×

२०८२ चैत्र १५ गते

२०८२ चैत्र १५ गते

दुवाकोट भक्तपुर

आज भतिजी संगीताका छोरा अर्थात् हाम्रो नाति निकेश कुँवरको व्रतबन्ध तथा नातिनी निकिता कुँवरको गुन्यु चोलोको कार्यक्रममा सहभागी हुन पशुपतिको वनकालीमा पुग्यौँ । हामी जाँदा पूजाको काम लगभग आधाआधी सकिइसकेको रहेछ । पूजाको काम सकिएपछि दुबैजनालाई सिदा दियौँ र दक्षिणा पनि दियौँ ।

आज व्रतबन्धको शुभ साइत रहेछ । वनकालीमा २०० जनाभन्दा बढीको व्रतबन्ध हुँदै रहेछ । केही स्थानमा एकल पूजा भए पनि अधिकांशमा संयुक्त व्रतबन्ध भइरहेको थियो । वनकाली पूरै पहेँला वस्त्र लगाएका बटुकहरूले ढाकिएको थियो । कतै वनबाटिकाको ऋषि आश्रममा पुगिएको जस्तो भान हुन्थ्यो ।धर्म संस्कृति अपनाउनेहरूको निम्ति संयुक्त कार्यक्रमले लागत घटाउनुको साथै सम्बन्ध बढाउन सकिने पनि देखेँ । सबैभन्दा राम्रो पक्ष भनेको भोज भतेरको सट्टा वनकालीकै टेन्टभित्र सादा खाना पकाइँदो रहेछ । खर्च पनि कम लाग्ने । खाना पनि शुद्ध । व्रतबन्ध गर्ने परिवारलाई दौडधुप गर्नु पनि नपर्ने । पाहुनाहरू धेरै बोलाउनु पनि नपर्ने । बिहे लगायतका अन्य संस्कारहरूमा पनि यस्तै मितव्ययी कार्यक्रमको आयोजना गरे सामाजिक लागत घट्न जाने देखेँ ।

त्यहीँ सादा खाना खाएपछि म र देवकुमारी फर्कियौँ । मेरो इच्छा लेखनकुञ्ज जाने थियो तर देवकुमारीले अस्ति किनेको जग्गामा बाटो पुर्‍यायो कि पुर्‍याएन हेरेर आऊँ भनेपछि मैले नाइँ भन्न सकिनँ ।हामी नख्खु भैँसेपाटी बुङ्मती हुँदै खैँचा पुग्यौँ । अलिकति परको गाउँलाई खैँबु भनिँदो रहेछ भने वारिको गाउँलाई मैपानी र माथिको बजारलाई चुनिखेल भनिँदो रहेछ । ६ लाख आनादेखिका जग्गा पाइएकोले अरूको लहै लहैमा लागेर संचित बिदा र उपचार खर्च तथा सञ्चयकोषको पैसा लगानी गरेर पौने ४ आना आउने जग्गा लिएको २ महिना भइसक्यो तर बाटो पुर्‍याउने लक्षण छैन । बाटो नै नबनाई कम्पनी भाग्यो भने यति टाढा किनेको जग्गा निल्नु न ओकल्नु मात्र हुनेछ ।

जग्गामा बाटो पुर्‍याउने कुनै काम सुरुवात नभएको देखी मन मिर्दै हामीहरू घरतिर फर्कियौँ ।

आज लेखनकुञ्जमा नगए पनि लेखनकुञ्जकै कामको लागि आत्मकथाको काम भइरहेका हरिप्रसाद पाण्डेका भतिज महेश थपलियाको घरमा गइयो । उहाँसँग पुस्तकमा परेका दोहोरोपन अस्पष्टता र छुटपुटलाई मिलाउने सम्बन्धमा कुरा भयो । महेश थपलियाले रुकुम पश्चिको चौरजहारी नगरपालिकामा पनि निर्माणको जिम्मा लिनुभएको रहेछ । थाइलैण्डका वर्तमान राजदूत धनबहादुर ओलीका सहपाठी हुनुहुँदोरहेछ ।धनबहादुर मेरो पनि चिनजानकै बन्धु हुनुहुन्छ । यसले पनि उहाँमा सकारात्मक प्रभाव परेको छ ।

बेलुका राप्ती साहित्य परिषद् रुकुम शाखाको आठौँ भर्चुअल रचना वाचन कार्यक्रम मनलाल ओलीको अध्यक्षतामा सम्पन्न भयो । रोल्पाका मुक्तककार पुष्पा सुवेदीले १५ वटा मुक्तकहरू सुनाउनुभयो भने राप्ती साहित्य परिषद्का पूर्व अध्यक्ष टीकाराम उदासीले गहन समीक्षा गर्नुभयो । विशेष अतिथि भरतकुमार शर्माले यस कार्यक्रमलाई अझै परिष्कृत गर्नुपर्ने सम्बन्धमा महत्त्वपूर्ण विचार राख्नुभयो ।सचिव ओमबहादुर खत्रीले सञ्चालन गरेको उक्त कार्यक्रममा गिरिप्रसाद बुढा, मुकुन्द शर्मा, तुलसी केसी, खगेश्वर भण्डारी, सिर्जना शर्मा लगायत हुनुहुन्थ्यो ।

कार्यक्रम सकिएपश्चात् पनि साहित्यकार मित्रहरूसँग आगामी वार्षिक कार्यक्रम इच्छुक प्रतिष्ठानको कार्यक्रम र यस शाखाले प्रदा गर्ने पुरस्कारहरूको व्यवस्थानको सम्बन्धमा कुराकानीहरू आदान प्रदान गर्दा रातको १० बज्यो ।

राति १० बजेपछि कमल ढकालसँग हरिप्रसाद पाण्डेको पुस्तकको सम्पादनको काम सक्ने सम्बन्धमा कुराकानी भयो ।

त्यसपछि दिनभरिका अनलाइन समाचारहरू हेर्दै गएँ । बालेन सरकारले १०० बुँदे कार्यूचि हिजो बेलुका नै जारी गरेको रहेछ जसमा खास गरी भ्रष्टाचारलाई न्युनीकरण गर्ने कार्यक्रमहरू धेरै परेका छन् । ऐन कानुनलाई पनि प्राथमिकता दिइएको छ ।

साथै लोकतान्त्रिक प्रक्रिया सुदृढ गर्दै सबै पक्षबीच सहकार्य, सहमति र राष्ट्रिय प्रतिबद्धता निर्माण गरिने। संविधान संशोधन, सामाजिक न्याय र वञ्चित समुदायप्रति उत्तरदायित्व पूरा गरिने। सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणका लागि कडा नीति तथा संयन्त्र लागू गरिने। प्रशासनिक सुधार गर्दै सरकारलाई परिणाममुखी, जवाफदेही र राजनीतिक हस्तक्षेपमुक्त बनाइने। सेवा प्रवाहलाई छिटो, सरल र पूर्ण रूपमा डिजिटल बनाउँदै नागरिकमैत्री प्रणाली विकास गरिने। डिजिटल शासन, डेटा व्यवस्थापन र प्रविधिमैत्री पूर्वाधार निर्माण गरिने। लगानी, उद्योग, व्यवसाय र रोजगारी प्रवर्द्धन गरी आर्थिक गतिविधि सशक्त बनाइने पूर्वाधार विकास (सडक, ऊर्जा, खानेपानी, शहरी विकास) लाई समयमै र प्रभावकारी रूपमा अगाडि बढाइने। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायत सामाजिक क्षेत्रको सुधार र आधुनिकीकरण गरिने। सुरक्षा, कानुनी सुधार र सार्वजनिक सेवा प्रणाली सुदृढ गर्दै समग्र शासन प्रभावकारी बनाइने आदि कुराहरू पनि परेका छन् ।

उल्लिखित कार्यसूचीको कार्यान्वयन गर्न सक्यो भने बालेन सरकार सफल हुने देखिन्छ । नारामा सीमित रहे भन्न सकिँदैन ।

बालेनले सचिवहरूलाई कडा निर्देशन दिएको कुरा पनि चर्चाको विषय बनेको छ । ओली देउवा र प्रचण्ड आरजु तथा दीपक खडकाको सम्पत्ति छानबिन गर्न सीआइबीले काम थालनी गरेको पनि समाचार छ ।

Loading

Post Comment

You May Have Missed