अलङ्कारै अलङ्कारले झङ्कृत ठाडी भाका
शाब्दिक वा अर्थगत कलाकारिताबाट भाषागत प्रस्तुतिलाई सिँगार्ने तत्त्वलाई अलङ्कार भनिन्छ । संस्कृतको ‘अलम्’ धातुमा ‘कार’ प्रत्यय लागेर ‘अलङ्कार’ शब्दको व्यूत्पत्ति भएको हो । ‘अलम्’ धातुको अर्थ हुन्छ ‘आभुषण’ । सामान्य भनाइमा पनि अलङ्कारको प्रयोग गरियो भने साहित्य बन्दछ । अलङ्कारले भाषागत प्रस्तुतिलाई चमत्कारपूर्ण तुल्याइदिन्छ । स्रोतालाई सुनौँ सुनौँ लाग्ने बनाइदिन्छ ।
सृष्टिका प्राणीहरुमध्ये मानव समाज नै सर्वोत्तम सौन्दर्य उपासक हो । मान्छेलाई हरेक कुरामा सौन्दर्य चाहिन्छ, हेर्ने कुरामा, लगाउने कुरामा, बोल्ने कुरामा, हुँदा हुँदा खाने कुरामा र बस्ने कुरामा पनि । मान्छेको यही सौन्दर्य अभिलाषाले नै अलंकारको जन्म भएको हो । जसरी कुनै नारीले आफ्नो सौन्दर्य बढाउनको लागि विभिन्न गहना, आभुषण तथा सौन्दर्य प्रसाधनादिहरुको प्रयोग गर्छिन् त्यसरी नै भाषाको सौन्दर्यता बढाउन विभिन्न अलङ्कारहरुको प्रयोग गर्ने गरिन्छ । अर्थात् काव्यको शोभा बढाउने शब्द वा अर्थ वा भावलाई अलंकार भन्न सकिन्छ ।
ठाडी भाका पनि काव्यिक प्रस्तुति भएको हुँदा अलङ्कारको प्रचुर मात्रामा प्रयोग भएको पाइन्छ । मलाई त लाग्छ ठाडी भाका जत्तिको अलङ्कारले शोभायमान अर्को नेपाली साहित्य छैन । ठाडी भाकाप्रतिको आकर्षण तथा गहनता अलङ्कारकै कारणले भएको हो । जस्तो कि तलको यो गीतलाई दोहोर्याई तेहर्याई वाचन गरौँ र प्रस्तुतिमा निखारिएको मिठास र सौन्दर्यलाई अनुभूत गरौँ तः
लेख फुल्यो लालीगुराँस औली फुल्यो काँस,
न लाउने वचन लाउँचन् काँ जाऊँ बर्खा मास ।
घोगी घोगी केलाई भन्चन् सिमले र घोगी,’
मै घरबारे, मै बैरागी, मै मायाको भोकी । (चिताराम खडका)
यो घरै हो त्यो घरै हो घर पनि घरै हो
घरबारेसितैको माया डर पनि डरै हो । (गीता ओली पुन)
अब पहिलो गेरोको ठेलो राम्रोसँग हेरौँ । ‘लेख’, ‘फुल्यो’, ‘लाली’, ‘औली’, ‘फुल्यो’ आदि शब्दहरुमा ‘ल’ दोहोरिरहँदा जिब्रो नै लयालु बन्न पुग्दछ । जम्मा चौध अक्षरको एक पङ्तिमा पचास प्रतिशत त ‘ल’ वर्ण मात्र दोहोरिएको छ । त्यही ‘ल’ दोस्रो पङ्तिमा पनि दुईपटक दोहोरिएको छ । त्यस्को टुप्पोमा ‘न’ चारचोटी दोहोरिएको छ । त्यसरी नै चन्द्रबिन्दु (अँ) पनि पटकपटक दोहोरिएको छ । यी अक्षरहरुको दोहोरोपनले गर्दा गीत सुन्दा कति मीठो भएको छ ।
यस्तै दोस्रो गेरोको ठेलोमा ‘ग’ धेरैचोटी दोहोरिएको छ । ‘क’, ‘ख’, ‘ग’, ‘घ’ एउटै वर्ण समूहमा पर्दछन् । अतः ‘क’ वर्णको वर्गले दोस्रो गेरोलाई शोभायमान बनाएको छ । दुवै पङ्गतिमा गरी आठचोटि त ‘र’ नै दोहोरिएको छ । अतः ‘र’ को प्रयोगले प्रस्तुतिमा एकप्रकारको चमत्कार सिर्जना गरेको अनुभूत हुन्छ ।
ठाडी भाकाको अर्को विशेषता भनेको प्रस्तुतिमा सहजता, सरलता हो । एउटै शब्दलाई पङ्तिमा पटकपटक दोहोर्याइदिएर श्रुतिमधुर तुल्याइन्छ । यसले भाषालाई शोभायमान मात्र तुल्याउँदैन नरमपना एवम् निख्खारता पैदा गरिदिन्छ ।
जस्तो कि ‘घोगी घोगी केलाई भन्चन् ? सिमले र घोगी !’ भन्दिए पुग्यो । ठेलो तुथाइरहनुपर्ने वा जुराइरहनुपर्ने आवश्यक नै परेन । यसले तुरुन्तै जवाफ दिनुपर्यो भने अत्यन्तै सजिलो बनाइदिन्छ । ‘ओटा’ अन्त्यानुप्रास चाहिएको छ भने ‘रोटा रोटा केलाई भन्चन् ? गौँ घोगाका रोटा !’ भनिदिए पनि पुग्यो ।
अझै सजिलो त पहिल्यै प्रस्तुत भइसकेको गीतको ठेलोलाई अनुकुलताअनुसार दोहोर्याउन पाउनु हो । बौद्धिक सम्पदा अधिकार (कपिराइट) को आविष्कार सायद बीसौँ वा एक्काइसौँ शताब्दीका वरिपरि भएको हुनुपर्दछ । तर ठाडी भाकामा यसको प्रयोग चौधौँ शताब्दीकै वरपर भैसकेको देखिन्छ । जस्तो किः
नजान्नेले उइलाई भन्चु बेलाइँती पाइगचन्
दच्छिना माग्गेल्चन् भनी घरमालिक भाइगचन् ! (तुल देवकोटा)
यहाँ अरु कसैले पहिल्यै ‘पाल्ला घर बोइका बारी, बेलौती पाइगचन्’ भनिसकेको ठेलोभित्रको ‘बेलौती पाइगचन्‘ भन्ने पद्यांशलाई मात्र जवाफदाताले दोहोर्याउने सुविधा पाएको छ । #Copied भनेजस्तै गरी ‘बेलौती पाइगचन्‘ भन्दा अगाडि ‘नजान्नेले उइलाई भन्चु’थपिदिए पुग्यो । यसले प्रस्तोतालाई ठेलो जुराउनुपर्ने समय र सिपको बचत मात्र गरेको छैन, आफूलाई नजान्ने जस्तो तुल्याएर क्षमायाचना गरेर हदैसम्मको नरमपना प्रस्तुत गरिदिएको छ । यो सुविधा र शोभा अर्को कुन साहित्यमा देख्नुभएको छ तपाईँले ?
अब लागौँ फेरि अलङ्कारतिरै ।
साहित्यमा अलङ्कार खास गरी तीन प्रकारका हुन्छन् । ती हुन् :
- शब्दालङ्कार
- अर्थालङ्कार
- उभयालङ्कार
शब्दहरुको माध्यमबाट भाषालाई शोभायमान तुल्याइन्छ भने त्यसलाई शब्दालङ्कार भनिन्छ । अर्थको हिसाबले भाषालाई चमत्कारिक तुल्याइन्छ भने अर्थालङ्कार भनिन्छ । शब्द र अर्थ दुवैबाट भाषालाई सौन्दर्य प्रदान गरिन्छ भने उभायलङ्कार हुन जान्छ । ठाडी भाकामा कहीँ न कहीँ यी सबै अलङ्कारहरुको प्रयोग भएको पाइन्छ ।
शब्दालङ्कारका पनि विभिन्न प्रकारहरु छन् । तीमध्ये अनुप्रास अलि महत्त्वपूर्ण छ ।
अनुप्रासः
एक समान ध्वनि अक्षर वा वर्णको पुनरावृत्ति नै अनुप्रास हो । पहिले प्रयोग भैसकेका शब्दजस्तै स्वर वा वर्णमा मिल्दोजुल्दो अर्को शब्द प्रयोग भयो भने अनुप्रास भनिन्छ । जस्तैः कुन्च/हुन्च, नल्को/झल्को, गन्छु/गम्छु, गाईका/कान, आदि । अनुप्रास पनि विभिन्न प्रकारका छन् । जस्तैः अन्त्यानुप्रास, आद्यानुप्रास, मध्यानुप्रास, छेकानुप्रास, वृत्यानुप्रास, श्रुत्यनुप्रास, लाटानुप्रास, आदि । ठाडी भाकामा यी अनुप्रासहरुको प्रयोग कसरी भएको छ भन्ने बारेमा यस भाग र आगामी भागहरुमा बिस्तार गरिनेछ ।
अन्त्यानुप्रासः
भैसीले दमारै काट्यो गोठालो बबै छ,
क्यार्न रुन्चै जल्ने मन तो जस्तो सबै छ ।
माथिको ठाडी भाकाको ठेलो र टुप्पोको अन्तिममा आउने शब्द एवम् स्वरहरुलाई ध्यान दिऔँ ।
पहिलो पङ्तिको अन्तिममा ‘बबै छ’ मा रहेको स्वर तथा वर्णको पुनरावृत्ति दोस्रो पङ्तिको अन्तिममा आएको ‘सबै छ’ मा भएको छ । यी दोहोरिएर आउने स्वर तथा वर्णले गीतलाई सुमधुर तुल्याइदिन्छन् स्रोतालाई सुनौँ सुनौँ तुल्याइदिन्छन् । पहिलो पङ्तिका अन्तिमतिर आउने स्वर र वर्णमा जति समानता हुन्छ उति नै अलङ्कार ससक्त हुने मानिन्छ ।
अरु उदाहरणहरु पनि हेरौँ :
गाई लाइदेउ घुरेनी पाखा भैँसीलाई बनबनै ।
तोला रुन्चेउ असन्धारा म रुन्चु मनमनै ।
न उम्ले कराइका दुध पर्लाई खरानीमा
सय छ्न् बिलरी कुरा यौटै परानीमा ।
गाई गैया भिरैको बाटो भैँसी सियालै छन्
जोवान गैगो नभन् साइले गाली पियालै छन् ।
आद्यानुप्रासः
अन्तिममा आउने शब्दको स्वर र वर्णको मिल्दोजुल्दोपनलाई अन्त्यानुप्रास भनेजस्तै पङ्तिको शुरुमा आउने शब्दको स्वर र वर्णको समानतालाई आद्यानुप्रास भनिन्छ । ठाडी भाकाको सिँगारु गीत आद्यानुप्रासको नमूना हो । सिँगारु गीतमा कुनै एक मात्र शब्द होइन कि पद्यांशको पूरै भाग नै शुरुमा आएर दोहोरिन पुग्दछ । जस्तैः
घोरी बान्ने कैजा
हात्ती बान्ने जोर साङ्लीए,घोरी बान्ने कैजा ।
जाँ मन लाग्छ हुइजा
मबाट छुटेको पिमा,जाँ मन लाग्छ हुइजा ।
काँसपोखरी मेला भई
डिग्रे पुनी मान्दा मान्दै काँसपोखरी मेला भई
गैजाने बेला भई
रसु नखाई माया नलाई गैजाने बेला भई ।
यहाँ पहिलो गेरोको ठेलोमा घोरी बान्ने कैजा र टुप्पोको जाँ मन लाग्छ हुइजा को अनुप्रास गीतको शुरुमै आएको छ । यसैगरी दोस्रो गेरोको ठेलोको काँसपोखरी मेला भई र टुप्पोकोगैजाने बेला भई को अनुप्रास गीतको शुरुमै आएको छ ।
मध्यानुप्रासः
दुई पङ्तिका बिचका शब्दहरुका स्वर र वर्णमा समानता भयो भने मध्यानुप्रास भनिन्छ । जस्तैः
हाट जाने होइनौ तिमी हटारु पठाउने
माया लाउने होइनौ तिमी कलेजी कटाउने ।
यहाँ पहिलो पङ्तिको ‘जाने होइनौ तिमी’ र दोस्रो पङ्तिमा ‘लाउने होइनौ तिमी’ को अनुप्रास मिलेको छ । यसैगरी अर्को उदाहरण हेरौँ :
मैने डोरी केलाई बाट्चन् भैसीलाई कर्साल,
मै पर्याँ कि सबै पर्चन् मायाको तर्साल ।
उक्त गेरोमा ठेलोको बिचमा आएको ‘बाट्चन्’ र टुप्पोको बिचमा आएको ‘पर्चन्’ को स्वर र व्यञ्जनको अनुप्रास मिलेको छ । ठाडी भाकामा मध्यानुप्रास अलङ्कारको प्रयोग कमै मात्र भएको पाइन्छ ।
लय, छन्द, अलङ्कार, बिम्ब, रस सहितको प्रस्तुति भयो भने सुनौँ सुनौँ लागिरहन्छ । यस्तो प्रस्तुतिले हृदय छुन्छ र मुटु झनझनाउँछ । विम्ब नजरमै आई बस्छ र आँखा लोलाइदिन्छ । अन्तस्करणलाई आकर्षित गर्छ अनि दिलदिमागमा प्रतिध्वनित भइरहन्छ ।
भाषामा यी गुणहरु सहित हुनाका भाव, गुण वा अवस्थालाई साहित्य भनिन्छ । जीवनजगतसँग सम्बन्धित विविध विषयमा सौन्दर्य, रूप, गुण, भावुकता आदिका दृष्टिले अभिव्यक्त हुने वा रस, छन्द, अलङ्कार आदिले यथासम्भव सजाई रचिएको हृदयस्पर्शी गद्य वा पद्य लेख, ग्रन्थ वा जुनसुकै प्रस्तुति साहित्य हो ।
ठाडी भाकाहरुले पनि साहित्यमा हुने सबै गुणहरु बोकेका हुन्छन् भनी पहिलेका लेखहरुमा बताइसकिएको छ । यस लेखमा ठाडी भाकामा प्रयुक्त अर्थालङ्कारको सम्बन्धमा साधारण चर्चा गरिनेछ ।
https://www.facebook.com/v8.0/plugins/page.php?adapt_container_width=true&app_id=146436636057696&channel=https%3A%2F%2Fstaticxx.facebook.com%2Fx%2Fconnect%2Fxd_arbiter%2F%3Fversion%3D46%23cb%3Df13ed7e984f859c%26domain%3Dwww.pariwartankhabar.com%26is_canvas%3Dfalse%26origin%3Dhttps%253A%252F%252Fwww.pariwartankhabar.com%252Ff12fa80661315e8%26relation%3Dparent.parent&container_width=247&hide_cover=true&href=https%3A%2F%2Fwww.facebook.com%2Fpariwartankhabar%2F&locale=en_US&sdk=joey&show_facepile=true&small_header=false&tabs=&width=500px
अर्थालङ्कार
अर्थको चमत्कारद्वारा भाषा वा काव्यको सौन्दर्य बढाउने कला नै अर्थालङ्कार हो । यसमा बिम्बविधानको त्यो रुप आउँछ जसले भावलाई सशक्त पार्दै मानवचक्षु सामुन्ने प्रस्तुतिको विम्ब प्रस्तुत गर्दछ । कानमा भाकाको सुमधुर लय प्रवेश गर्दा आँखामा सजीव चित्र उतार्न थाल्दछ । अलङ्कृत कल्पनाले साकार रुप धारण गरेर आँखै अगाडि सौन्दर्यले धपधपी बलिरहेको छर्लङ्ग देख्न सकिन्छ ।
अलङ्कारले श्रोताहरुलाई लठ्याउनुको पछाडि शब्दार्थमा रहेको शक्तिले गर्दा नै हो । शब्दशक्ति तीन प्रकारका हुन्छन् : अभिधा, लक्षणा र व्यञ्जना । स्वाभावोक्ति र समुच्चय अलङ्कारले अभिव्यक्तिलाई वाच्यार्थप्रधान तुल्याउँछन् । अतिशयोक्ति, उत्प्रेक्षा जस्ता अलङ्कार प्रयुक्त भएमा लक्ष्यार्थप्रधान हुन जान्छन् भने समासोक्ति, विशेषोक्ति आदि अलङ्कारहरुको प्रयोग गरेर प्रस्तुतिलाई व्यङ्ग्यार्थप्रधान तुल्याउन सकिन्छ ।
विभिन्न विद्वानहरुले अलङ्कारलाई विभिन्न वर्गमा विभाजन गरेका छन् । यहाँ साहित्यमा हुने साझा तथा मुख्य मुख्य अलङ्कारहरु र ठाडी भाकामा प्रयोग हुने अलङ्कारको विषयमा मात्र चर्चा गरिनेछ ।
उपमा अलङ्कारः
उपमाको अर्थ हो समता तुलना, दँजाइ, दृष्टान्त, उदाहरण दिनु । अर्थात् कुनै एक वस्तुलाई अर्को वस्तुसँग दाँज्ने वा तुलना गर्ने काम नै उपमा हो । अप्रसिद्ध वस्तुलाई प्रसिद्ध वस्तुसँग तुलना गरे उपमा अलङ्कार हुन्छ । यस अलङ्कारमा प्रस्तुत र अप्रस्तुत कुनै दुई भिन्न वस्तुको सादृश्य मिलाई तुलना गरिन्छ र भिन्नता कायम राखिन्छ । तलको उदाहरण हेरौँः
जा गुवाला मल फाली आ तेरा दुई भैसैको
मन मेरो हात्तीकै जस्तो कर्म दुई पैसैको ।
उपमाका चार तत्त्व हुन्छन्: उपमेय, उपमान, साधारण धर्म र वाचक शब्द । उपमेय भनेको उपमा दिन योग्य अर्थात् तुलना गर्न लायक भनेको हो । उपमा वा समानता दिइने वस्तु नै उपमेय हो । माथिको टुप्पोमा ‘मन मेरो हात्तीकै जस्तो‘ मा मन उपमेय हो । उपमेयलाई जुन विशेषण वा नामले उपमा दिइन्छ त्यो उपमान हो । उपमान भनेको उपमा वा समता गरिने वस्तु भनेको हो । अर्थात् कुनै अर्को वस्तुको बराबरी वा समानता बताउने वस्तु वा व्यक्ति उपमान हुन्छ । उपमेयलाई पुष्टि गर्ने तत्त्व नै उपमान हो । माथिको ठाडीभाकामा ‘मन मेरो हात्तीकै जस्तो” मा हात्ती उपमान हो । यसै गरी उपमा दिइने आधार वा गुणलाई साधारण धर्म भनिन्छ । हात्तीकै जस्तो भनेको ठूलो भनेको हो । यहाँ साधारण धर्म लुप्त गरिएको छ । उपमा दिनको लागि समतुल्य शब्दलाई वाचक भनिन्छ । यहाँ ‘जस्तो‘ वाचक शब्द हो । यसै गरी सरी, झैँ, हेरी, आदि वाचक शब्दहरु प्रयोग गरेर उपमा दिन सकिन्छ ।
https://www.pariwartankhabar.com/2021/03/31/191593/embed/#?secret=AI0LQahC3w
माथिकै उदाहरमा कर्म दुई पैँसैको भन्ने पद्यांशलाई हेरौँ । यहाँ कर्मलाई दुई पैँसासँग तुलना गरिए तापनि वाचक शब्द लोप भएको छ । वाचक शब्द लोप हुँदा उपमा अलङ्कार नभई रुपक अलङ्कार हुन पुग्दछ ।
उपमा अलङ्कार प्रयोग गरिएका अरु ठाडी भाकाहरु हेरौँ
भैसीले दमारै काट्यो गोठालो बबैछ,
क्यार्न रुन्चै जल्ने मन तो जस्तो सबै छ ।
गाउने झैँ बजाउने राम्रो बजाउनेकी जोइ नाई
घरभरी कबीला मेरा मन बुझाउने कोइ नाई ।
बाटैतिको तले घर मल माटी लेस्तै छु,
साइले भन्छौ म बैरागी, म पनि त्यस्तै छु ।
सालको पात केलाई टिप्यौ पतरा गाँसन
पैला जस्तो आउँच आन्न बाँवरी बासना ।
सोलाबाङको जङ्गलैमा लम्की हर्च बाग
साईका हेरी म क्या छु र ओइलाएको साग ।
बाछीले धान खान लाईयो लेला बाछी लेला
जिउ गया जतिकै लाग्छ जोवन जाने वेला ।
पुलाखरी काटी ल्याइदेऊ रंगमालु गाईलाई
रामसीता जोडीजस्ता क्या सुहायो साइलाई ।
घर छाडी परदेश जाने दैव केले बनाई
विधुवाझैँ बस्नु पर्यो, सिँदुर छँदै मलाई ।
रुपक अलङ्कारः
उपमेय (जसको तुलना गरिन्छ) मा नै उपमान (जोसँग तुलना गरिन्छ) को आरोप गर्दा रुपक अलङ्कार हुन्छ । अर्थात यसमा उपमेय र उपमानको भिन्नता नराखी एउटै रुपमा बयान गरिन्छ । उपमा अलङ्कारमा साधारण धर्म र वाचक शब्द हटाइदिँदा रुपक अलङ्कारमा लान सकिन्छ भन्ने कुरा माथिको उदाहरणमा बताइसकिएको छ ।
बाखरीलाई किलादाउँला भेरीलाई हुलौँला
होइजाउँ बाजै जोली सुवा लेखलेखै डुलौँला ।
माथिको ठाडी भाकाको टुप्पोमा होइजाउँ बाजै जोली सुवामा उपमेय आफूहरु (आफू र प्रेमी) लाई तुल्याइएको छ । उपमान सुवालाई बनाइएको छ । यहाँ आफ्नो जोडीलाई सुगाको जोडीसँग तुलना त गरिएको छ तर जस्तो, सरि, आदिको प्रयोग गरिएको छैन । ठाडी भाकामा रुपक अलङ्कार प्रयोग गरिएका अरु उदाहरणहरु हेरौँ
लेकै फुल्यो लाली गुराँस औलि फुल्यो कांश
एउटै मुलको पानी खाउँला होइजाऊँ जोली हांस ।
डाली भाइगो उत्तिसैको,पात झर्यो काउलीको
सिति माया लाग्याउ छैन,लेक चर्ने न्याउलीको ।
बर्खामा उर्लने मुल हिउँद रसाउँदैन
आजकल माया फुल्दैनौ कि कतै बसाउँदैन ।
काँचो छाम्नु, पाको छाम्नु, तिजु माजा फल
देख्नु भै, पैरनु भैनै कर्णालीका जल ।
धानबालो चिउरेनी भैगो पिपलु छायाले
ज्यान सुकेर लौरी भैगो साई तिम्रा मायाले ।
उत्प्रेक्षाः
उत्प्रेक्षाको शाब्दिक अर्थ हुन्छः अन्दाज वा अनुमान । प्रस्तुत कुरामा अप्रस्तुत कुराको कल्पना गर्दा उत्प्रेक्षा अलङ्कार हुन्छ । उत्प्रेक्षा अलङ्कारमा स्वाभाविक कुरालाई कुनै हेतु वा क्रियाद्वारा अर्कै रुपमा प्रकट गरी सम्भावना दर्शाइएको हुन्छ । तलको उदाहरण हेरौँः
बीस बाइसे निगालीको भाइले बुन्यो भाँर
फूल भया बारमासै फुल्दाऊँ जोवन एकै बार ।
यहाँ प्रस्तुत अर्थात् सदाबहार वस्तु फूल हो । वर्षौँदै फूल बारमासै फुलिरहन्छ । तर जीवन भने एकैचोटी मात्र भोगिने हो । जीवनको महत्त्वपूर्ण अंश यौवन हो जुन बीसबाइसे उमेरमै फुलेर ओइलाइसक्छ । यहाँ जोवन अप्रस्तुत कुरा हो । अरु उदाहरणहरु हेरौँः
गैरा पर्यो पिपलुए,डाँरा सल्ली धुपी
एकै दिन जन्मेका हौँ कि करमैका दुःखी ।
हिउँ परी बिलाउनै लाइयो मुसिकोटको रुङा
कर्णाली तर्रेल्ने थियाँ पल्टिन्चै कि डुङा ।
खेतैको आलीमा बसी माग्नुपर्यो वया,
साई र म वयालै खेल्दाऊँ एउटै गाउँमा भया ।
अतिशयोक्तिः
अतिशयोक्तिको अर्थ हुन्छ उक्तिमा अतिशयता । सामान्य कुरालाई बढाइचढाइ गरेर वर्णन गर्दा अतिशयोक्ति अलङ्कार हुन्छ । यस अलङ्कारमा उपमेयलाई लुकाई उपमानको मात्र उल्लेख गरिन्छ । अर्थात् प्रस्तुतलाई लुकाई अप्रस्तुतद्वारा क्रियाको वर्णन गरिन्छ । अर्को शब्दमा कुनै कुराको वर्णन सीमा नाघी चर्कोसित बढाएर गरिएमा अतिशयोक्ति अलङ्कार हुन्छ । यस अलङ्कारलाई प्रतीकको रुपमा समेत लिइन्छ । वास्तविकताभन्दा बेसी बढाईचढाई राम्रो पारी भनिएको कुरामा हुन आउने एक अलङ्कार हो । तलको उदाहरण हेरौँ
स्यानी भेरी ठूली भेरी भेट भइया रिम्नैमा,
गया जाला यो परानी सूर्जे फूल टिप्नैमा ।
यहाँ उपमान सूर्यलाई फूल ठानेर टिप्ने ईच्छा व्यक्त गरिएको छ । उपमेय कुनै प्रेमिकालाई लोप गराइएको छ । प्राण गए पनि फूल नटिपी नछोड्ने कुरा अतिशयोक्ति हुन गएको छ । अरु उदाहरणहरु हेरौँः
झालु गाईको मालु बाछी उदै खोली गैगो,
भस्मेइ माया क्यार्न लाइत्यौ धौ बिर्सिनु भैगो ।
पारी पर्यो तीनबैनी लेख वारी गर्फा धुरी,
सम्जना आएइको बेला चल्च मनमा हुरी ।
वर्की नाच्यो फर्की नाच्यो पिपलुको पात,
माया भन्दा मरी जाग्ने बैरागीको जात ।
ओस्साउने बास्सैको सुप्पो बयाली दाङैको,
घर छैन घरेली छैन म जोग्गी नाङैको ।
अद्भूतोपमाः
उपमेयमा भएका गुणहरू उपमानमा पनि असम्भव भएको रूपमा वर्णन गरिएको अलङ्कारलाई अद्भूतोपमा भनिन्छ । तलको उदाहरण हेरौँः
पारो पायो कुखुरीले फुल पार्यो भैसीले !
कपाल फाल्याँ बन्चराले रुख ढाल्याँ कैँचीले !!
अनन्वयः
शाब्दिक अर्थमा भन्दा अर्काको पछि नलाग्ने बानी, कार्य वा नीतिलाई अनन्वय भनिन्छ । अनन्वयको अर्थ उही हो । उपमेयलाई नै उपमान मान्ने अलङ्कार अननव्य अलङ्कार हो । तलको उदाहरण हेरौँ ।
यो घरै हो त्यो घरै हो घर पनि घरै हो
घरबारेसितैको माया डर पनि डरै हो ।
यहाँ घरलाई घरसँगै दाँजिएको छ भने डरलाई डरसँग तुलना गरिएको छ । पहिलो पङ्तिमा घर र दोस्रो पङ्तिमा डर उपमा अलङ्कार हुन गएका छन् ।
दृष्टान्तः
दृष्टान्तको शाब्दिक अर्थ हुन्छ प्रसङ्गमा आएका विषयवस्तुलाई छर्लङ्ग्याउने विषय वा वाक्य; प्रस्तुत गरिने उदाहरण । यस अलङ्कारमा दुई वाक्यमा एक अर्काको पारस्परिक विम्ब प्रतिविम्बको भाव सम्बन्ध हुन्छ । उपमान र उपमेयका धर्महरूमा सादृश्य भएका खण्डमा पर्ने अलङ्कार दृष्टान्त अलङ्कार हो । तलको उदाहरण हेरौँः
गारा पारी गार छालैको गारावारी छाया
खाइ मिठो भैसीकै दूध नखाइ मिठो माया ।
यहाँ माया उपमेय हो उपमान भैँसीको दूध हो । दुवै उस्तै मिठा छन् । तर कत्तिको मिठो जान्नको लागि भैँसीको दूध चाखेर हेर्नुपर्छ मायालाई भने नचाखी थाहा भैहाल्छ । अरु उदाहरणहरु हेरौँः
कान्ले चरी खोरै लाउँच, धागे चरी धाउँच।
अम्मलीले कक्कड खान्च, बैरागीले गाउँच ।
पानी पर्यो लोतामारे, घाम लाइगो तारिख्या
भैँसी ल्याउनु दोस्रो बेत्या, जोई ल्याउनु जारिख्या ।
धान बालो चिउरेनी भैयो पिपलु छायाले,
मौरी घुम्च रसु खान म घुम्चु मायाले ।
दीपकः
दीपकको शाब्दिक अर्थ हुन्छ दीप वा बत्ती । तेजिलो पार्ने वा उज्ज्वल पार्ने चिज नै दीपक हो । दीपक अलङ्कारमा एउटै धर्म वा क्रियाका साथ प्रस्तुत वा अप्रस्तुतको समानता देखाइन्छ । प्रस्तुत थोरै हुन्छ भने अप्रस्तुत धेरै हुन्छ । काव्यमा प्रस्तुत र अप्रस्तुत दुवै विषयको समान धर्मको वर्णन हुने अर्थालङ्कार नै दीपक हो । तलको उदाहरण हेरौँः
सिप छैन कि छुरा छैन दारी फाल्दैनौ क्या,
माङीमाङी मोई खानेले भैसी पाल्दैनौ क्या ?
अपह्नुतिः
अपह्नुतिको शाब्दिक अर्थ हुन्छः लुकाउने वा बहाना गर्ने काम । ढाँटेर एक थोकलाई अर्कै थोकमा प्रस्तुत गर्दा अपह्नुति अलङ्कार हुन्छ । यस अलङ्कारमा प्रस्तुत वा विषय वा उपमेयलाई निषेध गरेर त्यही विषयमा अप्रस्तुत अथवा विषय वा उपमानको आरोप गरिन्छ । तलको उदाहरण हेरौँः
गाई दुने कलाँसे ठेकी भैँसी दुने गाबु
त्रिवेणी जुवाला बल्दा क्या निहुँले तापु ।
यहाँ त्रिवेणीको ज्वाला उपमान हो भने ताप्ने निहुँ पार्नु लुप्त धर्म हो । यहाँ उपमेयलाई जानी जानी लोप गरिएको छ । अरु उदाहरणहरु हेरौँः
चोली सिदेऊ मखमलैको टाॅक लाइदेऊ सिमीको
जसलाइ हेर्छु झल्को लाग्छ साइ माया तिमीको ।
गाइति जाने गुवालाले घाँस काट्यो कनौला
बैरागले गाउँछु गीत बैँसले भनौला ।
सन्देह अलङ्कारः
सन्देहको शाब्दिक अर्थ हुन्छः दोधार, अन्यौल, शंका, भ्रम वा भ्रान्ति । कुनै विषय वा कारण हो कि होइनको अवस्था नै सन्देह हो । उपमेयमा उपमानको चमत्कारले संशय हुँदा सन्देह अलङ्कार हुन्छ । तलको उदाहरण हेरौँ ।
परेवाले पानी खायो खोलैको तिरीमा
थोरै माया लुकायौ कि दन्तैको बिरीमा ।
उक्त ठाडी भाकाको टुप्पोमा रहेको उपमेय माया हो भने उपमान बिरी हो । मायालाई दाँतमा अड्किएको बिरीमा लुकाइएको शंका गरिएको छ । अरु उदाहरणहरु हेरौँः
माथी पर्यो जारे सेजे तल पर्यो ठाँटी!
चाल पाया फर्काउनेइ थियाँ बैँस जाने बाटी ।
मुग्लुखोला काठेसागु कस्काहुन किस्मत
बोल माछा मुखभरि पानी के पर्यो बिस्मात ?
काला जुत्ता सिर्के टोपी भाइ उँद गइत्यो कि,
क्या साइलाई चिनेइनि लाक्च भेट कैलै भइत्यो कि ?
मासु मीठो कालिजैको, झोल मीठो तित्रैको
मेरो दर्द साईलाई के था कलेजी भित्रैको ।
गाई दुन सकेन भाइले के भैंसी दोला र,
मनमा दर्द नहुन्यात को मान्छे होला र ?
अइल मेरो धान फलेन गैरी कम्द स्वारा
सद्देइ हुन् कि बलै हुन् दे बालीसाइका प्वारा ।
लोकोक्तिः
अर्थगर्भित टुक्कामय उक्तिलाई लोकोक्ति भनिन्छ । लोकोक्तिबाट समाजमा प्रचलित उखान तथा टुक्काहरुको माध्यमबाट नैतिकता तथा सदाचारका पाठहरु पढाइएको हुन्छ । यस्ता लोकोक्तिहरुलाई साहित्य वा गीतको माध्यमबाट सफलताका साथ प्रयोग गर्दा लोकोक्ति अलङ्कार हुन जान्छ । यही लोकोक्ति अभिधा अर्थमा प्रयोग हुँदा लोकोक्ति हुन्छ भने त्यही उक्ति लक्षणा वा व्यञ्जनाको अर्थमा प्रयुक्त हुँदा छेकोक्ति हुन्छ । तलका उदाहरणहरु हेरौँः
माथिबाट बग्दै आइयो कालो र कागत
बर्तुन लागोई मर्नेइ काल नलागोई बाफत ।
लक्कू डाली चक्कू खेल्छ बाँदरैको छाउनो
माया भन्नु बिसौनीय जोवन भन्नु पाउनो ।
साङली छन्काउन लाइयो जुमलीको जारे
सुन पुरानो रङ्ग बुरो कैल्यै हुन्न लारे ।
यशु लेक पारिपट्टि गाई मरेको सिनो
स्याउली राखे ओइलाइजाला औंठी राख चिनो ।
विरोधाभासः
वास्तविक विरोध नभए पनि विरोध झल्किएको देखिन्छ भने विरोधाभास अलङ्कार हुन्छ । तलको उदाहरण हेरौँः
बजाउने मुरली मेरो गउँका जउँका नल्को
नखाने इन्द्रेणी फल नला मलाई झल्को ।
विभावनाः
विभावनाको शाब्दिक अर्थ हुन्छ अनुगामी वा प्रतिगामी अनुभूतिहरूको शृङ्खला; कल्पना; सोचाइ. आशय; विवेक; विचार वादविवाद; पक्षविपक्षबारे उठेको तर्क । कारण नभई कुनै कार्य भएको छ भने विभावना अलङ्कार हुन्छ । तलको उदाहरण हेरौँः
हलो ज्वाली कानामाथि बल्ल गाईका पेट ।
हलारी जर्मेइको छैन अर्नी गइगो खेत ।
यहाँ गाई ब्याएकै छैन बल्ल (गोरु) गाईका पेटभित्रै छ तर मैले त्यही गोरु जोत्ने उद्देश्यले काँधमा हलो र जुवाली राखिकेँ । उता जो हलारी जन्मेकै छैन उसैको लागि नास्ता खेतमा पुगिसक्यो !
व्यतिरेकः
व्यतिरेकको शाब्दिक अर्थ हुन्छ परस्पर नमिल्ने विरोधी गुण वा कारण, अन्तर, भेद, अन्वयभन्दा भिन्न प्रक्रिया, अतिक्रमण । उपमानभन्दा उपमेयमा बढी गुण देखाएमा व्यतिरेक अलङ्कार हुन्छ । केही धर्मका आधारमा समान उपमान, उपमेयमा उपमानभन्दा केही गुणको आधिक्य वा न्यूनता भई वैधर्म्य वा फरक बुझिएमा व्यतिरेक अर्थालङ्कार हुन जान्छ । तलको उदाहरण हेरौँ
काचो छाम्नु, पाको छाम्नु, तिजु माजा फल
देख्नु भै, पैरनु भैनै कर्णालीका जल ।
रोल्पाली जिम्म्वालकी छोरी खोलापारि गाँउचे
जो तोला चाँदोमा छैने उईले खाँति लाउँचे ।
निदर्शना अलङ्कारः
भिन्नभिन्न वाक्यार्थमा उपमान र उपमेयको कल्पना गरी अभेद सम्बन्ध देखाउँदा निदर्शना अलङ्कार हुन्छ । दुई वाक्यका अर्थमा अन्तर हुँदाहुँदै पनि उपमाद्वारा तिनीहरूका सम्बन्धका कल्पना गर्दा साहित्यमा हुने अर्थालङ्कार नै निदर्शना अलङ्कार हो । केही उदाहरण हेरौँः
अरुले मैपानी खादा गुवालाले तर खा
सगर खस्ने भल उर्छिने लाइगो काली बर्खा ।
अईल मले गौ छर्या र सबैले जौ भन्या
धुरुक्क रोई जाउला तोला यो मनको कौ भन्या ।
आदि मैना मंशिरैको भर मैना पुसैको ।
आईसेल भन्नु मेरो हैन जो बाँच्यो उसैको ।
माथि प्रस्तुत अर्थालङ्कारका विभिन्न भेदहरु र प्रत्येक भेदको ठाडी भाकाका उदाहरणहरुबाट ठाडी भाकामा पनि अर्थालङ्कारको प्रचुर मात्रामा प्रयोग भएको स्पष्ट देख्न सकिन्छ । ठाडी भाका गाउन आँ गर्ने बित्तिकै कुनै न कुनै अलङ्कारको प्रयोग हुने कुरा उल्लिखित उदाहरणहरुबाट छर्लङ्गै देख्न सकिन्छ ।