फूलसरा बाहिर सरेपछि
फूलसरा बाहिर सरेको सुइँको पाउनासाथ
भुलमान पनि बाहिर सर्यो ।
यो परापूर्व सराइको सुअवसर छोप्दै
गुटबीर सर एक शेर धान बोकेर भित्र सर्यो
लुटबहादुर सर कालो नुनको ठेली बोकेर भित्र सर्यो
झुटराम सर ब्यूरोको झाङबाट झिटिझाम्टा बोकेर भित्र सर्यो
बुटविक्रम मिठाइका गोली बोकेर भित्र सर्यो ।
ऊ झन् झन् बाहिर सरी
सरहरू झन् झन् भित्र सरे
समयको अन्तरालमा
भित्र र बाहिरको निकै अन्तराल पारेर
सरहरूले सङ्कटकालीन बैठक समाह्वान गरे
गोली बाहिरतिर फर्काउँदै
तेल घसाघस गरे
धान भुटकुट पारे
नुन चाटचुट पारे
झिटीझाम्टा आफ्ना सन्तान दरसन्तानको नाममा सारे ।
भित्र भुत्रो बाँकी नरहेपछि उसको नाममा सरहरूले
सारगर्भित संयुक्त वक्तव्य प्रसार गरेः
“हाम्रो प्रयास बेसहारा फूलसरा र भुलमानलाई
एकसाथ भित्र सर्ने वातावारण तुल्याउन
गरिएको गौरवशाली संरक्षण सावित हुन पुगेको छ ।”
त्यसपछि पनि
न फूलसरा बाहिर सर्न छोडी
न भुलमान बाहिर सर्न छोड्यो
न त सरहरू नै निहुँ नझिकी भित्र सर्न छोडे ।
![]()
Post Comment