×

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

सोलाबाङ रुकुम

आज बिहान उठ्दा अलि हल्का भएकोले सेतोपाटीमा प्रकाशित लेखलाई हटाइदिन मेल पठाउनको निम्ति बिनारामको घरमा गएँ । जेठा जेठान पनि त्यहीँ आइपुग्नुभयो । दुई भाइको कुरामा मेरो ध्यान गएन । दैनिकीहरू अपडेट गरी आफ्नो काम सकेर डेरीबाट दूध ल्याई घर फर्किएँ ।

सेतोपाटीमा प्रकाशित लेख छिटो हटाउन महेश सरको फोन आइरह्यो । आफूले सकेको गरेको स्पष्टीकरण दिइरहेँ । हिजै पकाएको भातमा दूध हालेर पकाएँ र खाएँ । दिउँसो कमला बुहारीले नुवागीको खिर रोटी राखिदिएकोले खान आउन कर गरेकीले खान बाध्य भएँ ।

अनावश्यक कुरामा ध्यान नदिऊँ भन्दा पनि सेतोपाटीकै कथा प्रसङ्गले ध्यान खिचिरह्यो । ५ कक्षाको पाठ्यपुस्तक निर्माणको काम अगाडि बढाउन बाधा भइरह्यो ।

तल्लो पाटोको झार उखेल्न झरेँ । तर लगातार उखेल्दा औँला दुखेकोले बिचमै छोडेर पुनः घरमा उक्लिएँ ।

कथा लेख्ने क्रममा भएको घटनाको विकासको सम्बन्धमा महेश सरलाई पनि जानकारी हुनुपर्छ भन्ठानी स्पष्टीकरण पत्र लेखेर बसेँ र बेलुका ८ बजेतिर पठाएँ । पत्रको बेहोरा यस्तो थियोः

आदरणीय गुरु महेश सर

नमस्कार ।

आफ्नो हित चाहने गुरुजीलाई यस कथाको घटनाक्रम कसरी विकास भयो भन्ने सम्बन्धमा जानकारी गराउन उपयुक्त देखी यो अर्को पत्र लेख्ने धृष्टता गरेको छु । यसमा लेखिएका कुराले कतै अनर्थ लाग्न गएमा सिक्दै गरेको आफ्नै चेलो सम्झी क्षमा दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।

प्रथमतः नसोचेको अवस्था सिर्जना भइरहेकोमा म दुखित छु । मेरो कथाकी ती मुख्य पात्रप्रति कुनै पनि दुर्भावना थिएन र छैन भनेर बारम्बार भनिरहेकै छु । तपाईँ पनि साहित्यिक मनको सचेत कवि एवम् समालोचक हुनुहुन्छ सबै कुरा छर्लङ्गै बुझ्नुहुन्छ ।

क्षमायाचनासहितको स्पष्टीकरण दिन खोज्दा पीडित पात्रले सामाजिक सञ्जाल र फोन ब्लक गरिसक्नुभएको छ ।

साहित्यकारको मन दुइटा हुँदो रहेछ । एउटा नैतिक मन जसले यसो गर्नुहुँदैन भन्दै हरघडी सचेत गराइरहन्छ । अर्को ठिक उल्टो । सिर्जनशील मन जसले सिर्जनामा जुनसुकै कुरा पनि ग्राह्य हुन्छ भनेर कुतकुत्याइरहन्छ । मैले सधैँ नैतिक मनलाई नै जिताउँदै आएको छु । यसमा पनि नैतिक मनलाई नै जिताउने मेरो प्रयास विफल भएकै हो ।

कुनै कुरा पनि अपर्झट सिर्जना भएको हुँदैन । उहाँलाई न पहिले देखेको थिएँ न त देखे पनि कुनै परवाह नै थियो । न फेरि भेट हुने कुनै चाह नै थियो । यात्रामा क्षणिक पात्रहरूसँग भेट भइरहन्छ र लामो यात्रामा त्यस्ता पात्रहरू ओझेल पर्दै जान्छन् । कुनै कुनै पात्र मात्र लामो समयसम्म साथमै रहनसक्छन् ।

मैले यसअघि रचिसकेका कथा कविता र अन्य रचनाहरूमा पनि त्यस कथामा प्रयुक्त थुप्रै पात्रनामहरु आएकै छन् । अहिले वर्षौँपहिले लेखिएका पात्रहरूसँग भिडाउने हो भने कसैलाई त्यस कथाको पात्र आफैलाई बनाइएको जस्तो लाग्नसक्छ । अब भने मैले यो …. पात्रनाम सधैँको लागि त्याग्नुपर्ने स्थिति पैदा भएको छ । किनभने मैले जे जसरी लेखे पनि उसैलाई हो कि भन्ने संशय उत्पन्न हुने स्थिति सिर्जना भएको छ ।

म फुस्सा लेखक हुँ । मलाई हजुरहरूजस्तै दुईचारजनाले नाम चलाइदिनुभएकोले यो स्थानमा छु नत्र त मोफसलको बेनाम लेखकको कुनै बजार मूल्य नै थिएन । मेरा लेखहरू आफ्नै वरपरका सर्कलबाहेक बाहिर कसैले पढ्दैनन् । यसअघि सेतोपाटीमै प्रकाशित रचनाहरू खोजेर हेरे पनि यो कुरा प्रमाणित हुन्छ ।

मेरा लेख पढ्नेले पनि ती पात्रहरू को को हुन् एकजनालाई पनि चिन्दैनन् ।

रह्यो त्यस यात्राका यात्रीहरूको कुरा । मैले ४ जनालाई मात्र शेयर गरेको छु । हजुरलाई, सुन्दरजीलाई, ताराजीलाई र उहाँलाई मात्र । त्यहाँ जे भएको थियो त्यहीँ भित्रका मात्र थाहा छ । बाहिर कतै गएको छैन ।  त्यसमध्ये सुन्दरजीले हेर्नुभएकै छैन । ताराजीले ढिला गरी हेर्नुभएको छ । अर्को मूल पात्रले भने हेर्दै नहेरेको देखिएकोले लागेको थियो यो पनि हेर्नुहुनेछैन ।

हजुरले जसरी यस कथालाई सुरुमा सहजै लिनुभएको थियो अरूले पनि सहजै लिनेछन् भन्ने मेरो बुझाइ हो । हजुरको कलेजमित्रले पनि सहजै लिनुहुनेछ भन्ने अनुमान थियो । हजुरले शेयर नगरेको भए सायद यो कुरा मेरा सीमित पाठकहरूबाहेक अरू कसैलाई थाहा हुने थिएन । यो कुरा मैले शेयर गरेपछि मेरा सीमित पाठकहरूले दिएको प्रतिक्रियाहरूबाट अड्कल गरिसक्नुभयो होला ।

अर्को कुरा मैले किन लेखेँ भन्ने कुरा हुन सक्छ । तपाईँ हामीले सुनेकै कुरा हो उहाँले आफ्नो यात्राको अन्त्यतिर चिठी लेख्नु भन्नुभएको थियो । मलाई प्रष्ट थाहा थियो कि उहाँले चिठी लेख्नु भनिएको व्यक्ति म भने थिइन ।

मलाई त्यति बेला मनमा अनौठो कुरा खेलेको थियोः अहिलेको फोन मेसेन्जरजस्ता द्रुत सञ्चारका साधन हुँदा पनि चिठी लेख्नू भनी साहस गर्ने कति उदार दिलकी साहित्यकार रहिछन् । मेरो पहिलो अनुमान यहीँनेर फेल खायो ।

मलाई त्योभन्दा बढी केही लागेकै थिएन । लाग्दो हो त उहाँलाई बारम्बार फोन गर्थेँ हुँला । बारम्बार मेसेज गरेर हैरान पार्थेँ हुँला । मेरो त्यस्तो सोचाइ छँदै थिएन र त फोन मेसेज गरिरहन कुनै आवश्यक थिएन ।

मणि सरले मलाई भन्नुभएको थियोः यो पटकको यात्रा संस्मरण तपाईँ लेख्नुहोला ओलीजी । मणि सरको यस प्रस्तावले मलाई लोभ लागेको थियो कि मैले यस पटक संस्मरण लेखेँ भने नाम चलेको पत्रिकामा प्रकाशन हुनेछ र मेरो संस्मरण कम्तीमा मसँगै यसपालि यात्रा गर्ने नाम चलेका साहित्यकारहरुले पढ्नुहुनेछ । यो त मेरो सौभाग्य हो । मैले यस प्रस्तावलाई सदुपयोग गर्ने योजना बनाएँ ।

मैले संस्मरण लेखिसकेर बाह्रखरीलाई, मणि लोहनी सरलाई र राजेश खनाल सर सबैलाई पठाएको छु । त्यो कुनै दिन प्रकाशित होला वा नहोला । पहिलो प्रति मणि सरसँग सुरक्षित छ । यदि मेरो कुनै बद्नियत भइदिएको भए यो कुरा त्यस लेखमा पनि खुल्नेथियो होला । (कतै त्यसमा पनि कसैलाई चोट पुग्ने कुरा पो हालेँ कि ख्याल छैन ।)

बाह्रखरीलाई यात्रा संस्मरण पठाइसकेपछि मलाई कता कता यो यात्रा अपूर्ण जस्तो लाग्यो । संस्मरणमा खाली सूचना र तथ्यको भारी मात्र हुने हो । रस हाल्न खोजे त्यो काल्पनिक हुन जान्छ । न संस्मरणयोग्य हुन्छ न त रोचक । आफू संलग्न यो साहित्यिक महायात्रालाई त चिरस्मरणीय बनाउनुपर्‍यो ।

अतः त्यस यात्राले मिठास पनि बोकोस् भन्ने लाग्यो र एउटा कथा नै लेख्ने सूर चल्यो । मलाई सुरुमा लाग्यो हराइरहने कृष्णराज डीसीको बारेमा किन नलेखूँ ? वा तर्क गरी नथाक्ने महेशकै बारेमा किन नलेखूँ ? वा तौली तौली बोल्ने मणि लोहनीकै बारेमा किन नलेखूँ ? वा सिरियस भइरहने सुन्दरकै बारेमा किन नलेखूँ ? कथालाई काल्पनिक बनाउन जतिसुकै कोसिस गरिए पनि जुनसुकै कथाहरू यथार्थकै धरातमा नै उभिनेहुन् । हैन भने श्वैरकाल्पनिक कथा लेख्न सक्नुपर्‍यो ।

तर लाग्यो यी पात्रहरूको बारेमा लेखेँ भने कथामा कुनै मिठास र रोचकता हुनेछैन । रोचक तुल्याउन त नारी पात्र नै छान्न आवश्यक होला भन्ने लाग्यो । दोस्रो तर्क यहाँनेर फेल खायो । नारीवादीले जसरी अर्थ्याए पनि मेरो बुझाइमा यो संसारलाई सौन्दर्यमधुर बनाइरहने कुरामा नारीको दाँजोमा पुरुष जानै सक्दैन ।

फलतः यात्रामा अन्तिममा आइपुग्ने र पहिल्यै झर्ने पात्रको घटनासदृश् बनाएर लेख्न उपयुक्त लाग्यो । उहाँले नै झर्दै गर्दा भन्नुभएको “चिठ्ठी लेख्न नबिर्सनू !” भन्ने कुराले ढाढस पनि मिल्यो । (तर यो कुरा मजस्तो अनचिनारू, कुरूप, बुढो र भुत्तो व्यक्तिलाई उहाँले भन्नुभएकै थिएन । खाली लेख्ने निहुँ मात्र खोजेको हुँ ।)

लेख्दै गर्दा नैतिक मनले खबरदारी गर्‍योः कसैलाई आघात पर्नसक्छ ।

अतः सम्बन्धित पात्रलाई फोनबाट अनुमति मागेँ पनिः तपाईँले चिठ्ठी लेख्नु भनेकोले मैले लेख्दै छु है भनेर । उहाँले त्यस विषयतिर खासै चासो राख्नुभएन । उहाँलाई लागेको हुनसक्छ के नै लेख्ला र यल्ले ? उहाँलाई फोन गरेपछि धेरै दिन बिते पनि । यसरी चिठ्ठी नै आउला भन्ने उहाँले विश्वास नै गर्नुभएन । नत्र त के लेखिस् ? भनेर फोन वा मेसेजबाट पहिल्यै एक पटक सोध्न सक्नुहुन्थ्यो । मैले यस्तो लेखेँ भनेर देखाउने आधार हुन्थ्यो । उहाँले पहिले म हेर्छु भनिदिएको भए यो रूपमा प्रकाशित नहुन सक्थ्यो । प्रकाशन गर्नुपरे देखाएर मात्र प्रकाशन गर्छु भनेर प्रतिबद्धता पनि गर्न नभ्याउँदै उहाँसँगको फोन सम्पर्कविच्छेद भएको थियो ।

मलाई उहाँको उपेक्षात्मक व्यवहारले कता कता भित्रै चिमोट्यो । मैले लेख्नैपर्छ भन्ने निर्णय त गरेँ तर सबै पात्रहरुको नाम फरक पारेर । लेखिसकेपछि फेरि उहाँलाई सोधूँ कि भन्ने पनि लागेको थियो तर उहाँले रेस्पोन्स गर्ने सम्भावना पटक्कै देखिनँ ।

पत्रिकालाई पठाउँदै गर्दा सिर्जनशील मनले किन डर मान्छस् ? भनी जिस्क्याइरह्यो । यति पनि लेख्न डराउँछस् भने तँ कहिल्यै कुनै विषयमा लेख्न छैनस् भनेर गिज्याउन थाल्यो र काल्पनिक पात्रहरूलाई विस्थापित गरिदियो । नैतिक मनलाई सिर्जनशील मनले यसरी हार खुवाइदियो ।

अहिले लागिरहेको छः हुन पनि हो, मैले मनगढन्ते पात्रहरू उल्लेख गरेको भए यो स्तरको चर्चा पनि हुनेथिएन र अघिपछि जस्तै मेरो पकेटभित्रका पन्ध्र बिस जनाले मात्र हेरेर सेतोपाटीको गर्तमा लुप्त हुनेथियो यो कथा पनि । यस कथाले मात्र थप पाठकहरू बढाइदिएको छ । कुरा यत्तिकैमा नसेलाएमा अझै बढाउँदै जानेछ । पाठक बढाउनुमा आफ्नो नभई अर्कैको भूमिका प्रबल देखिँदै छ ।

मेरो प्रस्तुतिले कसैको इज्जतमर्दन भएको भए क्षमा चाहन्छु भनेर बारम्बार भनेकै छु । यस कथाको कथानक होः हरेक बसको ढोकामा वा फ्रन्ट भागमा टाँसिएको नमस्कार गरेको चित्रसँग गरिएको उडन्ते कल्पना । जहाँ कतै यौनको लेष पनि छैन । विशुद्ध एकर्फी प्रेम मात्र । चित्रको नाम त दिनुपर्‍यो । एआइलाई सोधिहेरेँ । कथामा सबैभन्दा बढी प्रयुक्त पात्रको नाम यही रहेछ । मैले त्यही नाम नै छानेँ ।

आँ गरे अलङ्कार बुझ्ने आफ्ना गुरुलाई थप कुरा कति प्रष्ट्याऊँ ?

प्रकाशित भएर शेयर पनि गरिसकेपछि तपाईँले सचेत गराउँदै भन्नुभयोः कसैलाई पीडा भएको छ, नारीवादी बहस चलेको छ, मुद्दा चल्नसक्छ । सेतोपाटीमा डाङडाङडुङडुङसम्म हुनसक्छ ! यति सुझाव पाएपछि सुझाव शिरोपर गर्नु मैले कर्तव्य ठानेँ ।

जहिलेदेखि तपाईँका गतिशील लेखहरू र अत्यन्तै साधारण व्यक्तिको रूपमा तपाईँलाई चिनेँ, मैले एकलव्यझैँ तपाईँलाई एकतर्फी साहित्यिक गुरु मानिसकेको छु । फलस्वरूप मैले फेसबुकबाट त्यस कथाका शेयरहरू हटाइसकेको छु । सेतोपाटीलाई पनि कथा हटाइदिन मेल पनि पठाइसकेको छु । सुदीप श्रेष्ठको फोन नउठेकोले फोनमेसेज गरेर त्यो कथा हटाइदिन अनुरोध गरेकै छु । अब बाँकी अवस्था मेरो काबुभित्र रहेन ।

मैले यस घटनाबाट जिन्दगीकै ठुलो पाठ सिकिसकेको छु ।

कुनै मुद्दा नै नभएको झिनामसिना कुराहरुलाई नै मुद्दा बनाइरहने हो भने यसले मजस्तो नामहीन लेखकलाई त फाइदा नै होला तर ख्याति कमाइसकेका पात्रहरूलाई के फाइदा होला र ?

मेरो त चर्चा नै होला । थप पाठकहरू बढ्लान् । मलाई चिन्नेहरू सबैले मेरो असल नियत राम्रोसँग चिन्छन् र नचिन्नेहरूले पनि मेरो नियत चिन्ने मौका पाउनेछन् । मैले जहाँ जवाफ दिनुपरे पनि मेरो भनाइ हुनेछः  यो सत्यकथा नभई काल्पनिक कथा हो र पात्रहरू पूर्णतः काल्पनिक हुन् । बद्नियतपूर्वक कसैको अस्मिता गिराउने मेरो दुराशय होइन । कल्पना मात्र गरेको कुरालाई सत्य हो कसरी भन्न सक्नू ?

कसैले काल्पनिक पात्र भनिएको पात्र म नै हुँ भनेर आफै प्रमाणहरू अघि सारे त मेरो के लाग्यो र ?

कुरा व्यक्तिमा सीमित नहुनसक्छ संस्थासम्म पुगिसकेको होला । यो काल्पनिक कथा मात्र हो भन्ने बुझाउन म असफल हुँदै छु । आफूलाई पुरस्कृत गर्नलायक ठान्ने संस्थाको असल नियतवश् भइरहेका कार्यक्रमको मर्ममा अनजानवश् ठेस लाग्न गएकोमा म पनि मर्माहत छु । म संस्थाप्रति पनि माफी चाहन्छु । यस प्रसङ्गले मलाई सदा विश्वासले हेर्ने राजेश्वर सर र मोमिला म्यामको अनुहार धौहेर्नु बनाएको छ । भारी शरमले नतमस्तक छु ।

संस्थाले माफी दिनुको सट्टा यसैलाई बल्छी बनाएर किनारमा बसिरह्यो भने मेरो केही सिप चलेन । एउटा ओलीलाई कारवाही गर्दैमा उसलाई के पो होला र ? पुरस्कार नै फिर्ता गर्नुपरे पनि नखाएको विष लाग्यो भनेर सहर्ष स्वीकार गर्नेछु । बल्लबल्ल जोडिएको संस्थासँग सम्बन्ध नै टुटे पनि किन पछुताउनू ? जोसँग गुमाउने थोक नै केही छैन, उसले लडाइँ लड्नुपरे पनि गुमाउनुपर्ने नै के हुन्छ र ?

अन्तिममा फेरि उही नैतिक मन र सिर्जनशील मनकै । नैतिक मन त सधैँ चुप नै रहनेछ । होसियार नै रहनेछ र अब अझै होसियार हुनेछ । यसमा कुनै दुविधा नै छैन । तर सिर्जनशील मनले भने खाँदै नखाएको विष वमन गर्नुपर्‍यो भने विष खोज्न कहाँ जाला र ?

गुरुप्रति सदा नतमस्तक चेलो

पूर्ण ओली

Loading

Post Comment

You May Have Missed