म किन झरिन !
यो सालको जारो ! भो कति सारो !! सँधैँ भो अँध्यारो !!!
फूल-बारीमाथि फागुनैसम्म खन्यायो तुषारो !
कोपिला झरे, बचाउने जोहो मैले क्यै गरिन,
ती झर्नुभन्दा ओइलेको पात म किन झरिन !!
बौलाउँदै आयो त्यो चैते हुरी छारोपात उरायो
लुछेर लग्यो डालीकै गुँड बिचल्ली गरायो !
बचरा खसे, अडिलो रुखमा खै गुँड सारिन
ती खस्नुभन्दा हुरीमा परी म किन मरिन !!
बैशाख लाग्दा पलाए मुना वन र पाखामा
त्यो देख्नै नपाई कसिङ्गर कल्ले हाल्यो यी आँखामा !
भाँचिए अरे कलिला मुना बैशाखे झरीमा
भाँचिँदा टुसा, सुकेको हाँगो म किन झरिन !!
असार लाग्दै झर्यो नि पैरो, बगायो बस्तीलाई
छानेरै तान्यो असक्त जो छन् कलिला नानीलाई !
हेरेरै बसेँ, बचाउँछु भनी मै अघि सरिन
ती पर्नुभन्दा त्यै पैरोभित्र म किन परिन !!
साउन लाग्दै उर्लेर आयो खहरे खोला यो
जता छ कमजोर पसेर उतै कोलाहल् मच्चायो !
सजिलै थियो छेक्नलाई, तर मैले क्यै गरिन
त्यो भेलभित्र कुहेको काठ म किन परिन !!
भदौरे घामले सुकायो गरा पानी नै नआई
मरेर गयो त्यो बर्खे बाली पसाउनै नपाई !
त्यैँ थियो खोला, ल्याएर गरा मैले नै भरिन
ती मर्नुभन्दा पाकेको बाली म किन मरिन !!
![]()
Post Comment