२०८२ चैत्र १६ गते सोमवार
दुवाकोट भक्तपुर
देवकुमारी हिजोदेखि अलि अस्वस्थ भएकोले आज बिहानै उठेर खाना बनाउनेतिर लागेँ । उनी पनि उठिन् र सहयोग गरिन् । तिमी आराम गर भन्दा मानिनन् । खाना खाएर अफिसको तयारी सक्दा ८ मात्र बजेको थियो । अफिसतिर जाँदा पानी परिरहेको भए पनि छाता लिने झन्झट गरिनँ । मैले बसमा धेरैचोटि छाता छोडेको छु । पहिलेदेखिको हिसाबकिताब राख्ने हो भने १५ वटाभन्दा बढी हराइसकेँ हुँला । तसर्थ हराउनु निश्चित छ भने किन बोक्ने भनी भिज्दै बसस्टपसम्म पुगेँ । भिजेको देखेर बस छिटो आइदिए हुने नि । लगनखेल जाने बस आयो चाबहिल जाने बस पनि आयो तर रत्नपार्क जाने बस भने यो भिजे भिजोस् भनेझैँ गरी सितिमिती आएन ।
बस आइपुगेपछि हतपत चढिहालेँ । बस चढ्दा ८ बजेर १० मिनेट मात्र गएको देखी म छक्क परेँ । ५ मिनेट बस स्टपसम्म आउनै लाग्यो होला । पर्खँन त जम्मा ५ मिनेट त पर्खिएको रहेछु । बस छिटो आएको भए पनि बाटोमा ढिला गरिहाल्छ । बरु ढिला आयो भने बाटोमा छिटो गर्ने भएकोले यात्रा अवधिमा उति फरक पर्दैन । गाडीमा समय बिताउनको लागि केही दिन पहिलेदेखि निलम कार्की निहारिकाको द्रौपदी अवशेष उपन्या पढ्दै छु । योगमाया र चीरहरणजस्तो मज्जा आएको छैन । पाठकहरूको स्वाद पनि फरक फरक हुन्छ । मैले गज्जब मानेको चीरहरण भागवत खनालले मलाई त पटक्कै राम्रो लागेन भनिदिनुभयो । महाभारतका कथाहरू भागवत सरलाई कण्ठस्थ नै भएकोले सत्यतामा कल्पना मिसाई लेखिएको उपन्यास उति मन नपर्नु स्वाभाविक पनि होला ।
गाडीमा पढ्ने कामले गाडीले छिटो गरोस् कि ढिला कुनै अत्यास लाग्दैन । अर्को फाइदाको कुरा अरूको नौरङ्गी अनुहारतिर ध्यान पनि जाँदैन । फाइदा केलाउँदै जाँदा निकै लामो फेहरिस्त बन्न सक्छ । गाडी फनक्क मोड्दा झन्डै लड्न खोजेपछि बाहिर हेरेँ पेप्सीकोला आइपुगेछ । यहाँ आइपुग्दा जम्मा साढे आठ बजेको थियो । लाग्यो लेखनकुञ्जमा पुग्दा ९ मात्र बज्नेछ । १ घण्टा आफ्नै काममा लाग्न पाइने देखेर म दङ्ग परेँ ।
तर छाप्रो पुगेपछि भने जाम सुरु भइहाल्यो । धेरै दिन भएको थियो यो बाटोमा जामको समस्या नभोगेको । आजै किन जाम भयो अनौठो लाग्यो । जति समय बित्दा पनि गाडी सर्दै सरेन । सबै यात्रीहरू अधैर्य भइरहेका छन् ।सुस्केरा हाल्दै छटपटी प्रकट गरिरहेका थिए । कति त सरकारी कर्मचारीहरू पनि होलान् । नयाँ सरकारका मन्त्रीहरू छड्केमा आइदेलान् भन्ने डर पनि थियो होला । वा काम सक्ने हतारो थियो होला । अन्य पेसाका व्यक्तिलाई झन् हतार थियो होला । यति समयमा पुग्छु भनेर अड्कलेर हिँडेकाहरू सो समयमा पुग्न नसक्दा बेहोर्नुपर्ने हानिहरू अलग अलग होला । हानि नाप्ने यन्त्र भइदिए बसका यात्रीहरूको जम्मा यात्रीहरूको हानिको आयतन कति हुन्थ्यो होला यस्तै सोचिरहेँ मैले ।सरासर जाम नपरेर जाँदा ५ मिनेट लाग्ने यो बाटोमा जडीबुटी पुग्न आधा घण्टा लागिसकेको छ । सायद पछाडिको जाम पेप्सीकोलासम्मै पुग्यो होला ।
बल्लतल्ल कछुवा गतिमा सर्दै सर्दै गाडी जडीबुटी चोकमा आइपुग्यो । नयाँ बाटोको गाडी जाम पटक्कै थिएन ।तर पेप्सीकोलातिर आउने गाडीहरूलाई छोड्दै नछोड्ने कारण के रहेछ सबै यात्रीहरू रणभुल्ल थिए । कसैले भन्दै थियो नयाँ सरकारलाई खुसी पार्ने उपाय हुनसक्छ । मूल सडकमा जाम नदेखिए कतै जाम हुँदैन भन्ने पार्न यस्तो गरिएको हो कि ?
९ बजे मात्र जडीबुटीको मूलसडक छुन पायो गाडीले । कोटेश्वरको जाम टङ्कप्रसाद आचार्यको शालिकसम्म आइपुगेको रहेछ । लाग्यो टङ्कप्रसादले नै सिठ्ठी फुक्दै यहाँनेर ट्राफिक प्रहरीको काम गरिरहेका छन् । बिचरा टङ्कप्रसाद कोटेश्वर चोकबाट लखेटिएका लखेटिएई छन् । यहाँसम्म आइपुग्दा उनको रङरोगन हराइसकेको छ । ढले भने कसले पो उठाउला र ?
कोटेश्वर चोकको जाम पार गर्न अरू १० मिनेट लाग्यो ।कहिल्यै जाम नपर्ने कोटेश्वरको ओरालोमा पनि जाम नै छ । तीनकुने जाम वानेश्वर जाम बिजुलीबजारसम्मै जाम । आजै किन यस्तो जाम परेको होला ? सम्भावित उत्तर नसोधेरै पनि यात्रीहरूले नै दिइरहेका छन् । कसैले भन्छन् नयाँ सरकारको डरले कर्मचारीहरू एकै समयमा हुत्तिएकोले यस्तो जाम परेको हुनुपर्छ । कसैले भन्छन् होइन एमालेले आन्दोलन गरिरहेकोले आन्दोलनकारीहरूले नै जाम बढाइरहेको हुनुपर्छ । दुबै सही पनि हुन सक्छ । दुबै तर्क गलत पनि हुन सक्छ । बिजुलीबजारमा ओर्लिएर हनुमानथानको पुलसम्म जाँदा पनि सवारी जाम । हनुमानथानको जाम त थापागाउँसम्मै पुगेको रहेछ । हैन के भएको हो आज यो ?
लेखनकुन्ज पुग्दा १० बजिसकेको थियो । सौरभ र चाहना बिहानै आएर काम थालिसकेछन् । छिटो पुगेर आफ्नो काम गर्छु भन्थिस् यीः खाइस् भन्दै आफूले आफैलाई लोप्पा खुवाएँ ।
क्याप्टेन डीआर निरौलाको आकाश यात्राको दोस्रो संस्करण निकाल्नुपर्ने तयारी रहेछ सबै मिलेर । कमल ढकाल सर र निरौलाले मलाई नै जिम्मा दिएका छन् दोस्रो संस्करणमा सुधार गर्नुपर्ने कुराहरू । यस पुस्तकको समीक्षा खोजेर सम्पादन गरी राख्नु छ ।निरौलाले पठाएको लिङ्क पनि खुलेन । गुगल सर्च गर्दा उदघाटनका समाचारहरू र एउटा समीक्षा पनि भेटियो । त्यसैलाई कपि गरेर श्रीनाथ बोल्ड फन्टमा कन्भर्ट गरेँ । समाचार शैलीको शब्दैपिच्छे अशुद्ध वाक्यहरूलाई सुधार्नै समय लाग्यो । सौरभसँग बसेर सेटिङ र च्याप्टर मिलानको काम गर्न थालेँ । पुरानो सफ्टकपी पेजमेकरमा रहेछ । अहिले इनडिजाइन प्रोग्रामबाट काम गर्नुपर्ने । भनेजस्तो सजिलो रहेनछ । सुधारौँ भन्दा घरी यता बिग्रिन्छ घरी उता । सिर्जनासमेतको सहयोग लिई धन्न १ बजेसम्म काम सकियो ।
चाहना र सिर्जना खाजा खाएर आएपछि अकस्मात् मलाई बधाई दिइयो । म अकमकिएँ । राप्ती साहित्य परिषद् रुकुम शाखाले मुसीकोट नगरप्रमुख साहित्य पुरस्कार दिने निर्णय गरेको रहेछ । मलाई यस बारेमा संकेत त गरिएको थियो तर पत्याएको भने थिएन ।
पृथ्वीले हामीलाई जे जे दिएको छ, त्यसको लेखाजोखा शब्दमा समेट्नै सकिँदैन। हामी जन्मियौँ भने पनि उसैले अँगालो हालेर पाल्छ, हामी नजन्मिए पनि अरूका निम्ति त्यही उदारताका साथ दिइरहन्छ। पृथ्वीलाई बदलामा हामीले दिने कुरा शून्यप्रायः छ । केवल उसको माटोलाई श्रद्धासाथ शिरमा धारण गर्दै, उसका अथाह सम्पदाहरूको अन्धाधुन्ध दोहन गर्नबाट पछि हट्यौँ भने मात्र त्यो नै मनुष्य जगतको ठूलो योगदान ठहरिनेछ ।
समस्त जीवजगतको निम्ति सूर्यको योगदान त झन् अवर्णनीय छ। हामीले सूर्यप्रति कृतघ्नता देखायौँ भने पनि, वैरभाव राख्यौँ भने पनि ऊ निरन्तर उज्यालो र ऊर्जा बाँडिरहन्छ। पञ्चमहाभूतका तत्त्वहरू जल, अग्नि, वायु सबैको स्वभाव पनि त्यस्तै उदार र निष्काम छ।
समुद्रको गहिराइमा हीरा र मोती असरल्ल छन्। हामीले तिनलाई निकालेर प्रयोग गर्यौँ भने तिनीहरू मूल्यवान देखिन्छन्; प्रयोग नगरे पनि तिनको मौलिक मूल्य कहिल्यै घट्दैन। बजारले तोकेको मोल र वस्तुको वास्तविक मूल्यबीच सधैँ फरक रहन्छ ।
जङ्गल, जडीबुटी, पहाड, वनस्पति र समग्र जीवजगत, सबैको आफ्नै अस्तित्व र महत्त्व छ। यार्चागुम्बा टिपेर बजारमा पुर्याइयो भने त्यो बहुमूल्य ठहरिन्छ; तर विकट हिमालको कुना-कन्दरामा त्यसै रहँदा पनि यसको जीवनचक्र र मूल्य कुनै कम हुँदैन।
आमाले सन्तान जन्माएर उसमा मातृवत्सल माया खन्याउँछिन्, तर प्रतिफलको कुनै अपेक्षाबिना । चराले आफ्ना बचेराहरूलाई खोजीखोजी चारो खुवाउँछ, तर तिनीहरू हुर्किएपछि आफूलाई पाल्लान् भन्ने आशामा होइन। यी सबै प्रकृतिका निस्वार्थ पाठहरू हुन्।
यिनै अनुभूतिहरूका आलोकमा मैले आफूलाई प्राप्त पुरस्कारहरूलाई हेर्ने प्रयास गरेको छु। यस वर्ष प्राप्त भएका सम्मानहरूको आफ्नै महत्त्व अवश्य होला, तर मैले साहित्यको मार्ग अवलम्बन गर्नु कुनै पुरस्कारको अपेक्षाले होइन, स्वान्तःसुखायको निम्ति हो। मैले गरेका कार्यहरूको मूल्याङ्कन गर्ने समय भइसकेको छैन जस्तो लाग्दछ ।
गत वर्ष नै मलाई नेपाली कला साहित्य डटकम प्रतिष्ठानले पुरस्कृत गर्ने प्रस्ताव राखेको थियो । मैले अहिले होइन दिन आवश्यक ठाने भविष्यमा सम्झनुहोला भनेको थिएँ । राप्ती साहित्य परिषद् रुकुम पश्चिम शाखाले प्रदान गर्ने पुरस्कार पनि प्रस्तावितमा नाम परेको सुन्दा मैले अहिल्यै पुरस्कार प्राप्त गर्ने गरी मैले केही काम गरेको छैन ।उपलब्धिमूलक काम गर्न सकेँ भने पछि दिनुहोला भनेको थिएँ ।तर अहिल्यैको कामको मूल्याङ्कन गरी पुरस्कार दिइहाल्नुभएछ । आभारी छु अनुग्रहित छु ।
मेरा अपूर्ण प्रयासहरूलाई पनि मूल्याङ्कन गर्दै अहिले नै सम्मानित गर्नुभएकोमा राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिम, पुरस्कार छनौट समिति तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु । मुसीकोट नगरप्रमुख साहित्य पुरस्कारको निम्ति मलाई योग्य ठानिनु मेरो लागि ठूलो प्रेरणा र जिम्मेवारी दुवै हो ।
यस अवसरले आगामी दिनमा अझ गम्भीर, प्रतिबद्ध र सिर्जनशील भएर अघि बढ्न ऊर्जा प्रदान गर्ने नै छ । यो सम्मानलाई पनि म मेरो जन्मभूमि रुकुम पश्चिम, समकालीन स्रष्टा मित्रहरू तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति समर्पित गर्न चाहन्छु ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमबाट पुरस्कृत हुनुहुने प्रस्तावित महानुभावहरू सबैलाई हार्दिक बधाई तथा शुभकामना पोस्ट घरमै गएर तयार गर्छु भनी सोचेँ ।
प्रेसका नगेन्द्र लामाले क्यालेन्डरको फर्म्याट पठाइदिएका रहेछन् । मैले क्यालेन्डरमा अत्यावश्यक बिदाहरू र साहित्यिक इभेन्टहरू राख्न थालेँ । नेपाली साहित्यकारहरूको जन्म मिति खोजेर जन्म जयन्तीको निम्ति गतेहरू राखेँ । धेरैजसो त दोहोरो तेहरो जन्म मितिहरू पनि भेटिए । विवाद आएमा पछि सुधार्ने ठाउँ छँदै छ । अहिले रोकिनुभएन ।अन्तर्राष्ट्रिय साहित्यकारहरूको जन्मजयन्ती राख्ने काम आज भ्याउन सकिएन । ५ बजिसक्यो । बिचबाट गाडी चढ्न सकिँदैन भनेर रत्नपार्कतिर जाने टेम्पोमा चढेँ र भृकुटीमण्डप ओर्लिई बागबजार पुगेँ । गाडी खाली नै थियो । अघिपछि कोचाकोच हुने गाडीमा आज भने खाली नै बागबजारबाट हिँड्यो । बाटोमा चढ्ने यात्रीहरू पनि खासै बढेनन् । सानोठिमी पुग्दा त पूरै खाली भइसकेको थियो । पुरानो बाटो भक्तपुर चल्ने यस्तो गाडीमा आजपर्यन्त कहिल्यै भेटेको थिएन । दशैँ तिहारको छुट्टीमा त चढियो होला ।
परीक्षित आइसकेको रहेछ । किरणले फोन गरेकी रहिछन् देवकुमारीलाई । मैले भनेँ एउटा निष्कर्षमा पुग्न थालेको बेला अब फेरि अलमल्याउने पो हुन् कि । निर्णय फेरिरहने देवकुमारीलाई केही भन्न पनि सकिएको छैन ।
देवकुमारीको इन्सुलिन र मेट्रोफर्मिनहरू सकिएको रहेछ केएमसी हस्पिटल नजिक पुगेर औषधिहरू ल्याएँ ।
जेठा जेठान लोकबहादुर खडकासँग अस्ति दाङमा श्रीमतीको हत्या गर्ने गोपाल वलीको बारेमा कुराकानी भयो । उहाँले भनेअनुसार श्रीमतीले गोपालविरुद्ध डिभोर्सको मुद्दा पनि दिएकी रहिछन् । गोपालको सहमतिबिना विदेश जाने तयारीमा रहिछन् । गोपालले आफू कार्यरत रहेकै ठाउँमा लिन खोजेका रहेछन् तर श्रीमतीले मानेकी रहिनछिन् । त्यस दिन श्रीमतीले नै पहिले गोपालमाथि हात छोडेकी थिइन् रे । प्रतिकारमा उत्रँदा श्रीमतीको मृत्य नै भएछ ।
गोपालले दाङमा राम्रो घर बनाएर बसेका रहेछन् । घरको व्यवस्थापन पनि बाहिरबाट एकदमै राम्रो देखिएकोले कलहले घर भाँडिएला जस्तो नदेखिएको जेठानले बताउनुभयो । घटना भइसकेपछि जेसुकै कुरा भए पनि के लाग्यो र ? आमाको निधन र बाबुको जेलवासले साना बच्चाबच्चीको बेहाल हुनेभयो भन्ने तर्क गर्नुभयो जेठानले ।
सम्धी चितवनबाट हेटौँडा पुगिसक्नुभएछ । सम्धिनी भने अस्मितासँगै चितवन बस्नुभएछ ।
![]()
Post Comment