कवितागद्य कविता

बाबु बिन्ति छ यहीँ आऊ ।

  • देवकुमारी ‌ओली

 

केही अघि मात्र कति सुन्दर थियो

कमलको फूलसरी यो परिवार

यसैमा कसको ? किन ? गिद्दे दृष्टि पर्यो

अनाहक त्यही फूल च्यातचुत पारिदियो

अहिले फूल र पात झरेको डाँठसरी छ यो परिवार

 

चार महिना भयो बाबु

तिमीले हामीलाई छोडेको

तिमी कहाँ छौ ? कहाँ छौ  ?

तिम्रो आगमनको आशामा

हामी अझै पर्खेर बसेका छौँ

मुटुभरी असह्य पीडा लिई

आँखाभरि बलिन्द्रधारा आँशु लिई

सदा झैँ हामीलाई शक दिएर

त्यो मीठो मुस्कानमा मुस्कुराउँदै मुस्कुराउँदै

म आएँ मम् हेर्नुहोस् म फेरि आएँ भन्दै

बाबु बिन्ति छ यहीँ आऊ ।

 

तिमीलाई हामीबाट खोसी लाने

तिम्रो आलो रगत पिउने ती राक्षसहरुको

ती अपराधीहरुको सञ्जाललाई हामीले भत्काउन सकेनौँ

अनपेक्षितले सहयोग गरे अपराधीहरुलाई नै

पीडितलाई नै राज्यविहिन र एक्लो तुल्याएर

बिन्ति छ बाबु

तिनीहरुलाई तिमीले नै सजाय देऊ

हाम्रो घाउभन्दा गहिरो घाउ परोस्

अपराधीहरुका छातिमा र त्यो घाउ फतफती कुहिएर

तिनीहरु पीडाले अलापविलाप गरिरहेको दृश्य

त्यो हामीले यिनै आँखाले देख्न पाऊँ ।

 

अनि त्यसपछि

तिमी जहाँ छौ बाबु जस्तो अवस्थामा छौ

सपनामा वा बिपनामा संकेत देऊ

हामीले तिमीलाई छिट्टै भेट्न पाऊँ ।

भन हामी कहाँ आऊँ ?

भन हामी कसरी आऊँ ?

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *