२०८२ चैत्र २८ गते शनिवार
सल्लेरी सोलुखुम्बु
बिहान साढे ६ बजेतिर खाना खाएर सल्लेरीबाट फाप्लुतिर लाग्छौँ ।
फाप्लुमा म २०६३ सालमा प्लेनबाट आएको थिएँ परीक्षा नियन्त्रण कार्यालयबाट सोलुखुम्बुको लागि एसएलसीका प्रश्नपत्रहरू बोकेर । फाप्लुबाट करिब १५ किलोको प्रश्नपत्रको भारी बोकेर हिँड्दै सल्लेरी पुगेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको थिएँ । भारीसित सल्लेरि पुग्न करिब १ घण्टा लागेको थियो । पुनः त्यहाँबाट फाप्लुमै आएर बास बसेको थिएँ । उति बेला सानो बजार थियो। एरपोर्ट पनि अलि सानै थियो ।
उति बेला यहाँ सडक आइसकेको थिएन । अहिले त सडक आएर अलकत्राको कालो सुटपैन्टमा सजिएको रहेछ । सल्लेरीबाट गाडीमा ५ मिनेटमै फाप्लु पुगिँदोरहेछ । मलाई हिँड्दा १ घण्टा लागेको थियो भनी सुनाउँदा साथीहरूले बामे सर्दै गयौ होला भनेर गिज्याउनुभयो । उहिले र अहिलेको तुलना सम्झना मात्र गर्न सकिन्छ । वास्तविकतामा हुनसक्दैन ।
हाम्रो यात्रामा चन्द्रसिँह श्रेष्ठ सर पनि जोडिन आइपुग्नुभएको थियो । फाप्लुको एरपोर्ट हेर्दै अलिकति पर पुग्यौँ । एरपोर्टको उत्तरी छेउमा उहिलेका राजाको घर रहेछ । प्राङ्गणमा गएर फोटो खिच्यौँ । त्यहाँबाट ओरालो झरेर बागबानी केन्द्रमा पुगी टुसाउँदै गरेको लिचीको बगैँचा र फुल्दै गरेका आरुको बोट हेरेर रमायौँ । उत्तरतिरबाट लज्जावती दुलहीझैँ घरीघरी बादलुको घुम्टो खोल्दै लुम्बुर हिमालले हामीलाई लुकीलुकी हेरिरहेकी थिइन् । भुइँकुहिरोले लुम्बुरसम्मै तिमीहरुको खबर म पुर्याइदिन्छु भन्दै उकालो चढ्न हतार गरिरहेको थियो ।
बिहानसम्म बादलले डम्म ढाकिएको आकाश छ्याङ्ग खुलेको देखेर मोमिला म्यामले खुसी प्रकट गर्दै गाडीमा भन्नुभएको थियो कि राजेश्वर कार्की प्रसिद्ध जोतिष र भविष्यवक्ता हुनुहुन्छ । यात्रा सुरु गर्नुपहिले नै उहाँले भन्नुभएको थियो सल्लेरी पुगेपछि आकाश खुल्नेछ । वरिपरिको सबै दृश्य हेर्न पाइनेछ । हामी सबैले यो सुनेर तालीका पर्रा परररर ठोकेका थियौँ ।
यो सुनेर राजेश्वर कार्की सर मुसुमुसु हाँसिरहनुभएको थियो । पखेटा भए भुर्रै उड्नुहुन्थ्यो होला । तर उहाँको मुखाकृतिले मन भने उडिरहेको भान हुन्थ्यो ।
बागबानी केन्द्र हेरेर उकालो चढिनसक्दै आकाश बादलले डम्मै ढाकिसेको थियो । कार्की सरलाई बल्लै उकासिछु भनी मोमिला म्यामलाई थक्क थक्क लाग्यो होला । कोठामा फर्कँदा मुटु कठ्याङ्ग्रिँदो चिसोले सातो खाइरहेको थियो ।
ठिक १२ बजे “मेरो राष्ट्र मेरो ध्येय” मूल नारासहित नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको आयोजनामा सोलुखुम्बुको सल्लेरीस्थित द हिमालयन याक होटेलको सभाकक्षमा विशेष सिर्जना उत्सव कार्यक्रमको सुरुवात भयो । सोलु सल्लेरीको स्थानीय आबद्ध सहयोगी संस्था श्री नवयुग साहित्य, कला सेवा समाजले कार्यक्रममा सहकार्य गरेको थियो ।
उद्घोषण स्रष्टा मणि लोहनीले सञ्चालन एवम् सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा कवि निबन्धकार मोमिलाको अध्यक्षता तथा सडकनाटकका प्रणेता एवम् अग्रज कवि अशेष मल्लको प्रमुख आतिथ्य रह्यो । साथै प्रमुख संरक्षक डा. बिमल कोइराला, व्यङ्ग्य कवि लक्ष्मण गाम्नागे, समालोचक महेश पौड्याललाई अतिथि मञ्चमा राखियो । पुरस्कार पाउनेको हिसाबले म र सोलुखुम्बुका स्रष्टा मनुहाङ किराँती सोलु (युमन खालिङ) लाई पनि मञ्चमा आसीन गराइयो । तर सोलुखुम्बुका जिल्ला समन्वय अधिकारी चन्द्रसिँह श्रेष्ठ र मधुपर्कका प्रमुख सम्पादक तुलसीहरि कोइरालालालाई भने कार्यक्रममा उपस्थित हुँदा पनि दर्शकदीर्घामै रहनुभयो । अतिथिको आसनग्रहणमा तुलसीहरिको नाम आए पनि चन्द्रसिँह श्रेष्ठको भने नाम बोलाइएन । मलाई खल्लो महसुस भयो ।
केशवदेव गिरीले स्वागत मन्तव्य राखेपछि योगेश्वर वाङ्मय पुरस्कार २०८२ बाट मलाई तथा ग्रेगरी कलासंस्कृति पुरस्कार २०८२ बाट सोलुखुम्बुका स्रष्टा मनुहाङ किराँती सोलु (युमन खालिङ)लाई सम्मान गरियो । प्रमुख अतिथि अशेष मल्ल तथा प्रमुख संरक्षक डा. बिमल कोइरालाले टीका, माला, दोसल्ला, थैली र ताम्रपत्र हस्तान्तरण गर्नुभयो भने संस्थाका उपाध्यक्ष राजेश्वर कार्की र कोषाध्यक्ष सुन्दर बस्नेतले विशेष खादा समर्पण गर्नुभयो ।
कार्यक्रममा महेश पौड्यालले कि–नोट (समीक्षात्मक प्रस्तुति) तथा पुरस्कृत हुने स्रष्टाहरूको परिचय दिनुभयो ।
पुरस्कार अर्पणपछि कविता वाचनको कार्यक्रम सुरु भयो । अतिथि कवि डा. कृष्णराज डी.सीले मन्दाक्रान्ता छन्दमा सोलुखुम्बुको सौन्दर्यको बारेमा र शार्दूलविक्रडीत छन्दमा शोक कविता प्रस्तुत गर्नुभयो । यसै गरी लक्ष्मण गाम्नागेले सोलुखुम्बुलाई व्यङ्ग्यात्मक रूपमा काठमाडौँसँग तुलना गरी पाठकहरूलाई मरीमरी हसाउँदा हसाउँदै आमा कविता सुनाएर धुरुधुरु रुवाउनुभयो । यसैगरी अतिथि कविहरूमध्येबाटै राजेश्वर कार्की, तुलसीहरि कोइराला, मणि लोहनी, अनीता कोइराला, लक्ष्मी रुम्बा, वीरेन्द्र ग्यावा तामाङ, तारा सुनुवार, जयदेव भट्टराई, मुकुन्द प्रयास, सुवास सजलले मिठा तथा सुन्दर कविताहरू प्रस्तुत गर्नुभयो र स्थानीय कविहरूमा सुष्मा बस्नेत, सुवास सङ्गम राई, मेरुदण्ड राई, केशव कुलुङ, रामकुमार राई, गङ्गा राई, तिब्बत राई, महेन्द्रदीप राई, शम्भु निःशब्द, मनुहाङ किराँती सोलु, लगायतले स्थानीय रङका जोडदार कविता वाचन गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि अशेष मल्लले स्थानीय उत्पादन मात्र नभई स्थानीय कला र संस्कृतिलाई आफ्नै प्रयासमा उन्नयन गर्नसके स्वीजरल्याण्डभन्दा सोलुखुम्बु सुन्दर तुल्याउन सकिने बताउनुभयो । प्रमुख संरक्षक डा. बिमल कोइरालाले समाज विकासको लागि अत्यावश्यक खम्बा कलासाहित्यलाई राज्य र स्थानीय सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । पुरस्कृतको तर्फबाट मैले मन्तव्य राखेँ । मेरो लिखित मन्तव्य यस्तो थियोः
सगरमाथाको आँचलमा अवस्थित यस सुन्दर सल्लेरी, सोलुखुम्बुको पावन भूमिमा उभिएर आफ्ना भावना व्यक्त गर्न पाउँदा म अत्यन्त गौरवान्वित र भावुक बनेको छु ।
नेपाली कलासाहित्य डट कम प्रतिष्ठानद्वारा २०८२ सालका लागि प्रदान गरिने योगेश्वर वाङ्मय पुरस्कारबाट सम्मानित हुन पाउनु मेरो लागि केवल उपलब्धि मात्र होइन, यो मेरो समग्र जीवनयात्राको एउटा महत्वपूर्ण मोड पनि हो । काठमाडौँबाहिरका स्रष्टाहरूलाई प्रोत्साहन गर्ने उदात्त उद्देश्यले स्थापित यस पुरस्कारले आज मलाई कर्णाली प्रदेशको रुकुम पश्चिमदेखि यहाँसम्म सगरमाथाको काखसम्म ल्याइपुर्याएको छ ।
यसै अवसरमा, यही मञ्चमा सोलुखुम्बुकै स्रष्टा मनुहाङ किरातीज्यूले अमेरिकी मानवशास्त्री तथा अध्येता स्वर्गीय प्राडा ग्रेगरी जी. मस्कारिनेकको स्मृतिमा स्थापित ग्रेगरी कलासंस्कृति पुरस्कार प्राप्त गर्नुभएकोमा उहाँलाई हार्दिक बधाई तथा आगामी सिर्जनात्मक यात्राका लागि शुभकामना व्यक्त गर्न चाहन्छु । साहित्यिक साधनासँगै सामाजिक उत्तरदायित्वलाई समेत मूल्याङ्कन गरी हामीहरूलाई योग्य ठानिनु हाम्रो लागि ठूलो प्रेरणा र अझ ठूलो जिम्मेवारी दुवै हो ।
साहित्यिक पुरस्कारले लेखकलाई केवल सम्मानित मात्र गर्दैन—यसले पहिचान दिन्छ, आत्मविश्वास जगाउँछ, सिर्जनात्मक उर्जा थप्छ र समाजप्रतिको जिम्मेवारी अझ गहिरो बनाउँछ । यही भावनाका साथ म अब अझ सत्यनिष्ठ, संवेदनशील र समाजप्रति उत्तरदायी भएर कलम चलाउने प्रतिबद्धता व्यक्त गर्दछु ।
यस अवसरमा म यस पुरस्कारका नामधारी व्यक्तित्व स्वर्गीय योगेश्वर कार्कीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । जाजरकोटको माटोमा जन्मिएर गीत, कविता, नाटक र यात्रासंस्मरणजस्ता विविध विधामा कलम चलाउने उहाँ एक बहुमुखी प्रतिभाका धनी स्रष्टा हुनुहुन्थ्यो । अनेक संघर्षबीच पनि सिर्जनात्मक यात्रालाई निरन्तरता दिनु उहाँको अदम्य साधनाको उदाहरण हो । उहाँका कृतिहरू आज पनि हामीलाई सत्पथतर्फ डोर्याउने दियालोझैँ लाग्छन् ।
म यो सम्मानलाई मेरो जन्मभूमि रुकुम पश्चिम, मेरा समकालीन स्रष्टा साथीहरू तथा मलाई निरन्तर साथ र माया दिने सम्पूर्ण पाठकहरूप्रति समर्पित गर्न चाहन्छु । अन्त्यमा, योगेश्वर स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वर कार्कीज्यू तथा नेपाली कलासाहित्य डट कम प्रतिष्ठानका अध्यक्ष मोमिलाज्यूप्रति विशेष आभार व्यक्त गर्दै, यस सम्मानलाई प्रेरणाको स्रोतका रूपमा ग्रहण गरी आगामी दिनमा अझ गहिरो र अर्थपूर्ण सिर्जनामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु ।
त्यसपछि स्थानीय साहित्यकार उत्रकुमार राईले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
अन्त्य अध्यक्ष मोमिलाले कार्यक्रमको औचित्यको बारेमा प्रकाश पार्दै कार्यक्रम गर्दा उत्पन्न हुने बाधा चुनौतीहरूको सामना गर्दै यो कलासाहित्य यात्राले समाजमा सद्भाव र सिर्जनाको माध्यबाट राष्ट्रलाई महत्त्वपूर्ण योगदान दिइरहेको कुरा बताउनुभयो । उहाँको व्यवस्थापन शैली अब्बल हुँदा हुँदै पनि कहिलेकाहीँ उहाँका वचनले सहयोगीहरूलाई पनि मन दुखाउनपुगेका घटनाहरू थुप्रै पाइन्छन् । यहाँ पनि स्थानीय सहयोगीहरूलाई स्रोता र अतिथिहरूको उपस्थिति गराउन नसकेकोमा आक्रोश पोख्नुभयो । उहाँका वचनले स्थानीय सहयोगीहरूको अनुहार रातोपिरो भएको प्रष्ट देखिन्थ्यो । उपस्थिति कम थिएन । कार्यक्रमको मध्यतिर हलमा राखिएका कुर्सीहरू भरिएर दर्शकहरू उभिनुपर्ने अवस्था थियो । सोलुस्थिति सरकारी र स्थानीय सरकारका प्रतिनिधिहरू आइदिएको भए कार्यक्रमको शोभा अझै बढ्ने निश्चित् थियो तर रोलक्रममा प्रजिअपछि आउने जिल्ला समन्वय अधिकारी अन्तिम बेन्चमा बसाउनुपर्ने उदाहरणले उच्चतहका अतिथिहरू यस्ता कार्यक्रमबाट तर्किएको पनि हुनसक्छ भन्ने लाग्यो ।
कार्यक्रमका स्थानीय संयोजकहरूमा केशवदेव गिरी, भाइराजा बुढाथोकी र उत्रकुमार राई हनुहुनुहुन्थ्यो ।
ललितपुरमा २०६३ सालमा स्थापना भएको नेपाली कलासाहित्य डट कम प्रतिष्ठान “सद्भाव र सिर्जना” मूल मन्त्रसहित कला, साहित्य, संस्कृति, दर्शन र इतिहासको उत्थानमा सक्रिय संस्था हो। यसले अध्ययन–अनुसन्धान, अनलाइन वेब पत्रिका प्रकाशन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन, गोष्ठी र भ्रमणमार्फत नेपाली सिर्जनालाई विश्वसामु पुर्याउने लक्ष्य राखेको छ।
प्रतिष्ठानले पुरस्कार स्थापना, पुस्तक प्रकाशन, विद्वत वृत्ति, साहित्यकार उपचार कोष, सांस्कृतिक वृत्तचित्र निर्माण तथा स्रष्टा सम्मानजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै, कला र साहित्यका माध्यमबाट सद्भावपूर्ण समाज निर्माण र सांस्कृतिक सम्वर्द्धनमा निरन्तर क्रियाशील छ।
यस संस्थाका प्रमुख संरक्षकमा डा. बिमल प्रसाद कोइराला रहनुभएको छ भने विशिष्ट संरक्षक
उमेश श्रेष्ठ, संरक्षकहरूमा द्वारिका श्रेष्ठ, जलेश्वरी श्रेष्ठ र उषा शेरचन हुनुहुन्छ ।
यस प्रतिष्ठानको अध्यक्ष मोमिला जोशी, उपाध्यक्ष राजेश्वर कार्की, महासचिव
अरूणा वैद्य, कोषाध्यक्ष सुन्दर बस्नेत तथा सदस्यहरूमा सुरेन्द्र श्रेष्ठ, अनन्त वाग्ले,
कुमार नगरकोटी, युवराज अर्याल, महेश पौड्याल रहनुभएको छ ।
कार्यक्रमको समापनपछि खाजा खाएर हामी डाइनिङ हलमा भात पर्खेर बसिरह्यौँ । यस क्रममा प्रमुख अतिथि अशेष मल्ल र प्रमुख संरक्षक बिमल कोइराला सरका कुराहरू एउटै बेन्चमा बसेर सुन्ने अवसर मिल्यो ।
डिनरपछि आआफ्नो कोठामा पुग्यौँ । मेरो मोबाइलको क्वालिटी पनि धेरै राम्रो नभएको र आफ्नो छुट्टै व्यस्तताले फोटोहरू खिच्न पाएको थिइनँ । राति ह्वाट्सएपमा सुन्दर बस्नेत राजेश्वर कार्की सर र अन्य सहभागीहरूबाट पठाएका फोटोहरू डाउनलोड गर्दा गर्दै रातको ११ बज्यो ।
![]()
Post Comment