइलनका पातलो ट्र्याकसुट पहिरेर सिउसिउ गर्दै हिँडिरहेका छन् ।

यस यात्रालाई सहज तुल्याइरहेका मित्र जीवन खडकालाई आफू लैपाबाट हिँडिसकेको जानकारी दिन्छु र गोपालले बताउन नसकेका कुराहरू बताइदिन आग्रह गर्दछु। जीवनजीले प्वाङकै सेवानिवृत्त शिक्षक गणेशबहादुर केसीको सम्पर्क दिँदै भन्नुहुन्छः “गणेशभिनाजु त्यहीँ जङ्गलमा ६ वर्षसम्म खाईखेली हुर्केका, रडयार्ड किप्लिङको ‘मोग्ली’ तुल्य व्यक्ति हुनुहुन्छ । उहाँसँग विचरण गर्नुभयो भने त्यहाँका ‘बालु’ ‘बागिरा’ ‘शेरखान’, ‘काट्रिका’ र सारा वनस्पति र वन्यजन्तुलाई समेत चिनाउनुहुनेछ । उहाँलाई त्यहाँका वृक्ष र माटोढुङ्गोको कणकणको समेत जानकारी छ । उहाँले त्यही ठाउँमा बच्चाकालमै आफ्नो खुट्टासमेत गुमाउनुभएको हो ।”

रातको निरवता पटक्कै घटेको छैन । लेकाली झ्याउँकिरीहरूको र्‍याइँर्‍याइँ आवाज र नजिकैबाट फुत्त उड्ने चराहरूको पखेटाको भतभताहटले निरवतालाई बिथोल्न खोजेझैँ प्रतीत हुन्छ । बेलाबेलामा गोपाल र दुईजना बालकहरूले हामीलाई सतर्क गराइरहेका छन्, ‘छेउतिर नलाग्नुहोला है छङ्गाछुर भिर छ ! खुट्टाले राम्रोसँग छामेर हिड्नुहोला है, लर्किने ढाँर र पाङरका फलहरू बाटैभरि खसेका छन् । ढिकघारिका घाँस नसमात्नुहोला है, पुवा नाउँको विषालु लेकाली सिस्नो हुन्छ । टाढाटाढा एक्लिएर नहिड्नुहोला, अब घनघोर जङ्गल शुरू भएकोले बाघभालुले आक्रमण गर्न सक्छन् !

हामीहरू द्वन्द्वकालका जनसेनाजस्तै गुपचुप र होसियारका साथ अँध्यारो बाटोमा परेड खेलिरहेका छौँ । बाटो एक खण्ड तेर्छो र तीन खण्ड उकालोको दरले एकतमाशले उक्लिरहेको छ ।

दिलबहादुर भन्छन्, “केटाहरू हो, तिमीहरू अघि नलाग । बीचमा हिँड, बीचमा ।” तर उनीहरूले माने पो । उनीहरू हाम्रो अघिअघि खरायोझैँ बुर्लुकबुर्लुक उफ्रिरहेका छन् । केटाकेटीको पछिपछि गोपाल खडका, होमसम्धी र म छौँ त्यसपछि दिलबहादुर, बमकाजी, अनिल, एक्कबहादुर र नरसिँह छन् । उनीहरू पछि पर्नुको उद्देश्य भने अन्तरङ्ग हँस्सीमज्जाक गर्नु रहेछ । बमकाजीले विश्वका अग्ला १४ हिमालका साथै अन्य १४ वटा होचा हिमाल चढेको फुर्ती लगाउँदा हाँसोको रनाकासहित होचै हिमालको सोधखोज बढी भइरहेको छ ।

“यो मैनेरीको ओराल (ओढार) हो । यसमा थुप्रै भिरमाहुरीले चाकाहरू लगाएको छ । त्यतातिर ढुङ्गा नफाल है केटाहरू हो ! एउटाले मात्र टोक्यो भने पनि हाम्रो प्राण रहँदैन । हाम्रो महको प्रमुख स्रोत यही मैनेरी हो ।” गोपालले औँल्याएको ठाउँतिर हेर्छौँ, निष्पट्ट अँध्यारोको कारणले भिरमाहुरीको चाकाको नाउँ ओढारको छेउटुप्पो केही देखिए पो ।

अब कलकलकलकल, छङछङछङ, घुतुघुतुघुतुघुतुको आवाज झन् झन् टाँठो टाँठो हुँदै गइरहेको छ । लागिरहेको छ, हिजै छोडेको तुबाङ खोलाको नजिक नजिक पुग्दै छौँ । खोला नजिक पर्दा पनि अर्को साथी भेटिएजस्तो आडभरोसा पाई भय कम हुन्छ ।

“ऊः पारि हेर्नुस् त ! त्यो बुगा ओराल हो । सिङ्गै पहाड उभिएजत्तिकै भयङ्कर  ठूलो छ ।”

उत्सुकतावश् निज्याएर भीमकाय ओढार हेर्न खोज्छौँ, तर हात लाग्यो शून्य हुन्छ । गोपालहरू पो यतैका बासिन्दा भएकोले सेन्सको आधारमा कहाँनेर आइपुग्यौँ, त्यसको आकृति कस्तो छ, आँखै चिम्लेर पनि बताइदिन सक्छन् ! हामी त सर्वथा नयाँ, त्यसमाथि चुक घोप्ट्याएजत्तिकै अन्धकार । के देख्नू ? कसरी थाहा पाउनू ?

“ल फेरि खोला आइपुग्यो । जुत्ता खोलेर खोला तर्ने कि पुलबाट जाने ? पुलबाट जाँदा अलिकति फेरो पर्छ ।” गोपालले विकल्प माग्छन् ।

“यस्तो चिसोमा कहाँको जुत्ता खोल्नु र लगाउनु ? बरु पुलबाटै जाऊँ ।” एकस्वरमा भन्छौँ सबैले ।

पुल तर्दै गर्दा गोपाल भन्छन्, “यो दुबाँइखोला र पेटारीखोला मिसिने दोभान हो । अब हामी स्टिलको नयाँ पुल तरेर पेटारी खोलाको किनारै किनार उँभो लाग्छौँ ।” यति दुर्गम कन्दरामा अहिलेतक विभेद र वञ्चनामा परेको स्थललाई राज्यले पुल बनाइदिएर भए पनि राहत दिएको देखेर हामी धन्यधन्य हुन्छौँ । स्थानीय सरकारले हामीले ठानेजस्तो आँखा नै चिम्लेर त कहाँ बसेको रहेछ र ? तिपतरादेखि माथि आधा दर्जनभन्दा बढी पुलहरू भेटिइसकेका छन् ।

“यो ख्याप ओराल हो । यो पनि बुका ओरालभन्दा कम छैन ।” अलिकति माथि पुगेपछि फेरि गोपाल भन्छन्, “सानातिना ओरालहरू त बाटैभरि छन् ।”

ख्याप ओढार भने बाटोको छेउमै रहेकोले मोबाइल टर्चको सहायताले अलिअलि अनुमान गर्न सकिन्छ । प्रकृति निर्मम भएर खनिँदा जीवजन्तुले सहारा लिने विकल्प पनि दिएको देख्दा अच्चम्म लाग्छ ।

“अब हामी चिलखोल्यासको भिर हुँदै ठूलो उकालो काट्नुपर्ने हुन्छ । अलिकति लर्कियो कि सक्कियो ! होसियारपूर्वक हिड्नुहोला !”

गोपालको साबधानीसूचक सन्देशले हामी डरले थुरथुर काम्नुपर्ने थियो । हाम्रो सातोपुत्लो उड्नुपर्ने थियो । तर छेउमा भिर छ कि समथर छ, पटक्कै केही देखिँदैन । डर भन्ने कुरा पनि आँखैले देखेपछि मात्र लाग्दोरहेछ । हामी गोपालको साबधानीलाई बेपरवाह गरेर गफिँदै हाइसुक्ख बाटो नाप्दै छौँ । सायद उकालो पनि आँखैले देखेको भए अत्यास लाग्दो हो । नदेखेपछि उकालो  काटेको पनि पत्तो भएन ।

सबैको हातमा लठ्ठी पुगेको थिएन । लठ्ठी चाहिँदैन भन्नेलाई पनि अलिबेरको उकालोले लठ्ठीको आवश्यकता नभइनहुने बनाइदियो । गोपालले बाटोको छेउमै रहेको मजेर नाउँको बुटोबाट सीधा र सलक्क परेका बलिया लठ्ठीहरू काटेर सबै यात्रीलाई व्यवस्था गरिदिन्छन् । लठ्ठीले  यसपछिका उकालो र ओरालोमा झनै सजिलो तुल्याइदिन्छ ।

पेटारीखोलाको किनारमा पुग्दा मिर्मिरे उज्यालो भइसकेको थियो । हामीले निष्पट्ट अँध्यारोमै दुई घण्टा काटिसकेका थियौँ । छेउमै पुरानो गोठ रहेछ । केटाहरूले झिँजाहरू खेरेर गोठभित्र आगो सल्काइहाले । बिहानी सिरेठोले हानेर निलडाम पारिसकेका हात र अनुहार हामीहरूले पनि सेकायौँ ।

झलमल्ल उज्यालोले हाम्रो नजरमा सुरम्य वातावरण प्रकट हुन थाल्यो । बीचमा कलकल बग्ने निर्मल जलप्रवाह, वरिपरि मृदु पालुवाले आच्छन्न झ्याम्म परेका सुरभिमय वृक्ष, वृक्षमा लागेका सुस्वादु फलफूल आदिले वेष्टित वातावरण  कुनै ऋषिमुनिले तयार गरेको सुन्दर तपोवनजस्तै देखिन्थ्यो ।

जीवनजीले दिएको गणेशजीको नम्बरमा मैले फोन लगाएँ ।

“हेलो सर, म पूर्ण ओली । मलाई चिन्नुभयो सर ?” उहाँको फोन उठ्नेबित्तिकै मैले नै सोधेँ गणेशजीलाई ।

“पूर्ण ओलीलाई रुकुममा नचिन्ने को होला र मैले नचिन्नू ? सरलाई त म शिक्षक हुँदादेखि नै राम्रैसँग चिन्छु नि । भन्नुस् मैले के सेवा गरौँ ?”

शुरूमै यसरी नसोधेको भए हुने, गणेशजीको जवाफले म शरमले पानी पानी भएँ ।

“हामी गुप्ता दह जाने हेतुले तपाईँकै गाउँमाथिको जङ्गलमा आइपुगेका छौँ । गोपालजी पनि अबदेखिको बाटोमा अलि नयाँ हुनुहुँदो रहेछ । हामीलाई यहाँको ठाउँ वनस्पति र वन्यजन्तुको बारेमा बताइदिनुपर्‍यो हजुर !”

“भइहाल्छ नि । लैपाबाट ४ बजे नै हिडेका यात्रीहरू अहिले हरेलाग्ना पुग्नुभयो होला हैन ?”

“खै सर । तलतिर केही देखिएन । यसलाई पेटारीखोला भन्दै हुनुहुन्छ गोपालजीले ।”

“अब तपाईँहरू गुप्ता पुग्ने मार्गको ठिक बीचमा हुनुहुन्छ । लैपाबाट त्यहाँ पुग्न जति समय लाग्यो, अब गुप्ता पुग्न पनि त्यति नै समय लाग्छ । अब झन् झन् प्राकृतिक मनोरम स्थलहरू भेटिँदै जानेछन् ।”

अब आधा मात्र बाटो बाँकी छ भन्ने जानकारीले मनै प्रफुल्लित भयो । तेर्सैतेर्सो बाटो सुरु भएकोले मच्चिएर हिँड्दै गर्दा फेरि सोधेँ, “अब सिस्नोजस्तो ठूला पात भएको झारको दमारै शुरू भएको छ । के भन्छन् यस झारलाई ?”

“अल्लो भनेको त्यही हो । हामी स्थानीय भाषामा पुवा भन्छौँ । यही पुवाबाटै पहिले ‍ भाङ्राका  कछाड र भोटोहरू तयार गरिन्थ्यो । अहिले त अब त्यसको कुनै प्रयोग नै छैन । जङ्गलममा त्यत्तिकै मिल्किन्छ ।”

लोकसेवा पढ्दाखेरिकै अल्लो नाम कण्ठ पारे पनि अल्लो कस्तो हुन्छ मैले देखेकै रहेनछु । मैले त अल्लोको रुख हुन्छ होला भन्ने ठानेको थिएँ ।

“तपाईँहरूले त अमूल्य निधि पाएर पनि त्यत्तिकै मिल्काइरहनुभएको रहेछ त ! अरबले तेल बेचेर विकासमा फड्को मारेजस्तै अल्लै बेचेर पनि विकासको अग्रगतिमा पुग्नुहुन्थ्यो होला त !”

“अल्लो मात्र हो र ? त्यहाँ साना साना पातको बुट्यान हुने ‘बर्वा’ भन्ने वनस्पतिको पनि जङ्गलै छ, त्यसबाट पनि नेपाली कागज बन्दछ । ‘सतुवा’ भन्ने ढारेको औषधिजन्य वनस्पति, सिटामोलभन्दा राम्रो काम गर्ने र साइड इफेक्ट पनि नगर्ने कटुकी भन्ने जडीबुटी पनि पाइन्छ । यसले प्रेसर र सुगरको रोगलाई समेत छनक्कै निको पार्छ । त्यहाँ पाइने आरे पनि जडीबुटीजन्य वृक्ष हो । कात्तिकै चुथ्रो, काली डिम्मुर तथा राते डिम्मुरले पनि औषधिकै काम गर्छन्। चिन्ने, खरखरजरी, महजरी, जरमुठो र चुफी झारको पनि व्यावसायिक महत्त्व छ । बेतभन्दा बलिया देउनिगाली, मालुङ्गा र पलपुत्रोको घना जङगलै छ ! सञ्जिवनी बुटी पाँचऔँले र पदमचाल पनि पाइन्छ ।”

“यिनीहरूको व्यावसायिक उपयोग केही गर्नुभएको छैन त ?”

“कसरी गर्नू ? हामी आफ्ना निजी सम्पत्तिलाई लत्याएर आयातीत सामग्री प्रयोग गर्न नै उद्यत छौँ । हाम्रो पूँजी र श्रम बाहिर बगिरहेको छ । बाटोका ढिकघारिका बहुमूल्य वनस्पति गाईवस्तुलाई घाँसको रूपमा मात्र प्रयोग हुन्छन् । अरु त त्यसै सुकेर जाने हुन् । लगानी कसले गरिदिने ? हामीसँग यस्तो माल छ भनेर कसले कसलाई भनिदिने ?”

ओहो । सघन अटव्यले सम्पन्न धरामा अनुपम सौन्दर्य फैलिएको छ । प्रकृतिले संसारभरको नूतन सृजनसम्पदा यहीँ ल्याएर थुपारेको जस्तो छ । चुलोमै अकुत सम्पदा र विस्तीर्ण वैभव पाएर पनि स्थानीय सरकार त्यतातिर नजरअन्दाज गरेर केन्द्रको मुख ताकेर बसेको छ । कस्तो बिडम्बना !

“यहाँको वनस्पतिको महत्त्व अरू के छ त सर ?” म कुरा बटार्न खोज्छु ।

“तपाईँ फागुन/चैत्रमा पुगेको भए जङ्गलको सट्टा कुनै रङ्गीचङ्गी फूलबारीमा पसेँ कि जस्तो भान पर्थ्यो होला । अनेकथरी फुल्ने गुराँसहरू छन् त्यहाँ । लालीगुराँसको साथै सेतो फुल्ने चमालो गुराँस, फीका गुलाबी फुल्ने काइँरे पनि पाइन्छ । लेकाली वृक्षहरूमा झुन्डिएका तारेहरूको व्यावसायिक महत्त्व कति हुन्छ तपाईँलाई थाहै होला ।”

उहाँले बेलिबिस्तार लगाउँदा लगाउँदै फोन काटियो ।

जङ्गलको बीचमा अब समथर भूभाग सुरु भएको थियो । यही रहेछ हरेलाग्ना भन्ने ठाउँ । दुरुस्तै साँखको ठुलीदहजस्तै । उस्तै बुट्यान, उस्तै वटवृक्षहरू, उस्तै भूसतह । घनघोर जङ्गलले गर्दा पूरै चौर देखिसकिँदैन । ठुलीदहमा अहिले दिनमा तीनचार सय मान्छे पुग्छन्, यो भने गुमनाम छ । एकजना मान्छे हिँडेको डोब पनि छैन । फोनमा टावर देखिनेबित्तिकै फेरि गणेशजीलाई फोन लगाएँ ।

“सर, हामी हरेलाग्ना आइपुग्यौँ । समथर ठाउँमा सानो चौतारी छ । प्राकृतिक छटाहरूले सुसज्जित वनवाटिकाजस्तो सारै सुन्दर रहेछ यो ठाउँ !”

“ए हो ? छिट्टै पुग्नुभएछ त ! त्यहाँको बाटो र चौतारीको लागि बजेट परेजस्तो पनि लाग्छ । चौतारी राम्रो बनाएका होलान्, होइन ? म पनि त्यता नपुगेको धेरै भयो ।” उहाँले कौतुहलता व्यक्त गर्नुभयो ।

“कहाँ हुनु सर ? यो त प्राकृतिक रुपमै जस्तो छ, मान्छेले बनाएको जस्तो पटक्कै देखिँदैन । बाटो बरु तलतिर अलिकति राम्रो थियो । अब त पुवा घाँसले बाटै पुरिएको छ । नवनिर्मित बाटोको कुरै छाडौँ, डोरेटो पनि कतै देखिनँ मैले त !”

“ए हो र ? अनुगमन गर्न त्यहाँ कोही पुग्ने होइन, कामै नगरी बजेट झ्वाम् पारे कि त डाम्नाहरूले ?” उहाँले संशय पोख्नुभयो । मैले उहाँको संशयलाई मलजल गर्नुभन्दा त्यही सानो चौतारीमा बसेर यता पाइने वन्यजन्तुको बारेमा जिज्ञासा राखेँ ।

उहाँले भन्नुभयोः “यहाँका चराहरूमा बाउसे भ्याकुरो, सङराइनो, कालेकल्चु, लुइँचे, कालिज, फक्राँस, डाँफे, आदि हुन् । जङ्गली जन्तुहरूमा बाघ, भालु, घोरल, रतुवा, थार, बँदेल, झारल, कस्तुरी, वनबिरालो, आदि हुन् । लोपोन्मुख जङ्गली कुकुर पनि त्यहाँ पाइन्छ ।”

ओहो विशाल चिडियाखानाझैँ पो रहेछ यो जङ्गल त ! यसलाई त राष्ट्रिय निकुञ्ज  बनाएर संरक्षण गर्न पाए !

अब ठाउँठाउँमा पेटारी खोलालाई तरेर वारिबाट पारि र पारिबाट वारि धेरैचोटि गर्नुपर्ने रहेछ । चिसोमा जुत्ता फुकालेर वरफतुल्य पानीमा खुट्टा चोबल्ने कुरा सोच्नसम्म पनि सकिँदैनथ्यो । जङ्घारहरूमा ढुङ्गाहरू टेकेर वारपार गर्नुपर्थ्यो । तर ती ढुङ्गाहरू असाध्यै चिप्ला थिए । ‘होसियार है, होसियार !’ भन्दै सबै साथीहरूले फटकफटक वारपार गर्थे । केटाहरू त झन् चराजस्तै भुर्र उडेर पारि पुग्थे । उहिले रुकुमबाट हिँडेरै नेपालगन्ज पुग्दा बीचमा गाईखुटी भन्ने ठाउँ पनि यस्तै थियो । त्यसलाई ‘बाइस तरा, बाइस जङ्घार’ भनेर पनि चिनिन्थ्यो । बाइस भनिए पनि पचासौँचोटि जङ्घारमा फट्किनुपर्थ्यो । त्यही ठाउँ सम्झँदै थिएँ, एउटा जङ्घारको चिप्लो ढुङ्मामा चिप्लिएर झ्वाम्मै ठण्डा तालमा परिहालेँ ।

मभन्दा पछाडि नरसिंह बूढा मात्र हुनुहुन्थ्यो । उहाँले, “के भयो सर ?” भन्दै मलाई उठाउन आइपुग्नुभयो । म पेटारी खोलाको रहमै डुबल्किएपछि अघि पुगेका साथीहरू पनि फर्किएर मकहाँ आइपुगे, “के भयो ? के भयो ?”

“असला माछा देखियो । छोप्छु भनेको त फुत्किहाल्यो ।” मैले लाजले रातोपिरो हुँदै जवाफ दिएँ ।

“खै कहाँ ? होइन होला ! यो खोलामा त माछाभन्दा मिठा ठुल्ठुला भ्यागुता मात्र पाइन्छन् ।” केटाहरूले व्यञ्जनामिश्रित भनाइ बुझेनछन् ।

मेरो हालत चिन्ताजनक थियो । जुत्तामोजा मात्र होइन, मेरो आधा जिउ पानीले निथ्रुक्कै भिजेको थियो । धन्न मोबाइल पानीमा खसेनछ । तर मेरो कुराले सबैलाई हाँसोको फट्को छुटाइदियो । बालसूर्य निर्जन जङ्गल र जन्तुलाई उत्तप्त पार्ने हेतुले डाँडामा झुल्किएका थिए । उनी पनि मेरो अवस्था देखेर हाँसे होलान् । कपडा निचोर्दै म केही नभएजस्तै हिड्न थालेँ ।

हरेलाग्ना सकिनेबित्तिकै बाटो पाल्लो पाखोमा चढ्यो र आकाशिन थाल्यो । म आधा जिउ चिसोले ठन्किएर र आधा जिउ तातोले रन्किएर भए पनि तन्नेरीहरूलाई पछ्याइरहेको छु । अब जङ्गलैभरि झ्याउ बेरिएका गोब्रेसल्लाका भयानक रुखहरू देखिन थाले, मानौँ तिनीहरू रुख नभई विशालकाय प्राकृतिक टावरहरू हुन् । गोब्रे सल्लालाई स्थानीय भाषामा ठिङ्नो भनिँदो रहेछ । ठाउँठाउँमा लडेका  बडेमानका कालकवलित वृक्षका ठोसाहरू देखेर बेलाबेला मन भरङ्ग पनि हुन्थ्यो । बीचबीचमा काठे पिपल मेल , भुसपात (भोजपत्र) र पट्केका मझौला रुखहरू पनि थिए । गणेशजीले दिएको जानकारीअनुसार यस ठाउँको नाउँ च्यारसिङे रहेछ । बाटो उकालो चढ्दै गर्दा पेटारी खोला पनि उकालै लागिरहेको थियो । केही माथिबाट पेटारी खोलाले साथ दिन छोड्यो । हामीलाई अनेकौँचोटि जङ्घारहरू तराएर ऊ देब्रेतिर बुकी डाँडापट्टि  लाग्यो, हामी दाहिनेतिरको पाखोमा लाग्यौँ । हिजो दिउँसोदेखि नै निरन्तर साथ दिइरहेको खोला छुट्दा त्यसपछिको यात्रा अन्तरङ्ग सङ्गी छुटेजत्तिकै सुनोसुनो लाग्यो ।

“माथि अब तालको पानीबाहेक अरू पानी पाइँदैन । लाने भए यतैबाट पानी लैजाऊँ ।” गोपालले भने ।

“मैले त लुगाका खल्तीहरूमा भरेकै छु, तपाईँहरूलाई चाहिए लानुहोस् ।” मैले नभन्दै खाली बोत्तलहरूमा दुईजना गोपाल भाइले मुहानबाट पानी भरेर ल्याइहाले ।

गोब्रे सल्लाको जङ्गल सकिनेबित्तिकै बाक्लो बुट्यानसहितको अर्को उकालो शुरू भयो । यस ठाउँको नाम कोसेकुना रहेछ । धूलिधूसरित सुकेका पातहरूले हाम्रो मार्गलाई विलुप्त पारेका देखिन्थे । फुलैफूलले ढाकिएको बुट्यानको सौन्दर्य वर्णणातीत थियो । बुट्यान सकिनेबित्तिकै वनस्पतिविहीन नाङ्गो पाखो शुरू भयो, जुन निकै भिराइलो थियो । यसको नाम रहेछ टुम्का । सायद थुम्काको अपभ्रंश रूप पो हो कि ? बिहानको सवा नौ बजे हामी ३५०० मिटर उचाइको अन्तिम बिन्दुमा आइपुगेका थियौँ ।

जब थुम्को टुङ्गियो, पारिपट्टिको झक्काझुर देखिएको सपाट दृश्यले आँखा नै तिरमिराए । मन स्तम्भित भयो ।  त्यो दृश्य कल्पनातीत थियो । मैले रुकुमका उच्च शिखरहरू धेरैजसो चढिसकेको थिएँ, तथापि जताबाट पनि  मैले सिस्नेको कुरूप मुडुल्लो टाउको मात्र देखेको थिएँ । मक्किएको मुढोजस्तो त्यो आकृति त्यति चित्ताकर्षक लाग्दैनथ्यो । तर यहाँबाट देखिएको पाइतालादेखि शिरैसम्मको सिस्ने हिमाल नितान्त फरक र रत्नजडित मालाझैँ झलझलाकार देखियो । बौद्धगुम्बाहरूमा झिलिमिली तोरण झुन्ड्याएझैँ पूर्वको क्षितिजदेखि पश्चिम क्षितिजसम्मै शिखरहरूको तोरण झुन्ड्याएझैँ देखियो । सिङ्गो सिस्नेबाहेक सिस्नेसँगै कुम जोडेका अन्य शिखरहरू न मैले कतैबाट देखेको थिएँ, न यति धेरै शिखरहरू एकै ठाउँबाट एकैचोटि देख्न पाइएला भनेर सोचेको नै थिएँ । पूर्वोत्तरबाट सेतो टोपी ढल्काएर पुथाले खिसि गरेको जस्तो देखिन्थ्यो । बीचमा थियो द्वारी हिमाल र रुकुमबाट डोल्पा जाने द्वारी भञ्ज्याङ । पश्चिमतिर थिए पाथीभरा र बुकेरी शिखरहरू ।

सबै हिउँ विनाका नाङ्गा शिखरहरू थिए  । अपितु चाँदैभरि रङ्गीबिरङ्गी रेखाहरू कोरेर तपस्यालीन मुनिजस्तै मन्दमुस्कानमा सिस्ने मुस्काएको थियो । जस्तो माउ देखिन्थ्यो, चल्लाहरू पनि दुरुस्तै उस्तै देखिन्थे । मानौं, तिनीहरू आफ्नी महतारीसमक्ष अमरताको आशिष थाप्न आतुर दुर्योधनका सय भाइहरू हुन् । मानौँ तिनीहरू अनुसूयाले नङ्ग्याएकी त्रिदेवहरू हुन् ।

“ल साथीभाइसमेत ल्याएर यहाँतक आइपुगिछस् ! तँलाई न्यानो स्वागत छ । किन माथितिर मात्र एकोहोरो हेरेर टोलाइस् ? तल हेर् न तलतिर ।” सिस्नेको स्वागतपूर्ण झकझक्याइले म पुलकित भइहालेँ ।

“आम्मामामा ! वास्तविक सिस्ने त लुगा बाहिरै छोडेर तलपट्टिको निल समुन्द्रमा डुबुल्की मार्दै पो रहेछ !” मैले त्यो दृश्य भूधरातल हो भनी विश्वासै गर्न सकिनँ । अश्रुपूरित नयनयुगल अर्को अकल्पनीय दृश्यमा पुगेर रोकिए । जिउभरि खुसीका हजारौँ कलिहरू खिले । स्वर्गीय आनन्दलहरीको कल्लोलले जिउ नै भरङ्ग भयो । हृदय नै रसाएर अद्वितीय हर्षोल्लास मच्चियो ।

उकालोको विस्तीर्ण थकान, भोक, तिर्खा कता भाग्यो कता ! हामी सबै यात्रीहरू पागलतुल्य भएर प्रमोदी पाराले यत्रतत्र कुदाकुद गर्न लागेका थियौँ ! म पनि बालकझैँ मखलेल भएर टुम्काको टुप्पोबाट हामफाल्दै तल उत्तानो परेकी अवर्णणीय स्यानी गुप्तातिर कुदेँ !

एक्कबहादुर केसी गाउँदै हुनुहुन्थ्योः

ऐरावती किनारैमा पानीमा गौ हुन्छ,

नलाऊ साइ टारैको माया बिर्सनु धौ हुन्छ ।।

Loading

Post Comment

You May Have Missed