नदी
नदी
म गीत गुन्गुनाउँदै पहाडदेखि धाउँछु
हरेक जीव जन्तुको म भोक प्यास् मिटाउँछु
नछेक मार्ग भाइ हो समुद्रसम्म पुग्नुछ
बनेर वाफ मेघ त्यो हिमाल शीर चुम्नुछ ।१।
म बग्छु गड्गडाउँदै असारदेखि भाद्रमा
र सुक्छु छट्पटाउँदै म माघदेखि जेठमा
मनुष्यको भलाइमा म दान गर्छु जीवन
अनेक रूप रङ्गका प्रदान गर्छु जीवन ।२।
नहान जाल वक्षमा विनासमा घिनाउँछु
लगाउ है प्रयोगमा विकासमा सघाउँछु
पिए मिठो सुपाच्य छु म बन्न सक्छु ओखति
तुल्याउँछौ विषाक्त ता पुर्याउँला ठुलो खति ।३।
सदैव साथ देखिने दुवै किनार यार हुन्
म भेट्न खोज्छु सर्वदा समुद्रजी पियार हुन्
पहाड मातृभूमि हुन् पिता त सूर्य बादल
कहाँ रहन्छ श्रृष्टि यो ? बिना धरा, बिना जल ?४?
समस्त लेक फाँटमा सदाबहार ल्याउँछु
म क्रोध, राग, धाकको अज्ञानता चिस्याउँछु
ज्वरो चढे निधारमा मुसा कुदे अभावको
निभाइदिन्छु अग्नि त्यो, म रोग, भोक, शोकको ।५।
करोड टन् घुमाउँदै म ज्योति बाल्न सक्तछु
पहाड फाँट श्रृष्टि नै समाप्त पार्न सक्तछु
महा पञ्चभूतको तिनै महत्त्व बुझ्दछन्
बुझी मनुष्य जन्म जो नदी बनेर बग्दछन् ।६।
![]()
Post Comment