२०८२ फागुन ५ गते, मङ्गलवार
दुवाकोट, भक्तपुर
आज पनि देवकुमारीले सधैँजसो भन्दा केही छिटो खाना पकाइन् । खाएर म अफिसतिर लागेँ । उनी बिमा सुविधाबाट स्वास्थ्य जाँच गराउन भक्तपुर अस्पत्तालतिर लागिन् । म बसमा छँदा धेरैचोटि फोन गरिसकेकी रहिछन् । म ओर्लिएपछि मात्र मिस कल देखेँ । कलब्याक गर्दा उनले बिमाको म्याद सकिएकोले बिमा सुविधाको स्वास्थ्य जाँच गर्न नपाएकोले आफू घरमा फर्किसकेको बताइन् । घर फर्कँदा एकजना ट्याक्सीवालाले घरसम्मै छोडिदिन्छु भनेर बोलायो । मैले पर्दैन भनेँ । उसले ट्याक्सी रोकेर सल्लाघारीसम्म छोडिदिन्छु छिटो चढ्नुस् भन्यो । मलाई डर लागेर अर्को साइडमा आएँ । उसले तल पुगिसकेको ट्याक्सी पुनः घुमायो । म ट्याक्सीतिर हेर्दै नहेरी हामफाल्दै सल्लाघारीतिर कुदेँ र अहिले बल्ल घरमा आइपुगेँ । सारै डर लाग्यो भनेर बताइन् । मलाई अच्चम्म लाग्यो । यस्तो घटना त भएको थिएन । एकजना वृद्धावस्थामा उक्लँदै गरेकी महिलालाई के ठानेर उसले ट्याक्सी चढाउन खोजेको हो । कुनै चिरपरिचित व्यक्ति वा मेरा चिनजानका साथीहरू पो थिए कि । उनले ट्याक्सी नम्बर ख्याल नगरेकोले थप कुरा बुझ्न सकिएन ।
कमल ढकाल सरले आज जसरी पनि सरिता म्यामको पुस्तकको सम्पादन सक्नुपर्ने बताएकोले म काममै तल्लीन थिएँ । नयाँ नम्बरबाट फोन आयो । श्रीटेल होलिडेजको प्रतिनिधि बताउँदै एकजना पुरुषले भने कि तपाईँलाई थाइलैण्ड भ्रमणको लागि चिठ्ठा परेको छ । श्रीमतीसहित चिठ्ठा दाबी गर्न छिट्टै आउनुहोस् । मैले एक हप्ताअघि भाटभटेनी गएको बखत यस्ता वैदेशिक उडान भ्रमणको निम्ति चिठ्ठा पनि भरेको थिएँ । चिठ्ठा मलाई मात्र नपरी सबैलाई परेको हुनुपर्छ । भन्नुको मतलब चिठ्ठाको नामबाट यात्रीलाई आकर्षित गर्ने योजना भएकोले जजसले चिठ्ठा भरेका थिए उनीहरू सबैलाई सम्पर्क गरेर खाने बस्ने सुविधाको लोभ देखाई आफ्नो उडान व्यापार बढाउने टेक्निक हुन सक्छ । उनको भनाइअनुसार चिठ्ठा दाबी गर्न सपरिवार आउनुपर्ने र एकजना मात्र आएमा चिट्ठा क्लेम गर्न नपाइने नियम बताए । बुझौँ न त के रहेछ भनी देवकुमारीलाई खबर गर्दा उनी घरबाट निस्कन मानिनन् ।
मेरो घरको ल्यापटप बिग्रिएकोले मर्मतको लागि अफिस छोडेको थिएँ । मर्मतकर्ताले मर्मत भएको भनी ३००० को बिलसहित ल्यापटप अफिसमा छोडिदिएका रहेछन् । तर ल्यापटपमा बुट समस्या देखाएकोले खुल्दै खुलेन । अर्को समस्या समाधान गर्न कति खर्च लाग्ने हो डर लागिरहेको छ । अहिले लेखनकुञ्जकै ल्यापटप चलाइरहेको छु । यो निकै पुरानो भएकोले खुल्नै आधा घण्टा लाग्छ । अन्य लिङ्कहरू पनि खुल्दैनन् । कुनै कुनै बेला डकुमेन्ट अकस्मात बन्द हुन पुग्दछ र गरेको काम पुनः दोहोर्याउनुपर्ने हुन्छ । आफ्नो ल्यापटप नबनेमा वा खर्च धेरै बढी लाग्ने भएमा नयाँ किन्नुको विकल्प छैन । न्युनतम् तीन महिनाको पेन्सन जम्मा नभई नयाँ ल्यापटप किन्न सकिँदैन । मासिक पेन्सनले घर खर्च टार्नै सकस भएकोले फेरि अर्को जागिरमा झुन्डिएको छु । खाना बरु छोड्न सकिएला तर ल्यापटप छोड्न नसक्ने अवस्थामा पुगेको छु । ल्यापटपमार्फत् आफ्ना भावना ओकल्न सकिएन भने म त बिरामी परेरै मर्छु होला ।
भावना मात्र ओकल्ने नभई आफ्ना पूर्व प्रकाशित कृतिहरूलाई केही सम्पादन गरी दोस्रो संस्करण निकाल्नुपर्ने भएको छ । त्यसको लागि जितौरीका कथाहरू पुनः हेरेर आफ्नै नजरले देखेका कमीकमजोरी हटाउँदै छु । यसको लागि पनि समय र प्रविधिको आवश्यकता छ । यसै समयमा ल्यापटप बिग्रिएको छ । दिनभरि लेखनकुञ्जको काम बेलुका घरमा आएपछि करिब १ घण्टा दैनिकीलाई छुट्याउनै पर्यो । अनि आराम गर्नुपर्यो र सुत्नु पनि पर्यो । नयाँ जागिरी लागेदेखि घर परिवारसँग कुरै गर्न छाडेको भनी देवकुमारी नाराज भएकी छिन् । मनको व्यथा कसलाई कसरी बुझाउनू ?
सरिता म्यामको पुस्तकको सम्पादनको काम सकेर बेलुका घरमा आएपछि परिक्षितलाई चिट्ठा बारेमा सोध्दा फेक चिट्ठा हुनसक्ने बतायो । भोलि उसले भनेको ठेगानामा पुगेरै बुझ्नेछु हेरौँ के भन्छ ।
![]()