×

जय चुम्बक !!

जय चुम्बक !!

(पदस्थापन/सरुवा/पुरस्कार/अवसर लगायतमा देखिने निजामती सेवाका विकृतिप्रतिको व्यङ्ग्य)

कम्पासको सियोले फर्की फर्की

त्यतै देखाउँछ अरुतिर तर्की,

जब खिँच्दछ त्यो धातुको केस्रा

चल्दछ घनघोर बधाइको वर्षा,

खिँचीखिँची तान्ने अपरम्पार

कुन चिज हो त्यो चुम्बकदार ??

 

नखिचिनेहरु केही अधातुसरी

निष्क्रिय रहन्छन कठैबरी  !

गरिन्छन् जब ती अक्षम ठहर

चल्दछ शुष्क शान्त्वनाको लहर :

“तानिन्छौ तिमी पनि कुनै एक बार

पूजा गरिराखेमा चुम्बकदार !!”

 

तानिने खुशीले खुट्टा उफार

नतानिने रिसले मुड्की बजार,

कोही टाँसिएका टाँसिएइ छन्

कोही आशिएका आशिएइ छन्,

खिँचीखिँची तान्ने अपरम्पार

कुन चिज हो त्यो चुम्बकदार ??

 

खिँचिए धातु पनि चुम्बकै बन्ने

खिच्न सघाउने झन कति धन्य

कुन योग अनि, संयोग कुनमा ?

धपधपी बल्दछ त्यो औँशीको जूनमा ?

सितिमिति नदेखिने अपरम्पार

कुन चिज हो त्यो चुम्बकदार ।।

 

नम्बरी धातु पनि फ्याँकिइन्छन्

कमसल धातु पनि तानिइन्छन्,

खिँच्दछ त्यसले कुन धातु मात्र ?

खिँचेर चलाउँदछ कुन कुन जात्रा ?

कुतकुति लाग्यो जानूँ एक बार

कुन चिज हो त्यो चुम्बकदार ।।

 

कणदेखि वजनदारको छ यो पुकार :

“बिन्ति छ हामीलाइ दूर नपार

मैमाथि पार त्यो चुम्बकधारा

तिम्रै समिप वा अलि वर सार”

जय अदभूतेश्र्वर अपरम्पार

जय जय भोगवान चुम्बकदार ।।

Loading

Post Comment

You May Have Missed