२०८२ चैत्र २२ गते आइतवार
दुवाकोट भक्तपुर
बिहानै लेखनकुञ्ज जाने काम थियो तर देवकुमारीले आज त जसरी पनि ट्याङ्कीमा पानी भर्नुपर्छ भनेकोले परीक्षितसँगै अफिस हिड्ने काम रोकियो । पहिले यहाँ बस्दा पानीको निकै आपत थियो । हाम्रो घरबाट अलि माथि केशव सुवालको घरमा मात्र फैढोकातिरको पानी आउँथ्यो । फैढोकाको पनि मुहानको पानी नभई बोरिङबाट निकालेको पानी थियो । जुन निकै धमिलो हुन्थ्यो । त्यो पानी हप्तामा दुई तीन दिन मात्र आउँथ्यो र पानी आएको दिनमा १ गाग्रीभन्दा बढी पाइँदैनथ्यो ।
छन त घरमै इनार थियो तर इनारको पानी पनि रातो थियो । ट्वाइलेटमा हाल्नबाहेक अरूमा प्रयोग गर्न नमिल्ने । एकचोटि कतै पानी नहुँदा इनारकै पानीले भात पकायौँ । तर भात त पूरै रातो भयो । रातो मात्र नभई पुरै गन्हाउने भएकोले त्यो भात कसैले खाएनन् । पानी खन्याउनको लागि पानी ट्याङ्की त बनाएका थियौँ तर पानी ट्याङ्करहरूले पनि शुद्ध पानी कता पाऊन् आफ्नै इनारको जस्तो पानी ल्याइदिन्थे । पैँसा पनि १५०० लिन्थे । ट्याङ्कीमा हालेको पानी १ हप्ता पनि पुग्दैनथ्यो ।
वरपर पानी नपाइँदा पानी ल्याउन कि चोङ्गा गणेश मन्दिरसम्म पुग्दथ्यौँ कि निकोसेराको ढुङ्गेधारासम्म । त्यता पनि एक जर्किन पानी भर्न लामो लाइन बस्नुपर्थ्यो । लुगा धुन भने सरस्वती खेलको पूर्वपट्टिको खेतसम्म पुग्थ्यौँ । त्यहाँ मुहानकै ठुलो धारो थियो तर शनिवारको दिनमा त्यहाँ पनि पालो पाइँदैनथ्यो । अन्य वारको बिहान बेलुका वा अफिस बिदा लिएर पनि लुगा धुन गइन्थ्यो ।
घरमै फैढोकाको पानी ल्याउने प्रयास नभएको होइन तर पानी नपुग्ने भएकोले निवेदन पेन्डिङ भइरहेको थियो ।
पछि जारको पानी आउन थालेपछि खानेपानीको निम्ति धेरै सहज भयो । जारको पानी ल्याउन पनि वरिपरि पसल थिएनन् । कि दुवाकोट मोडसम्म कि त बारुदखाना चोकसम्म पुग्नुपर्थ्यो । त्यहाँबाट पानीको जार आफै बोकेर ल्याउनुपर्थ्यो । सुरुसुरुमा पानीको जारसमेत किन्नुपर्थ्यो । एउटै घरमा बाह्र पन्ध्रवटासम्म पानीका जारहरू हुन्थे । हामीले पनि ६ वटासम्म किनेका थियौँ ।
पछि दुवाकोट मोडपट्टिबाट ठिमीतिरको धारा आउने भयो । धाराको लागि उपभोक्ता समिति पनि बन्यो । त्यसमा मलाई नै कोषाध्यक्ष बनाइयो । उपभोक्ताहरूबाट पैँसा उठाउन निकै मिहिनेत गर्नुपर्यो । अफिस बिदा लिएर खानेपानी अड्डामा पटक पटक धाउनुपर्यो । भनेको ठाउँमा उपस्थित नभई अफिसतिर लागेमा छिमेकीहरूको तारो बन्नुपर्थ्यो । बल्लतल्ल घरमा पानी ल्याउन सफल भइयो । घरमै पानी आइपुगेको दिनको खुशी अवर्णनीय थियो ।
पानी नियमित त आउँदैनथ्यो । हप्ताको दुई दिन मात्र आउँथ्यो । तर खानको लागि र खाना पकाउन पर्याप्त नै हुन्थ्यो । पानीको निम्ति छिमेकीहरूबाट टीकाटिप्पणीहरू सहँदै थाउँलाथाउँला गर्नुपर्ने अवस्थाबाट बचेपछि अफिसमा पनि बिदा लिइरहनुपरेन । ठुलो सन्तोषको कुरा यो थियो । मेलम्चीको पानी पनि सल्लाघारीसम्म आइपुग्ने भयो भरे भन्ने खबरले निराश तुल्याएको थियो । उपत्यकाभरि पानीको छेलोखेलो हुँदा पनि पानीको अभावमा बाँच्नुपर्ने भयो भन्ने कुराले खिन्नता जागृत भएको थियो । तर मेलम्चीको पानीले ठिमी र सल्लाघारीलाई पुगेपछि पहिलेको ठिमीको साविकको पानी उनीहरूलाई आवश्यक परेन र दुवाकोटमोडतिरै बग्न थाल्यो । मेलम्चीको पानी आएसरह पानीको सुविधा भयो । एक दिन त ट्याङ्कीमा हालेको पानी पनि भरिएर बाहिर बगेछ । त्यसले दिएको खुशी पनि पैसाले आधारभूत आवश्यकता पुगेर छेलोखेलो भएजस्तै अनुभूति मिल्यो ।
पछि मेलम्चीकै पाइपसँग हाम्रो पाइपको पनि कनेक्सन गरियो होला । दिनरात घरमा पानी आएको आयै गर्न थाल्यो । पानी पटक पटक बगेर छिमेकीको खप्की समेत खान थालियो ।
१ हप्ताभन्दा बढी भइसक्यो त्यो पानी घरमा आएको छैन । फेरि पुरानै समस्या बल्झिएको छ । खानलाई त जारको पानी ल्याए पनि हुन्छ तर वासिङ मेसिनमा हप्ताको तीनचार चोटि पानी हाल्नुपर्छ । कोठा बस्नेहरूले ट्याङ्कीमा भरेको पानी बगाएर सकिदिन्छन् ।
हाम्रो घरसँग माधव केसीको घरमा नेवार परिवार बस्दछ । उनीहरूकोमा मेलम्चीको पानीको पाइप नजोडिएकोले कहिलेकाहीँ हाम्रै घरबाट लिने गरेका छन् । उनको घरमा फैढोकाको पानी आउने भएकोले उनीहरूलाई नै अनुरोध गर्ने कुरा भयो । तर उनको पानी तान्ने मेसिन बिग्रिएर पानी तान्दो रहेनछ । त्यसैले आफ्नै मेसिन जोडेर भए पनि पानी ट्याङ्कीमा भरियो ।
देवकुमारीले भनिन् । यस्तो पानी कसरी प्रयोग गर्ने फैढोकाको पानीको हालत उस्तै रहेछ । हिलो मात्र । ट्याङ्की पनि बिगार्यो । पेट त कति बिगार्ने हो कति
मैले भनेँ पहिले पानी नपाएको अवस्थाको सम्झना गर न । कति दुःख हुन्थ्यो । कस्तो पानी खाइन्थ्यो । यो त धेरै राम्रो हो । जे उपलब्ध छ त्यसैमा सन्तुष्ट हुनुपर्छ ।
पानी भर्ने कामले गर्दा आज लेखनकुन्ज पुग्न अलिकति ढिला भयो । म पुग्दा कमलजी पहिल्यै आइपुगिसक्नुभएको रहेछ । मञ्चविहीनको मञ्च कार्यक्रम सञ्चालन गर्ने गङ्गा खडका बेलायतबाट फर्किसक्नुभएको रहेछ । बेलायतका मिठाई बाँड्न लेखनकुञ्जमै आउनुभएको रहेछ । मिठाई पनि खाइयो र मञ्चविहीनको मञ्च कार्यक्रमलाई अझै प्रभावकारी रूपमा सञ्चालन गर्न के गर्न सकिन्छ भन्ने बारेमा कुराकानी भयो ।
सौरभ आइपुगेपछि क्यालेन्डरलाई रिचेक गरियो । फोटोहरू पनि छनौट गरियो । दिउँसो कमलजीको कोठामा धेरै आगन्तुकहरू आइरहे । तर मेरो लक्ष्य तोकिएको काम धेरै पछि परेकोले आफ्नै काममा लागिरहेँ । फलस्वरूप केपीएनको पुस्तकको एकै दिनमा करिब ७००० शब्दहरूको सम्पादन सकेँ । घर फर्कँदा द्रौपदी अवशेष पुस्तक नै पढेँ ।
बेलुका खाना खाइसकेपछि ह्वाट्सएप चेक गर्दा भरतकुमार शर्माको मेसेज पेन्डिङ देखियो । उहाँले एकजना नर्सको टिकटक भिडियो पठाउनुभएको रहेछ । टिकटकमा २ लाख फ्लोवर्स र २ करोड भ्युजहरू रहेछन् । देवकुमारी निकै नै आकर्षित भइन् । एकातिर कुरा चलिरहेको बखत अर्कोतिर कुरा चलाउनु राम्रो होइन । सामाजिक सञ्जालमा भाइरल भएकालाई परीक्षितले मन पनि पराउँदैन भन्ने कुरा राखेँ । उनले मनाउने जिम्मा मेरो भयो मान्छिन् भने यिनै केटीलाई भन्नुपर्यो ।
उसको पढाइ पनि थाहा छैन । बानी बेहोरा थाहा छैन । घर परिवार के कस्ता छन् थाहा छैन । उसको इच्छा के हो थाहा छैन । अरू त अरू भरत सरले हाम्रै उद्देश्यको निम्ति त्यो टिकटक पठाउनुभएको हो कि होइन त्यो पनि थाहा छैन । भरत सरलाई कुरा के हो भनी मेसेज गर्दा रिप्लाइ पनि आएको छैन ।
पढाइ लगनशीलता चरित्र आदि कुराहरूको मतलब नै हुँदैन दुनियालाई । यी आदर्शका कुराहरू मात्र हुन् । झ्वाट्ट हेर्दा जो राम्रो लाग्यो त्यही प्राप्त गर्न मरिहत्ते गर्छन् । हेर्नै नसकिने सूर्यभन्दा चन्द्रमा नै सबैको प्यारो हुन्छ । वर्षाद् ऋतुले जीवजन्तुको निम्ति अथाह जलभण्डारको सुनिश्चित गरिदिन्छ र हिउँदले उच्च हिमाली भेकहरूमा हिउँ थुप्र्याएर जलप्रवाहलाई अटुट राखिदिन्छ । तर मान्छेहरूलाई यी दुबै ऋतु मन पर्दैनन् । उसलाई त कि शरद कि वसन्त नै मन पर्छ । झ्वाट्ट हेर्दा यिनै ऋतुहरू आकर्षक हुन्छन् ।
तर यी कुरा देवकुमारीलाई भनूँ भने उनी रिसाएर झगडा गर्न बेर गर्दिनन् । हुन पनि हो बुहारी सुन्दरी भए नै सन्तानहरू सुन्दर हुने हुन् । परीक्षित आकर्षक भइदिएको भए केटीहरु आउन मरिहत्ते गर्नेथिए । ऊ आकर्षक हुनको लागि उसका बाबु आमा र घर परिवार तथा मावली परिवार आकर्षक हुनुपर्थ्यो । हाम्रै वंशजको कारणले नै ऊ आकर्षक नभएको हो । उसले जतिसुकै पढे पनि, उसले धुमपान र मध्यपानबाट टाढै रहे पनि, ऊ शान्त, अनुशासित र लगनशील भए पनि ती गुणहरू आजकलकी केटीको प्राथमिकतामा पर्दैनन् ।
बेलुका अनलाइन समाचारहरू हेर्दा डीपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएछन् । एमालेले देशैभरि आन्दोलनका कार्यक्रमहरू ल्याएछ ।
९ बजेतिर देवकुमारी र म इभिनिङ वाकमा निस्कियौँ । आजको गन्तव्य सल्लाघारीको चोङा गणेश मन्दिर पुग्ने ढुङ्गे सिँढीलाई छान्यौँ । सल्लाघारी आसपासको बाटोमा पिच गर्ने तयारी गरेकोले अत्यधिक धूलो मात्र छ । धूलो छल्नलाई हामी कासन खोल्साको किनारै किनार केही माथि गयौँ । पहिले यहाँ खेतै खेत मात्र थियो । अहिले प्लानिङ गरेर धेरै नयाँघरहरू बनिसकेका रहेछन् । बिचबिचमा गल्लीहरू पनि बनिसकेछन् । एउटा गल्ली हुँदै हामी र सल्लाघारीतिर लाग्यौँ । सिँढीमा चारचोटि तलमाथि गरेपछि घरमा फर्कियौँ र दिनलाई बिट मार्यौँ ।
![]()
Post Comment