२०८३ बैशाख ९ गते बुधवार
सिम्रुतु रुकुम
आज पनि बिहानै उठेर साढे ६ बजेदेखि नै २ कक्षाको पाठ्यपुस्तकको निर्माणमा जुट्यौँ । छिटो होस् भनेर २/२ जनाले छलफल गर्ने गरी एकाइहरू बाँडफाँड गरेकोले बेलुकातिर २ कक्षा पाठ्यपुस्तको अधिकांश भागको ढाँचा तयार गर्यौँ । बेलुका ३ कक्षाको पाठ्यपुस्तकको निम्ति पाठ्यक्रमको आधारमा विषयसूची निर्धारण गर्यौँ । यति गर्दा राति ८ बजिसकेको थियो । दिनभरिको कामको तनावलाई हल्का पार्नको निम्ति घोरनेटीको डाँडातिर उक्लियौँ ।
उकालो चढ्दै गर्दा बाटोमा पुरातत्व विभागका साविक मित्र किशोर हमालको फोन आयो । उहाँले पुरातत्व विभागका यसअघिका डिइ पूर्णबहादुर श्रेष्ठले नासु देउकला अधिकारीको नाममा साढे ४ करोड जम्मा गरेको र दुबैको संयुक्त नाममा नुवाकोटको जग्गा किनेको विषयलाई लिएर कारवाहीको लागि विशेष अदालतमा मुद्दा दायर गरेको खबर गर्नुभयो । मलाई खासै अच्चम्म लागेन ।
करिब ६० वर्षीय पूर्ण श्रेष्ठले वर्षौँ पहिलेदेखि नै आफ्नै अफिसकी अकर्मचारी साथीकी श्रीमती करिब ४० वर्षीय देउकलालाई लिएर बारम्बार टाढाटाढाको फिल्डमा जाने र उतै रात बिताउने गरेको हल्ला चलेको थियो । दुबैजनालाई विभागका डिजीले सचेत गराउने अलग अलग पार्न मातहत कार्यालयमध्ये अर्कै ठाउँमा सरुवा गर्ने कारवाही हुँदा पनि दुबैजनाले डर मानेनन् र जता पठाए पनि भेटघाट गर्ने क्रम रोकिएन । पूर्ण श्रेष्ठका साथीले थाहा पाई पाई पनि लोकलज्जा र तन्नेरी हुँदै गएका छोराहरुको भविष्यको कारण केही बोल्न सकेनन् ।
अन्तिम अवस्थामा यो केश अख्तियारमै पुगेछ । तर अख्तियारका मुद्दाहरु कमजोर हुने र धेरैजसो दर्ता गरेका मुद्दा अख्तियारले हार्ने र आरोपितले जित्ने हुँदै आएको छ भनिन्छ । समाजमा नैतिकता कायम गर्नुपर्ने राष्ट्रसेवकले ठिक विपरीत आचरण गरेमा कारवाही भए नै समाजमा सरकार र सदाचारप्रति विश्वास रहने हो ।
संगै पाठ्यपुस्तक निर्माणमा जुटेका नरसिँह ओलीले खलङ्गा स्कुलका साविक हेडमास्टर हरिप्रसाद खनालले आइसिटीको सामान किन्दा झुट्ठा बिलभरपाई पेश गरी रकम निकासा गरेको हुँदा अख्तियारले ८ जनाको विरुद्ध पनि मुद्दा दर्ता गरेको जानकारी गराउनुभयो । त्यसमा साला बिनाराम पनि परेको सुनी म झस्किएँ । स्कुलले किन्ने सामानमा शिक्षा शाखाको कर्मचारीको संलग्नता त नहुनुपर्ने हो ।
स्कुलहरुमा पछिल्लो समयमा आर्थिक कारोबार बढ्दै गए तापनि तालिम प्राप्त लेखापाल नहुँदा र एकाउन्टिङ सफ्टवेयरको पनि प्रयोग कमै हुने भएकोले आर्थिक व्यवस्थापनको पाटो चुनौतीपूर्ण नै छ । लेखा राख्न नजान्दा पनि प्रअ र लेखापाल फस्ने सम्भावना हुन्छ । यसै गरी शिक्षकहरुको विश्वासमा काम गर्नुपर्ने हुँदा शिक्षा अधिकृतले पनि प्रिअडिट गर्न सक्दैन र त्यसरी अडिट गर्ने ज्ञान शिक्षातिरको कर्मचारीलाई हुने कुरै भएन । बढ्ता विश्वासको कारण बिनाराम फसेको हुनसक्ने भन्ने सम्बन्धमा हाम्रो लामै विचार विमर्श भयो । खलङ्गा स्कुलमा केही वर्षपहिलेदेखि नै कामकारवाहीको विषयलाई लिएर अति राजनीतिकरण हुँदै आएको थियो । एक पक्षले अर्को पक्षलाई दुक्ख दिने हिसाबले अरू सयौँ उजुरी पनि परेका सुनिन्थे । एउटाबाट प्रअ खोस्ने र अर्कोले हत्याउने प्रक्रिया झन् झन् उग्र हुँदै गयो । यसले शिक्षक विद्यार्थीहरू सबै वर्गीकृत हुन पुगे ।
एकजना सरलाई सोध्दा उहाँले भन्नुभयो अख्तियारमा उजुरी परेपछि छानबिन गरी पठाउनू भनी पत्र स्कुलमा आइपुग्यो । जसले उजुरी गरेका थिए छानबिन गर्न अधिकार पनि उनीहरूले नै पाए । अझै थप कमीकमजोरी खोजेर पठाइदिए । प्रमाण झन बलियो भयो । फलस्वरुप अख्तियारलाई पनि अनुसन्धान गर्न सजिलो भयो ।
यी कुरा सुनेर मलाई दिगमिग भयो । राति अबेरसम्म निद्रा लागेन ।
![]()
Post Comment