×

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

दुवाकोट भक्तपुर

आज बिहानै उठेर लेखनकुञ्जको अफिसतिर लागियो । केही  दिन यता अफिसमा बाहिरबाट भेटघाट गर्न आउनेको बाक्लो उपस्थिति हुन थालेकोले तोकिएको जिम्मेवारीको लक्ष्य पूरा हुन सकेको थिएन । आज दिउँसो साहित्य पोस्टका आजीवन सदस्यहरूको सम्मिलन तथा छलफल कार्यक्रम आयोजना गरिएकोले अनिवार्य रूपमा उपस्थित हुन अस्तिदेखि नै अश्विनी कोइरालाले अनुरोध गरिरहनुभएको थियो । दिउँसो १ बजे त्यता जानुपर्ने भएकोले कम्तीमा केपीएन अलको ३००० शब्द सम्पादन गरिसक्न बिहानै लेखनकुन्ज लागेको थिएँ । कार्यालय खोल्न विवशजीलाई भनिसकेको थिएँ । घरबाट साढे ६ बजे नै निस्किए तापनि लेखनकुन्ज पुग्दा साढे ८ बजिसकेको थियो ।

अफिसको काम सुरु गर्नुअघि परिशीलन प्रतिष्ठानको कार्यक्रम र क्रियाकलाप मेनुमा ओली वंश अक्षय कोषबाट परिशीलन स्मृति इन्जिनियरिङ पुरस्कार पाउनेहरूको नामावली राख्नको निम्ति नामहरू खोज्न थालेँ । कसैको फोन उठेन । शान्तिराम ओलीलाई अनुरोध गरेपछि २०७९ सालसम्मको लिस्ट उपलब्ध गराइदिनुभयो तर त्यसपछिको अभिलेख खोज्न धौधौ पर्‍यो । त्यसलाई थाती राखेर केपीएन सम्पादनतिर लागेँ ।

सिर्जनाजीलाई प्रकाशोन्मुख कविता सङ्ग्रहभित्रका कविताहरू हेरिदिन हिजै अनुरोध गरेको थिएँ । उहाँले कोठामा आधा हेर्नुभएछ र अफिसमा आइपुगेर आधा हेर्नुभएर पाण्डुलिपी फिर्ता गर्नुभयो । चाहना मोहित र सौरभहरू पनि समयमा नै आइपुग्नुभयो र अघिपछिझैँ काममा खटिनुभयो । लेखनकुञ्जको आफ्नै क्यालेन्डर प्रकाशन गर्ने तयारीको लागि सबै साथीहरूलाई पुनः अनुरोध गरेँ ।

दिउँसोतिर भाइ गणेश खडका आउनुभयो । परिशीलन प्रतिष्ठानको वेबसाइट बारेमा उहाँलाई पनि अवगत गराएँ । करिब ४ हजार शब्द सम्पादन सकेर साढे १ बजे अश्विनीजीको कार्यक्रममा सहभागी हुनको निम्ति अफिसबाट निस्किएँ । गणेशजीले आफ्नो बाइकमा बिजुलीबजारसम्म छोडिदिनुभयो र त्यताबाट लोकल बसमा चढी कौशलटार पुगेँ ।शुभाकाङ्क्षा सभा  (आजीवन सदस्य सम्मेलन) नाम दिइएको कार्यक्रम कौशलटार र गठ्ठाघरको ठिक बिचको रेष्टुँरा झिग्गुपुच्चा भन्नेमा रहेछ । सहभागीहरू पहिल्यै आइसक्नुभएको रहेछ । सहभागीहरूमध्ये साहित्यपोस्टसँग आवद्ध हालैको निर्वाचनमा रास्वपाबाट निर्वाचित सांसदहरू गणेश पौडेल र गनेस कार्की पनि आउनुभएको थियो । अन्य सहभागीहरूमा सनत कुमार वस्ती,  विनय कुमार भण्डारी, शरच्चन्द्र वस्ती . सुनिता सुबेदी, गणेश प्रसाद लाठ, चेतन काफ्ले, तारादेवी सुनुवार, सुमन पाण्डे, पूर्ण ओली, आलोक चालिसे,  ज्ञानेन्द्र विवश, बिनोद खड्‌का, कृष्ण बाउसे, सञ्जीव पौडेल,  हरि गौतम, चैतन्य अधिकारी,  योगेन्द्र तिमिल्सिना,  हरिप्रसाद उप्रेती  र खगराज बराल आदि हुनुहुन्थ्यो । तैँतैँ धितालले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व सनतकुमार वस्तीले गर्नुभएको थियो भने कार्यक्रमको औचित्यको बारेमा अश्विनी कोइरालाले प्रकाश पार्नुभएको थियो । सांसद द्वय गणेशद्वयले महत्त्वपूर्ण मन्तव्यहरू दिनुभएको थियो ।

कार्यक्रममा साहित्य पोस्टले कुनै राजनीतिक विचारधाराबाट अलग हुनुपर्छ भनेर बारम्बार भनिरहनुभएको थियो भने कार्यक्रमका आयोजक अश्विनी कोइरालाले सांसदहरू गणेशद्वयको प्रचार गरिदिएको भन्ने कुरा समेत बताइरहनुभएको थियो ।

साहित्यपोस्टलाई सञ्चालन गर्नको लागि अश्विनी कोइरालाले आफ्नो काठमाडौँस्थित जग्गा बेचेर ५४ लाख लगानी  गरेको र अन्य मनकारी व्यक्तिले २ लाखदेखि २० लाखसम्म सहयोग प्रदान गरिएको विवरण दिइएको थियो । १०० जनाभन्दा बढी आजीवन सदस्यहरूबाट प्रतिव्यक्ति रु २५००० का दरले सदस्यता शुल्क प्राप्त भएको बताइएको थियो । यसरी करिब २ करोड ५० लाख रकम उठेर अझै ५ वर्ष यसलाई सुचारु राख्न थप २ करोड ५० लाख आवश्यक पर्ने भएकोले सहयोगदाताहरूले सहयोग गर्न अपिल गरिएको थियो । बर्माबाट आएकी अध्ययनार्थ काठमाडौँ आएकी तैँ तैँ धितालले ५ लाख रुपैयाँ आफ्नै लगानी गरेर होलटाइमरको रूपमा साहित्य पोस्टमा काम गरिरहनुभएको रहेछ । साहित्य पोस्टका अन्य कर्मचारीहरूको पनि यो अवस्था हुनसक्छ । साहित्यपोस्टबाट प्रकाशित हुने कृतिहरूको सम्पादक सेटिङ र डिजाइनमा सहयोग गरिरहनुभएका अच्युत कोइराला जो अश्विनीका आफ्नै सहोदर भाइ हुनुहुन्छ । उहाँ भने कार्यक्रममा देखिनुभएन ।

मैले आफ्नो मन्तव्य राख्ने क्रममा नेपालका सबै पालिका र सबै विद्यालयहरूमा साहित्य पोस्ट पुग्नुपर्ने यसले साहित्य पोस्टको निम्ति विज्ञापन उठ्ने मात्र नभई पाठकहरू अझै बढ्ने सम्भावना औँल्याएँ । प्रत्येक देश तथा नेपालकै प्रत्येक जिल्लामा साहित्य पोस्टका प्रतिनिधिहरू तोक्न सकेमा अझै प्रभावकारी हुने सुझाव राखेँ । तर अश्विनीजीले पालिका र विद्यालयहरूले सहयोग गर्न नसकेको बताउनुभयो । प्रतिनिधि तोक्ने विषयमा भने बोल्नुभएन । सम्भवतः उल्लेख्य लगानीकर्ता मात्र प्रतिनिधि हुनसक्ने र विभिन्न जिल्लाबाट त्यो लगानी उठ्न नसक्ने भाव थियो होला ।

त्यसो त लोकवार्ता परिषद् पनि प्रेम खत्रीको व्यक्तिगत २० लाख लगानीले चलेको सुनेको थिएँ । लेखन कुञ्जमा कमलजीको आफ्नो लगानी पनि परेको होला तर यहाँ भने पुस्तक लेखाउनेहरूले गर्दा व्यवस्थापन पक्ष धानिएको छ । भौतिक स्रोत साधनहरू मर्मत गर्ने अवस्थामा पुगेका छन् तर स्रोतको अभावले गर्दा मर्मत हुन नसकी लेखन कुञ्जको प्रभावकारितामा असर परिरहेको छ । राप्ती साहित्य परिषद् केन्द्रीय कार्यालयको प्रशासकीय भवन तथा पुस्तकालय पूर्व अध्यक्षको स्वलगानी हो र राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको नवनिर्मित भवनको जग्गा मनलाल ओलीले आफ्नी दिवंगत पत्नीको स्मरणमा दान गर्नुभएकोले त्यसैमा कर्णाली प्रदेश सरकारको बजेटले भवन बन्ने क्रममा छ । साहित्य आफ्नै नामको निम्ति हो । न अरूले लगानी गरिदिन्छ न त सो लगानीबाट नाफा नै उठ्दछ ।

अश्विनीजीले आयोजना गरेको कार्यक्रम सकिनेबित्तिकै म कार्यक्रम हलबाट बाहिर निस्किएँ । कार्यक्रम पश्चात् भागवत खनाल सरसँग भेट गर्ने कार्यक्रम थियो तर उहाँको फोनमा सम्पर्क हुन नसकेकोले हरिप्रसाद भण्डारी सरको गठ्ठाघरतिर लागेँ ।तर हरि सर कोटेश्वरतिरबाट आउँदै हुनुहुँदो रहेछ । एकछिन बस स्टपमै कुराकानी भएपछि उहाँसँग पनि बिदाबारी भई म दुवाकोटतिर लागेँ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिममार्फत् प्रदान गरिने पुरस्कारहरूमध्ये योगमाया लोकसाहित्य पुरस्कारको निम्ति नाम सिफारिस गर्नको लागि मनलाल सरले मलाई पनि घचघच्याइरहनुभएको थियो । यो पुरस्कार पहिलो वर्ष रुकुमकै अरुणकुमार शाह र दोस्रो वर्ष तिलक परियारलाई प्रदान गरिसकिएको छ । तेस्रो वर्ष अर्थात् २०८२ को लागि जय देवकोटालाई सिफारिस गर्ने मनस्थिति गराएर उहाँलाई सम्पर्क गरेँ । तर उहाँले यसै समयमा विदेश जानुपर्ने बताउनुभयो । अर्को स्रष्टा भद्र नकाललाई पनि पुरस्कृत गर्न सम्भावित सूचीमा रहेको जानकारी गराएको थिएँ । उहाँले शारीरिक अस्वस्थताको कारण हिँडडुल गर्न सक्ने अवस्थामा समेत नभएकोले उपस्थित हुन नसक्ने बताउनुभयो । राप्ती साहित्य परिषद्का साथीहरूले सम्मानित वा पुरस्कृत हुने व्यक्ति पुरस्कार बुझ्न कार्यक्रममा अनिवार्य उपस्थित हुनुपर्ने र उपस्थित हुन नसक्नेलाई प्राथमिकतामा नराख्न बारम्बार अनुरोध गरिरहनुभएकोले यस वर्ष राप्ती क्षेत्रभित्रका अर्का लोकसाहित्यमा समेत योगदान पुर्‍याइरहनुभएका स्रष्टा कमलमणि देवकोटालाई सिफारिस गरिने कुरा मनलाल ओलीजीलाई बेलुका भिडियो कल गरेर बताएँ ।

मनलाल सरले आगामी चैत्र २० गतेदेखि रुकुम पश्चिममा इच्छुक प्रतिष्ठानले साहित्यिक विमर्श कार्यक्रम सञ्चालन गर्ने र उक्त साहित्य विमर्शका विषय र वक्ताहरुमा साहित्य लेखनमा विषय उठान र त्यसको वैचारिक निरुपण – मित्रलाल पंज्ञानी, साहित्यमा वर्गीयता र समाजवादी यथार्थवाद – प्रा.डा. नन्दीश अधिकारी र मार्क्सवादी सौन्दर्यशास्त्रमा साहित्यको रुप र अन्तर्ववस्तुको संयाेजन – प्रा.डा.जगदीश चन्द्र भण्डारीले कार्यपत्र प्रस्तुत गर्ने बताउनुभयो । मैले पुरस्कार बुझ्नको लागि सोही समयमा सोलुखुम्बु जानुपर्ने भएकोले म उपस्थित हुन नसक्ने बताउँदै कार्यक्रम सफलताको शुभकामना दिएँ ।

बेलुका सम्धी बद्री पाठकको परिवारसँग कुराकानी भयो । सम्धिनी भने भिडियोकलमा जोडिन चाहनुभएन । बहिनी किरण खडका र अस्मिता तथा नातिहरूसँग भिडियोकल गरेर आजको दिनलाई बिट मारियो ।

Loading

Post Comment

You May Have Missed