श्रुति परम्परा
एउटा रमाइलो प्रसङ्गबाट कुरा सुरु गरौँ ।
करिब पन्ध्र वर्षअघिको कुरा हो । मेचीदेखि महाकालीसम्मका करिब तीस जना सहभागीको उपस्थितिमा काठमाडौँमा सूचनासम्बन्धी एउटा गोष्ठी चलिरहेको थियो । एक जना प्रशिक्षकले “सूचना कसरी प्रसारित हुन्छ?” भन्ने कुरा बुझाउन एउटा सानो प्रयोग गरे । सहभागीहरूलाई गोलघेरामा उभ्याइयो । घेरामा रहेको सुरु व्यक्तिलाई उसको मनमा आएको जुनसुकै विषयको छोटो कुरा सम्झन लगाइयो । त्यो कुरा अरूले नसुन्ने गरी उसको सँगै उभिएको साथीको कानमा खुसुक्क भन्न लगाइयो । सुन्नेले सँगैको अर्को साथीलाई, उसले फेरि अर्को साथीलाई सुनाउँदै यसरी त्यो कुरा एकपछि अर्को गर्दै अन्तिमसम्म पुग्यो ।
प्रशिक्षकले सुरुको व्यक्तिलाई त्यो कुरा कागजमा लेख्न लगाएका थिए र कागज पट्याएर सबैले देख्ने गरी उनकै गोजीमा हालिदिए । नियम थियो— आफूले जे सुनेको हो, एक अक्षर पनि नघटाई, नथपी, हुबहु अर्को व्यक्तिलाई सुनाउनुपर्ने । त्यो कागज प्रमाणको लागि राखिएकोले प्रशिक्षकको आदेशबिना खोल्न नपाइने शर्त थियो ।
जब त्यो कुरा घुम्दै–घुम्दै अन्तिम व्यक्तिबाट फेरि सुरुको व्यक्तिकै कानमा आइपुग्यो, सुरुको व्यक्ति आश्चर्य चकित हुँदै हाँसोले भुइँमा लडीबुडी गर्न थाल्यो । हाँस्नुको कारण उसले भनेको कुरा र सुनेको कुरामा आकाशपात्तालको अन्तर थियो ।
सुनेको कुरा सुनाउने क्रम पूरा भएपछि सहभागीहरूलाई क्रमशः उभिएका छ–छजनाको दरले ५ समूहमा विभाजन गरियो । पहिलो समूहबाहेक सबै समूहलाई आफूले निकटतम साथीबाट भर्खरै कानमा खुसखुसाएको विषयमा छलफल गरी एउटै निष्कर्ष निकालेर “खोजमूलक प्रतिवेदन” तयार पार्न भनियो । उत्कृष्ट प्रतिवेदन प्रस्तुत गर्ने समूहलाई पुरस्कार दिइने घोषणा पनि गरियो । बाँकी समूहहरूले जजको भूमिका खेल्ने भए ।
केही समयको छलफलपछि पहिलो समूहले प्रतिवेदन प्रस्तुत गर्यो । शीर्षकमा आफूले सुनेर सुनाएको कुरा लेखिएको थियोः
“महाभारत शृङ्खलाअन्तर्गत पाल्पा जिल्ला पर्दछ ।”
उनीहरूले पाल्पाको इतिहासदेखि लिएर महाभारत शृङ्खलाको उचाइ, लम्बाइ, त्यसले छोएका जिल्लाहरू आदिबारे विस्तृत विवरण दिए । तथ्याङ्क पनि मिल्दोजुल्दो बनाउने प्रयास गरेका थिए । तालीको गडगडाहट भयो ।
दोस्रो समूहले प्रतिवेदन पेस गर्न थाल्यो । उसको शीर्षक थियोः
“महाभारतका प्रमुख पात्र श्रीकृष्ण गोपाल थिए ।”
प्रतिवेदन प्रस्तुत गर्दै जाँदा उनीहरूले श्रीकृष्णको जन्मदेखि लिएर उनका लीलाहरू र भागवत गीता र कृष्ण सम्बन्धित रहेको वेद पुराणका दार्शनिक रहस्यसम्मको चर्चा गरे । श्रीकृष्णसँगै राधाका रोचक प्रसङ्गहरू पनि आए । फेरि ताली बज्यो ।
तेस्रो समूहले “महादेव र पार्वती कैलाश पर्वतमा बस्छन् ।” शीर्षक दिएर त्यससँग जोडिएका धार्मिक विश्वासबारे तथ्यहरू पेस गर्यो ।
चौथो समूहले “नेपालका महाभूकम्पहरू” शीर्षक २०७२ सालको महाभूकम्पदेखि अघिल्ला ठूला भूकम्पहरूको इतिहास र त्यसको क्षतिको बारेमा अनुमान प्रस्तुत गर्यो ।
यी सबै प्रतिवेदन सुन्दै जाँदा सुरुमा मनको कुरा भनेको व्यक्ति झन् झन् हाँसोले गलिरहेको थियो ।
प्रशिक्षकले प्रश्न उठाए— सुरुमा त एउटै कुरा भनिएको थियो । निकटतम अर्को साथीलाई त्यही कुरा नै हुबहु सुनाउन भनिएको थियो । तर यहाँ त समूहपिच्छे फरक–फरक प्रतिवेदनहरू आए ! किन ?
जज समूहले छानबिन गर्यो । हेर्दा सबै प्रतिवेदनमा केही न केही तथ्य मिसिए पनि तथ्यभन्दा बढी कल्पना, अनुमान र तोडमोड गरेर थपिएको देखियो ।
अन्ततः प्रशिक्षकले सुरुको व्यक्तिलाई आफ्नो गोजीको कागज खोलेर ठुलो स्वरमा पढ्न लगाए । त्यसमा लेखिएको थियो—
“मेरो नाम महाभरत श्रीस हो र म पाल्पामा बस्छु ।”
उसले भनेको वास्तविक कुरा सुनेर सबै प्रतिवेदकहरू माल्लमिल्ल परे । मरीमरी हाँस्ने पालो बाँकी सहभागीहरूमा सर्यो ।
सुरुमा उसले भनेको कुरा “मेरो नाम महाभरत श्रीस हो र म पाल्पामा बस्छु” भन्ने मात्र थियो कि थिएन भनी उसको सन्निकट उभिएको दोस्रो साथीलाई सोधियो । उसले आफूले ‘उसको नाम महाभारत श्रीस भएको र ऊ पाल्पामा बस्ने’ कुरा नै तेस्रो व्यक्तिलाई सुनाएको स्पष्ट पार्यो ।
कतै सुन्नमा फरक र कतै सुनाउनमा फरक पर्दै जाँदा तीस जना सहभागीको कान हुँदै पाँच मिनेटमा सुरूको व्यक्तिसम्म पुग्दा कहाँबाट कहाँ पुगिसकेको थियो ! सबैले आफूले सुनेको कुरा नै हुबहु सन्निकट साथीलाई सुनाएको जिकिर गरिरहेका थिए, तर अन्तिम सत्य भने सुरुको वाक्यभन्दा कोसौँ टाढा पुगिसकेको थियो ।
अब सोचौँ—पाँच मिनेटमा तीस जनामाझ घुमेको कुरा त यसरी बाङ्गिइसकेको हुन्छ भने, पाँच हजार वर्षदेखिका हजारौँ लाखौँ मानिसहरूका मुख हुँदै आएका जनश्रुतिका कथाहरू वास्तविकताबाट कति टाढा होलान् ? तर हामी ती कुरालाई प्रायः सोचविचार नगरी “हुबहु सत्य” ठानेर पत्याइदिन्छौँ ।
माथिको उदाहरण अलिखित श्रुतिपरम्पराको हो ।
लिखित अभिलेखहरूमा पनि अवस्था धेरै फरक छैन । एउटै विषयलाई फरक–फरक खोजकर्ताले फरक ढङ्गले प्रस्तुत गरेको पाइन्छ । खोजकर्ताको श्रम, सीप, दृष्टिकोण र दक्षताले पनि खोजलाई प्रभावित गर्छ । तर आफूले भेट्टाएको कुरालाई नै अन्तिम सत्य ठान्ने प्रवृत्ति सबैमा हुन्छ ।
अभिलेख राख्ने व्यक्ति वा शिलालेख कोर्ने व्यक्तिको स्वार्थले पनि तथ्य बाङ्गिन सक्छ । आफ्नो समयको महत्त्वपूर्ण कुरा लिपिबद्ध गर्नेले त्यसमा आफ्नो उपस्थिति, आफ्नो दृष्टिकोण र आफ्नो स्वार्थ मिसाइदिएको हुनसक्छ । तर पछि पढ्नेले त्यस पृष्ठभूमितर्फ खासै ध्यान दिँदैन ।
समय–समयमा आउने महामारी, भूकम्प र विपत्तिहरूले धेरै सत्य कुराहरू आफ्नो गर्भगृहमा पारिसकेका हुन्छन् । बाँचेका मानिसहरूले धूलिसात भइसकेका ती सत्यहरू आफ्नो स्मृति, अनुमान र श्रुतिपरम्पराको सहाराले पुनः निर्माण गर्छन् । त्यसरी बनेको “नयाँ सत्य” पुरानो सत्यभन्दा निकै फरक हुन सक्छ ।
परम्परा, संस्कृति र इतिहास भनेका तत्कालीन परिस्थिति र समयचेतनाका उपज हुन् । तर समयसँगै परिस्थिति र चेतना बदलिँदै जान्छ । प्रविधि, सोच र जीवनशैली बदलिँदै जान्छ । अनि सुरुको समयका सत्य कुराहरू पनि पछिल्लो पुस्तालाई अनौठो एवम् वाहियात लाग्न थाल्छ ।
समस्या यहीँनेर छ—
न त परम्परागत कुराहरूलाई जस्ताको तस्तै प्रयोग गर्न सकिन्छ,
न त त्यसलाई परिमार्जन गरेर उपयोग गर्न सकिन्छ ।
![]()
Post Comment