×

ईः पर्छ

ईः पर्छ

परिवर्तित मौसम यथावत बर्बर छ
बगलीमा छिपाएर अन्यायको तरबार
खुल्ला आकाश ओढ्नेहरुको घाँटी रेट्न तत्पर छ ।

मौसम होइन यो हिउँ वा पानी पार्ने
अब आक्कलझुक्कल न्याय पार्छ

कल्प, पर्ख ! तिम्रै खप्परमा पर्नुपर्छ

अलि पर कटेराहरुको घेरघार छ
कानुनको विशेष तारबारले बेरबार छ
त्यहाँ झुत्रेझाम्रे र लुतेलाम्रेको खेरखार छ

………………………………….
ठीक बीचमा लोक??.. तान्त्रिक सरखार छ ।

त्यो कता पर्छ पर्छ !

…………………………………..

त्यसैका अलि वर एक भव्य दरबार छ
कानुनको शेष तारबारले बेरबार छ
त्यहीँभित्र विधाताहरुको घरबार छ !

बीचः वरबाट टाढा पर्छ
बीचः परबाट झन् टाढा पर्छ
न्याय टाढाबाट कहाँ झर्छ ?
सन्निकट लम्पसार भै भन्नुपर्छ
तथानाम सुन्नुपर्छ, गुन्नुपर्छ
नाक, कान र मुख भने थुन्नुपर्छ !

त्यो कता पर्छ पर्छ !

बिधाताले खल्ती टकटक्याए
न्यायः कानुनका ठेलीबाट झर्छ
परिस्कृत दरबारको खोपीबाट झर्छ
आश्रित हाकिमको पाउबाट झर्छ
तर त्यो कता पर्छ पर्छ !

ए लुतेलाम्रेहरु हो !
त्यो तिम्रै खप्परमा त कहाँ पर्छ ?
तिम्रै खप्परमा पर्नलाई त

तिमी भित्रभित्रै
गणेशभक्ति मनसुन आवर्तित हुनुपर्छ
नारदभक्ति भनसुन परावर्तित हुनुपर्छ
मिशन या कमिशन सारगर्भित हुनुपर्छ
नियर वा डियरले आरक्षित हुनुपर्छ
निराशामा द्रवित हुनेबित्तिकै

तिम्रो खप्परमा यत्रो पर्छ !

त्यो कता पर्छ पर्छ !

तिम्रो भुँडीमा मुसी दगुर्दा
सरखारीयाको द्वारमा गैँडा र हात्ती चर्छ
तिम्रो पसिनाबाट रगत निचोर्दा
एकएक थोपा व्ययकर झर्छ
त्यहीबाट ऊः त्यो रेल दगुर्छ
छकछकको ध्वनिले छक्काउँछ झुत्रेझाम्रे हो

रेल रोकियो भने मात्र न्याय झर्छ
तर त्यो कता पर्छ पर्छ !

त्यो ? ? ? हो त्यो

तिम्रो चीरप्रतिक्षित आशालाई ल्वाप्पा खुवाउँदै

सरखारीयातिर नसोझिएर
खरबारीको कटेरोमा
अझ तिम्रो खप्परमै
ईः यत्रो पर्छ !

त्यो कता पर्छ पर्छ !

Loading

Post Comment

You May Have Missed