×

देश यो मुस्कुराओस्

देश यो मुस्कुराओस्

टारी बारी कलकल कुलो सर्वदा कल्कलाओस्
डाँडापाखा झलमल हुँदै देश नै
 झल्मलाओस्
कालोमैलो मुलुकभर सद्भावनाले धुलाओस्
होओस् निष्कण्टक अब सदा देश यो मुस्कुराओस् ।१।

दङ्गा आतङ्क कल-किचलोदेखि निष्कास पाओस्
हत्याहिँसा जनदमनले आड कैले नपाओस्
पीडालाई मलहम दलोस् सर्वदा शान्ति छाओस्
होओस् निष्कण्टक अब सदा देश यो मुस्कुराओस् ।२।

दिन्मै छाम्छाम्-छुमछुम गरी बाँच्न को मन् पराओस्
माहारात्री इतिशमन भै प्रातकाल् जग्मगाओस्
लोसे अल्छी कृपण सुतुवा ब्यूँझिई सल्बलाओस्
होओस् निष्कण्टक अब सदा देश यो मुस्कुराओस् ।३।

ताजा न्यानो जल, पवनले सर्वसंमृद्धि ल्याओस्
खस्रो माटो बुरबुर गरी खेतमा बुर्बुराओस्
वैलाएको प्रगति बिरुवा ठाडिँदै जुर्मुराओस्
होओस् निष्कण्टक अब सदा देश यो मुस्कुराओस् ।४।

 

छन्दः- मन्दाक्रान्ता

विश्रामः- १० र ७ अक्षर

गणः- म भ न त त गुरु गुरु

sss sii iii ssi ssi s s

Loading

Post Comment

You May Have Missed