प्रवचन संग्रह

आनन्द – मोज

  • ब्रह्माकुमार जगदीश चन्द्र

प्रायजसो जब हामीहरु आपसमा भेट हुन्छौँ, त्यसबेला भन्ने गर्छौँ- आनन्द मोजमा छौ नि ? यो एक शिष्टाचार हो । पत्रमा पनि लेखिन्छ, आशा छ तपाईँलाई आनन्द-मोज नै होला । कसैले आनन्द-मोज लेख्छन् भने कसैले कुशल मंगल लेख्दछन् । हामी पनि आजसम्म आनन्द मोजमा नै छौँ । पहिले हामीले सोच्थ्यौँ कि आनन्द मोजको अर्थ खुशीमा रहनु हो । यसै अर्थमा नै हामीले एकअर्कासंग कुरा गर्छौँ वा पत्र लेख्दछौँ । तर बाबाले भन्नुहुन्छ, मोज ४ प्रकारको हुन्छ । तपाईँले पनि कसैलाई ‘आनन्द मोजमा हुनुहुन्छ ?’ भनी सोध्नुभयो भने जवाफ आउनेछ । हजुर आनन्द मोजमै छु । अब तपाईँले सोध्नैपर्ने हुन्छ तपाईँ कुन प्रकारको मोजमा हुनुहुन्छ त ?

बाबाले भन्नु भएको छ कि पहिलो प्रकारको मोज हो मिलनको । परमात्मासंग मिलन भयो भने योभन्दा बढी मोज के हुनसक्ला र ? के हामी यस्तो मोजमा छौँ त ? मानिसहरु भन्ने गर्छन् ईश्वर-मिलन अथवा प्रभू-मिलन – यो हाम्रो जीवनको लक्ष्य हो । सर्वोच्च प्राप्ति यही नै हो । जसलाई यो मोज प्राप्त हुन्छ ऊ संसारको सबभन्दा बढी मोजमा हुन्छ ।

दोस्रो हो, सर्व प्राप्तिको मोज । यदि परमपिता मिल्नुभयो भने सबै चिज हामीलाई मिल्छ । सर्व प्राप्तिहरु हाम्रै हुने भयो । हाम्रो मन खुशीले गदगद हुन्छ र चित्त हाम्रो सन्तुष्ट हुन्छ । अब हामीले अर्थोक कुनै पनि चाहिँदैन । कसैसंग १० मिनेट मात्र गफगाफ गर्नुभयो भने उसले धेरै पटक यसो गर्नु चाहियो, उसो गर्नु चाहियो भनिरहन्छ । हामीलाई यो चाहियो, उक्त व्यक्तिमा यो हुन चाहियो, सरकारले यसो गर्नु चाहियो, आजकालको दुनियाँमा यो चाहियो । तर जो मोजमा हुनेछ उसलाई यस्तो अनुभव हुनेछ कि सबै प्राप्ति भइसक्यो । मेरो मनोकामनाहरु सबै पूरा भइसके । मेरो मन असन्तुष्ट छैन । अब कुनै चिज पनि मलाई चाहिएन, जो चाहिएको थियो सो मिलिसक्यो ।

तेस्रो मोज हो समाप्तिको मोज । जसले परमात्मालाई प्राप्त गरेको छ, उसले सम्झने छ कि म परमात्मा पितासंग समीप छु । समाजमा पनि हेर्नुहोस्, कुनै व्यक्तिको कुनै गन्यमान्य व्यक्तिसंग चिनजान भयो भने उसलाई खुशीको नशा नै चढ्छ कि यति धेरै मान्छेहरुसंग मेरो पनि चिनजान भयो । मेरो कुनै पनि काम सजिलैसंग हुनेछ । यसरी नै जसको परमात्मा शिवसंग उनको गुणहरुद्वारा, कर्तव्यद्वारा, स्वभाव-संस्कारद्वारा समीपता हुन्छ, उसलाई मोजै मोज हुनेछ ।

चौथो हो समान बन्ने मोज । जसमा ईश्वरीय गुणहरु धेरै आएका छन् भने ऊ बाबा समान भइहाल्यो । भक्तिमार्गमा त प्रार्थना गरिन्छ, हे प्रभू, हजुर दयालु हुनुहुन्छ, कृपालु हुनुहुन्छ, दुःखहर्ता, सुखकर्ता हुनुहुन्छ । अब यिनै गुणहरु तपाईँमा आएका हुनेछन्, आफ्ना हुनेछन्, आफैमा धारण हुनेछन् भने तपाईँ परमात्मा समान हुनुभएन र ? जो बाबा समान अर्थात परमात्मा समान हुन्छ, ऊ यही मोजमा हुन्छ ।

अतः यदि कसैले तपाईँलाई ‘आनन्द मोजमा हुनुहुन्छ ?’ भनी सोध्यो भने सोचीसम्झीकन जवाफ दिनुहोला । बाबाले मुरलीमा पनि भन्नुभएको छ, यी चारै प्रकारका कुराहरु आफूमाथि चेक गर । जब दुनियाँका सबै बैंकहरु बन्द भए भने पनि एक बैंक त अवश्य खुला रहनेछ । त्यो सँधै खुला नै रहन्छ । त्यो कुन बैंक होला ? जसलाई कहिल्यै छुट्टी समेत हुँदैन । त्यो हो ईश्वरीय बैंक । यसमा सँधै कारोबार चलि नै रहन्छ । त्यसमा हाम्रो कर्मको खाता चल्छ । त्यस खातामा जम्मा गर्ने र झिक्ने काम भइ नै रहन्छ । त्यस बैंकमा हाम्रो चेक आइरहन्छ र गइरहन्छ । बाबाले भन्नुहुन्छ, शुभभावनारुपी चेकद्वारा कति जम्मा भयो ? र कति वृद्धि भयो ? यो चेक गर । हरेकलाई शुभभावना र शुभकामना दिईराख । अरु कुरा दिन नसके पनि यति कुरा त दिन सकिन्छ । यो दिनलाई कुनै खर्च त हुँदैन । चेक गर्नुको अर्थ हो आफ्नो कर्मको बैंकमा चेक जम्मा गर्नु । चेक दुई प्रकारका हुन्छन्, एक बेयरर्स चेक र अर्को क्रस (AC Payee) चेक । शुभभावना र शुभकामना वाला चेक बेयरर्स चेक हो । यो चेकको क्यास सिधै हातमा मिल्छ । क्रस चेक खातामा जम्मा हुन्छ । अलौकिक क्रस चेक तीन प्रकारका हुन्छनः १. संकल्प शक्तिको चेक २. श्रेष्ठताको चेक र ३. बोलीको चेक । बाबाले सोध्नुहुन्छः संकल्प शक्तिमा के विशेषता ल्यायौ ? जति संकल्प शक्तिमा विशेषता ल्याउँदै गर्छौ, उति खातामा जम्मा हुँदै जानेछ । दोस्रो श्रेष्ठतामा के नवीनता ल्यायौ ? सँधै आफ्नो बैंकमा यो चेक गर अर्थात यो चेक जम्मा गर । जब कुनै व्यक्तिले आफ्नो खातामा चेक जम्मा गर्छ, तब त आफ्नो खातामा कति जम्मा भयो भनी चेक गर्न सक्छ । यसैगरी हामीले सँधै चेक जम्मा गर्नुपर्छ, अथवा चेक गर्नुपर्छ कि आज मैले श्रेष्ठतामा कुनचाँहि नविनता ल्याएँ । अब हामीले नयाँ दुनियाँ स्थापना गर्नुछ, नयाँ दुनियाँमा जान तयारी गर्नुपर्नेछ भने कुनै न कुनै नविनता त चाहियो नै । पुरानोपन अर्थात पुरानो संस्कार निकाल्दै जानुपर्‍यो र नयाँ संस्कार अर्थात दैवी संस्कार अँगाल्दै जानुपर्‍यो । तसर्थ यो चेक गर कि आजको चेकबाट कुन चाँहि नयाँ अर्थात दैवी संस्कार थपेँ ? यो जम्मा गर्नुपर्‍यो । तेस्रो, बाबा भन्नुहुन्छः बोलीमा मधुरता, सन्तुष्टता र सरलता कहाँसम्म छ ? सो चेक गर ।

यस प्रकार हामीले चार प्रकारका मोजमा रहेर रोज कर्मको बैंकमा सेवाको चेक जम्मा गरेर ब्यालेन्स चेक गर्दै आनन्द मोजमा रहनुपर्छ ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *