Purna Oli

Freelance Writer

दैनिकीदैनिकी

२०८२ फागुन ७ गते विहीवार

दुवाकोट भक्तुपर

आज बिहानै छाउनी हस्पिटलतिर लागेँ । जुवाइँ प्रविण पाठकका माइला भाइ रविन पाठककी सासूआमाको विभिन्न अपरेशन भएकोले उहाँ अस्पत्तालमै हुनुहुन्छ । अस्पत्तालमा जाँदा उहाँका पति फणिन्द्र चौलागाईसँग भेट भयो । बिरामी भने अपरेशनको घाउको असह्य दुखाइको कारण आँखा खोलेर हेरे पनि पुनः आँखा चिम्लिनुभयो। बिरामीको सम्बन्धमा फणिन्द्रजीसँगै कुरा भयो । बिहान साढे सातबजे नै घरबाट निस्किएको भए पनि सार्वजनिक यातायात साधनहरू फेर्दै जाँदा साढे ९ बजे मात्र अस्पत्ताल पुगेको थिएँ ।

कुरा गर्दा गर्दै १० बजिसकेकोले लेखनकुञ्ज जान हतारिएँ । रत्नपार्क पुगेर अनामनगरको बस चढ्दै गर्दा साढे १० बजिसकेको हुँदा आज अफिस नआउने भनी सोधनी भइसकेको थियो । प्राइभेट अफिस भएको कारण उपस्थिति र कामको महत्त्व हुन्छ । गफ गरेर मात्र अफिसबाट फर्कने छुट हुँदैन ।

समय घर्किए पनि मैले बसमा समेत समयको सदुपयोग गर्ने गर्दछु । चीरहरण उपन्यासको ४२२ पृष्ठ पढ्न पाएको छु अब १०४ पृष्ठ मात्र पढ्न बाँकी छ । महाभारतका कथाहरूमा नारी पात्रको कथा र भोगाइ दुरस्तै उतार्ने निहारिकाजीको प्रयास प्रशंसायोग्य छ ।

हिजो ल्होसार पर्व र आज प्रजातन्त्र दिवसको सरकारी बिदा थियो तर लेखनकुञ्जमा भने बिदाको दिनमा पनि जानुपर्‍यो । अरू कर्मचारीहरूले आफूहरूलाई सार्वजनिक बिदामा बिदा बस्नुनपर्ने भनेपछि मैले मात्र बिदा चाहिन्छ भन्नु पनि भएन । तथापि २ दिन नै बिदा पर्दा नेपाल प्रज्ञा प्रतिष्ठानमा जानुपर्ने काम भएको छैन ।

लेखनकुञ्जले आफ्नै क्यालेन्डर निकाल्यो भने बिदाको सुनिश्चित हुने कार्यक्रमहरू व्यवस्थित हुने संस्थाको प्रचारप्रसार पनि हुने भएकोले क्यालेन्डरमा राख्नुपर्ने पर्व र बिदाहरूको बारेमा आज पनि थप काम गरेँ । क्यालेन्डरमा राख्नको निम्ति च्याटजिपिटीलाई सोधेर करिब १५० विदेशी साहित्यकारहरूको जन्मजयन्ती पत्ता लगाएँ । ५० जनाजतिको सङ्क्षिप्त परिचय र प्रत्येकको प्रमुख उक्ति पनि साभार गरेँ ।

हिजो अन्तिम सम्पादन भनी दिएको पुस्तकको प्रिन्टमा केही थपघट गर्नुपर्ने भनी सरिताजी आउनुभयो । दिनभर उहाँकै काममा व्यस्त भइयो । सौरभ सापकोटाको मद्दत लिएर पुस्तकको बुक कभरको बारेमा थप काम पनि भयो । यति गरेर अटोमा रत्नपार्क पुगी भक्तपुर आइपुग्दा ७ बजिसकेको थियो ।

आज जेठान लोकबहादुर खडकाको जन्मदिवस पनि थियो । फेसबुकमा शुभकामना पनि दिइसकेको थिएँ । बेलुका यतै केक काट्ने र प्रत्यक्ष भेटेर शुभकामना दिने भन्ने कुरा थियो तर उहाँहरू फर्किसक्नुभएछ । भिडियो कलमार्फत् शुभकामना दिइयो ।

बेलुकीपख ओपेन्द्र दाइको छिटो रुकुम पुग्नुपर्ने भन्ने सम्बन्धमा पुनः हप्काइको शैलीले सम्झाउनुभयो। तर उहाँले नै यही फागुन १३-१५ गते छोराको बिहे कार्यक्रम राख्नुभएकोले बिहेको निम्तो पनि प्राप्त भयो । आफ्नै दाइ चुनावमा उठेको बेला आफ्नो परिवार बिहेको कार्यक्रममा व्यस्त हुने अनि प्रचारप्रसाद अरूले गरिदेऊ भनेर हुन्छ भन्दै मैले जवाफ फर्काएँ ।

तत्पश्चात् राजेश्वर कार्की सरले पनि फोन गर्नुभयो । उहाँलाई आफू अहिलेसम्म काठमाडौँमै रहेको र केही दिनमा रुकुम जानसक्ने बताएँ । कामको व्यस्तताले दिउँसो नास्ताको लागि घरबाटै लगेको कुरा खानेसम्म फुर्सद नभएकोले बेलुका घरमा नै खाएँ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *