२०८३ बैशाख १० गते विहीवार
सोलाबाङ रुकुम
सिम्रुतुको माया होटेलबाट बिहानै उठी डिल्ली मल सर बसेको ठाउँ सिम्रतु स्कुलमा चिया खान पुग्यौँ । अहिले यस स्कुलका आफ्नै ३ वटा ३ तल्ले ठुला ठुला सिमेन्टेड बिल्डिङहरू छन् । २ महिनापहिले आउँदा उत्तरपश्चिमपट्टिको पुरानो घर बाँकी नै थियो अहिले त्यो भत्काइसकिएको रहेछ । स्कुलको पछाडि सिम्रुतु क्याम्पसका पनि ठुला ठुला संरचनाहरू बनाइएका छन् । खोला किनारका खेतहरू लिएर स्कुलको प्राङ्गण गराइएको छ । धारा तथा शौचालयको राम्रो व्यवस्था गरेको देखिन्छ । स्कुलमा विज्ञान प्रयोगशाल कम्प्युटर प्रयोगशालाहरू ठुला ठुला बैठक हलहरू र फराकिला कक्षा कोठाहरू छन् । स्कुललाई फनक्कै घेरेको अग्लो पर्खाल छ । मुख्य प्रवेशद्वारमा यहाँका पुराना समाजसेव हिराचन्द्र मल्लको प्रतिमा राखिएको छ ।
समय निकै परिवर्तन भएझैँ लाग्छ ।
मैले २०४७ साल कार्त्तिकदेखि यस स्कुलमा पढाउन थालेको हुँ । २०४७ फागुनदेखि प्रधानाध्यापक भएर २०५४ सालसम्म काम गरेको थिएँ । त्यसबेला मेरो दरबन्दी चौरजहारी माविमा थियो । चौरजहारी माविको दरबन्दीपछि रुकुमकोटको दरबन्दीमा रहेर सिम्रुतुमा पढाएँ । ८ कक्षादेखि १० कक्षासम्म थियो यो विद्यालय ।
उत्तरपश्चिम फैलिएको एउटा एकतले ४ कोठे कच्ची भवन थियो । ३ वटा कक्षा कोठा र एउटा कक्षामा कार्यालय भवन । शौचालयको कामचलाउ व्यवस्था थियो । मुहानको पानी गाग्रीबाट सार्नुपर्थ्यो । भूसंरक्षणबाट पाइप र पर्खाल निर्माणको योजना ल्याउन खोज्दा त्यहाँ हाकिमका भाइ नाताका व्यक्ति पनि बीएस्सी पढेर आएका रहेछन् उनलाई अस्थायी दरबन्दीमा स्कुलमा ल्याएर जागिरी खुवाएपछि भूसंरक्षण अफिसले गर्नुपर्ने सहयोग पनि गर्यो ।
प्रस्ताविक स्कुल थियो । ३ वटा कक्षा सञ्चालन गर्न हेडमास्टर सहित ३ शिक्षक भए पुग्थ्यो । पहिलेदेखि नै सबै निजीस्रोतका दरबन्दीहरू थिए । मलाई भने अन्यत्रै विद्यालयको दरबन्दीमा मिलाइएकोले थप २ जना शिक्षकलाई निजी स्रोतबाट बेहोर्नुपर्थ्यो । त्यस बेला जिल्लाका नाम चलेका शिक्षकहरू जितबहादुर शाह पहलबहादुर पुन गङ्गालाल ओलीहरू थिए । यस स्कुललाई जिल्लाका प्रमुख स्कुलसँग प्रतिष्पर्धामा लैजानको निम्ति यी शिक्षकहरूलाई पनि सिम्रुतु स्कुलमै ल्याउने पहल गरेँ । त्यो समयमा यस स्कुलको स्थापनाको निम्ति मरिमेट्ने हिराचन्द्र मल्ल थिए । हिराचन्द्रलाई विश्वेश्वर पोख्रेलले सघाउँथे । जिल्लाका नेताहरूले यस ठाउँमा स्कुल स्थापना गरेको मन पराएका थिएनन् । हिराचन्द्र मल्लको योजनालाई असफल तुल्याउन नीतिगत रूपमै प्रयासरत थिए । त्यस्तो जटिल अवस्थामा मलाई प्रधानाध्यापक बनाइएको थियो र मैले आफ्नो क्षमता देखाउनुथियो ।
स्कुलको मुख्य आयस्रोत भनेको विद्यार्थीले तिर्ने फिस थियो । अन्यत्रभन्दा महङ्गो लिइए विद्यार्थी आउँदैनथे । एसएसलसी पास भएका विद्यार्थीबाट सर्टिफिकेट शुल्क उसैबेला ५०० रुपैयाँ थियो । जुन असाध्य चर्को भए पनि उठाउनुपर्ने बाध्यता थियो ।
विषयगत शिक्षकहरू सितिमिति पाइँदैनथे । जुन शिक्षकको अभाव भयो त्यही विषय पढाउने जिम्मेवारी आफ्नो हुन्थ्यो । मैले ९ र १० कक्षा पढ्दै गर्दा खलङ्गा स्कुलका विज्ञान शिक्षक चौरजहारी सरुवा भएको हुँदा विज्ञानमा म कमजोर नै थिएँ । अरू विषय भने राम्रोसँग पढाउन सक्थेँ ।
विज्ञान शिक्षकको समस्या समाधान गर्न रुकुमकोटमा पढाइरहेका शिक्षक राधारमण झालाई ल्याइयो । पछि रुँघाकै धनबहादुर ओली र लिलबहादुर केसीहरू तथा सेरीगाउँका ओपेन्द्र शर्मालाई पनि ल्याइयो ।
स्कुल सञ्चालनको अर्को आयस्रोत भनेको तिहारमा भैली खेलेर पैसा उठाइन्थ्यो । चन्दा उस बेला पनि कसैले दिँदैनथे । चार पाँच समूहको भैली टोली बन्थ्यो । त्यो टोली अहिलेका त्रिवेणी गाउँपालिकाअन्तर्गत पर्ने सबै गाउँटोलमा र मुसीकोटका गाउँटोलमा समेत पुग्थे । भैलीबाट सङ्कलन गरेको पैसाले मैले सिम्रुतुको भवन पनि बनाएको थिएँ ।
नजिकै १ देखि ५ कक्षासम्म पढाइ हुने बर्खेटाकुरा स्कुल थियो । त्यस स्कुलमा राम्रोसँग पढाइ हुँदैनथ्यो । दरबन्दीका शिक्षक पनि पढाउन आउँदैनथे । त्यस स्कुलका समेत विद्यार्थीहरूको भलाइ होस् भनेर मैले स्कुल सञ्चालक समितिमा निर्णय गराई आफैले बनाएको नयाँ भवनमा सारिदिएँ । यसरी अर्को स्कुललाई सिधै गाभ्ने नियम त्यति बेला कतै थिएन । शिक्षा शाखाले साविक ठाउँमा सञ्चालन गरे स्कुल नै खारेज गरिदिने बारम्बार धम्की दिन्थ्यो ।
केही समय र शिक्षक र अलिअलि विद्यार्थीहरू पनि फिर्ता भए । तर त्यहाँ न पढाइ हुन्थ्यो न त भवन राम्रो थियो । बर्खामा पानी चुहेर शिक्षक विद्यार्थी कोठाभित्र बस्नै सक्दैनथे । पछि अभिभावकहरूले सबै विद्यार्थीहरूलाई यही हाइस्कुलमा नै पढाउन थाले । शिक्षा शाखाको मुख थुनियो ।
विद्यार्थीहरूमा भने अति राजनीति थियो । रुँघा खारातिरबाट आउने विद्यार्थीहरू प्रायशः माओवादीका हुन्थे भने भलाक्चातिरबाट आउने विद्यार्थीहरू बढीजसो एमालेका । काङ्ग्रेसका विद्यार्थीहरू पनि थिए । स्कुलमा कार्यक्रम भइरहन्थ्यो । एक अर्का संगठनको लडाइझगडा परिरहन्थ्यो । तर हिराचन्द्र र मेरो प्रयास भने अन्यत्रका विद्यालयको तुलनामा विद्यार्थीको राम्रो रिजल्ट ल्याउन के गर्न सकिन्छ त्यसैमा केन्द्रित हुन्थ्यो । हिराचन्द्र त बाहिर बाहिरै काम गर्ने थिए । भित्रको मुख्य अचानो त म नै थिएँ । मैले स्कुलमै निशुल्क आवासीय ट्युशन सेन्टर खोली एसएलसीको नजिकमा विद्यार्थीहरूलाई घर जान नदिई रातदिन पढ्ने वातावरण मिलाउने गर्थेँ । एसएलसी पास नगरी राजनीति गर्न हुन्न भनी सबै विद्यार्थीहरूलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा भन्थेँ । धेरैजसो विद्यार्थीहरूले मैले जे भन्यो त्यही मान्थे पनि । राजनीतिक गतिविधिमा मैले सहयोग नगरी नियन्त्रण गरेको थिएँ ।
तर मैले सिम्रुतुमा हेडमास्टरको भूमिका निभाएर यस क्षेत्रको शैक्षिक अभियान सफल पार्न सहयोग गरेको कारणले मुसीकोट खलङ्गा क्याम्पस छिर्न पाइनँ । मुसीकोटभित्रकै अर्थशास्त्रमा स्नातकोत्तर पास गर्दा पनि मुसीकोट खलङ्गा क्याम्पसमा अर्थशास्त्र पढाउन टाढाटाढाबाट शिक्षकहरू ल्याइने गरिन्थ्यो । यसले मलाई क्याम्पसतिर होइन निजामती सेवामा छिर्न बाध्य पार्यो ।
५२ सालबाट सुरू भएको माओवादी जनयुद्धको क्रममा लहुँमा भएको एक एम्बुस काण्डको निहुँ बनाई विश्वेश्वर पोख्रेल प्रहरीबाट मारिए । हिराचन्द्र मल्ल गाउँमा बस्न नसकी भाग्नुपर्यो । म दुईतीन महिनापहिल्यै काठमाडौँ पसिसकेको थिएँ । हिराचन्द्र र मलाई पनि विश्वेश्वरसँगै सिध्याउन खोजी गरिएको थियो रे । हिराचन्द्र मल्ल भने त्यस बेला कालापार पुगी भौँतारिइरहे र आफ्नो लक्ष्य सम्मान र कालापारको दुःखको द्वन्द्वमा परी आत्महत्या गरेछन् ।
सिम्रुतु स्कुल बनाउको निम्ति लागिपरेका ३ हस्तीहरूमध्ये २ जनाले अहिले विद्यालयमा भएको यो परिवर्तन देख्न पाएनन् । मैले भने डिल्ली मल्लसँग चिया भेटघाटमा विगतमा हराउँदै यो परिवर्तन देख्न पाएको छु ।
चिया खाइसकेपछि हामी शिक्षाशाखाकै हलमा आएर पाठ्यपुस्तक निर्माणको बाँकी काममा जुट्यौँ । गापा अध्यक्ष गणेश केसी पनि आउनुभएकोले उहाँसँग प्रस्ताव राखी त्रिवेणीका सबै वडाहरूमा स्थलगत अवलोकनमा जाने प्रस्ताव गर्यौँ । उहाँले १३ गतेलाई यो कार्यक्रमको स्वीकृति दिनुभएको छ ।
खाना खाने बेलासम्म काम गरेर खाना खाएपछि घरमै बाँकी काम गर्ने र १२ गते शनिवारको दिनमा यही हलमा आएर प्रस्तुत गर्ने गरी हामीहरू आआफ्नो घरतिर लाग्यौँ ।
घरमा आएर मैले बाँकी मेथी र चना सङ्गालेँ । चुट्न बाँकी रहेको गहुँ चुटेँ । बालाहरूलाई लठ्ठीले पिटेर धुल्याउने काम पनि भयो । बेलुका जेठा जेठान लोकबहादुर खडकाले खाना खान बोलाउनुभएकोले उहाँको घरमा गएँ । उहाँको घरमा माइला जेठान भक्तबहादुर खडका पनि आउनुभयो । अन्य कुराहरूको अतिरिक्त बिनाराम फसाइएको बारेमा पनि कुरा भयो । जेठानहरुले भने बिनारामकै कमजोरी देखाए । मेरो चित्त बुझेन ।
खाना खानुभन्दा पहिले जेठानले उहाँको बैँक स्टेटमेन्ट चेक गर्न लगाउनुभयो । साढे ७ बजेदेखि भर्चुअल रुपमा शुभकामना आदानप्रदान कार्यक्रम चलाइयो । कार्यक्रममा मनलाल ओली केशव शर्मा भूपेन्द्रा मल्लको समेत उपस्थिति थियो । आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस परेकोले र आजै विश्वविख्यात नाटककार शेक्सपियरको जन्मजयन्ती पनि परेको हुँदा कार्यक्रममा उहाँहरूको योगदानको चर्चा पनि गरियो ।
कार्यक्रम सकिँदा पौने नौ बजिसकेकोले खाना पनि चिसो भइसकेको रहेछ । खाना खाएर म घरमा आएँ । हावा चलेकोले दिउँसो चुटेको गहुँ ओसाएँ र कलाएर थैलोमा भरेँ । यति गर्दा रातको साढे ११ बजिसकेको थियो । अत्यधिक थकानलाई विश्राम दिएँ ।
![]()
Post Comment