×

योगको गहिराइको अनुभव गर्नको लागि आवश्यक मुख्य शक्तिहरु

योगको गहिराइको अनुभव गर्नको लागि आवश्यक मुख्य शक्तिहरु

  • ब्रह्माकुमार जगदीश चन्द्र

अब हामी हाम्रो वतनमा जानु छ, यही याद आओस्, योसंगै सबथोक आइहाल्छ । अब हामी वतनमा जानुछ, अब वापस घरमा जानुछ, किनकि हाम्रो वतन जुन छ, त्यो पवित्र छ । जसको शिरमा विकर्मको बोझ छ, ऊ त्यहाँ जान सक्दैन । जसको जीवनमा विकार छ, ऊ जान सक्दैन । वतनमा जाने हो भने त्यसको तयारी पनि गर्नुपर्छ । तयारी पूरा भए त वतनमा जान पाइन्छ । वतनमा के छ ? किन जानुपर्ने हो ? किनकि उहाँ मुक्ति छ । उहाँ शान्ति नै शान्ति छ, पवित्रता नै पवित्रता छ । यसैले यति मात्र याद गरौँ कि हामी वतनमा जानु छ, यसैमा सबैथोक सामेल छ ।

बाबाका एक एक कुरामा धेरै कुराहरु र धेरै रहस्यहरु सम्मिलित छन् । यसैले बाबाको एक कुरा मात्र पनि याद रहने हो भने त्यसमा सारा ज्ञान समाहित हुन्छ । याद दौड हो, याद नै मुख्य चिज हो । याद नै योग हो । आज हामी कुरा गर्दैछौँ कि हाम्रो योग गहिरो कसरी हुन्छ ? शक्तिशाली कसरी हुन्छ ? यसको लागि हामीले केही शक्ति विकास गर्न जरुरी हुन्छ । ती कैयौँ शक्तिहरुमध्ये सहनशक्ति हुनु एकदमै जरुरी छ । यदि सहनशक्तिको कमी भयो भने योग टिक्न सक्दैन । जस्तो कि हावाको झोँक्का जोरसंग आयो भने बत्ती निभिहाल्छ । सहनशिलताको कमी भयो भने व्यक्ति लज्जावती झारजस्तै हुन्छ । सानो कुरामा पनि मुर्झाइहाल्छ, हडबडाउँछ सहन गर्न सक्दैन । सहनशक्ति नै छैन भने उसको योग छिन्नभिन्न भइहाल्छ, मन एकाग्र हुन सक्दैन । जब हामी योगमा बस्छौँ, तब पछिल्लो जन्मको हिसाब-किताब विकर्महरुको बोझ आँधी, तुफानको सरह सामुन्ने आउँदछ, तब हामीमा सहन गर्ने शक्ति आवश्यक पर्छ । सामना पनि गर्नुपर्छ र सहन पनि गर्नुपर्छ । कोही पनि यस्तो व्यक्ति छैन कि जसलाई शरीरको कुनै परीक्षा पनि नआएको होस् । किनकि सबैले देह-अभिमानमा आएर यस्तो कर्म गरेका छन्, जो मर्यादाको अनुकुल थिएन । यसको हिसाबकिताब पनि सामेल भएर आउँछ । यसलाई पनि सहन गर्नुपर्छ ।

यस्तै मित्र सम्बन्धी हुन्छन्, छरछिमेक हुन्छन्, जसको साथ रहेर काम गरेका हुन्छौँ, उनका तर्फबाट पनि कैयौँ परीक्षाहरु आउँछन् । कहिलेकाहीँ मान्छेले यिनको पनि सहन गर्दछ, तर कुनै यस्तो परिस्थिति आउँछ, जसको कुनै आशा नै हुँदैन । कुनै कठिनाइ वा परिस्थिति आयो भने मान्छे डराइहाल्छ । यस्तो पनि हुन्छ कि उदाहरणको लागि घरमा आमा हुन्छिन् । उनले तपाईँलाई एकदमै प्रेम गर्छिन् । आफ्नो घरमा पुरै परिवारमा आमाले प्रेम नगर्ने को होला ? सबैलाई मीठो दृष्टिबाट हेर्छिन्, सबको आदर सत्कार गर्छिन् । घरमा यति व्यस्त रहेर पनि सबैलाई ध्यान दिन्छिन् । कुनै दिन यस्तो भयो कि उनले तपाईँलाई पीर पारिन् । मानिलिऊँ उनले तपाईँलाई भनिदिइन् कि ‘तिमी काम गर्दैनौ, बिल्कुल केही कामको छैनौ । मलाई लाग्दैन कि भविष्यमा गएर ठूलो मान्छे बनौला । तिमीले उसरी नै समय बर्बाद गरिरहेका छौ मेरो पनि र तिम्रो पनि । जाऊ तिमीलाई जे गर्नुछ गर ।’ यस्तो सुनेर तपाईँलाई शक हुन सक्छ कि यिनले यस्तो के भनिदिइन् ? हिजोसम्म भन्दै थिइन्, ‘तिमी एकदम राम्रो छौ, तिमी एकदमै मीठो छौ, तिमी विशेष छौ । यस्तो बढ्ता बढ्ता कुरा त भन्दैनथिन् । आज भन्दैछिन् कि ‘तिमी कुनै कामका छैनौ, जाऊ यहाँबाट, तिमी निकम्मा हौ ।’ यही कुरा बारबार याद आइरहन्छ । आमाले पो भनिन् त अरुले भनेको भए केही थिएन, मेरी आमाले भनिन्, जसले यति वर्षसम्म पालेर पोषेर राम्रो राम्रो भनेर ठूलो बनाइन् । तपाईँले यही कुरा सम्झेर रोइरहनुहुनेछ, बारम्बार याद गरिरहनुहुनेछ कि मलाई यस्तो भनिन् ! कसैले सोध्ला, ‘के भो भाइ ? बाहिरबाट त भन्नुहोला, ‘केही भा छैन’ तर भित्रभित्रै त भरिएको छ ! यसै तरीकाले जहाँबाट आशै गरिएको हुँदैन, त्यहीँबाट धक्का लाग्ला, मुक्का मिल्ला । त्यो पनि हामीले सहन गर्नैपर्‍यो, किनकि ठूला मान्छेले भन्नुमा कुनै कारण त होला, हामीलाई शिक्षा दिनकै लागि होला । हामी कुनै कामै गर्दैनौँ, अगाडि बढ्दैनौँ, प्रगति गर्दैनौँ, ठीकै त हो । उनले हाम्रो कल्याण चाहन्छिन् कि हाम्रो प्रगति होस्, हाम्रो अभिवृद्धि होस् । हामी प्रेममा लाडमा मस्ती गर्दछौँ, बिग्रन सक्छौँ । यसैले जसबाट हामीले प्रेम पायौँ, पालन पायौँ, उसैबाट शिक्षा पनि पाउँछौँ । शिक्षा दिनु पनि हामीप्रति उनको प्रेम नै हो । यसैले सहन गर, सहन गर । सहन नगरेमा मन हल्लिहाल्छ, अचल, अडोल अवस्था रहँदैन । योग स्थिर हुँदैन, सिटमा सेट हुन सकिँदैन । पोजिशनमा रहेमा अपोजिशन समाप्त भैहाल्छ । हामीले यो सम्झनुपर्छ कि परीक्षाहरु आइरहन्छन्, हामीलाई अगाडि बढाउनको लागि । यसलाई सहन गर्ने हो भने सहज भैहाल्छ ।

परीक्षा त सबैको आउनु नै पर्छ । यस्तो होइन कि ठूलालाई परीक्षा आउँदैन । परीक्षा सबको आएको थियो र जरुर आउने पनि छ । भगवानसंग नियत छैन यहाँ सौदा नगदको नगदमै हुन्छ । एक हातबाट दिने र अर्को हातबाट लिने । हिसाब-किताब पूराका पूरा एक्युरेट हुन्छ । भगवानको घरमा कुनै अन्याय छैन । यसैले हरेकको साम्ने यी परिस्थितिहरु कठिनाइहरु आउने नै छन् । तर यी सबको बाबजूद पनि सहन गर, सहन गर । यति दिल विशाल गर कि सिर्फ आफूले मात्र सहन गर्ने होइन, अरुको पनि सहन गर । ईश्वरीय मार्गमा चल्दा चल्दा आरोप पनि लाग्ला, अपमान पनि होला । धेरैथोक होला, तर तिमी सहन गर, सहन गर । सहन गर्नु यस्तो गुण हो कि जसलाई सहनशक्ति पनि भनिन्छ र सहनशीलता पनि भनिन्छ । अरु कुनै गुणका दुई नाम छैनन् । तर यसका दुई नाम छन् । यदि सहन गर्ने शक्ति छैन भने शील अर्थात क्यारेक्टर अथवा चरित्र खराब भैहाल्छ । किन ? यदि सहन गरिएन भने रिस उठ्छ, घृणा आउँछ, द्वेष पैदा हुन्छ, अनि चरित्र समाप्त भयो होइन ? रिसमा आएर उल्टोसुल्टो बोलिएला, मर्यादाको विरुद्ध काम गरिएला, अपराधिक काम गरियो भने चरित्र नै हनन भयो । यसैले सहनशक्ति नभएमा मान्छेको शील नष्ट हुन जान्छ । जुन आत्माको पवित्रता नै भंग अर्थात नष्ट भयो भने उसको योग पनि भ्रष्ट हुन जान्छ । योगभ्रष्ट को हुन्छ ? जसको सशनशीलता भ्रष्ट हुन्छ । जति सहन गरिन्छ, उति नै आफूलाई फाइदा हुन्छ । भक्तिमा जसको नाम छ, जसको माला बनेको छ, उनी सबले सहन गरे । मीराले जहर पिइन्, क्राइष्ट क्रसमा चढे, सरदारहरुले कति सहन गरे । यसैले सहन गर्ने शक्ति योगको लागि एकदमै जरुरी छ ।

हामी योगका चार आधारस्तम्भ बनाउँछौँ । ती चार हुन् ब्रह्मचर्य, शुद्ध अन्न, दैवी गुण र सत्संग । आसनको लागि सामान्यतया चार स्तम्भ देखाइन्छन्, त्यसै हिसाबले चित्रमा पनि चार नै देखाइन्छ । कुनै घर चारवटा स्तम्भले मात्र ठडिएको हुँदैन, धेरै स्तम्भ हुन्छन् । यसै प्रकार सहनशक्ति पनि योगी जीवनको अरु एक स्तम्भ हो । यो ढल्यो भने घर नै ढल्न पुग्छ, योगभ्रष्ट भइहाल्छ । सहनशक्ति नहुँदा जीवनभरमा गरेको कमाइ समाप्त हुनजान्छ । स्थूल घर जसरी आँधी तुफान आएमा टुट्छ, ढल्छ, त्यसरी नै जीवनरुपी घर पनि सहनशक्ति टुट्दा ढल्दछ । यसैले योगमा गहिराइ अनुभव गर्नको लागि सहनशक्ति सहनशीलताको गुणको आवश्यकता पर्दछ ।

यसका अलावा अर्को एक शक्ति आवश्यकता पर्दछ विवेक शक्ति अर्थात निर्णय शक्तिको । धेरै मान्छेहरु उल्झनमा आउँछन्, मन हल्लिरहन्छ कि यो कार्य गर्ने कि नगर्ने भनेर । सोच्ने सक्दैनन् कि गर्ने कि नगर्ने ? निर्णय गर्न नै सक्दैनन् कि सही कुन हो, गलत कुन हो ? यसैमा समय गइहाल्छ । यसैले ज्ञान मार्गमा भनौँ कि योगमार्गमा भनौँ, तुरुन्त निर्णय गर्ने शक्ति चाहिन्छ कि के गलत हो  र के सही हो भनेर । थोरै पनि शकको स्थान हुँदैन । महात्मा योगी र सन्तलाई हंस भनिन्छ । जस्तै रामकृष्ण परमहंसजी । उनलाई परमहंस किन भनिन्छ ? किनकि उनमा विवेक शक्ति थियो । क्षीर के हो ? नीर के हो ? पाप के हो ? पुण्य के हो ? राम्रो के हो ? नराम्रो के हो  ? यी कुरा निर्णय गर्ने शक्तिलाई विवेक शक्ति भनिन्छ । जीवनमा यस शक्तिको धेरै उपयोग हुन्छ । मान्छेले सारा गलत काम यसर्थ गर्छ कि उसमा विवेक शक्ति हुँदैन । कसैले भन्छन् कि फलानो व्यक्ति यति समझदार भएर पनि यस्तो गलत काम किन गरेको होला ? किनकि उसको विवेक शक्ति मरेको थियो । उसको बुद्धिमा पर्दा लागेको थियो । अतः यति त विवेक शक्ति हुनुपर्‍यो कि के गलत हो ? र के सही हो ? के पाप हो ? र के पुण्य हो ? यो निर्णय गर्न सक्ने । ईश्वरीय ज्ञानमा र ईश्वरीय नियमहरुमा शक हुनु भएन । यो ज्ञान कसले सुनाइरहेको छ ? यो श्रीमत कसले दिइरहेको छ ? यो भुल्नु भएन ।

बाबाले भन्नुहुन्छ कि, ‘अमृतबेला उठेर योग गर ।’ कसैले सम्झन्छन् कि अहिले यहाँ अमृतबेला छ भने अर्को ठाउँमा अर्को समयमा हुन्छ, दिन अथवा रात । म यस समयमा उठेन भने के फरक पर्ला र ? आज नउठेमा भोलि त उठूँला । यसरी भोलि भोलि भन्दा भन्दै अमृतबेला मिस गर्ने बानी नै बस्छ । यदि धेरै समयपछि उठिहाले पनि उसको योग लाग्दैन, किनकि योगमा अनुभव गर्नको लागि धेरै दिनको अभ्यास आवश्यक पर्छ । सिर्फ रावणलाई मात्र मारेर पुग्दैन, कुम्भकर्णलाई पनि मारेमा मात्र युद्ध जितिन्छ । रावण भनेको पाँच विकार र कुम्भकर्ण भनेको आलस्य, सुस्ती, निद्रा । एक समर्थ योगी बन्नको लागि यी दुवै मार्नु, एकदमै जरुरी छ । यसैले बिना सहन र विवेक शक्ति योग टिक्न सक्दैन । योगमा अनुभूति गर्नको लागि धेरै शक्तिको आवश्यकता पर्दछ, परन्तु यिनमा दुई शक्तिहरु प्रमुख छन् ।

 

 

Loading

Post Comment

You May Have Missed