0%
Still working...

धेरै वर्ष अगाडिको कुरा हो । रामबहादुर गाउँबाट आई अध्ययनको क्रममा कीर्तिपुरमा डेरा लिएर बसिरहेको थियो । कीर्तिपुरमा नयाँ बजार बसिसकेको थिएन । पुरानै बजार भएकोले घरको संख्या सिमित हुँदा विद्यार्थीहरुले सितिमिति डेरा पाउँदैनथे । त्यसैमा पनि केही विद्यार्थीहरुले कोठामा पाहुना मात्र खेर्ने, कोठाभरि फोहोर गरेर बिगारिदिने, घरभेटीकै चेलीबेटीमा आँखा गाड्ने वा भगाइदिने, कोठाको महिनौँसम्मको भाडा नै नतिरेर भाग्ने आदिजस्ता बदमाशीपूर्ण कार्यले आम विद्यार्थीहरु शंकाको घेरामा पर्ने भएकोले पनि विद्यार्थीहरुले सजिलै डेरा पाउनु मुश्किल थियो ।

रामले पनि डेरा प्राप्त गर्दा घरभेटीले लिएको लामो अन्तर्वार्तामा उत्तीर्ण भई जसोतसो एउटा कोठा भेट्टाउन सफल भएको थियो । घरभेटीले लिने अन्तर्वार्तामा धेरै कुरा ढाँट्न सके मात्र उत्तीर्ण भइन्थ्यो । रामले दुई महिना मात्र बस्नुपर्ने भए पनि कम्तीमा दुई वर्ष बस्ने प्रतिज्ञा गरेको थियो । घरभेटीले राखेका उचित अनुचित सबै शर्तहरु सहर्ष पालन गर्छु भन्नै पर्थ्यो ।

डेरामा बस्न थालेदेखि उसले सम्पत्तिको नाममा एउटा प्रेसर कुकर, एउटा थाली, एउटा स्टोभ, एउटा बाल्टीन र जग, एउटा भाँडा मिच्ने बाटा तथा एक जोर लुगा थिए । दाल, चामल दाङबाटै ल्याएको थियो । महिनादिनलाई पुग्ने १५ लिटर जति मट्टितेल पहिल्यै किनिसकेको थियो । यसले गर्दा तरकारी किन्न कहिलेकाँहि मात्र डेराबाट निस्कनुपर्थ्यो । कीर्तिपुर क्षेत्रमा त्यसबेला तरकारी निकै सस्तो थियो । तसर्थ डेराको लागत पनि कमै थियो । एउटै कुकरमा पालैपालो तरकारी, दाल र भात पकाउँथ्यो । तरकारी थालमा खन्याउँथ्यो भने दाल जगमा । धेरैजसो त दालभात वा भाततरकारी वा दुधभात मात्र उसको भोजन हुन्थ्यो । यति गर्न उसलाई आधा घण्टाभन्दा बढी लाग्दैनथ्यो । यसो गर्नुको मुख्य कारण समय जोगाएर बचेको समय पढाइमा लगाई एक वर्षको कोर्स दुई महिनामै पढिसिध्याइ जाँच उत्तीर्ण गर्नुपर्ने उसको बाध्यता नै थियो ।

उसका यस्तै दिनचर्या बित्दै थिए । एकदिन बेलुकातिर कसैले ढोका ढकढक्याएको आवाज उसले सुन्यो । ढोकाको ढकढक आवाजले उसको मुटुमा ढ्याङ्ग्रो ठोकेजस्तै भयो । घरभेटी असाध्यै कचकचे थिए । कसैगरी कोठा फोहोर भएको घरभेटीले भेट्टायो भने सातो खाइमाग्नुपर्थ्यो । कोठामा कुनै पनि पाहुना ल्याउन नपाउने शर्त थियो । पाहुना आइहाले जुत्ता भित्रै राखेर निशब्द बस्नुपर्ने अवस्था थियो । बाहिरका जुत्ता हेरेरै पाहुना आएनआएको अड्कल गर्थ्यो घरभेटी । अतः रामले हतार हतार कोठाको फोहोर खाटमुनि लुकायो र अस्तव्यस्त ओछ्यान टकटक्याएर मिलाउने खोज्यो । कोठैभरि छरिएका भाँडाकुँडा बाल्टीनमा लुकायो । यति गर्दा पनि कोठाको अस्तव्यस्ततालाई उसले तुरुन्तै व्यवस्थापन गर्न सकेन । कोठाभरि पानी पोखिएको चीसो थियो । ढोकाको ढकढक झन् बढ्दै गयो । अनि खुट्टा कँपाउँदै ढोकाको छेस्किनी खोलेर हेरयो । उसको अनुमान मिलेन । ढोकामा घरभेटी नभई उसले नचिनेको व्यक्ति चीरपरिचित हाँसो निकाल्दै उभिएको थियो । उसले सोध्न नपाउँदै आगन्तुकले नै हत्तपत्त नमस्कार गर्दै भन्यो, “के छ यार, मीतज्यू ? किन यसरी भूमिगत भइयो ? ढोका खोल्नै मन थिएन कि क्या हो ?” भन्दै रामलाई अंगालोले बेर्यो ।

राम अकमकियो र मनकुरा गर्यो, ‘मेरो मीतज्यू ? मेरो त कोही पनि मीत थिएनन् ! मैले कसैसंग पनि मीत लगाएको थाहा छैन !! प्रकटमा उसले भन्यो, “मैले त चिनिन नि ?”

“हत्तेरी ! मीतज्यू पनि होशप्रसाद नै हुनुहुन्छ भन्या !! मीतज्यूको बिर्सने बानी त लास्टै छ !!! म त्यही माथिगाउँको मित क्या । हजुरको नाम ‘राम’ र मेरो नाम ‘हेराम’ भएकोले ‘अब तिमीहरु मीतमीत भयौ, एकअर्कालाई परिआउँदा मरिमेटी सहयोग गर्नु’ भनेर हजुरका हजुरबाले र मेरा हजुरबाले भनेको हैन त नि, उहिल्यै ?”

रामले यसो दिमाग घुमायो । इतिहासका पाना फरफर पल्टाएर हेर्यो । अँहँ मीत शब्द भेट्टाउनै सकेन । उसका हजुरबा त ऊ चालपाउने नहुँदै स्वर्गे भैसकेको सुनेको थियो । तर मावलीका र गाउँका अरु हजुरबाहरु भने अझै पनि जिवितै थिए । उनीहरुमध्ये कसैलाई भन्न खोजेको हो कि ?

आगन्तुक मीतले नै मुख फोर्यो, “मीतको यो सोमत पनि मलाई उचितचाइँ लागेन । मीतलाई ढोकामै उभ्याइराखेर के सोचिराखेको होला ? मे आइ कम इन ?”

‘आ, जेसुकै चीर्को परोस् । उसको अगाडि म पनि बेसोमतको देखिनु भएन नि’ भन्ने सोच्दै रामले हत्त र पत्त भन्यो, “आउनुस्, आउनुस् मीतज्यू, भित्रै”, रामले अनुरोध गरी नभ्याउँदै ऊ कोठाभित्र पसेर काँधमा बोकेको एउटा झोला कुनातिर कोच्दै खाटमा थ्याच्च थचारियो । उसका जुत्ता झट्ट र पट्ट रामले कोठाभित्रै राखिदियो र नव आगन्तुकलाई यसो नियालेर हेर्यो । ऊ गाउँबाट आएको जस्तो पटक्कै थिएन । सफा पहिरन । हृष्टपुष्ट खाइलाग्दो जीउ । शहरकै बासिन्दा जस्तो देखिन्थ्यो । उसको जीउडालमा मोहित हुँदै रामले नै जिज्ञासा पोख्यो, “के कति कामले पाल्नुभो कुन्नि, मीतज्यू ?”

“मीतज्यूको साख्खै मीतसंग काम सोध्ने पाराचाइँ अलि ठीक लागेन मलाई । त्यत्तिकै नि । मीतज्यूसंग यसो एकदुई दिन बात मारम् भनेर नि ।“

रामको मुटुमा अहिले भने साँच्चिकै ढ्याङ्ग्रो ठोक्यो, ‘के हो गाँठे ? यो मान्छे त डेरामा एकदुई दिनसम्म बस्ने कुरा पो गर्दैछ त ! परीक्षा नजिकै आइसक्यो, एकातिर आफ्नो पढाइको चटारो अर्कोतिर घरभेटीको हप्कीधम्की ! कसरी बसाल्नु, चिन्नु न जान्नुको मान्छेलाई, कोठामा ? अनि प्रकटमा उसले भन्यो, “आ, मीतज्यू, खाट पनि एउटै छ । खाना पकाउने भाँडाकुँडा पनि एकसरो मात्रै छन् । हजुरजस्तो सभ्य मान्छेलाई त अलि गाह्रै होला । बरु यसो गरम् । साँझसम्म बात मारम् अनि विदावादी गरौँला हुन्न ?”

“ल, यति ठूलो जीउको मुटुचाँइ चल्लाको जत्रो ? ‘दीर्घ’ मीत भनेर आएको ‘ह्रस्व’ मित परेछन् कि क्या हो । यति सानो कुरामा चिन्ता मान्नुपर्दैन क्या मीतज्यू । आखिरमा मीतमीत पर्यौँ । एउटै खाटमा सुते के बिग्रन्छ र । हजुरले थालमा भात खाइसेला । म त्यही जगमै बजाइदिउँला । म त्यति अप्ठ्यारो मान्छे त छुइन क्या । मीत पनि………. ।“

उसको हठले रामको सर्वाङ्ग काँप्न थाल्यो । आ ! जेसुकै मरोस्, आज यतै बसोस् । घरभेटीले चालपाए आफै निकालिदिन्छन् । भोलि त यो मान्छे बाहिर निस्केको मौका पारी कोठामा ताल्चा ठोकी तल बगैँचातिरै पढेर दिन बिताउँला । ऊ कोठाबाट फर्केको मौकामा राति मात्रै फर्कुँला । उपाय त छ नि । आज एकदिन त हो नि । उसले मनकुरा गर्यो र दिकदार हुँदै नोट फिँजारेर पाठ घोक्न थाल्यो ।

“मीतज्यूलाई पनि कति पढैया बनेको स्वाङ देखाउनु परेको ? एकछिन नपढे के हुन्छ ? ह्वाँभने त्यति टाढाबाट मीतलाई सम्झेर भेट्न आएको छु, तपाईँ त बातचित नै गर्नुहुन्न त हौ ?” यति भन्दै उसले उठेर रामको नोटसोट खोसेर कुनातिर मिल्काइदियो ।

राम उसको यस बहुलठ्ठी व्यवहार देखी कायल हुँदै भन्यो, “मीतज्यू, मेरो परीक्षा संघारमै आइसक्यो । भरखर चिनजान भयो । बिस्तारै गफ गर्दै गरौँला । अहिले तपाईँलाई थकाइ लागेको होला थकाइ मार्नुस् । मलाई पढ्न दिनोस् । बिन्ति छ ।“

“खाने कुरा केही छैन ?” उसले कोठाको चारैतिर नजर डुलायो । दिउँसो खाँदाखाँदै बाँकी रहेको बिस्कुटको आधा पुरी सिरानीमुनि भेटायो । त्यही खोलेर कपाकप खान थाल्यो । अनि भन्यो, “भात पकाउँदै गरौँ न त मीतज्यू । मीतको वासस्थानमा पुग्दा पनि के को नास्ता गर्नु भनी दिनभरि भोकै भैयो, अहिले त भुँडीमा मुसा दौड्न थाले तऽ हौ ।“

रामको खाना पकाउने समय बेलुका नौ बजेदेखि शुरु हुन्थ्यो । भरखर साढेपाँच बज्दै थियो । तर आकस्मकि रुपमा आएको अनौठो पाहुनाले रामको पढ्ने वातावरण बिगारिरहेको थियो । आफूले उसको कुरा अटेर गरे पनि उसले आफूलाई हाइसञ्चोले बस्न दिने छैन भन्ने रामले बुझिसकेको थियो ।

रामले हिजै ल्याएर राखेको ओइलाएको साग केलाउन थाल्यो । हेराम खाटमा पल्टियो र गाउँघरका अर्थनीति, संस्कृति, राजनीति, कूटनीति आदि सम्बन्धी गफ हाँक्न थाल्यो । खासगरी रामले पढाउने गरेको कुनाटारतिरको विद्यालय वरपरको कुरा जानी नजानी वर्णण गर्न थाल्यो । त्यस गाउँमा जसको प्रभुत्व छ उसैको गुनगान गाउन शुरु गर्यो ।

रामको ध्यान उसको कुरातिर खासै गएको थिएन । बीचबीचमा हेरामले “हो कि, होइन त ?” भनी सोध्थ्यो । रामले पनि “हो नि हजुर, काटीकुटी ठ्याक्कै मिल्यो” भन्दै सकारात्मक टाउको हल्लाइदिन्थ्यो । उसले त्यसैको विषयमा झनै मच्चीमच्ची कुरा गर्न थाल्थ्यो । अनि त्यही गाउँकै ठूलाठालु एकजना व्यक्तिको खुब गुनगान गाउन थाल्यो जसको आनीबानी रामलाई पटक्कै मन पर्दैनथ्यो । त्यही व्यक्तिको बखान सुन्दा रामको रिस उठ्यो र रामले प्रतिक्रिया जनायो, “गफचाँहि लंका हाँकेको गर्ने, समाजको लागि माखा नमार्ने, त्यो मान्छे कसरी ठीक भन्नुहुन्छ ? त्यसका व्यवहार र क्रियाकलाप त गाउँलेको लागि पनि उपद्रो खालका देखिन्छन् नि !”

अब हेरामको पालो ‘हो नि त’ भन्दै त्यस मान्छेको सात पुस्ता अघिदेखिका सबै पुर्खा बेइमान र ढाँट भएको । उसका शाखासन्तान सबै अधर्मी भएका र उसले समातेको राजनैतिक लाइन नै बेइमान र ध्रुत भएको भन्दै पुनः उसको खनीखोइरो गर्न थाल्यो ।

हेरामले रामको भावनालाई जतिसक्दो कमलो तुल्याउँदै आफू साँच्चिकै भलो चिताउने असल मित्र भएको प्रभाव छाड्नु थियो त्यसैले रामलाई मन पर्ने कुरा उधिनी उधिनी गरिरहेको थियो । तर उसको बखान शैलीमा भने राम लोभिँदै गइरहेको थियो ।

रामले कुकरमा साग पकाएर थालमा राख्यो र त्यसैमा दाल पकाउन थाल्यो ।

हेरामलाई हाँसो थामिसक्नु भएन र अट्टहास छाड्यो सत्यजुगमा साग तावामा पकाइन्थ्यो । कलीजुगमा त कुकरमा पकाइँदो रहेछ । यी आँखाले पनि के के देख्नुपर्छ । उसको हाँसो गिडगिड निस्किरह्यो ।

रामले, “क्यारम् त नि ? पढ्नको लागि आइएको छ । सबै बर्तन जोहो गरेर घरजम यतै बसाल्नु पनि भएन । कलीजुगमा यस्ता पाउना पनि आउलान् भनी के थाहा त नि ?” भन्दै जवाफ फर्कायो ।

थालको साग तानेर हेरामले कपाकप खाँदै गफ गर्नथाल्यो । दाल पकाइसक्दा सागको थाल रित्तिइसकेको थियो । अनि पाक्दा नपाक्दैको दाल पनि बटुकामा राखेर पिउन थाल्यो ।

यतिखेरै हेरामको हल्लीखल्ली चाल पाएछन् क्यारे घरभेटी रामको कोठामा रौद्र रुपमा उपस्थित भइदिए । ला, अब रामलाई भने अब बित्यासै पर्नेभयो । बित्यासै के पर्नू, घरभेटी आइदिए हुन्थ्यो भनी जप्दाजप्दा बल्लतल्ल टुपुल्किएकोले मनमनै रमायो राम । घरभेटीले पाहुनाको सम्बन्धमा रामलाई केरकार गर्न थाले, “ए राम कसको अनुमतिले पाहुना ल्याएको हो ? तुरुन्त पाहुना पठाइहाल । पाहुना पाल्नेभए भोलिदेखि यो कोठामा बस्न पाउँदैनौ ।“ आदि आदि भन्दै ।

राम कायल परेको देखी हेराम अब अघि सर्यो र घरभेटीमाथि कूटनैतिक अस्त्र प्रयोग गर्यो । उसले घरभेटीलाई तत्कालै हातपाउ जोर्दै नमस्कार टक्र्याएर खुट्टामै ढोगिदेला जस्तो गर्यो । अनि घरभेटीको परिवारको सञ्चो बिसञ्चोको कुरा सोध्न थाल्यो । ती घरभेटीलाई वर्षौँ अघिदेखि चिनेको, असाध्यै समझदार, असाध्यै दयालु, कोठा बस्नेहरुको लागि कीर्तिपुर क्षेत्रमै सर्वोत्तम व्यावहारिक भएको भगवानसरिकै मान्छे भन्दै घरभेटीको आनीबानीको बढाइचढाइ गरिदियो । उसको बखानले घरभेटीको झण्डै एकसय डिग्री नाघिसकेको रिस पन्ध्र डिग्री सेल्सियसमा झारिदियो । राम पनि घरभेटीको अप्रत्याशित कचकचबाट बचियो भनी राहत त महशुश गर्यो तर उसको एकसय असी डिग्रीको परिवर्तन देखी चीत खायो । कोठाको व्यवस्थापनको अवलोकन गर्दै घरभेटी भने तत्कालै आफ्नो कोठातिर लागे ।

भात पाकिसकेको थियो । साग रित्तिसकेको थियो । दाल एक बटुका पनि बचेको थिएन । हेरामले त पुनः तरकारी खोजेर पुनः पकाउनुपर्ने जिद्दी गर्दैथियो । तर रामले सुनेको नसुन्यै गरेकोले हेरामको चाहना पूरा हुन सकेन । अब बाँकि रहेको दालभात बाँडीचुँडी खानुपर्ने बाध्यता नै सिर्जना भयो । उसले थाल समात्यो भने रामले भात पकाएकै प्रेसरकुकर भाग लाग्यो । भरखर एकदुई गास खाँदै गर्दा घरभेटी दुई हातमा कुनै सामग्री बोकी कल्याणको विजय मुद्रामा कोठामा पुनः उपस्थित भए । उनले दुई मीतको खानपीनको दयनीय अवस्था बुझेर आफूलाई पकाएको तरकारी, दाल र मासु समेत ल्याइदिएका रहेछन् । रामले अब कुकरमा भात खानु परेन । घरभेटीले तरकारी हालेर ल्याइदिएको थालमै खान पाउने भयो । मीतको चलाकीले गर्दा दुवैले मासु भात मीठो मानीमानी खाए ।

खाइसकेपछि हेराम मीतज्यूलाई तत्कालै निद्राले छोपिहाल्यो । उसलाई निद्रा लागेकोले रामलाई हाइसञ्चो भयो र मिल्काइएको नोट खोजेर पढ्न थाल्यो । एकछिनमै हेराम मितज्यू भाका फेरिफेरि घुर्न थाल्यो । बिचरा रामलाई आपत् नै पर्यो । उसले मरिगए पढ्न सक्दै सकेन । जबरजस्ती पढे पनि त्यो घुराइले रामको दिमागको कुनामा घुस्नै दिएन ।

खाट सिंगल भएकोले दुवैजना त्यो खाटमा सुत्न सकिँदैनथ्यो झन् हेरामको बडेमानको जीउ थियो । रामले अब नोटसोट मिल्काएर उसको गोर्यानमा जाकेट स्वीटरको सिरानी बनाइ सुत्ने प्रयास गर्यो । रामले आरामसंग सुत्न के पाउँथ्योऽ  घरि टाउकोमा घरि जीउमा मीतको गन्हाउने खुट्टा बोकिरहनु पर्यो । घरिघरिको अपानवायुको प्रहारले निद्रादेवी रामको नजिक आउनै मानिनन् । बत्तीको स्वीच घरभेटीकै कोठामा रहने भएकोले राति दशबजेदेखि बिहान ६ बजेसम्म बिजुलीबत्तीको दर्शन पाइँदैनथ्यो । मइनबत्तीले झ्याल नभएको कोठामा धुवाँ भरिने भएकोले एकाध घण्टाभन्दा बढी बाल्न मुश्किल थियो । तसर्थ पनि यस समयको उपयोग रामले सुताइ बाहेक अरुमा लगाउन असम्भव थियो ।

जसोतसो बिहान भयो । हातमुख धोइसकेपछि रामले स्टोभ कुइरीपत्योल पार्दै प्रेसर कुकरमा चिया पकाउन भनी पानी बसाल्यो । त्यसैबेला घरभेटी रामको कोठामा आएर आजको चियो माथि नै गर्न दुवैलाई निम्तो दिएर पो गए । रामले कुकरमा चिया पकाउनै परेन । एकछाकको चिया चिनी र मट्टितेल बचेकोले रामलाई राहत मिलेको महशुश भयो । घरभेटीको अकस्मात फेरिएको यस व्यवहारले रामलाई चकित तुल्याइरहेको थियो ।

चिया खाँदै गर्दा मितले घरभेटीको परिवार उसको इतिहास र आनीबानी बारे थप बुझ्न मद्दत मिल्यो ।

बिहानको खाना अलि छिटो पकाउँदा मितलाई छिट्टै विदा गर्न मिल्ने र आफूले पनि गुमाएको समय र साहसको क्षतिपूर्ति लिनुपर्ने भएकोले रामले खाना पकाउन बेर गरेन । घरभेटीले त भन्दै थिए हेराम मितको खाना यतै पकाइदिन्छु । तर हेराम मित व्यावहारिक बने, “होइन, मेरो मितज्यूले एकदुई दिन यतै बसिदिनुपर्छ भनेर मरिहत्ते गर्नुभएको छ । आज पनि यतै खाइदिए उहाँ रिसाउनुहोला । अर्को छाक गर्छु नि हजुरकोमा भोजन ।“  हेरामको ‘एकदुई दिन’ भन्ने शब्दले घरभेटी झसङ्ग तर्सिएको रामले देखिहाल्यो । मनमनै सोच्यो, ‘केही गर्दा फर्केर आएछ भने पनि घरभेटीले नै मेट्नेछ यसको दोलो !’

रामले बिहानै सात बजे नै खाना तयार गरिहाल्यो । अनि दुवैले ज्यूनार गरेपछि हेराम मितले आफ्नो इच्छा बुझी सबेरै भोजन गराएकोमा रामलाई धन्यवाद् नदिइ रहन सकेन । हेराम मित आफ्नो बाटोतिर लाग्यो । राम पनि आफ्नो कोठामा ताल्चा मारी नोट तथा पुस्तकहरु लगायत परालको चटाइ बोकेर कीर्तिपुर क्याम्पसको तलतिर रहेको जङ्गलको बीचको बगैँचाभित्र छिर्यो । दिनभरि आवश्यकताअनुसारको घामछायाँको उपयुक्त वातावरणमा पढ्दै रामले उतै दिन बितायो । दिन बुरिसकेपछि पनि आँखाले अक्षर ठम्याउन्जेलसम्म उसले आसन छोडेन । उसको मनमा अझै चीसो थियो, उज्यालो छँदै कोठामा पुग्दा या त उही मीत वा अरु कुनै पाहुना परी रामको सीमित समय, स्रोत र पढाइ बर्बाद पार्नसक्थ्यो ।

रात परेपछि पनि राम सितिमिति कोठातिर लागेन । उसले कीर्तिपुरको पुरानो बजार घुमेर पढाइको दिनभरिको बोझलाई अलि हल्का तुल्यायो । तर भोकले भने उसका आन्द्रा मडारिन थालिसकेका थिए । अलि अबेरतिर कोठामा पुग्यो । कोठाको अवस्था देखेर रामले चीत खायो । कोठामा ताल्चा थिएन खुल्लै थियो । भित्र त मीतज्यू आरामसंग खाटमा पो पल्टिरहेका थिए । राम कोठामा नछिर्दै मीतले राममाथि प्रश्न खन्याएः “के हो मीतज्यू ? रात बिरात के काम हुन्छ बाहिरै बरालिँदै हिड्ने ? पढ्न भनेर आमाबाले काठमाण्डु पठाउने तर मितज्यूको ताल त निको लागेन है !”

“के को बरालिनू नि मितज्यू ? बाहिर ननिस्कँदै अर्को ख्वामित भेटिएकोले उनले झन् मलाई छाड्दै छाडेनन् नि । उनी पो असली मित जस्तो लाग्यो । आफ्नो कोठामा मलाई नलगी मान्दै मानेनन् र खाना पनि उतै ख्वाएर पठाए । काठमाण्डूमा पढ्ने उद्देश्य के लिनू थियो मितैमितको चक्करमा परियो ।“ उसको लागि फेरि खाना पकाउनु नपरोस् भनी रामले उसलाई ढाँटिदियो ।

ताल्चाको एउटा चापी घरभेटीले डेरा सर्ने दिनमै रामबाट लिइसकेको थियो । घरभेटीलाई फकाएर त्यही चापीले ढोका खोलेको होला भनी रामले लख काट्यो ।

हेरामले भन्यो अब मित आउनेबेला छैन भनी मैले पनि आफूलाई मात्र पकाएर खाइसकेँ । मेरो चिन्ता नलिनूहोला मितज्यू ।

रामले कुकर छाम्यो । कुकर तातै थियो । भाँडाकुँडी जुठै रहेछन् । रामले मनमनै भन्यो, “हो त नि, मोराले एक्लै हसुरेछ । जसको कोठा हो जसको अन्नपानी हो उसैलाई समेत परवाह नगरेर कसरी घिच्न सकेको होला असत्तिले !”

रामले बाहिरबाट ल्याएको चटाइ र कापीकिताब एकातिर मिल्काएर खाटको एकाछेउमा भोकै सुत्ने निधो गर्यो । ऊ दिकदार थियो । के यसले अझै दुईचार दिन यतै मरेर पढाइमा बाधा पुर्याउने होला त ।

हेरामको फतफत शुरु भयो ।

“आज त बनाइयो…. मोल्नीको साइँलादाइलाई पनि मित …. हा… हा… हा… हा… आफ्नै जेठानलाई त मित बनाइयो भने अरुलाई के बाँकि राखिएला र !”

रामले बुझ्ने प्रयास त गर्यो तर केही पनि बुझेन ।

“यहाँ मित बनाउन पनि साह्रै सजिलो ! कसैलाई सोमरस चखाएर कसैलाई दामरस चखाएर कसैलाई भक्तिरस चखाएर त कसैलाई शक्तिरस । कूटनैतिक साहित्यका नवरस भन्थे साँच्चिकै रहेछ । सोमरस, दामरस, शक्तिरस, भक्तिरस, हप्कीरस, धम्कीरस…… स्वाद लिईलिई घिच्न पल्किएका नरपशुहरु !!”

“मितज्यू अलि बुझ्ने गरी भन्नोस् न, मैले त केही छेउटुप्पो बुझेको भए मारिदिनू ।“ रामलाई पनि सुनौँ सुनौँ लाग्यो यो गफचाँहि ।

“यसो हेर्यो, जो जो आफ्नो स्किमसंग क्रसकटिङ हुन आउँछन्, तिनीहरुसंगै घुलमिल गर्यो । पहिले मित बनायो । मितलाई अमृत बनायो । अमृतबाट मृग बनायो । मृगबाट मुर्गा बनायो । अनि चट्ट काट्यो मृत बनायो । रगतचाँहि भुत्लैसंग काँचै चुस्यो, फिलाहरु पोलपाल पारेरै खायो, बाँकि हाडखोर झोल बनाएर पियो ! क्या अनुपम् स्वाद !!”

मुर्गा भन्ने बित्तिकै रामले चाँहि लोकल कुखुराको झोल सम्झियो र घुटुक्क थुक निल्यो । बिचरो भोकले रनथनिएको थियो । तर अरुलाई खान नदिऊँ भन्दा आफू मात्रै भोकै परेको थियो । ताततातो कुखुराको झोलको कल्पना गर्दै निदाउन प्रयास गर्यो ।

हेराम मितज्यू पनि सुतेछ क्यारे । शुरु भयो उस्तै घुराइ । उस्तै पेलाइ । त्यो रात रामको दुरावस्था अरु बढ्यो ।

त्यसको भोलिपल्ट पनि उही कुराको पुनरावृत्ति रह्यो । राम आजित हुँदै गयो । उसले गर्न सक्ने कुरा पनि केही बाँकि थिएन । मीत भनाउँदो त डेरै लिएर बस्ने गरेर पो आएको रहेछ । उसले डेरा छाड्ने कुनै लक्षण देखाएन । उसको चतुर्याँइको अगाडि रामले चाहेर पनि केही गर्न सक्दैनथ्यो बिचरा । दाङबाट ल्याएको दालचामल पनि रित्तिइरहेको थियो । पढाइ बरबाद हुँदै जाँदो थियो ।

अर्को दिन रामले सोच्यो, ‘अब अर्काको सेवा गरेर कति दिन बस्ने ? अब यो डेरा नै छाडिदिनुपर्यो । परीक्षा सकुन्जेल कुनै साथीलाई अनुरोध गरेर उसैसंग डेरामा बस्नुपर्यो ।‘

त्यस दिन त्यस्तै साथीको खोजीमा दिन बितायो । बेलुकातिर एकजना साथी पनि भेटियो उमेश नामको । ऊ पनि दाङतिरकै रहेछ । ऊ पनि एक्लै बसिरहेको रहेछ डेरा लिएर ।

उमेशको आग्रहले त्यस दिन राम उमेशको मै बस्यो । रातितिर मित नाउँको पाहुनाले अनावश्यक रुपमा दुःख आफूलाई दिइरहेको कुरा उमेशसंग ओकल्यो ।

उता हेराम मितलाई भने कहिले आफै पकाएर त कहिले घरभेटीलाई फकाएर हातमुख जोड्न कुनै अवरोध थिएन । भोलिपल्ट कोठामा फर्कँदा मितले के के आरोप लगाउने हो भन्ने डराइरहेको थियो । तर मित त खुशी देखिन्थ्यो । मुखमा मुस्कुराहट ल्याउँदै मितले भन्यो, “सँधै साथीकहाँ बसे त मलाई सुत्न अलि सजिलो हुन्थ्यो मितज्यू । तर अब घर पनि फर्किनुपर्ने होला । तर कोठा त छाड्नुहुन्न है मितज्यू । फेरि यस्ता घरभेटी र यस्तो कोठा मिल्दैन है, भन्दया छ मैले ।“

रामले भने भित्रभित्रै अर्कै योजना बुनिसकेकोले मितसंग तर्सन र झर्किन आवश्यक ठानेन । ‘कोठा सार्नको दिनमा घरतिर लागेँ भन्नेछु । कोठा कहाँ सारेँ भन्ने कुरा त पत्तै हुनेछैन यसलाई । अनि बस्ला घरजुवाइँ जस्तै, पर्खि न !’ रामले मनकुरा गर्यो ।

दुई दिनपछि रामले कोठा सार्ने निर्णय गर्यो । त्यस दिनको अघिल्लो दिन पनि राम उमेशकहाँ नै बसेको थियो । कोठा सार्न कि त बिहानै, कि त बेलुका सम्साँझ उपयुक्त हुन्थ्यो । दिउँसो सार्ने खालका लुगालत्त र सामान पनि हुँदैनथे विद्यार्थीका ।

अतः एकाबिहानै राम सामान सार्न आफ्नो कोठामा पुग्यो । कोठामा बिस्तारै ढकढक आवाज दियो । प्रतिक्रिया आएन । फेरि ढकढक गर्यो ढोका खुलेन । अनि उसको पालो बेसमारी ढोकामा ढ्वाकढ्वाक पार्यो । बल्ल ढोका खुल्यो तर ढोकामा देखा परेको मान्छे देखेर राम चीत खायो र बर्कियो ।

ढोकामा उभिने त नारी स्वरुप पो थियो । उसको पुरुष मितज्यू थिएन । ला, कोठामा महिला पनि ल्याउन थालेछ बजियाले, भनी रामको मुटु नै डरले फुट्ला जस्तो भयो, ‘सायद घरभेटीले चाल पाएका छैनन् होला । चाल पाएपछि स्वाद चाख्ला बजियाले ।‘

‘मितज्यू दिउँसो नफर्कने गरी बिहानै निस्किसकेको’ कुरा ती महिलाले बताइन् । चिनजान गर्दा उनी मितकै दुलही रहिछन् । मितेनी भाउजुले आजसम्म दाइसंगै बसेको र हिजै मात्र आफ्नो कोठामा बस्न आएको रामलाई बताइन् ।

रामले, ‘यो कोठा आफ्नै भएको र आजै गाउँको घरमा फर्किनुपर्ने भएकोले आफ्ना सामान लिन आएको’ कुरा बतायो । रामका यी कुरा मितेनीले पत्याउँदै पत्याइनन् । रामले साक्षीको रुपमा घरभेटीलाई बोलायो ।

घरभेटी पनि तल आए । उनले पनि, ‘कोठाको सबै सामानको हिसाबकिताब रामसंग मिलाइसकेकोले रामका किताबकापी र लगाउने कपडा बाहेक उसलाई अरु सामान छुन नदिनू’ भनेर गएको कुरा बताए ।

घरभेटीले उल्टै रामलाई नै हप्काए, “बेइमानीको पनि हद हुन्छ । आफ्नो सामान अरुलाई नै बेचेर हिड्ने, अनि आइमाइ मात्र भएको बेला चाहियो भन्न मिल्छ ? हिसाब नमिलेको भए लोग्ने आएकै बेला भन्नू ।“ यही आदेश दिएर उनी जङ्गिँदै आफ्नो कोठातिर उक्लिए । ती महिलाले पनि हत्तपत्त ढोका बन्द गरी हालिन् ।

रामको दुई महिनालाई पुग्ने रासन त्यहीँ थियो । ओढ्ने ओछ्याउने भाँडाकुँडा पनि त्यहीँ थिए । त्यही सामान पनि आफ्नो भन्न थालिसकेछ मित भनाउँदाले । ऊ टाउको समातेर थ्याच्च त्यहीँ बस्यो र खुइए सुस्केरा हाल्दै सोच्यो, “मलाई बिनसित्तिको के आपत् आइलाग्यो यस्तो ?”

रामले एकछिन पछि आफ्नै मनलाई सम्झायो, आफ्नो सामान त आफ्नै हो । आखिर एकदिन फिर्ता भइछाड्ला । ती सामान त्यही मित भनाउँदो आएपछि फिर्ता लिउँला, अहिले किताबकापी र कपडालत्त मात्र लिन्छु भनी ढोकाका ढकढक पार्न थाल्यो । ढोका निकै बेर खुल्दै खुलेन । ढोका खुलेपछि क्रुद्ध हुँदै महिलाले चेतावनी दिँदै भनिन्, “मेरो श्रीमानले यो कुरा चाल पाउनुभो भने निको मान्नु हुनेछैन ।“

उसले प्रष्टीकरण दियो, “मैले आफ्ना कापीकिताब र लगाउने कपडा मात्र लिन खोजेको हुँ । अरु केही होइन ।“ अनि भित्र पस्ने अनुमति पायो र ती सामान बटुली झोलामा राखेर फर्कियो ।

यस घटनाको सबै बेलिबिस्तार लगाएर बुझाउन खोज्यो उमेशलाई । उमेशले सितिमिति कुरा बुझ्दै बुझेन, “यस्ता पनि मान्छे हुन्छन् र ? यो सत्यकथा नभई कुनै दन्त्यकथा होला” भनिदियो उमेशले । ओढ्नेओछ्याउने समेत नल्याई रामले विभिन्न वहाना बनाई उमेशको कोठामा कोच्चिन खोज्दा धन्न कोठामा रामलाई बास दिन उमेशले कन्जुस्याँइ गरेन ।

अब पढाइतिर ध्यान जान छाड्यो रामको । यो महिनाको कोठाको भाडा पहिल्यै पेश्की दिइसकेको थियो घरभेटीलाई । तसर्थ महिना नमरुन्जेलसम्मलाई उसैको हुनुपर्ने थियो त्यो कोठा । उसलाई त्यही कोठा, त्यही मित र उसको फटाइँको याद आउँथ्यो र बिनसित्ति अर्काले हडपेको ‌ओढ्नेओछ्याउने लगायत दाङबाट ल्याएको दालचामलको यादले बढी सताउँथ्यो । दाङबाट काठमाण्डौ सामान ल्याइपुर्याउँदा कम सास्ती खेप्नुपरेको थिएन रामले ।

यसैले उसले आफ्नै कोठासम्म पुग्न त आँट गर्न सक्दैनथ्यो । तर कहिले त्यो बदमाश मित देखिन्छ कि भनी कोठाबाहिरको सडकमा ‌ओहोरदोहोर गरिरहन्थ्यो । उमेशले भन्थ्यो, “चिन्ता न ले । मर्दलाई अनेक समस्या आइपर्छन् । एक न एक दिन त्यो गुमेको सामानको पनि न्याय पाइएला ।“

“तर मेरो गुमेको पढाइ र अनावश्यक रुपमा पाएको हण्डरको न्याय वा क्षतिपूर्ति पाउँला र ?” प्रतिप्रश्न गर्थ्यो राम । यसको जवाफ उमेशसंग पनि थिएन ।

कोठाकै बाहिर ‌ओहोरदोहोर गरिरहँदा एक दिन मित कोठाको बाहिर देखापर्यो । ‘कतै सामान फिर्ता गरी पो हाल्छ कि भन्ने सोची राम आफ्नो भू.पू, कोठातिर दौडियो ।

“के छ मृगज्यू, हालखबर ?” विजयउन्मादको पाराले मितले रामको हालखबर सोध्यो । रामले त मित भनेकै सुन्यो । “आजभोलि त मेरो कोठातिर आउनै छाडिदिनुभो त ? यसरी पटक्कै मायाँ मार्न त कहाँ मिल्छ र ? आउँदै गर्नुपर्छ है ।“

रामले सरासर भन्यो, “भाउजुले मेरो सामानलाई पनि आफ्नै भन्नुभो । मेरो सामान चाहियो । त्यही भएर आको । सामान दिनुभयो भने म केही भन्नेछैन ।“

“के सामान रे ? अँ अँ बुझेँ ? ल पर्सी आउनोस् है त । अहिले मलाई अलि हतार छ ।“ ऊ सरासर आफ्नो बाटोतिर लागिहाल्यो । रामले मितेनी भाउजुसंग माग राख्नुको कुनै अर्थ नै थिएन । रामको साक्षी घरभेटी बाहेक अरु कोही थिएन । घरभेटी पनि रामको पक्षमा नभएपछि ऊ निराश भइसकेको थियो । उसले घरभेटी त के त्यताको समाजलाई नै आफ्नो पक्षमा तुल्याइसकेको थियो ।

उसले सामानको मोटामोटी हिसाब गर्यो । ओढ्नेओछ्याउने अन्नपात भाँडाकुँडी सबै गरेर करिब त्यतिबेलाको रु दश हजारको थियो, “आ… तीन महिनाको तलब त हो, जेसुकै आगाले चाटोस् !!” भन्दै सामान उसैलाई तिलाञ्जली दिने निर्णय लिँदै आइन्दा यता नफर्किने कसम खाँदै राम रित्तो हात फर्कियो ।

बीचबीचमा उसको अर्को मनले मान्दैनथ्यो, “कहाँ छाड्ने यार त्यत्रो पैसा बिनसित्तै अर्कालाई ?” फेरि अर्को मन भन्थ्यो, “जेसुकै चीर्कोबजिङ्गो परोस् ।“

उमेशसंगको संयुक्त मेशमा उमेशले डेरा उपलब्ध गराए वापत् डेराको भाडा तिर्नेभयो भने रामले खानपिनमा लागेको खर्च बेहोर्ने शर्तअनुरुप त्यसपछिका दिनहरु रामको लागि अलि सहज हुन पुगे ।

परीक्षाको दुई दिन अगाडि । त्यो मीत हामी बसिराखेको उमेशकै डेरामा आइपुग्यो । उसलाई देख्नेबित्तिकै राममा उसप्रतिको घृणा तिब्र भएर आयो । उसको चालढालबाटै बुझिन्थ्यो । रामसंग क्षमा माग्न होइन पुनः धम्काउन आइरहेको छ ।

“तिमी त मुर्गा नै पो रहेछौ । यताको सबै कुरा मेरो घरसम्म पुगेछ ? मेरो घरबार बिगारिदिन खोज्ने ? मेरो घरबार बिगारिदिनेसंग मैले हिसाबकिताब चुक्ता गर्न आएको छु ।“

रामले उसको कुरा केही पनि बुझेन । उसले कहिले पो मीतका कुरा बुझेको थियो र । उसले सोच्यो, “चिन्नु न जान्नुको मान्छेले साख्खै मित बनेर कोठामा बस्न आयो दिनुसम्म दुःख दियो । आखिरमा उसैले मेरो कोठा हत्याएको छ । सामान बलजफ्ती हडपेको छ । मेरो पढाइ बिगारेर चौपट पारिदिइसक्यो । त्यसमा पनि मेरै दोष ?”

रामसंग उसको चुक्ली घरसम्म पुर्याउने माध्यम पनि केही थिएन । न त्यसबेला फोन थियो । न रामसंग गाउँका कोही मान्छेसंग भेट नै भएको थियो । न उसको घर र ससुरालीको विषयमा राम अलिकति जानकार थियो । उसले गरेको कामको बदलाको भावना मनमै गुम्सिए पनि बदला लिने समय पनि रामसंग थिएन । यी कुराहरुभन्दा वर्ष दिनको परीक्षामा सम्मिलित भई सफल हुनु रामको प्राथमिकताको विषय थियो ।

मीत फेरि जङ्गियो । “भन् किन पुर्याइस् मेरो घरमा यो कुरा ।“ ऊ रामलाई हातपात गर्ने ढङ्गले अगाडि बढ्दै गयो ।

“के कुरा पुर्याएँ मैले घरमा ? सोचबिचार गरेर बोल् । अर्काको सामान बेइमानीपूर्ण तरिकाले हत्याएको छ । जो चोर उसैको ठूलो स्वर ? सम्झी राख् मैले पनि हातमा दही जमाएर बसेको छैन । तैँले गुमाउने धेरै होला, तर मैले जे गुमाउनुपर्ने थियो गुमाइसकेँ । ल आइज, आइज ।“ रामले तरकारी काट्ने गरेको चक्कु हातमा लिएर अगाडि बढ्यो । संग हतियार केही नभएकोले अलि हच्कियो ।

यसैबेला उमेश आइपुग्यो । चारखुट्टाले माटो खोस्रँदै जुध्न आँटेका साँढेहरुको अवस्थामा देखेर ऊ नै झट्ट बीचमा पस्यो ।

“के हो यो तमाशा ? लाज लाग्दैन तिमीहरुलाई अर्काको कोठामा जुध्न ? वर्षभरिको परिश्रमको फल पाउने परीक्षा निकट संघारमा छ । आफ्नो स्वार्थको लागि अरुको भविष्यमा खेलबाड गर्ने अलिकति पनि शरम छैन ? थुक्क गधाहरु !!”

उमेशको मन नदुखोस् भनेर राम किताब बोकी कोठाभित्रको मेचमा बस्यो र उनीहरुतिर पिठ्यूँ फर्काएर पढ्न थाल्यो । उमेशले हेरामलाई हकार्यो, “जाऊ अहिले यहाँबाट । तिमी पनि गतिला छैनौ । तिम्रो आनीबानी मलाई सब थाहा भैसकेको छ । परीक्षा सकिएपछि विवाद गर्न आउनू । निक्ली हाल । तुरुन्त गैहाल । अर्काको कोठा र सामान हडपेर अझै सोझासिधालाई जिस्क्याइ हिड्न लाज लाग्दैन ?”

त्यो मान्छे उमेशको हप्काइले गर्दा लुरुक्क फर्कियो । ऊ गइसकेपछि रामले उमेशलाई सोध्यो, “के तिमी पनि उसलाई चिन्दछौ ?”

“किन नचिन्नू ! आफ्नो काम पट्याउनको लागि जुनसुकै शक्तिकेन्द्रमा पनि पुग्दछ र साम दाम दण्ड भेदको अस्त्र प्रयोग गरी जोसुकैबाट आफ्नो काम पट्याइ छाड्छ । अरुको कमजोरीको फाइदा उठाउन एकदमै खप्पिस । कतिसम्म भने आफ्नै स्वास्नीको फूपूलाई धपाएर अहिले तिम्रो कोठामा ल्याई राखेको छ !”

“ए.. हो ? आफ्नै स्वास्नीको फूपू ?” रामले जिब्रो टोक्यो ।

“हो नि । त्यो केटी आफ्नै साहिँला दाइसंग यतै काठमाण्डौतिर बसेर पढ्दै थिई । ऊ पनि पढ्ने निहुँले पहिली स्वास्नीलाई घरमै छोडी यता आएको थियो । फूपू चाहिनेसंग हिमचिम बढ्दै गएछ । फूपूलाई अपनाउन जेठानसंग नजिकियो । जेठानलाई फकायो फुस्ल्यायो र अनुचित प्रभावमा पार्यो ।“

“जेठान पनि कस्तो नालायक है ?” रामले प्रतिक्रिया दियो । उसको मथिङ्गलभरि एक दर्जन प्रश्न उब्जिए । आफ्नै भतिजीको सौता तुल्याई आफ्नै बहिनीलाई हुल्ने के रहर होला दाइ भनाउँदाको ? आखिर दुवैको जीवनको भविष्यमा धक्का लाग्ने कुरा । के फरक छ भतिजी र फुपूको भविष्यमा ? थुक्क बदमाश ! दुईचार पैंसामा बिक्री भएर यो योजनामा साथ दियो दाइ भनाउँदाले ? मान्छे यतिसम्म पनि निच हुँदा रहेछन् ! जुवाइँले पनि सोचेको होला ‘जेठानलाई पनि पट्याइछाडेँ’ भनेर । तर पहिली स्वास्नीको कानसम्म यो कुरा पुग्नै बाँकी होला । दुवै स्वास्नीको वास्तविक द्वन्द्व त शुरु भएकै छैन । तमाशा हेर्लान् इष्टमाइतीले आफ्नामाथि आफ्नैको आक्रमण, पछिपछिसम्म । त्यो द्वन्द्वको आगोबाट कसरी बचुँला भनी कल्पना गरेको होला त्यल्ले ? हुन त ध्रुत छ । ‘मुर्खदेखि दैव डरा’ भन्ने उखान नै छ !

उमेशले भन्यो, “यो संसार फरक छ । जो पैंसाको लागि आफ्नो इमान दाउमा लगाउन तयार हुन्छन् त्यस्तै बेइमानहरुको नै राइँधाइँ चलिरहेको छ समाजमा । तिनीहरुले नै अन्य बदमाशलाई मलजल पुर्याइरहेका हुन्छन् । समाज धुमालिराखेका हुन्छन् । उनीहरुलाई न्यायको कठघरामा उभ्याउने मान्छेको खाँचो छ यहाँ ।“

“अब यस्ता बकम्फुसे कुराको पछि लागेर केही फाइदा छैन । बरु एकदुई पाठ पढे परीक्षा पास गर्न सकिएला । यी कुराहरु अब यतै बन्द गरौँ ।“ यति भन्दै उमेशले किताब समातेर पढ्नमा तल्लिन भयो । मित, मितकी स्वास्नी, उसको जेठानका करतुतले रामको दिमागलाई गिजीलिराख्यो । तसर्थ रामले सोचेअनुसार पढ्नै सकेन ।

नखाएको विष लाग्दैन भन्ने उखान रामको लागि सत्य भएन ।

बेलाबखतमा रामको सपनामा आइरहने गर्दछ त्यही हेराम मित, “के हो मितज्यू ? कीर्तिपुरको डेराको हिसाबकिताब त बाँकि नै छ नि !” भन्दै ।

उसका सपना नदेखूँ भन्दा पनि उसको भूत सवार भइरहन्छ रामको सपनामा । दुरदिनले निम्त्याएको बिनसित्तैको झ्याउले रामलाई धेरै समयसम्म सताइराख्यो ।

 

Loading

Leave A Comment

Your email address will not be published. Required fields are marked *

Related Posts